सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरूले २५ वर्षअघि watchtower.org वेबसाइट सञ्चालनमा ल्याएका थिए। JW.ORG वेबसाइट सन्‌ २०१२ बाट उपलब्ध भयो र अहिले यो सबैभन्दा धेरै भाषामा अनुवाद गरिएको वेबसाइट भएको छ

अगस्त १७, २०२२
विश्‍व समाचार

“इन्टरनेटमा सुसमाचार”

यहोवाका साक्षीहरूको आधिकारिक वेबसाइटको २५ वर्ष पूरा

“इन्टरनेटमा सुसमाचार”

यहोवाका साक्षीहरूले इन्टरनेटमा आफ्नै आधिकारिक वेबसाइट निकालेको २५ वर्ष पूरा भएको छ। सन्‌ १९९७ को नोभेम्बर अङ्‌कको हाम्रो राज्य सेवकाई-मा छापिएको “इन्टरनेटमा सुसमाचार” विषयको लेखमा हाम्रो नयाँ वेबसाइट watchtower.org बारे जानकारी दिइएको थियो। त्यस लेखमा यसो भनिएको थियो: “सोसाइटीले यहोवाका साक्षीहरूका विश्‍वास र क्रियाकलापहरूसम्बन्धी सही जानकारीहरूका केही अंश इन्टरनेटमा उपलब्ध गराएको छ। ... हाम्रो वेबसाइटको उद्देश्‍य नयाँ प्रकाशन विमोचन गर्नु नभई इलेक्ट्रोनिक फर्म्याटमा सर्वसाधारणलाई जानकारी उपलब्ध गराउनु हो।”

त्यस समयदेखि सर्वसाधारणहरूले watchtower.org वेबसाइटबाट कुनै-कुनै पर्चा, पुस्तिका अनि प्रहरीधरहराब्यूँझनुहोस्‌!-का लेखहरू डाउनलोड गर्न सक्ने भए। त्यो वेबसाइट जनवरी १५, १९९७ सम्म चल्यो। त्यसपछि सन्‌ १९९९ मा jw-media.org सञ्चालनमा आयो। त्यस वेबसाइटले सञ्चारकर्मीहरूलाई यहोवाका साक्षीहरूका गतिविधिहरूबारे सही जानकारी दिने काम गऱ्‍यो। ती जानकारीमा कानुनी मामिलाहरू तथा सङ्‌गठनात्मक गतिविधिहरू पनि समावेश गरिन्थ्यो।

सन्‌ २००५ मा jw.org सञ्चालनमा आयो र समयको दौडान कुनै-कुनै प्रकाशन र अडियो रेकर्डिङहरू डाउनलोडको लागि उपलब्ध गरियो।

अगस्त २०१२ मा ती तीन वटै वेबसाइटलाई गाभेर नयाँ डिजाइनको jw.org वेबसाइट बनाइयो। उक्‍त नयाँ वेबसाइटबारे डिसेम्बर २०१२ अङ्‌कको हाम्रो राज्य सेवा-मा यसो भनिएको थियो: “विश्‍व जनसङ्‌ख्याको एक तिहाइ जति मानिसहरू इन्टरनेट चलाउँछन्‌। थुप्रैले, अझ खासगरि जवानहरूले विभिन्‍न जानकारी प्राप्त गर्नको लागि इन्टरनेट नै प्रयोग गर्छन्‌। ... यसले गर्दा राज्यको सुसमाचार सुन्‍ने मौका त्यति नभएको इलाकाका मानिसहरूले समेत सजिलै सुन्‍न सक्छन्‌।”

JW.ORG वेबसाइट अझ धेरै भाषामा अनुवाद गरियो अनि थुप्रै लिखित तथा अडियो-भिडियो प्रकाशन पनि थपियो। प्रकाशनहरू डाउनलोडको लागि ४११ भाषामा उपलब्ध थिए। सन्‌ २०१२ मा नयाँ डिजाइनमा फेरि सञ्चालनमा आएको jw.org वेबसाइट सात वर्षको अन्तरालमा १ हजार भाषामा उपलब्ध भइसकेको थियो, जसमा १०० वटा त साङ्‌केतिक भाषा पर्थे।

कोभिड-१९ महामारीपछि jw.org वेबसाइट अझ अनमोल सामग्री साबित भएको छ। भेटेरै गरिने सभाहरू स्थगित गरिएपछि अनि प्रकाशनहरू छाप्न र वितरण गर्न चुनौतीपूर्ण हुँदै गएपछि jw.org वेबसाइटको प्रयोग अझ बढ्यो। अप्रिल ७, २०२० मा अर्थात्‌ येसुको मृत्युको वार्षिकीको दिनमा ७० लाखभन्दा धेरै डिभाइसमा jw.org वेबसाइट प्रयोग गरियो। एकै दिनमा त्यति धेरै डिभाइसमा हाम्रो वेबसाइट खोलिएको त्यो नै पहिलो पटक थियो। सन्‌ २०२० भरि मानिसहरूले हाम्रो वेबसाइट १ अरबभन्दा धेरै पटक प्रयोग गरे जबकि २०१९ मा त्यस्तै ८० करोड पटक प्रयोग गरिएको थियो। सन्‌ २०२२ को जनवरी यता jw.org वेबसाइट हरेक दिन औसतमा ३० लाख पटक प्रयोग गरिँदै छ।

JW.ORG वेबसाइटमा आउने सही जानकारीले गर्दा मानिसहरूलाई यहोवाका साक्षीहरूप्रति पूर्वाग्रह हटाउन मदत पुगेको छ। उदाहरणको लागि, टेनेशा गोर्डन यसो भन्छिन्‌: “JW.ORG वेबसाइटबाट यहोवाका साक्षीहरू को हुन्‌, के विश्‍वास गर्छन्‌ र तिनीहरूको विश्‍वासको आधार के हो भन्‍नेबारे सजिलै जानकारी हासिल गर्न सकिन्छ। ती पढ्‌दा मैले पहिले तिनीहरूबारे सुनेका कुराहरू त गलत पो रहेछन्‌ भनेर बुझेँ।”

टेनेशाले सन्‌ २०१७ मा बप्तिस्मा गरिन्‌। अहिले उनी जमैकामा आंशिक समय बेथेल सेवकको रूपमा सेवा गर्छिन्‌।

JW.ORG मा उपलब्ध सही जानकारीले गर्दा टेनेशा यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न उत्प्रेरित भइन्‌

JW.ORG वेबसाइटको कामकुरा सँभाल्ने विभागका निरीक्षक भाइ क्लिभ मार्टिन यसो भन्‍नुहुन्छ: “यहोवाले jw.org वेबसाइट प्रयोग गरेर पृथ्वीको कुनाकुनामा विभिन्‍न पृष्ठभूमि र संस्कृतिका मानिसहरूकहाँ राज्यको सुसमाचार पुऱ्‍याउनुभएको देख्न पाउनु निकै स्फूर्तिदायी कुरा हो।”

साक्षीकार्य अघि बढाउन, सङ्‌गठनको गतिविधिबारे ताजा जानकारी लिन र संसारभरका दाजुभाइ दिदीबहिनीसित एकतामा रहन हाम्रो लागि यस्तो अनमोल सामग्री दिनुभएकोमा हामी यहोवाप्रति आभारी छौँ र उहाँको प्रशंसा गर्छौँ।—भजन १४५:१, २.