“अन्तको दिन” वा “अन्तको समय”-को चिन्ह के हो?
बाइबलको जवाफ
“यस युगको आखिरी समय” वा “संसारको अन्त”-लाई चिनाउने थुप्रै घटना तथा अवस्थाबारे अनि मानिसहरूले देखाउने मनोवृत्तिबारे बाइबलमा बताइएको छ। (मत्ति २४:३; किङ जेम्स भर्सन) बाइबलमा यस समयावधिलाई “अन्तको दिन” र “अन्तको समय” भनिएको छ।—२ तिमोथि ३:१; दानिएल ८:१९ NRV.
“अन्तको दिन”-बारे बाइबलमा गरिएका केही भविष्यवाणीहरू के-के हुन्?
बाइबलमा अन्तको दिनको “चिन्ह”-स्वरूप थुप्रै कुरा एकै पटक हुनेछ भनेर भविष्यवाणी गरिएको थियो। (लुका २१:७) केही उदाहरण विचार गरौँ:
संसारभरि युद्धहरू। येसुले यस्तो भविष्यवाणी गर्नुभयो: “जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ।” (मत्ति २४:७) त्यसैगरि प्रकाश ६:४ मा युद्धलाई बुझाउने एउटा प्रतिकात्मक घोडसवारबारे भविष्यवाणी गरिएको छ, जसले पृथ्वीबाट “शान्ति हरण गर्ने” थियो।
अनिकाल। येसुले यस्तो भविष्यवाणी गर्नुभयो: “ठाउँठाउँमा अनिकाल . . . हुनेछ।” (मत्ति २४:७) प्रकाशको किताबमा अर्को एउटा प्रतिकात्मक घोडसवारबारे भविष्यवाणी गरिएको छ, जसको सवारीले ठूलो अनिकाल पर्ने थियो।—प्रकाश ६:५, ६.
ठूलठूला भूकम्प। येसुले “ठाउँठाउँमा . . . भूकम्प हुनेछ” भनेर बताउनुभयो। (मत्ति २४:७; लुका २१:११) यी ठूलठूला भूकम्पहरूले गर्दा संसारभरि नै पहिलाभन्दा धेरै दुःखकष्ट र धनजनको क्षति हुने थियो।
रोगहरू। येसुले बताउनुभएअनुसार अन्तको समयमा महामारी हुने थियो र “डरलाग्दा रोगहरू” व्यापक रूपमा फैलिने थिए।—लुका २१:११, कन्टेम्पररी इंग्लिश भर्सन।
अपराध। हुनत शताब्दियौँअघिदेखि मानिसहरूले अपराध गर्दै आएका छन्। तर अन्तको दिनबारे भविष्यवाणी गर्नुहुँदा येसुले ‘दुष्टता बढ्नेछ’ भन्नुभयो।—मत्ति २४:१२.
मानिसहरूद्वारा पृथ्वीको विनाश। प्रकाश ११:१८ मा भविष्यवाणी गरिएझैँ मानिसहरू “पृथ्वीका विनाशकारीहरू” हुने थिए। तिनीहरूले थुप्रै तरिकामा त्यसो गर्ने थिए। हिंस्रक र भ्रष्ट कामहरू गर्नुका साथै तिनीहरूले वातावरणमा पनि हानि पुऱ्याउने थिए।
मानिसहरूको खस्कँदै गएको मनोवृत्ति। दोस्रो तिमोथि ३:१-४ मा भविष्यवाणी गरिएअनुसार अधिकांश मानिसहरू “कृतघ्न, विश्वासघाती . . . कुनै पनि कुरामा सहमत नहुने, निन्दक, असंयमित, निष्ठुर, भलाइलाई प्रेम नगर्ने, धोकेबाज, जिद्दी गर्ने, घमन्डले फुल्ने” हुने थिए। मानिसहरूमा यस्तो मनोवृत्ति यत्ति व्यापक रूपमा पाइने थियो कि, त्यस समयावधिलाई नै “असाध्यै कठिन समय” भन्न सकिने थियो।
परिवारमा बेमेल। दोस्रो तिमोथि ३:२, ३ मा भविष्यवाणी गरिएअनुसार थुप्रै मानिस आफ्नो परिवारको लागि “स्वाभाविक स्नेह नभएका” हुने थिए र छोराछोरीहरू “आमाबुबाको आज्ञा पालन नगर्ने” हुने थिए।
परमेश्वरप्रतिको प्रेम सेलाउने। येसुले यस्तो भविष्यवाणी गर्नुभयो: “धेरै जनाको प्रेम सेलाएर जानेछ।” (मत्ति २४:१२) येसुले यहाँ धेरै जनामा परमेश्वरप्रतिको प्रेम सेलाउनेछ भन्न खोज्दै हुनुहुन्थ्यो। त्यसैगरि २ तिमोथि ३:४ मा बताइएअनुसार त्यस्ता मानिसहरूले अन्तको दिनमा “परमेश्वरलाई नभई सुखविलासलाई प्रेम गर्ने” थिए।
परमेश्वरको भक्ति गरेको ढोँग। दोस्रो तिमोथि ३:५ मा भविष्यवाणी गरिएअनुसार मानिसहरूले परमेश्वरको भक्ति गरेको ढोँग गर्ने थिए तर उहाँका स्तरहरूअनुसार भने चल्ने थिएनन्।
बाइबलका भविष्यवाणीहरूको अझ स्पष्ट बुझाइ। दानिएलको किताबमा भविष्यवाणी गरिएझैँ “अन्तको समयमा” थुप्रैले बाइबलको साँचो ज्ञान पाउने थिए, जसमा दानिएलको किताबका भविष्यवाणीहरूको सही बुझाइ पनि पर्छ।—दानिएल १२:४, फुटनोट।
विश्वव्यापी प्रचारकार्य। येसुले यस्तो भविष्यवाणी गर्नुभयो: “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ।”—मत्ति २४:१४.
अन्तको दिनको चिन्हलाई बेवास्ता गर्ने र गिल्ला गर्ने। येसुले प्रायजसो मानिसहरूले यस युगको अन्त एकदमै नजिक छ भनेर स्पष्ट पार्ने चिन्हलाई बेवास्ता गर्नेछन् भनेर भविष्यवाणी गर्नुभयो। (मत्ति २४:३७-३९) त्यति मात्र होइन, २ पत्रुस ३:३, ४ मा बताइएअनुसार केही मानिसले यस युगको अन्त नजिकै छ भन्ने प्रमाणहरूको गिल्ला गर्ने थिए, यहाँसम्म कि ती कुराहरूले केही पनि प्रमाणित गर्दैनन् समेत भन्ने थिए।
सबै भविष्यवाणी एकसाथ पूरा हुनु। येसुले अन्तको दिनबारे गरिएका केही वा धेरैजसो भविष्यवाणी मात्र होइन बरु सबै भविष्यवाणी एकसाथ पूरा हुनेछन् भन्नुभयो।—मत्ति २४:३३.
के हामी “अन्तको दिनमा” बाँचिरहेका छौँ?
हो, बाँचिरहेका छौँ। संसारमा भइरहेका घटनाहरू र बाइबलको भविष्यवाणीमा बताइएको समय हिसाब गर्ने हो भने सन् १९१४ मा पहिलो विश्वयुद्ध सुरु हुँदा अन्तको दिन पनि सुरु भयो भन्ने सङ्केत पाउँछौँ। संसारमा भइरहेका घटनाहरूले हामी अन्तको दिनमा बाँचिरहेका छौँ भनेर कसरी सङ्केत गर्छ भन्ने कुरा थाह पाउन तल दिइएको भिडियो हेर्नुहोस्:
सन् १९१४ मा परमेश्वरको राज्यले स्वर्गमा शासन गर्न थाल्यो। त्यस राज्यको पहिलो काम दियाबल अर्थात् सैतान र त्यसका दूतहरूलाई स्वर्गबाट तल पृथ्वीमा फ्याँक्नु थियो। फलस्वरूप तिनीहरूको गतिविधि यसै पृथ्वीमा सीमित भयो। (प्रकाश १२:७-१२) त्यसैले मानिसहरूको खराब मनोवृत्ति र गतिविधिमा सैतानको प्रभाव स्पष्टै झल्किन्छ। यसले गर्दा ‘अन्तको दिन असाध्यै कठिन’ भएको छ।—२ तिमोथि ३:१.
यस असाध्यै कठिन समयले गर्दा थुप्रै मानिस चिन्तित छन्। समाजमा एकअर्कासित मिलेर बस्न गाह्रो भएकोले तिनीहरू तनावग्रस्त भएका छन्। कतिपय त मानवता हराएकोले मानिसहरूले एकअर्कालाई सखाप पार्नेछन् भनेर समेत चिन्तित भएका छन्।
तर संसारको अवस्थाले गर्दा चिन्तित भए तापनि कोही-कोही भने भविष्यप्रति आशावादी छन्। तिनीहरू परमेश्वरको राज्यले चाँडै संसारको सबै समस्या हटाउन कदम चाल्नेछ भन्ने कुरामा ढुक्क छन्। (दानिएल २:४४; प्रकाश २१:३, ४) तिनीहरू धीरजी भएर परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुने समयको प्रतीक्षा गर्छन्। अनि येसुका यी सान्त्वनादायी शब्दहरू सम्झन्छन्: “जसले अन्तसम्म सहन्छ, उसले उद्धार पाउनेछ।”—मत्ति २४:१३; मिका ७:७.