सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

ममीड्याडी किन मलाई रमाइलो गर्न दिनुहुन्‍न?

ममीड्याडी किन मलाई रमाइलो गर्न दिनुहुन्‍न?

 साथीहरूले तपाईँलाई सप्ताहन्तमा हुन लागेको एउटा पार्टीको निम्तो दिन्छन्‌। तर तपाईँले ममीड्याडीसित अनुमति माग्दा, “जानुपर्दैन” भन्‍ने जवाफ आउँछ। यस्तो जवाफ सुने पनि तपाईँलाई अनौठो लाग्दैन किनभने उहाँहरूले पहिला पनि त्यस्तै जवाफ दिनुभएको थियो।

यस लेखमा

 मेरो ममीड्याडी किन सधैँ ‘हुँदैन’ भन्‍नुहुन्छ?

 तपाईँको ममीड्याडीले सधैँ अनुमति दिन इन्कार गर्नुहुन्छ भने तपाईँले रमाइलो गरेको उहाँहरू चाहनुहुन्‍न भन्‍ने निष्कर्षमा पुग्नुहुन्छ होला।

 म्यारी नाम गरेकी किशोरीले पहिलो पटक मोबाइल पाएपछि यस्तै महसुस गरिन्‌। तिनी यसो भन्छिन्‌, “मेरो ड्याडीले धेरै नियमहरू बनाइदिनुभयो। जस्तै: कुन एप मात्र डाउनलोड गर्ने, कोसित कुराकानी गर्ने र कति समयसम्म कुराकानी गर्ने। तर मेरा साथीहरूले भने आफूलाई जे मन लाग्यो, त्यहीँ गर्न पाउँथे।”

 यसबारे सोच्नुहोस्‌: के म्यारीको ड्याडीले साँच्चै उनलाई रमाइलो गर्नदेखि रोक्न खोजिरहेका थिए? तिनी कस्ता कुराहरूको लागि चिन्तित थिए होलान्‌?

गति सीमित भन्‍ने नियमले हाम्रो स्वतन्त्रता केही हदसम्म खोसेपनि त्यसले हामीलाई सम्भावित खतराहरूदेखि जोगाउँछ। ममीड्याडीले तोक्नुभएका नियमहरूको सन्दर्भमा पनि कुरा उस्तै हो

 यसो गरे कसो होला? तपाईँ ममीड्याडीको ठाउँमा बसेर सोच्नुहोस्‌ त। तपाईँको जवान छोराछोरीले भर्खरै मात्र मोबाइल पाएका छन्‌। तपाईँ कस्ता कुरामा चिन्तित हुनुहुनेछ? तपाईँ आफ्नो छोराछोरीलाई सुरक्षित राख्न कस्ता नियम बनाउनुहुनेछ? तपाईँले रमाइलो गर्न दिनुहुन्‍न भनेर छोराछोरीले गुनासो गर्दा तपाईँ कस्तो जवाफ दिनुहुनेछ?

 “मेरो ड्याडी सधैँ यस्तो भन्‍नुहुन्छ, ‘तिमी मेरो ठाउँमा बसेर हेर त।’ यसो गर्दा मलाई उहाँले बनाउनुभएको नियमपछाडिको कारण बुझ्न मदत पुगेको छ। मेरो पनि छोराछोरी भएको भए ड्याडीले जस्तै उनीहरूले नियम पालन गरेको आशा गर्थेँ होला।”—तान्या।

 मैले के गरेँ भने ममी-ड्याडीले ‘हुन्छ’ भन्‍नुहुन्छ?

 यसो नगर्नुहोस्‌: ठुस्स परेर बस्ने, गुनासो वा झगडा गर्ने।

 “चिच्याएर समस्याको समाधान हुँदैन। उल्टै तपाईँ तपाईँको ममीड्याडी थकित र तनावग्रस्त हुनुहुनेछ। तपाईँले भनाभन गर्नुभयो भने उहाँहरूले तपाईँ अपरिपक्व हुनुहुन्छ र अझै स्वतन्त्रता पाउन तयार भइसक्नुभएको छैन भन्‍ने निष्कर्षमा पुग्नु हुनेछ।”—रिचर्ड।

 यसो गर्नुहोस्‌: तुरुन्तै प्रतिक्रिया नदिनुहोस्‌। बरु परिस्थितिलाई ममीड्याडीको नजरबाट हेर्नुहोस्‌। समस्या के हो, राम्ररी पत्ता लगाउनुहोस्‌। के उहाँहरूले साँच्चै तपाईँलाई भरोसा नगर्नुभएको हो? वा तपाईँले सङ्‌गत गर्न चाहनुभएको व्यक्‍ति वा तपाईँ फस्न सक्ने परिस्थितिलाई पो भरोसा नगर्नुभएको हो कि? यसबारे उहाँहरूसित शान्त भएर कुराकानी गरे कसो होला? तपाईँले यसो गर्नुभयो भने उहाँहरूले ‘हुँदैन’ भन्‍नुको कारण बुझ्नुहुनेछ।

 “ममीड्याडीले हरेक नियम हाम्रै फाइदाको लागि बनाउनुहुन्छ। उहाँहरूले मलाई रमाइलो गर्नदेखि रोक्न खोज्नुभएको त होइन। बरु म कुनै समस्यामा नफसिकन रमाइलो गरेको चाहनुहुन्छ।”आइभी।

 बाइबलको सिद्धान्त: “मूर्ख मानिसले आफ्नो रिस पोख्छ तर बुद्धिमान्‌ मानिसले त्यसलाई काबूमा राख्छ।”—हितोपदेश २९:११.

 यसो नगर्नुहोस्‌: ममीड्याडीले ‘हुँदैन’ भन्‍नुभएको कुरा लुकी-लुकी गर्ने।

 “ड्याडीले मोबाइल चलाउने सन्दर्भमा दिनुभएको नियम म उहाँको आँखा छलेर नमान्‍ने गर्थेँ। म साथीहरूलाई राती अबेरसम्म मेसेज गर्न वा ड्याडीले निषेध गर्नुभएका एपहरू डाउनलोड गर्न विभिन्‍न उपाय निकाल्थेँ। तर उहाँले सधैँ थाह पाइहाल्नुहुन्थ्यो अनि अझ कडा नियम बनाउनुहुन्थ्यो। उहाँ मलाई भरोसै गर्न सक्नुहुन्‍नथ्यो। त्यसैले नियम तोड्‌न खोज्नु राम्रो होइन।”म्यारी।

 यसो गर्नुहोस्‌: ममीड्याडीले दिनुभएको नियम पालन गर्नुहोस्‌ र उहाँहरूको भरोसा जित्नुहोस्‌।

 “धीरजी हुनुहोस्‌। ममीड्याडीलाई नियममा केही छाँटकाँट गर्न समय लाग्न सक्छ। तर तपाईँले नियम पालन गरेको देख्नुभयो भने उहाँहरू तपाईँलाई अझ स्वतन्त्रता दिन तयार हुनुहुनेछ।”—मेलिन्दा।

 बाइबलको सिद्धान्त: “सबै कुरामा आफ्ना आमाबुबाप्रति आज्ञाकारी होओ।”—कलस्सी ३:२०.

 यसो नगर्नुहोस्‌: आफूजस्तै उमेरकाहरूले गर्न पाएका कुराहरू आफूले पनि गर्न पाऊँ भनेर ममीड्याडीसित जिद्दी गर्ने।

 “जिद्दी गरिहऱ्‍यौँ भने पनि आफूले चाहेको कुरा सजिलै पाइन्छ भन्‍ने छैन्‌।”—नतालिया।

 यसो गर्नुहोस्‌: कुनै विषयमा ममीड्याडीसित कुराकानी गर्न “रिजनिङ्‌ग अन द रुल्स्‌” अभ्यास सामग्री प्रयोग गर्नुहोस्‌।

 “ममीड्याडी हामीले सोचविचार गरेर निर्णय गरेको चाहनुहुन्छ। त्यसैले म भावनामा बगेर नभई ठोस कारण बताएर उहाँहरूसित कुरा गर्छु। यसो गर्दा उहाँहरूले मलाई कुनै रोकटोकविना अनुमति दिनुहुन्छ।”—जोसेफ।

 बाइबलको सिद्धान्त: “तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू।”—एफिसी ६:२.