सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

मलाई कुरा गर्नै आउँदैन, के गरूँ?

मलाई कुरा गर्नै आउँदैन, के गरूँ?

 भेटेरै कुरा गर्दा कस्तो फाइदा हुन्छ?

 कसै-कसैलाई मेसेजमा कुरा गर्न त सजिलो लाग्छ तर भेटेरै कुरा गर्नुपर्दा चाहिँ असाध्यै गाह्रो लाग्छ।

 “भेटेरै कुरा गर्न त लास्टै गाह्रो छ। एकचोटि बोलेपछि डिलिट गर्न पनि मिल्दैन, एडिट गर्न पनि मिल्दैन।”—एना।

 “मेसेज गर्नु भनेको रेकर्डिङ हेर्नुजस्तै हो। तर भेटेरै कुरा गर्नु भनेको लाइभ-शो हेर्नुजस्तै हो। कुरा गर्दा भन्‍न नहुने कुरा पनि प्वाक्क निस्कने हो कि भनेर टेन्सन भइरहन्छ।”—जिन।

 मेसेजले मात्रै जिन्दगी चल्दैन। भेटेरै कुराकानी गर्न पनि सिक्नुपर्छ, जस्तै: नयाँ साथीहरू बनाउन, जागिर खान अनि बेला भएपछि डेटिङ गर्न।

 भेटेरै कुराकानी गर्न असाध्यै डर लाग्छ भने पनि चिन्ता नगर्नुहोस्‌। तपाईँ लजालु स्वभावको हुनुहुन्छ भने पनि यसरी कुराकानी गर्न सिक्न सक्नुहुन्छ।

 “बोल्दा कहिलेकाहीँ गल्ती त भइहाल्छ अनि कस्तो लाज लाग्छ! त्यस्तो बेला म अरूसँगसँगै हाँसिदिन्छु।”—निल।

 कुराकानी कसरी सुरु गर्न सक्नुहुन्छ?

  •   प्रश्‍नहरू सोध्नुहोस्‌। मानिसहरूलाई कुन विषयमा चासो लाग्छ, विचार गर्नुहोस्‌। पछि त्यही विषयलाई लिएर कुराकानी सुरु गर्नुहोस्‌। उदाहरणको लागि, तपाईँ यस्तै केही भन्‍न सक्नुहुन्छ:

     “तिमी बिदामा कतै घुम्न गयौ?”

     “तिमीले यो मुभी हेऱ्‍यौ? दामी छ!”

     “तिमीले एउटा कुरा थाह पायौ?”

     के तपाईँहरू एउटै स्कुलमा पढ्‌नुहुन्छ वा एकै ठाउँमा काम गर्नुहुन्छ? त्यसो हो भने तपाईँहरूबीच मिल्ने कुराहरू धेरै हुन सक्छ। तपाईँ त्यसैलाई आधार बनाएर कुराकानी सुरु गर्न सक्नुहुन्छ।

     “तपाईँलाई चासो लाग्ने अनि त्यसबारे अरूको पनि विचार बुझ्न चाहेको विषयबारे सोच्नुहोस्‌ र त्यसैसम्बन्धी प्रश्‍नहरू सोध्नुहोस्‌।”—मरित्जा।

     होसियार हुनुपर्ने कुरा: एकपछि अर्को प्रश्‍न सोधेर केरकार गरेजस्तो नगर्नुहोस्‌। साथै तिनलाई अप्ठ्यारोमा पार्ने खालका प्रश्‍नहरू पनि नसोध्नुहोस्‌। जस्तै: “तिमीलाई सबैभन्दा डर लाग्ने कुरा के हो?” वा “तिमी किन निलो कलरको लुगा मात्र लगाउँछौ?” भन्‍नेजस्ता प्रश्‍नहरू सोध्दा तिनलाई बढी नै खोजीनीति गरेको जस्तो लाग्न सक्छ।

     कसैलाई प्रश्‍न सोध्दा तिनले जवाफ दिनुअघि वा जवाफ दिएपछि आफ्नो कुरा पनि व्यक्‍त गर्न सक्नुहुन्छ। यसो गर्दा केरकार गरेको वा इन्टर्भ्यु लिइरहेको जस्तो देखिँदैन। बरु दोहोरो कुराकानी भइरहेको हुन्छ।

    के तपाईँका प्रश्‍नहरू केरकार गरिरहेको जस्तो सुनिन्छ?

     बाइबलको सिद्धान्त: “मानिसको हृदयमा भएको कुरा गहिरो इनारको पानीजस्तै हो तर समझदार मानिसले त्यो तानेर निकाल्छ।”—हितोपदेश २०:५.

  •   ध्यान दिएर सुन्‍नुहोस्‌। तपाईँ मजाले कुराकानी गर्न सक्नुहुन्छ कि सक्नुहुन्‍न भन्‍ने कुरा तपाईँ बोल्न कत्तिको सिपालु हुनुहुन्छ, त्यसमा नभई तपाईँ कत्तिको ध्यान दिएर सुन्‍नुहुन्छ, त्यसमा निर्भर हुन्छ।

     “म आफूले कुराकानी गरिरहेको व्यक्‍तिबारे एउटा भए पनि नयाँ कुरा थाह पाउने कोसिस गर्छु। साथै तिनीसित कस्तो कुराकानी भएको थियो भनेर सम्झने कोसिस गर्छु। यसो गर्दा पछि तिनलाई भेट्‌दा अर्कै प्रश्‍न सोध्न सक्छु।”—तामारा।

     होसियार हुनुपर्ने कुरा: कसैसित कुराकानी गर्दा ध्यान दिएर सुन्‍नुभयो भने अब के भन्‍ने होला भनेर चिन्ता गर्नु पर्दैन। बरु तिनले भनेको कुरामा केही थपेर वा केही प्रश्‍न सोधेर कुराकानी अघि बढाउन सक्नुहुन्छ।

     बाइबलको सिद्धान्त: “सुन्‍नलाई सधैँ तयार हुनुपर्छ, बोल्न हतार गर्नु हुँदैन।”—याकुब १:१९.

  •    चासो देखाउनुहोस्‌। तपाईँ आफूले कुराकानी गरिरहेको व्यक्‍तिलाई साँच्चै चासो देखाउनुहुन्छ भने तिनीसित कुराकानी गर्न तपाईँलाई रमाइलो लाग्नेछ।

     “हुनत कहिलेकाहीँ कुराकानी अघि नबढेको जस्तो महसुस होला। तर अर्को व्यक्‍तिले तपाईँ तिनको कुरामा साँच्चै चासो राख्नुहुन्छ भनेर कुरा महसुस गर्छन्‌ भने कुराकानी रमाइलो हुन्छ।”—मारी।

     होसियार हुनुपर्ने कुरा: प्रशंसा गर्दा यसो नभन्‍नुहोस्‌, “कस्तो राम्रो टिसर्ट! आफै किनेको कि कसैले दे’को?” यसो भन्दा तिनलाई अप्ठेरो लाग्न सक्छ।

     बाइबलको सिद्धान्त: “तिमीहरू आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान देओ।”—फिलिप्पी २:४.

 कुराकानीको अन्तमा तपाईँ के भन्‍न सक्नुहुन्छ? जोर्डन नाम गरेको एक युवक यस्तो सुझाव दिन्छन्‌, “अर्को चोटि पनि कुराकानी गर्ने बाटो खुला राख्न तपाईँ यसो भन्‍न सक्नुहुन्छ, ‘तपाईँसित कुरा गर्न पाउँदा खुसी लाग्यो। भेट्‌दै गरौँ है!’”