सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

म कसरी प्रलोभनको तिरस्कार गर्न सक्छु?

म कसरी प्रलोभनको तिरस्कार गर्न सक्छु?

 प्रेषित पावलले यस्तो लेखे: “जब म जे ठीक छ, त्यो गर्न चाहन्छु, तब ममा खराबी हाजिर हुँदो रहेछ।” (रोमी ७:२१) के तपाईँले पनि यस्तो महसुस गर्नुभएको छ? गर्नुभएको छ भने यस लेखले तपाईँलाई गलत इच्छाहरू आउँदा त्यसको प्रलोभनमा नपर्न मदत गर्नेछ।

 तपाईँले के बुझ्नुपर्छ?

 साथीहरूको दबाबमा परेर तपाईँ गलत काम गर्ने हदसम्म पुग्न सक्नुहुन्छ। बाइबल भन्छ: “नराम्रो सङ्‌गतले राम्रो आनीबानीलाई बिगार्छ।” (१ कोरिन्थी १५:३३) अरूबाट आउने दबाब वा मनोरञ्जनजगत्‌का कुराहरूले तपाईँमा कुइच्छा जाग्न सक्छ र तपाईँ “मानिसहरूको लहलहैमा लागेर खराब काम” गर्ने हदसम्म पनि पुग्न सक्नुहुन्छ।—प्रस्थान २३:२.

 “अरूले आफूलाई मन पराओस्‌ र साथी बनाओस्‌ भन्‍ने इच्छाले गर्दा हामी तिनीहरूले जे भन्यो त्यही गर्न पुग्छौँ।”​—जेरेमी।

 यसबारे सोच्नुहोस्‌: अरूले आफूबारे के सोच्ला भनेर ज्यादै चिन्ता गर्छौँ भने हामीलाई प्रलोभनको तिरस्कार गर्न किन गाह्रो हुन सक्छ?—हितोपदेश २९:२५.

 निष्कर्ष: साथीहरूको दबाबमा परेर आफ्ना स्तरहरूसित सम्झौता नगर्नुहोस्‌।

 तपाईँ के गर्न सक्नुहुन्छ?

 आफ्नो विश्‍वासको पक्षमा खडा हुनुहोस्‌। आफू केमा विश्‍वास गर्छु भनेर पक्का हुनुहुन्‍न भने तपाईँ कठपुतलीजस्तै भइरहनुभएको हुनेछ। बाइबलको यो सल्लाह पालन गर्नु निकै उत्तम हुनेछ: “सबै कुरा जाँच र जे असल छ, त्यसलाई पक्रिराख।” (१ थिस्सलोनिकी ५:२१) तपाईँ आफ्नो विश्‍वासमा जत्ति पक्का हुनुहुन्छ, त्यत्ति नै त्यसमा अडिग रहन तपाईँलाई सजिलो हुनेछ। साथै तपाईँको विश्‍वासविपरीत काम गर्ने जस्तोसुकै प्रलोभन आइपर्दा पनि त्यसलाई इन्कार गर्न सक्नुहुनेछ।

 यसबारे सोच्नुहोस्‌: परमेश्‍वरले तोक्नुभएका नैतिक स्तरहरू तपाईँकै फाइदाका लागि हुन्‌ भनेर किन विश्‍वस्त हुनुहुन्छ?

 “हरेक पटक दबाब आइपर्दा म आफ्नो विश्‍वासको पक्षमा खडा हुन सकेकीले र प्रलोभनको तिरस्कार गर्न सकेकीले अरूले मेरो अझै आदर गरेको कुरा याद गरेकी छु।”—किम्बर्ली।

 बाइबल पात्रबाट सिक्न सकिने पाठ: दानिएल। दानिएलले ठिटै छँदा परमेश्‍वरका स्तरहरू पालन गर्ने “अठोट गरे”।—दानिएल १:८.

तपाईँलाई आफू केमा विश्‍वास गर्छु भनेर थाह छैन भने तपाईँ कठपुतलीजस्तै भइरहनुभएको हुनेछ

 आफ्ना कमजोरीहरू पत्ता लगाउनुहोस्‌। बाइबलमा “युवावस्थामा उत्पन्‍न हुने इच्छाहरू”-बारे बताइएको छ, जुन इच्छाहरू जवान बेला अझै प्रबल हुने गर्छ। (२ तिमोथि २:२२) यसमा यौन इच्छा मात्र नभई अरूले आफूलाई मन पराओस्‌ र साथी बनाओस्‌ भन्‍ने इच्छा पनि पर्छ। साथै जवान बेला आमाबुबाको कुरा नसुनी मनपरी जीवन बिताउने झुकाव पनि आउन सक्छ।

 यसबारे सोच्नुहोस्‌: बाइबल भन्छ: “तर हरेक मानिस आफ्नै तृष्णाद्वारा खिचिएर लोभमा फस्छ र परीक्षामा पर्छ।” (याकुब १:१४) तपाईँको मनमा कस्तो गलत इच्छा आउँछ?

 “आफूसित इमानदार हुनुहोस्‌ र कस्तो प्रलोभनमा तुरुन्तै फस्न सक्छु भनेर केलाउनुहोस्‌। ती प्रलोभनहरू कसरी तिरस्कार गर्न सकिन्छ भनेर अनुसन्धान गर्नुहोस्‌ र लागू गर्न सकिने बुँदाहरू लेख्नुहोस्‌। यसो गर्नुभयो भने अर्को पटक त्यस्तै प्रलोभन आइपर्दा तपाईँ सजिलै त्यसको प्रतिरोध गर्न सक्नुहुन्छ।”—सिल्भिया।

 बाइबल पात्रबाट सिक्न सकिने पाठ: दाउद। कहिलेकाहीँ दाउदले पनि अरूको दबाबमा परेर अनि आफ्नै इच्छाको वशमा परेर गलत काम गर्न पुगे। तर तिनले आफ्ना गल्तीहरूबाट पाठ सिके र त्यो सुधार्न सक्दो गरे। तिनले यहोवालाई यसरी प्रार्थना गरे: “हे परमेश्‍वर, ममा शुद्ध हृदय सृजनुहोस्‌ अनि मभित्र नयाँ र स्थिर मन हालिदिनुहोस्‌।”—भजन ५१:१०.

 गलत इच्छाहरूलाई तिरस्कार गर्नुहोस्‌। बाइबल यस्तो भन्छ: “खराबीसित नहार।” (रोमी १२:२१) कुइच्छाहरूलाई आफूमाथि हाबी हुन नदिनुहोस्‌। तपाईँ सही छनौट गर्न सक्नुहुन्छ।

 यसबारे सोच्नुहोस्‌: कसैले गलत काम गर्ने दबाब दिँदा वा आफूमा गलत काम गर्ने इच्छा जाग्दा तपाईँ कसरी आफूलाई काबूमा राख्न सक्नुहुन्छ?

 “मैले गलत काम गरेकी भए सायद केही क्षणको लागि त रमाइलै हुन्थ्यो होला। तर त्यसको केही समयपछि मलाई कस्तो लाग्थ्यो? के मलाई नरमाइलो लाग्ने थियो? त्यसो हो भने मैले त्यो निर्णय गर्नु बेकार हुने थियो। यसरी सोच्दा म गलत निर्णयहरू गर्नबाट जोगिन सकेकी छु।”—सोफिया।

 बाइबल पात्रबाट सिक्न सकिने पाठ: पावल। पावलले आफूमा गलत झुकाव भएको कुरा स्विकारे तर तिनले त्यस्ता झुकावहरूलाई काबूमा राख्न सके। तिनले लेखे: “म आफ्नो शरीरलाई . . . कडा अनुशासनमा राख्छु र त्यसलाई दास बनाएर राख्छु।”—१ कोरिन्थी ९:२७, फुटनोट।

 निष्कर्ष: प्रलोभनको सामना गर्नुपर्दा के गर्ने भनेर निर्णय गर्ने जिम्मा तपाईँकै हो।

 नबिर्सनुहोस्‌, प्रलोभनहरू केही समयका लागि मात्र हुन्‌। बीस वर्षीया मेलिसा यसो भन्छिन्‌, “स्कुलमा छँदा एकदमै ठूलो लाग्ने प्रलोभनहरू अहिले मलाई खासै केही लाग्दैन। त्यसैले अहिले सामना गर्नुपरेका प्रलोभनहरू पनि केही क्षणका लागि मात्र हुन्‌ भनेर म ढुक्क छु। साथै मैले कुनै गलत काम नगरेकीले भविष्यमा रमाउने कारण पाउनेछु।”