सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

आदिवासी समुदायमा धार्मिक स्वतन्त्रताको लागि लड्‌दै

आदिवासी समुदायमा धार्मिक स्वतन्त्रताको लागि लड्‌दै

मे १, २०२१

 ल्याटिन अमेरिकामा बसोबास गर्ने करोडौँ मानिसमध्ये लाखौँ मानिसको आफ्नै मातृभाषा र संस्कृति छ। ती आदिवासीहरूमध्ये धेरै जना हाम्रा आध्यात्मिक भाइबहिनीहरू हुन्‌, जो आफ्नो संस्कृतिको मोल गर्छन्‌। तिनीहरू मानिसहरूलाई आध्यात्मिक रूपमा मदत गर्न ल्याटिन अमेरिकाका आदिवासीहरूले बोल्ने १३० भन्दा धेरै भाषामा यहोवाका साक्षीहरूको प्रकाशनहरू अनुवाद गरेर वितरण गर्छन्‌। a यहोवाको सेवा गर्ने निर्णय गरेकोले अनि बाइबल सिद्धान्तविपरीतका स्थानीय चलनहरूमा भाग लिन इन्कार गरेकोले तिनीहरूमध्ये धेरैले समाजबाट विरोधको सामना गर्नुपरेको छ। तिनीहरूलाई मदत गर्न तपाईँको अनुदान कसरी प्रयोग गरिएको छ?

घर फर्कन मदत गरिएको छ

 मेक्सिकोमा हलिस्को प्रान्तको पहाडी इलाकामा बस्ने हुइचोल समुदायका हाम्रा भाइबहिनीहरूले आदरपूर्वक बाइबल सिद्धान्तविपरीतका धार्मिक चलनहरूमा भाग लिन इन्कार गरे। b त्यसले गर्दा त्यस समुदायका केही मानिसहरू रिसाए। डिसेम्बर ४, २०१७ मा एउटा हिंस्रक भीडले साक्षीहरू र तिनीहरूसँगै भएका अरूलाई आक्रमण गऱ्‍यो। उनीहरूले तिनीहरूलाई जबरजस्ती गाउँबाट निकालिदिए, तिनीहरूको भौतिक सम्पत्तिमा क्षति पुऱ्‍याए अनि गाउँमा फर्केमा मार्ने धम्की पनि दिए।

 नजिकैको सहरमा बस्ने साक्षीहरूले हाम्रा ती भाइबहिनीहरूको आधारभूत आवश्‍यकता पूरा गर्न तुरुन्तै मदत गरे। तर तिनीहरूलाई आफ्नो घरमा फर्काउनको लागि के गर्न सकिन्थ्यो? भाइ अगस्टिन यसो भन्छन्‌: “वकिल राख्नको लागि हामीसँग पर्याप्त पैसा थिएन अनि कानुनी परामर्शको लागि कहाँ जानुपर्ने हो, हामीलाई केही पनि थाह थिएन।”

 हाम्रा भाइबहिनीको धार्मिक स्वतन्त्रतामाथि नै आक्रमण भएकोले मध्य अमेरिका शाखाले तुरुन्तै कदम चाल्यो। सुरुमा शाखाका भाइहरूले घटनाको छानबिन गर्न स्थानीय अधिकारीहरूलाई अनुरोध गरे। त्यसपछि तिनीहरूले मुख्यालयको कानुन विभागसँग मिलेर काम गर्न अनि हुइचोल समुदायका भाइबहिनीहरूको पक्षमा मुद्दा लड्‌न यहोवाका साक्षीहरूको परिचालक निकायको संयोजन समितिको अनुमति पनि पाए। त्यो मुद्दा मेक्सिकोको सर्वोच्च अदालतसम्म पुग्यो।

 अरूले आदिवासीहरूको संस्कृतिलाई सम्मान गरेझैँ आदिवासीहरूले पनि आफ्ना समुदायका मानिसहरूको धार्मिक स्वतन्त्रताको सम्मान गर्नुपर्छ र त्यसको रक्षा गर्नुपर्छ भनेर वकिलहरूको एउटा अन्तरराष्ट्रिय टोलीले स्पष्ट रूपमा आफ्नो तर्क प्रस्तुत गऱ्‍यो। मानव अधिकार सबै देशका मानिसहरूको लागि हो।

 जुलाई ८, २०२० मा सर्वोच्च अदालतले यहोवाका साक्षीहरूको पक्षमा फैसला सुनायो। साथै अदालतले गाउँबाट निकालिएकाहरूलाई आफ्नो घरमा फर्कन दिन समुदायलाई आदेश पनि दियो। अगाडि उल्लेख गरिएका अगस्टिन कृतज्ञ हुँदै यसो भन्छन्‌: “हाम्रा भाइहरूले हाम्रो निम्ति गर्नुभएको कुराको लागि हामी निकै कृतज्ञ अनि खुसी छौँ। उहाँहरूको मदत नपाएको भए हामीले केही गर्न सक्ने थिएनौँ।”

“यति थोरैको लागि यति धेरै”

 त्यसैगरि इक्वेडरको स्यान ह्वान डि इलुमान भन्‍ने गाउँका हाम्रा भाइबहिनीहरूले पनि विरोधको सामना गर्नुपरेको थियो। त्यो गाउँ ओटाभालो उपत्यकामा पर्छ, जहाँ धेरै आदिवासीहरू बसोबास गर्ने गर्छन्‌। सन्‌ २०१४ मा आवश्‍यक सबै प्रक्रिया पूरा गरेपछि ती भाइबहिनीहरूले एउटा सभाभवन निर्माण गर्न सुरु गरे। तर एक जना पादरीले १०० भन्दा बढीको भीड जम्मा गरेर जबरजस्ती निर्माणकार्य रोक्न लगाए। त्यसपछि त्यहाँको समुदायले यहोवाका साक्षीहरूलाई उपासनाको लागि एकसाथ भेला नहुन आदेश दियो।

 त्यसैले उक्‍त मण्डलीका भाइबहिनीहरूको धार्मिक स्वतन्त्रताको पक्षमा लड्‌नको लागि इक्वेडर शाखा र मुख्यालयका कानुन विभागहरू आपसमा मिलेर काम गरे। हाम्रा भाइहरूले यस मामिलामा अदालतमा मुद्दा हाले। त्यसले गर्दा समुदायका मानिसहरूले हाम्रा भाइबहिनीहरूको विरोध गर्न छोडे अनि सभाहरू सञ्चालन गर्न र सभाभवनको निर्माणकार्यमा कुनै बाधा पुऱ्‍याएनन्‌। तर हाम्रा भाइबहिनीहरूले भविष्यमा फेरि यस्तै समस्या सामना गर्न नपरोस्‌ भनेर हाम्रा प्रतिनिधिहरूले सर्वोच्च अदालतलाई एउटा आधारभूत विषयमा फैसला गर्न आग्रह गरे। त्यो विषय हो: “आदिवासी समुदायहरूले अन्तरराष्ट्रिय मानव अधिकारको सम्मान गर्नुपर्छ कि पर्दैन?”

 जुलाई १६, २०२० मा इक्वेडरको सबैभन्दा उच्च अदालत अर्थात्‌ संवैधानिक अदालतमा यो मामिलाको सुनुवाइ भयो। इक्वेडरका हाम्रा भाइहरू जो वकिल हुन्‌, तिनीहरूले मण्डलीको प्रतिनिधित्व गरे। यसको अलावा हाम्रा चार जना भाइ जो अनुभवी अन्तरराष्ट्रिय वकिल हुन्‌, तिनीहरूले अदालतमा हाम्रो पक्षमा बहस गरे। कोभिड-१९ महामारीको कारण तिनीहरूले आ-आफ्नो देशबाटै भिडियो कन्फरेन्सिङमार्फत बहसमा भाग लिए। कुनै पनि अदालतले यहोवाका साक्षीहरूको कानुनी टोलीलाई यस्तो तरिकामा बहसमा भाग लिन अनुमति दिएको यो पहिलो पटक हो। c आदिवासी मानिसहरूले आफू कुनै आदिवासी समुदायको भाग भएकैले आफ्नो मानव अधिकारको लागि लड्‌न छोड्‌नेछैनन्‌ भन्‍ने कुरा पुष्टि गर्न हाम्रो टोलीले अन्तरराष्ट्रिय कानुनी अधिकारीहरूलाई अदालतमा बयान दिन लगायो।

वकिलहरूको अन्तरराष्ट्रिय टोलीले हाम्रा भाइबहिनीहरूको अधिकारको लागि भिडियो कन्फरेन्सिङमार्फत बहस गऱ्‍यो

 ओटाभालो उपत्यकाका हाम्रा भाइबहिनीहरू संवैधानिक अदालतको फैसलाको उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन्‌। आफूले पाएको मदतको लागि तिनीहरू धेरै कृतज्ञ छन्‌। इलुमान किचुवा मण्डलीमा एल्डरको रूपमा सेवा गरिरहेका भाइ सिजर यसो भन्छन्‌: “यहोवाले मात्र आफ्नो सङ्‌गठनमार्फत यति थोरैको लागि यति धेरै गर्न सक्नुहुन्छ।”

 यस मुद्दामा संलग्न वकिलहरू सबै यहोवाका साक्षीहरू नै हुन्‌ अनि कानुनी क्षेत्रमा आफूले बटुलेको ज्ञान र अनुभव भाइबहिनीहरूको लागि नि:शुल्क रूपमा प्रयोग गर्न पाउँदा तिनीहरू निकै खुसी छन्‌। मुद्दा दायर गर्न, त्यसको लागि तयारी गर्न अनि बहस गर्न समय र पैसा निकै खर्च हुन्छ। हाम्रा भाइहरू र वकिलहरूले बहसको लागि तयारी गर्न ३८० भन्दा धेरै घण्टा अनि मेक्सिकन भाषामा कागजपत्रहरू अनुवाद गर्न २४० घण्टा खर्च गरे। इक्वेडरको यो मुद्दाको लागि संसारभरिका झन्डै ४० जना वकिलहरूले सयौँ घण्टा खर्च गरे। हाम्रा भाइबहिनीहरूको पक्षमा मुद्दा लड्‌न आवश्‍यक खर्चहरू कसरी बेहोरिन्छ? donate.pr418.com मा उल्लेख गरिएका विभिन्‍न तरिका चलाएर तपाईँले दिनुभएको अनुदानबाट नै यी खर्चहरू बेहोरिन्छ। तपाईँले उदार भएर दिनुभएको अनुदानको लागि धन्यवाद।

a यहोवाका साक्षीहरूले ल्याटिन अमेरिकाका अरू भाषाहरूमा अनि त्यस क्षेत्रका साङ्‌केतिक भाषाहरूमा पनि प्रकाशनहरू अनुवाद गर्छन्‌।

b हुइचोल समुदायका मानिसहरूलाई विक्जारिटारी पनि भनिन्छ अनि तिनीहरूको भाषालाई विक्जारिका भनिन्छ।

c यस मुद्दामा हाम्रो विश्‍वव्यापी सङ्‌गठन नै मुछिएको त थिएन तर न्यायाधीशहरूले हाम्रा भाइहरूलाई अदालतमा एमिकस क्युरी अर्थात्‌ “अदालतको साथी”-को रूपमा उपस्थित हुन अनुमति दिए।