सीधै सामग्रीमा जाने

भाइहरू घर छोड्‌न बाध्य भएका भाइबहिनीलाई बाइबलबाट प्रोत्साहन दिँदै छन्‌

मे २३, २०२२
युक्रेन

अपडेट #८ | युक्रेनको तनावग्रस्त स्थितिमा पनि एकअर्कालाई भ्रातृप्रेम देखाउँदै

युद्ध चर्किँदै जाँदा गोठालो भेट पनि बढाइँदै

अपडेट #८ | युक्रेनको तनावग्रस्त स्थितिमा पनि एकअर्कालाई भ्रातृप्रेम देखाउँदै

युक्रेनको अवस्था गाह्रो हुँदै जाँदा युक्रेन शाखाले देशभरिका भाइबहिनीलाई अझ धेरै गोठालो भेट गर्ने प्रबन्ध मिलाएको छ। देशभरिका जिम्मेवार भाइहरूले अर्को ठाउँमा सर्न बाध्य भएका हजारौँ भाइबहिनीलाई गोठालो भेट गर्न धेरै मेहनत गर्दै छन्‌। यस्तो भेटबाट भाइबहिनीले आध्यात्मिक रूपमा धेरै लाभ उठाउन सकेका छन्‌। आफ्नो घर छोडेर पश्‍चिमी युक्रेन आएका भाइबहिनीलाई युक्रेन शाखा समितिका एक सदस्यले गोठालो भेट गरे। यस भेटपछि उजगोरोड सहरमा एउटा सभाभवनमा झन्डै ३० जनासँगै बसिरहेकी एक बहिनीले यसो भनिन्‌: “यहोवाले मलाई आफ्नो न्यानो अङ्‌गालोमा बाँध्नुभएको मैले महसुस गरेँ।”

भाइहरूले २७ वटा प्रकोप राहत समितिमा (DRC) सेवा गर्ने झन्डै १०० जना साहसी भाइलाई गोठालो भेट गर्न पनि धेरै मेहनत गर्दै छन्‌। DRC मा सेवा गरिरहेका इहोर यसो भन्छन्‌: “मलाई DRC मा सेवा गर्न खटाइँदा म र मेरी श्रीमती घर छोडेर अन्तै बसिरहेका थियौँ। हामी एकदमै तनावमा हुँदा शाखा समितिका एक जना सदस्यले आफू निकै व्यस्त भए पनि हामीलाई भेट्‌न समय निकाल्नुभयो र हाम्रो कुरा ध्यान दिएर सुन्‍नुभयो। उहाँले हाम्रो साँच्चै ख्याल राख्नुभएको महसुस गऱ्‍यौँ।” इहोर अझै यसो भन्छन्‌: “कहिलेकाहीँ हामी निस्सहाय शिशुजस्तै महसुस गर्छौँ; आफ्नो परिस्थितिमा कुनै नियन्त्रण नै छैन जस्तो लाग्छ। उम्कने कुनै बाटो नै छैन जस्तो लाग्दा हामीले गर्न सक्ने एउटै मात्र कुरा भनेको डोऱ्‍याइको लागि यहोवालाई प्रार्थना गर्नु हो। यसो गर्दा हामी आफ्नो जीवनमा यहोवाको हात देख्न सक्छौँ।”

युद्धग्रस्त इलाकाका सभाभवनहरूबारे कुरा गर्नुपर्दा ४ वटा पूरै ध्वस्त भएका छन्‌, ८ वटामा ठूलो क्षति भएको छ र ३३ वटामा हल्का क्षति भएको छ।

सन्‌ २०१९ मा किभबाहिरको एउटा सभाभवन (बायाँ) र अहिले (दायाँ)

मे १७, २०२२ सम्ममा युक्रेनबाट प्राप्त भएको रिपोर्ट। तल दिइएका तथ्याङ्‌कहरू स्थानीय भाइहरूले तयार पारेका रिपोर्टहरू हुन्‌। तर युक्रेनका सबै क्षेत्रमा सम्पर्क गर्न गाह्रो भइरहेको छ, त्यसैले यी सङ्‌ख्या अझ धेरै हुन सक्छ:

हाम्रा भाइबहिनीहरूको अवस्था

  • ३७ जना प्रकाशकको मृत्यु भयो

  • ७४ जना प्रकाशक घाइते भए

  • ४५,२५३ जना भाइबहिनी घर छोडेर देशभित्रकै सुरक्षित स्थानहरूमा भागे

  • ४१८ वटा घर ध्वस्त भए

  • ४६६ वटा घरमा ठूलो क्षति भयो

  • १,२१३ वटा घरमा हल्का क्षति भयो

  • ४ वटा सभाभवन ध्वस्त भए

  • ८ वटा सभाभवनमा ठूलो क्षति भयो

  • ३३ वटा सभाभवनमा हल्का क्षति भयो

राहत कार्य

  • युक्रेनमा २७ वटा प्रकोप राहत समितिले काम गरिरहेको छ

  • प्रकोप राहत समितिहरूले ४८,८०६ जना भाइबहिनीलाई सुरक्षित क्षेत्रमा आवासको प्रबन्ध मिलाए

  • २१,७८६ जना भाइबहिनी अरू देशमा भागेका छन्‌ र त्यहाँका भाइबहिनीले तिनीहरूलाई मदत गर्दै छन्‌