परिवारका लागि | छोराछोरी हुर्काउने
छोराछोरी र स्मार्टफोन—भाग २: छोराछोरीलाई स्मार्टफोनको उचित प्रयोग गर्न सिकाउनुहोस्
स्मार्टफोन एउटा शक्तिशाली हतियार जस्तै हो, जुन उपयोगी वा हानिकारक दुवै हुन सक्छ। यो कुरा हामीले यसको प्रयोग कसरी गर्छौँ, त्यसमा भर पर्छ। तपाईँ कसरी आफ्ना छोराछोरीलाई यो शक्तिशाली उपकरणको उचित प्रयोग गर्न सिकाउन सक्नुहुन्छ? तपाईँ आफ्नो छोराछोरीलाई हरेक दिन कति समय स्मार्टफोन चलाउन दिन सक्नुहुन्छ? a
तपाईँले के बुझ्नुपर्छ?
स्मार्टफोन चलाउनेहरू खतराको सिकार हुन सक्छन्। “छोराछोरी र स्मार्टफोन—भाग १: के मेरो छोराछोरीलाई स्मार्टफोन चाहिन्छ?” भन्ने लेखमा बताएअनुसार स्मार्टफोनले इन्टरनेटमा भएका राम्रा अनि नराम्रा सबै कुराको लागि बाटो खोलिदिने काम गर्छ।
“स्मार्टफोन चलाउँदा हाम्रा छोराछोरीहरू सबै प्रकारका खतरनाक मानिस र सोचाइहरूको सिकार भएको हामीलाई पत्तै नहुन सक्छ।”—ब्रेन्डा।
छोराछोरीलाई डोऱ्याइ चाहिन्छ। अहिलेका किशोरकिशोरीहरू सानैदेखि प्रविधि चलाउन खप्पिस हुन्छन् तर वयस्कहरूले भने यी कुराहरू भर्खर मात्र चलाउन सिक्दैछन्। यसको मतलब आमाबुबालाई प्रविधिको फिटिक्कै ज्ञान छैन भन्ने त होइन। अनि छोराछोरीले स्मार्टफोन कहिले र कसरी चलाउने भनेर आफै निर्णय गर्न सक्षम छन् भन्ने पनि होइन।
हुनत छोराछोरीलाई तपाईँले भन्दा राम्रोसँग स्मार्टफोन चलाउन आउँछ होला तर त्यसो भन्दैमा तिनीहरूले स्मार्टफोनको उचित प्रयोग गर्न सक्छन् भन्ने चाहिँ होइन। स्मार्टफोन चलाउनेबारे राम्रो ज्ञान भएको छोराछोरीलाई पनि त्यसको उचित प्रयोग गर्न आमाबुबाको डोऱ्याइ चाहिन्छ।
“स्मार्टफोनको उचित प्रयोग गर्न नसिकाइकनै छोराछोरीलाई स्मार्टफोन दिनु भनेको कुनै तालिमबिना तिनलाई गाडीको चाबी दिएर ‘सुरक्षितसाथ’ गाडी चलाउ भन्नुजस्तै हो।”—सेथ।
तपाईँले के गर्न सक्नुहुन्छ?
छोराछोरीको फोनमा भएका विशेषताहरूबारे थाह पाउनुहोस्। छोराछोरीलाई उचित तरिकामा फोनको प्रयोग गर्न मदत दिने विशेषताहरूसित परिचित हुनुहोस्। जस्तै:
छोराछोरीले कति समय फोन चलाउने र कुन वेबसाइट हेर्ने भनेर तोकिदिने कस्ता सेटिङ्गहरू फोनमा छन्?
अनुचित सामग्रीहरू ब्लक गर्ने सेटिङ्ग सधैँ भरपर्दौ हुँदैन भनेर के तपाईँलाई थाह छ?
छोराछोरीको स्मार्टफोनबारे तपाईँ जति जान्नुहुन्छ, त्यति नै त्यसको उचित प्रयोग गर्न तिनीहरूलाई मदत दिन सक्नुहुन्छ।
बाइबल सिद्धान्त: “ज्ञानले गर्दा उसको शक्ति झनै बढ्छ।”—हितोपदेश २४:५.
सीमा तोक्नुहोस्। छोराछोरीलाई के गर्न दिने र के गर्न नदिने, निर्णय गर्नुहोस्। उदाहरणको लागि:
के तपाईँ छोराछोरीलाई खाना खाने बेला वा परिवार अनि साथीभाइलाई भेट्ने बेला मोबाइल चलाउन दिनुहुन्छ?
के तपाईँ छोराछोरीलाई सुत्ने बेला मोबाइल चलाउन दिनुहुन्छ?
तपाईँ छोराछोरीलाई कुन-कुन एप प्रयोग गर्न दिनुहुन्छ?
तपाईँ छोराछोरीलाई कति समय मोबाइल चलाउन दिनुहुन्छ?
छोराछोरीले दिनहुँ कति समय मोबाइल चलाउन सक्छन् भनेर के तपाईँ सीमा तोक्नुहुन्छ?
नियमहरू बनाउनुहोस् र छोराछोरीले नियम तोडेमा अनुशासन दिन नहिचकिचाउनुहोस्।
बाइबल सिद्धान्त: “बालकलाई अनुशासन दिन पछि नहट।”—हितोपदेश २३:१३.
छोराछोरीको फोन बेलाबेलामा चेक गर्नुहोस्। छोराछोरीको फोनको पासवर्ड थाह पाउनुहोस् अनि आवश्यक परेमा तिनीहरूले गर्ने मेसेज, चलाउने एपहरू अनि हेर्ने फोटोहरू र साइटहरू चेक गर्नुहोस्।
“हामीले छोरीलाई जानकारी नदिईकनै बेलाबेलामा उसको फोन चेक गर्न सक्छौँ भनेर बतायौँ। उसले जथाभाबी फोन चलाएको थाह पाएमा उसको फोन चलाउने समयलाई कटौती गर्ने कुरा पनि बतायौँ।”—लोरेन।
आमाबुबा भएकोले आफ्ना छोराछोरीले स्मार्टफोन कसरी चलाउँदै छन् भनेर थाह पाउने अधिकार तपाईँसित छ।
बाइबल सिद्धान्त: “बालक . . . उसको व्यवहारबाटै चिनिन्छ, उसको चालचलन शुद्ध र असल छ कि छैन, त्यो थाह हुन्छ।”—हितोपदेश २०:११.
छोराछोरीलाई नैतिक मूल्यमान्यता सिकाउनुहोस्। छोराछोरीलाई सही काम गर्ने इच्छा विकास गर्न मदत दिनुहोस्। यसो गर्नु किन महत्त्वपूर्ण छ? किनभने छोराछोरीमा सही काम गर्ने दृढ इच्छा नै छैन भने आमाबुबाले जस्तोसुकै नियम बनाए पनि तिनीहरूले आमाबुबाबाट कुरा लुकाएरै छोड्छन्। b
त्यसैले छोराछोरीलाई असल गुणहरू विकास गर्न मदत गर्नुहोस्। जस्तै, इमानदार हुन आत्मसंयम देखाउन र जिम्मेवार हुन। आमाबुबाबाट नैतिक मूल्यमान्यता सिकेका छोराछोरीले फोनको उचित प्रयोग गर्ने सम्भावना धेरै हुन्छ।
बाइबल सिद्धान्त: ‘परिपक्व मानिसहरूले आफ्नो सोच्ने-बुझ्ने क्षमता चलाएर त्यसलाई सही र गलत छुट्ट्याउन तालिम दिएका हुन्छन्।’—हिब्रू ५:१४.