अन्य भाषामा बोल्ने विषयमा बाइबलले के सिकाउँछ?
बाइबलको जवाफ
सुरु-सुरुका ख्रिष्टियनहरूले चमत्कारपूर्ण तरिकामा ‘अन्य भाषामा बोल्ने’ क्षमता पाएका थिए। (प्रेषित १०:४६, नयाँ संशोधित संस्करण) तिनीहरूले पहिला कहिल्यै सिक्दै नसिकेको भाषामा बोल्न सके। ख्रिष्टियनहरूले अन्य भाषामा बोल्दा त्यो भाषा थाह भएका मानिसहरूले सजिलै बुझ्न सके। (प्रेषित २:४-८) अन्य भाषामा बोल्ने क्षमता परमेश्वरले प्रथम शताब्दीका केही ख्रिष्टियनलाई दिनुभएको पवित्र शक्तिको एउटा वरदान थियो।—हिब्रू २:४; १ कोरिन्थी १२:४, ३०.
कहाँबाट र कहिलेदेखि अन्य भाषामा बोल्न थालियो?
इस्वी संवत् ३३ मा यहुदीहरूको चाड पेन्तिकोसको दिन पहिलो चोटि ख्रिष्टियनहरूले यो चमत्कारी वरदान पाएका थिए। येसुका लगभग १२० जना चेला यरुसलेमको एक ठाउँमा भेला भएका थिए। त्यतिबेला “तिनीहरू सबै जना पवित्र शक्तिले भरिपूर्ण भए अनि पवित्र शक्तिले तिनीहरूलाई जुन-जुन भाषामा बोल्ने क्षमता दियो, तिनीहरू त्यही-त्यही भाषामा बोल्न थाले।” (प्रेषित १:१५; २:१-४) “संसारका सबै राष्ट्रबाट आएका” मानिसहरूको एउटा ठूलो भीड त्यहाँ जम्मा भएको थियो। “तिनीहरूकै भाषामा चेलाहरूले बोलिरहेको तिनीहरूले सुने।”—प्रेषित २:५, ६.
अन्य भाषामा बोल्ने वरदान दिइनुको उद्देश्य के थियो?
१. ख्रिष्टियनहरूले परमेश्वरको साथ पाएका छन् भनेर देखाउन। पुरातन समयमा मोसालगायत आफ्ना अन्य वफादार जनहरूलाई साथ दिइरहेको छु भनेर देखाउन परमेश्वरले तिनीहरूलाई चमत्कार गर्ने शक्ति दिनुभएको थियो। (प्रस्थान ४:१-९, २९-३१; गन्ती १७:१०) अन्य भाषामा बोल्ने क्षमताको उद्देश्य पनि त्यस्तै थियो। यसबाट भर्खरै स्थापना भएको ख्रिष्टियन मण्डलीलाई परमेश्वरले साथ दिइरहनुभएको छ भनेर देखियो। प्रेषित पावलले यस्तो लेखे: “विभिन्न भाषा भनेको विश्वास गर्नेहरूका निम्ति होइन तर विश्वास नगर्नेहरूका निम्ति चिन्ह हो।”—१ कोरिन्थी १४:२२.
२. ख्रिष्टियनहरूलाई राम्ररी साक्षी दिन मदत गर्न। पेन्तिकोसको दिनमा येसुका चेलाहरूको कुरा सुनेकाहरूले यसो भने: “यिनीहरूले हाम्रै भाषामा परमेश्वरको विषयमा अद्भुत कुराहरू गरिरहेको हामी सुन्दै छौँ।” (प्रेषित २:११) त्यसैले यस चमत्कारको अर्को मुख्य उद्देश्य भनेको “राम्ररी साक्षी दिन” र येसुले आज्ञा गर्नुभएझैँ ‘सबै जातिका मानिसहरूलाई चेला बनाउन’ ख्रिष्टियनहरूलाई मदत गर्नु थियो। (प्रेषित १०:४२; मत्ति २८:१९) त्यो चमत्कार देखेका र साक्षी पाएका लगभग ३ हजार जना त्यही दिन येसुको चेला बने।—प्रेषित २:४१.
के अन्य भाषामा बोल्ने वरदान सधैँको लागि रहने थियो?
थिएन। अन्य भाषामा बोल्ने वरदानलगायत पवित्र शक्तिका अरू वरदानहरू अस्थायी थिए। बाइबलमा यस्तो भविष्यवाणी गरिएको थियो: “चाहे भविष्यवाणी गर्ने वरदानहरू होऊन्, ती हराएर जानेछन्; चाहे भाषाहरू होऊन्, ती लोप हुनेछन्।”—१ कोरिन्थी १३:८.
अन्य भाषामा बोल्ने वरदान कहिलेसम्म रह्यो?
प्रेषितहरूको उपस्थितिमा अरू ख्रिष्टियनहरूले पनि पवित्र शक्तिका वरदानहरू पाउँथे। प्रायजसो अवस्थामा प्रेषितहरूले सङ्गी विश्वासीहरूमाथि हात राख्दा तिनीहरूले यस्तो वरदान पाउँथे। (प्रेषित ८:१८; १०:४४-४६) प्रेषितहरूबाट पवित्र शक्तिका वरदानहरू पाएकाहरूले अरूलाई त्यस्ता वरदानहरू दिएको विवरण बाइबलमा पाइँदैन। (प्रेषित ८:५-७, १४-१७) उदाहरणको लागि, सरकारले कसैलाई सवारीचालक अनुमतिपत्र प्रदान गर्छ तर उक्त व्यक्तिसित अरू कसैलाई अनुमतिपत्र दिने अधिकार भने हुँदैन। अन्य भाषामा बोल्ने क्षमता प्रेषितहरू र तिनीहरूबाट यस्तो वरदान पाएकाहरू जीवित होउन्जेल मात्र रह्यो जस्तो देखिन्छ।
के ख्रिष्टियनहरूले अहिले पनि अन्य भाषामा बोल्ने वरदान पाएका छन्?
अन्य भाषामा बोल्ने वरदान प्रथम शताब्दीको अन्तसम्म मात्र रह्यो जस्तो देखिन्छ। आज कसैले पनि परमेश्वरबाट अन्य भाषामा बोल्ने शक्ति पाएको दाबी गर्न सक्दैन।
साँचो ख्रिष्टियनहरूको चिनारी के हो?
येसुले आफ्ना चेलाहरूको चिनारी आत्मत्यागी प्रेम हुनेछ भनेर बताउनुभयो। (युहन्ना १३:३४, ३५) त्यसैगरि प्रेषित पावलले पनि साँचो ख्रिष्टियनहरूको चिनारी सधैँभरि प्रेम नै हुनेछ भनेर सिकाए। (१ कोरिन्थी १३:१, ८) तिनले ख्रिष्टियनहरूको विभिन्न गुणहरूबारे पनि चर्चा गरे, जसलाई समग्रमा “पवित्र शक्तिको फल” भनिन्छ। यस फलको पहिलो पक्ष हो, प्रेम।—गलाती ५:२२, २३.