सीधै सामग्रीमा जाने

परिवारका लागि | वैवाहिक जीवन

वैवाहिक जीवनमा रक्सीको दुरुपयोग

वैवाहिक जीवनमा रक्सीको दुरुपयोग

 के तपाईँको रक्सी पिउने बानीको कारण तपाईँको जोडी चिन्तित छन्‌? छन्‌ भने तपाईँले केही कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ।

यस लेखमा

 रक्सीको दुरुपयोगले वैवाहिक सम्बन्धमा पुऱ्‍याउने हानि

 रक्सीको दुरुपयोगले मुटुको रोग, कलेजोको रोग अनि क्यान्सरजस्ता थुप्रै स्वास्थ्य समस्या निम्त्याउँछ। तर रक्सीको दुरुपयोगले स्वास्थ्यमा मात्र होइन, वैवाहिक जीवनमा पनि समस्या निम्त्याउँछ। यसले गर्दा घरायसी हिंसा, आर्थिक समस्या र सम्बन्धविच्छेदको जोखिम बढ्‌नुका साथै एकअर्काप्रतिको भरोसा पनि गुम्छ।

 बाइबलले रक्सीको दुरुपयोग गर्दा “त्यसले सर्पले झैँ डस्छ अनि विषालु सर्पले झैँ विष ओकल्छ” भनेर बताउँछ। (हितोपदेश २३:३२) तपाईँ रक्सीको कुलतमा फस्नुभएको छ भनेर कसरी थाह पाउन सक्नुहुन्छ?

 के तपाईँ रक्सीको कुलतमा फस्नुभएको छ?

 निम्न प्रश्‍नहरूले तपाईँलाई यसको जवाफ पत्ता लगाउन मदत गर्नेछ:

  •   के तपाईँलाई नियन्त्रणमा रहेर रक्सी पिउन गाह्रो हुन्छ?

  •   के तपाईँ प्रायः अर्को पटक कहिले रक्सी पिउने भनेर सोचिरहनुहुन्छ?

  •   रक्सीको कारणले नै वैवाहिक सम्बन्धमा र जीवनमा अरू समस्याहरू आएपनि के तपाईँ रक्सी पिउन छोड्‌नुहुन्‍न?

  •   रक्सी छोड्‌न प्रयास गर्दा के तपाईँलाई बिसञ्चो भएको महसुस हुन्छ?

  •   के तपाईँको रक्सी पिउने बानीले गर्दा आफ्नो जोडीसित भनाभन हुन्छ?

  •   के तपाईँले पहिलेभन्दा धेरै मात्रामा रक्सी पिउन थाल्नुभएको छ?

  •   के तपाईँ घरमा वा काम गर्ने ठाउँमा लुकी-लुकी रक्सी पिउनुहुन्छ?

 यी प्रश्‍नहरूमध्ये एक वा धेरै प्रश्‍नको जवाफमा तपाईँले ‘छ’ वा ‘हो’ भन्‍नुभएको छ भने तपाईँ रक्सीको कुलतमा फस्नुभएको हुन सक्छ।

 बहाना नबनाउनुहोस्‌

 के तपाईँको रक्सी पिउने बानीको कारण तपाईँको जोडी चिन्तित छन्‌? छन्‌ भने तपाईँले यो त्यति ठूलो समस्या होइन भनेर बहाना बनाउनुभयो कि वा तपाईँले अरूलाई र आफ्नो जोडीलाई यसो भनेर दोष दिनुभयो कि?

  •   “तिमीले मसित राम्रो व्यवहार गरेको भए मैले रक्सी पिउनै पर्दैनथ्यो।”

  •   “मैले जस्तो तनावपूर्ण काम गर्नुपरेको भए तिमीले पनि रक्सी पिउँथ्यौ।”

  •   “अरूले मैलेभन्दा पनि धेरै रक्सी पिउँछन्‌।”

 यस्तो भन्‍नुहुन्छ भने, तपाईँले सुखी वैवाहिक जीवनलाई भन्दा रक्सी पिउने इच्छालाई बढी महत्त्व दिइरहनुभएको हुन्छ। त्यसोभए तपाईँले कुन कुरालाई महत्त्व दिनुपर्छ?

 बाइबलको सिद्धान्त: “विवाहित पुरुषले कसरी पत्नीलाई खुसी पारूँ भनी . . . फिक्री गर्छ।”—१ कोरिन्थी ७:३३.

आफ्नो जोडीले चिन्ता व्यक्‍त गर्दा कुनै बहाना नबनाई तिनको कुरा ध्यान दिएर सुन्‍नुहोस्‌

 तपाईँ के गर्न सक्नुहुन्छ?

  •   आफ्नो जोडीले चिन्ता व्यक्‍त गर्दा गम्भीरतापूर्वक ध्यान दिनुहोस्‌। तपाईँको जोडी यो मामिलामा ज्यादै संवेदनशील छन्‌ भने आफ्नो बानीमा सुधार ल्याउन प्रयास गर्नुभए कसो होला? आफ्नो जोडीको चिन्ता थाह भएपनि तपाईँ आफ्नो बानीमा सुधार ल्याउन सक्नुहुन्‍न र निरन्तर रक्सी पिउनुहुन्छ भने यसले रक्सी नै समस्याको जड हो भन्‍ने कुराको सङ्‌केत दिन्छ।

     बाइबलको सिद्धान्त: “हरेकले आफ्नो होइन तर अर्को मानिसको फाइदा खोज्ने गरोस्‌।”—१ कोरिन्थी १०:२४.

  •   तथ्य कुरा थाह पाउनुहोस्‌। कुनै पनि लडाइँ जित्न सिपाहीले आफ्ना शत्रुहरूले कसरी आक्रमण गर्छन्‌ भनेर थाह पाउनुपर्छ। तपाईँको लागि पनि कुरा त्यस्तै हो। आफ्नो शत्रु अर्थात्‌ रक्सीको कुलतलाई जित्न तपाईँले पनि रक्सीको कुलत भनेको के हो र कसरी यसको पासोमा फस्न सक्छ भनेर थाह पाउनुपर्छ। तपाईँले रक्सीको कुलत छोड्‌न र भविष्यमा फेरि नपिउन मदत गर्ने प्रभावकारी तरिकाहरू पनि थाह पाउनुपर्छ।

     बाइबलको सिद्धान्त: “शारीरिक इच्छाहरूदेखि अलग बसिरहो . . . किनकि यस्तै इच्छाहरूले तिमीहरूसित युद्ध गर्छ।”—१ पत्रुस २:११.

  •   अरूको मदत लिनुहोस्‌। रक्सीको कुलतमा फसेकाहरूलाई मदत गर्न थुप्रै सुधार केन्द्र, उपचार केन्द्र र अस्पताल छन्‌। तपाईँ परिपक्व साथीको पनि मदत लिन सक्नुहुन्छ जसले तपाईँलाई रक्सीको लत लाग्नुका कारणहरू थाह पाउन मदत दिनेछन्‌। अनि पछि फेरि रक्सी पिउने तलतल लाग्दा तिनीसितै मदत माग्न सक्नुहुन्छ।

    व्यावसायिक स्वास्थ्यकर्मीको मदत लिनुहोस्‌

     बाइबलको सिद्धान्त: “साँचो मित्रले सधैँ माया गर्छ अनि ऊ दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै हुन्छ।”—हितोपदेश १७:१७.

 रक्सीको दुरुपयोग एउटा गम्भीर समस्या हो। कुनै लेख पढ्‌दैमा वा “अबदेखि कम पिउँछु नि” भन्दैमा तपाईँ यो बानीलाई हटाउन सक्नुहुन्‍न। तपाईँले यो समस्या सुधार्नुहुन्छ कि हुन्‍न भन्‍ने कुराले नै तपाईँको स्वास्थ्य लगायत वैवाहिक जीवनमा ठूलो प्रभाव पार्छ।

 थप जानकारीको लागि: अरूले कसरी रक्सीको दुरुपयोगलाई जित्न सके भनेर थाह पाउन निम्न लेखहरू पढ्‌नुहोस्‌।

 म पहिलाजस्तो रिसाहा स्वभावको छैनँ

 अब भने म आफूलाई बेकामको ठान्दिनँ

 म सडकछाप गुन्डा थिएँ

 ‘आफ्नो जीवनदेखि म वाक्कै भइसकेको थिएँ’ भन्‍ने भिडियो पनि हेर्नुहोस्‌