गम्भीर रोग लाग्दा—के बाइबलले मदत गर्न सक्छ?
बाइबलको जवाफ
सक्छ। आफ्ना सेवकहरू बिरामी पर्दा परमेश्वर तिनीहरूको ख्याल राख्नुहुन्छ। आफ्नो वफादार सेवक बिरामी पर्दा उहाँ के गर्नुहुन्छ भन्नेबारे बाइबल यसो भन्छ: “ऊ बिरामी पर्दा यहोवाले उसलाई ओछ्यानमै सम्हाल्नुहुनेछ।” (भजन ४१:३) यदि तपाईँलाई गम्भीर रोग लागेको छ भने यी तीन वटा कदम चाल्दा तपाईँलाई सहन सजिलो हुनेछ:
१. प्रार्थना गरेर सहने बल माग्नुहोस्। तपाईँले “परमेश्वरको शान्ति” पाउनुहुनेछ, “जुन मानिसको समझभन्दा बाहिरको छ।” यसले चिन्ता कम गर्न मदत गर्नेछ अनि तपाईँलाई सम्हाल्नेछ।—फिलिप्पी ४:६, ७.
२. सकारात्मक हुनुहोस्। बाइबल यसो भन्छ: “आनन्दित हृदय रोग निको पार्ने औषधीजस्तै हो तर दुःखी हृदयले शरीरलाई कमजोर बनाउँछ।” (हितोपदेश १७:२२) हँसीमजाक गर्न सिक्नुहोस्। यसो गर्न सिक्नुभयो भने तपाईँ निराशामा डुब्नुहुनेछैन अनि तपाईँको स्वास्थ्य पनि राम्रो हुनेछ।
३. परमेश्वरको प्रतिज्ञामा विश्वास गर्नुहोस्। गम्भीर रोग लागे तापनि भरपर्दो आशा छ भने तपाईँ रमाउन सक्नुहुनेछ। (रोमी १२:१२) कसैले पनि “म बिरामी छु” भन्नु नपर्ने समय आउनेछ भनेर बाइबलमा भविष्यवाणी गरिएको छ। (यसैया ३३:२४) अहिलेको चिकित्सा विज्ञानले निको पार्न नसकेका रोगहरू पनि परमेश्वरले भविष्यमा निको पार्नुहुनेछ। उदाहरणको लागि, वृद्धहरू जवान अनि स्वस्थ हुनेछन् भन्नेबारे बाइबल यसो भन्छ: “उसको शरीर युवावस्थाको बेलाभन्दा हृष्टपुष्ट होस् र युवावस्थाको बल उसमा फर्केर आओस्।”—अय्युब ३३:२५.
नोट: हुनत परमेश्वरले मदत गर्नुहुन्छ तर गम्भीर रोग लाग्दा यहोवाका साक्षीहरू डाक्टरको मदत लिन्छन्। (मर्कुस २:१७) हामी कुनै खास उपचार सिफारिस गर्दैनौँ तर प्रत्येकले आफ्नो स्वास्थ्यसम्बन्धी निर्णय आफैले गर्नुपर्छ।