सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

मेरो ममीड्याडी डिभोर्स गर्दै हुनुहुन्छ, म के गरूँ?

मेरो ममीड्याडी डिभोर्स गर्दै हुनुहुन्छ, म के गरूँ?

 किशोरकिशोरीहरूलाई सहन असाध्यै गाह्रो हुने अवस्थाहरूमध्ये एउटा हो, ममीड्याडीको डिभोर्स हुँदा। तपाईँ कसरी यस्तो तनावपूर्ण अवस्थाको सामना गर्न सक्नुहुन्छ?

यस लेखमा

 तपाईँले गर्न नहुने तीन वटा कुरा

 १. आफैलाई दोष दिने नगर्नुहोस्‌

 “म जन्मेपछि ड्याडी र ममीबीच खटपट हुन थालेको कुरा एकपटक ममीले मलाई भन्‍नुभएको थियो। त्यसैले उहाँहरू छुट्टिनुको कारण कतै मै हुँ कि जस्तो लाग्थ्यो।”—डायना।

 यो कुरा मनमा राख्नुहोस्‌: ममीड्याडीको डिभोर्स हुनुको कारण तपाईँ हुनुहुन्‍न। बरु उहाँहरूबीच कुरा नमिलेकोले गर्दा त्यसो भएको हो। तपाईँले गर्दा उहाँहरूको सम्बन्ध बिग्रिएको होइन अनि तपाईँले उहाँहरूको समस्याहरू सुल्झाउन पनि सक्नुहुन्‍न। उहाँहरूको वैवाहिक जीवनमा आएका समस्याहरूको जिम्मेवार उहाँहरू आफै हुनुहुन्छ।

 “किनकि हरेकले आफ्नो भारी आफै बोक्नेछ।”—गलाती ६:५.

 २. रिस नपाल्नुहोस्‌

 “ड्याडीले ममीको भरोसा तोड्‌नुभएकोले मलाई उहाँसित असाध्यै रिस उठ्‌छ। म उहाँमाथि फेरि भरोसा गर्न सक्दिनँ होला।”—रिआना।

 यो कुरा मनमा राख्नुहोस्‌: ममीड्याडीबीच भइरहेको तनावले गर्दा तपाईँलाई रिस उठिरहेको वा दिक्क लागिरहेको छ होला अनि यस्तो महसुस गर्नु स्वाभाविक हो। तर यसरी रिस पालिराख्नु तपाईँको स्वास्थ्यको लागि हानिकारक हुन सक्छ। यसले तपाईँलाई शारीरिक र भावनात्मक तवरमा असर गर्छ। त्यसैले रिस पाल्नु भनेको आफूले विष खाएर अरूलाई असर गर्छ भनेर सोच्नुसरह हो। a

 “रिसाउन छोड र क्रोध त्यागिदेऊ।”—भजन ३७:८.

 ३. आफ्नो वैवाहिक जीवन असफल होला भनेर नसोच्नुहोस्‌

 “मैले पनि ड्याडीले जस्तै गर्छु कि भनेर एकदमै डर लाग्छ। विवाह गरेर बच्चा पाइहालेँ भने पनि मेरो ममीड्याडीले जस्तो गर्नुभयो, मैले पनि त्यस्तै गरेर डिभोर्स गर्छु कि भनेर चिन्ता लाग्छ।”—जेसिका।

 यो कुरा मनमा राख्नुहोस्‌: तपाईँको ममीड्याडीको वैवाहिक जीवन विफल भयो भन्दैमा तपाईँको वैवाहिक जीवन पनि त्यस्तै हुन्छ भन्‍ने छैन। ममीड्याडीको अनुभवबाट तपाईँले थुप्रै महत्त्वपूर्ण पाठ सिक्न सक्नुहुन्छ। जस्तै, आफ्नो जीवनसाथीमा हुनुपर्ने गुणहरूबारे तपाईँ पहिल्यै सचेत हुन सक्नुहुन्छ। साथै उहाँहरूको अनुभवबाट तपाईँले एक असल पति वा पत्नीमा हुनुपर्ने राम्रा गुणहरू विकास गर्न पनि मदत पाउन सक्नुहुन्छ।

 “तर हरेकले आफ्नो काम जाँचोस्‌।”—गलाती ६:४.

जसरी भाँचिएको हड्डी निको हुन समय लाग्छ, त्यसरी नै ममीड्याडीको डिभोर्स स्विकार्न पनि तपाईँलाई समय लाग्न सक्छ। सुरुसुरुमा त्यो सहन गाह्रो भएपनि समयको दौडान तपाईँको पीडा कम हुँदै जानेछ

 तपाईँले गर्नुपर्ने तीन वटा कुरा

 १. कुराकानी गर्नुहोस्‌। आफ्नो भावनालाई गुम्साएर राख्ने व्यक्‍ति अक्सर आफैलाई हानि पुऱ्‍याउने आनीबानीमा फस्न सक्छन्‌। जस्तै, रक्सीको दुरुपयोग र लागूपदार्थको कुलत। यी कुराहरूमा नफस्न निम्न तरिकाहरू अपनाउनुहोस्‌:

 आमाबुबासित कुराकानी गर्नुहोस्‌। ममीड्याडीले उहाँहरूको वैवाहिक समस्याबारे तपाईँलाई घरीघरी बताइरहनुहुन्छ भने, यसले तपाईँलाई कस्तो असर गरिरहेको छ भनेर शान्तपूर्वक तर विश्‍वस्त भई बताउनुहोस्‌। यसो गर्न गाह्रो लाग्छ भने तपाईँ ममी वा ड्याडी अथवा दुवैलाई चिठी लेख्न पनि सक्नुहुन्छ।

 भरोसायोग्य साथीसित कुराकानी गर्नुहोस्‌। आफ्नो कुरा ध्यान दिएर सुनिदिने कोही हुँदा हामी निकै सान्त्वना पाउँछौ। बाइबल यसो भन्छ, “साँचो मित्रले सधैँ माया गर्छ अनि ऊ दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै हुन्छ।”—हितोपदेश १७:१७.

 आफ्नो सृष्टिकर्तासित कुराकानी गर्नुहोस्‌। यहोवा “प्रार्थना सुन्‍नुहुने परमेश्‍वर” हुनुभएकोले उहाँ सधैँ तपाईँको प्रार्थना सुन्‍नुहुन्छ। (भजन ६५:२) बाइबल यसो भन्छ: “आफ्नो सारा फिक्री उहाँमाथि बिसाओ किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।”—१ पत्रुस ५:७.

  •   तपाईँ कसरी ममीड्याडीसित शान्त भई कुराकानी गर्न सक्नुहुन्छ?

  •   तपाईँ कसलाई आफ्नो भावना पोखाउन सक्नुहुन्छ?

  •   तपाईँ कुन समस्याबारे तोकेरै प्रार्थना गर्न सक्नुहुन्छ?

 २. परिवर्तन स्विकार्नुहोस्‌

 ममीड्याडीको डिभोर्सले गर्दा तपाईँले पनि आफ्नो जीवनमा थुप्रै परिवर्तन गर्नुपर्ने हुन्छ। तपाईँले भिन्‍नै पारिवारिक माहोलमा बस्न, फरक स्कुलमा भिज्न, नयाँ साथीहरू बनाउन वा परिवर्तन भएको आर्थिक अवस्था अपनाउन सिक्नुपर्ने हुन सक्छ। यसो गर्न पक्कै सजिलो हुँदैन। तपाईँलाई चिन्ताले सताउन सक्छ अनि त्यस्तो अवस्था सहन निकै गाह्रो हुन्छ। सायद तपाईँलाई आफ्नो जीवन नै उलटपुलट भएको जस्तो लाग्ला। तर यी परिवर्तनहरू स्विकार्न तपाईँलाई केले मदत गर्छ? नयाँ परिस्थितिमा भिज्न मदत दिने कुराहरूमा ध्यान दिनुभयो भने तपाईँलाई परिवर्तनहरू स्विकार्न सजिलो हुनेछ।

  •   ममीड्याडीको डिभोर्सले गर्दा तपाईँले आफ्नो जीवनमा गर्नुपरेको सबैभन्दा ठूलो परिवर्तन के हो?

  •   ती परिवर्तनहरू स्विकार्न तपाईँ कस्ता कदमहरू चाल्न सक्नुहुन्छ?

 “जस्तोसुकै परिस्थितिमा परे तापनि सन्तुष्ट हुन मैले सिकेको छु।”—फिलिप्पी ४:११.

 ३. आफूमा भएका राम्रा गुणहरू चिन्‍नुहोस्‌

 हुनत ममीड्याडीको डिभोर्सले गर्दा तपाईँलाई धेरै चिन्ता लाग्ला। तर त्यसले तपाईँलाई आफूमा भएका राम्रा गुणहरू चिन्‍न र नयाँ गुणहरू विकास गर्न पनि मदत गर्नेछ। जेरेमी तेह्र वर्षको हुँदा तिनको ममीड्याडीले डिभोर्स गरे। तिनी यसो भन्छन्‌, “ममीड्याडीको डिभोर्सपछि मैले अझै जिम्मेवार हुन सिकेँ। म जेठो सन्तान भएकोले ममीलाई अझै मदत दिनुपर्ने भयो अनि भाइको पनि हेरविचार गर्नुपर्ने भयो।”

ममीड्याडीको डिभोर्सले तपाईँलाई अझै जिम्मेवार हुन सिकाउँछ

  •   ममीड्याडीको डिभोर्सपछि तपाईँले आफूमा कस्ता गुणहरू भएको याद गर्नुभयो?

  •   तपाईँ कस्ता गुणहरू विकास गर्न चाहनुहुन्छ?

 ‘धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो र यो सच्याउनका लागि उपयोगी छ।’—२ तिमोथि ३:१६.

a थप जानकारीको लागि “रिस कसरी नियन्त्रण गर्ने?” भन्‍ने लेख हेर्नुहोस्‌।