सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

आमाबुबाले सोसल मिडिया चलाउन नदिँदा म के गरूँ?

आमाबुबाले सोसल मिडिया चलाउन नदिँदा म के गरूँ?

 सायद तपाईँका सबै साथी सोसल मिडिया चलाउँछन्‌ अनि जतिबेला पनि त्यसबारे मात्रै कुरा गरिरहन्छन्‌। सोसल मिडियामा तपाईँको अकाउन्ट छैन भनेर थाह पाउँदा तिनीहरू तपाईँको मजाक उडाउँछन्‌ होला। तर सोसल मिडियाको प्रयोगबारे तपाईँले के बुझ्नुपर्छ? आमाबुबाले तपाईँलाई सोसल मिडिया चलाउन दिनुहुन्‍न भने तपाईँ के गर्न सक्नुहुन्छ?

तपाईँले के बुझ्नुपर्छ?

 सोसल मिडिया नचलाउने तपाईँ मात्र होइन। थुप्रै आमाबुबाहरू आफ्ना छोराछोरीलाई सोसल मिडिया चलाउन दिँदैनन्‌। सोसल मिडिया चलाउँदा निम्न समस्याहरू निम्तिन सक्छ भनेर बुझेकोले तिनीहरूले त्यस्तो रोक लगाएका हुन सक्छन्‌:

  •   डिप्रेसन अनि अन्य मानसिक स्वास्थ्य समस्या

  •   अश्‍लील सामग्री, सेक्सटिङ अनि साइबरबुलिङको खतरा

  •   साथीहरूबीच पर्ने अनावश्‍यक ठाकठुक

 थुप्रै किशोरकिशोरीले सोसल मिडिया चलाउन छोडेका छन्‌। तिनीहरूले सोसल मिडिया चलाउनुको फाइदाभन्दा बेफाइदा धेरै भएको महसुस गरेकोले आफैले सोसल मिडिया चलाउन छोड्‌ने निर्णय गरेका छन्‌। केही किशोरकिशोरीले किन त्यस्तो निर्णय गरे, विचार गर्नुहोस्‌।

  •   प्रिस्किलाले सोसल मिडियाले आफ्नो धेरै समय खाइरहेको याद गरिन्‌।

  •   जेरिमिलाई आफ्नो सोसल मिडिया फिडमा अनेक थरीका चाहिने-नचाहिने सामग्रीहरू आइरहेको मन परेन।

  •   बेथानीले सोसल मिडिया चलाउँदा अरूले के गरिरहेका छन्‌ भन्‍ने कुरामै बढी ध्यान गएको याद गरिन्‌।

 “मैले सबै सोसल मिडिया एप डिलिट गरेँ अनि अहिले मलाई त्यो चलाऊँ-चलाऊँ जस्तो पनि लाग्दैन। बरु मैले अझ महत्त्वपूर्ण कुराहरूमा धेरै समय बिताउन सकेकी छु। मैले जे गरेँ, राम्रै गरेँ।”—सिएरा

 “मलाई सोसल मिडियाविना त बाँच्नै सक्दिनँ जस्तो लाग्थ्यो। आफूले गरेको पोस्टमा अरूले कस्तो रियाक्ट गर्ने होला भन्‍ने कुरामै बढी ध्यान जान्थ्यो। सुरुमा त मलाई अकाउन्ट डिलिट गर्न एकदमै गाह्रो भयो तर गरेपछि भने टेन्सन नै कम भयो।”—केट

तपाईँ के गर्न सक्नुहुन्छ?

 आमाबुबाले भनेको मान्‍नुहोस्‌। आमाबुबाले सोसल मिडिया चलाउन नदिँदा रिसाउने वा गनगन गर्ने नगर्नुहोस्‌। बरु उहाँहरूको कुरा मानेर परिपक्व भएको देखाउनुहोस्‌।

 बाइबल सिद्धान्त: “मूर्ख मानिसले आफ्नो रिस पोख्छ तर बुद्धिमान्‌ मानिसले त्यसलाई काबूमा राख्छ।”—हितोपदेश २९:११.

 कसै-कसैले तपाईँलाई आमाबुबाले थाह नपाउने गरी सोसल मिडिया चलाउन वा अर्कै नाममा अकाउन्ट खोल्न भन्‍न सक्छन्‌। तर त्यसो गर्नु बुद्धिमानी होइन। त्यसरी लुकीछिपी चलाउँदा तपाईँलाई आमाबुबाले थाह पाउनुहोला कि भनेर झन्‌ धेरै टेन्सन हुनेछ र दोषी महसुस गर्नुहुनेछ। पछि आमाबुबाले त्यो कुरा थाह पाउनुभयो भने तपाईँले उहाँहरूको भरोसा पनि गुमाउनुहुनेछ।

 बाइबल सिद्धान्त: “हामी सबै कुरामा इमानदार भई चल्न चाहन्छौँ।”—हिब्रू १३:१८.

 सोसल मिडिया नचलाउने निर्णय गर्नुहोस्‌। अघि उल्लेख गरिएका किशोर किशोरीले जस्तै तपाईँले पनि सोसल मिडिया नचलाउने विभिन्‍न कारण सोच्न सक्नुहुन्छ। सोसल मिडिया चलाउनु आफ्नो लागि ठीक छैन भन्‍ने कुरामा पक्का हुनुहुन्छ भने चलाउन छोड्‌नुहोस्‌। आमाबुबाले भनेकोले मात्र होइन बरु आफैले नचलाउने निर्णय गर्नुहोस्‌। यसो गर्नुभयो भने साथीहरूले ‘सोसल मिडिया किन नचलाको’ भनेर सोध्दा पनि तपाईँलाई अप्ठ्यारो लाग्नेछैन र तिनीहरूले तपाईँको मजाक उडाउने सम्भावना पनि कम हुन्छ।

 निष्कर्ष: आमाबुबाले भनेको मान्‍नुहोस्‌। साथै उहाँहरूले त्यस्तो निर्णय गर्नुको कारण के हो, बुझ्ने प्रयास गर्नुहोस्‌ र आफैले पनि सोसल मिडिया नचलाउने निर्णय गर्नुहोस्‌। तपाईँ सोसल मिडियाविना पनि बाँच्न सक्नुहुन्छ।