के बाइबलले पुनर्जन्मको शिक्षा सिकाउँछ?
बाइबलको जवाफ
अहँ! सिकाउँदैन। “पुनर्जन्म” भन्ने शब्द वा त्यससित सम्बन्धित धारणा बाइबलमा पाउँदैनौं। पुनर्जन्मको शिक्षा आत्मा अमर रहन्छ भन्ने धारणामा आधारित छ। a (उत्पत्ति २:७; इजकिएल १८:४) तर बाइबलको शिक्षाअनुसार आत्मा अर्थात् प्राणले मानिसलाई बुझाउँछ, जो मरणशील छ। मृत्युपछि मानिसको अस्तित्व रहँदैन।—उत्पत्ति ३:१९; उपदेशक ९:५, ६.
पुनर्जन्म र पुनर्जीवनबीच के भिन्नता छ?
पुनर्जीवनसम्बन्धी बाइबलको शिक्षा आत्मा अमर रहने धारणामा आधारित छैन। पुनर्जीवन पाउन योग्य मानिसहरूलाई परमेश्वरको शक्तिद्वारा जीवित पारिनेछ। (मत्ती २२:२३, २९; प्रेषित २४:१५) पुनर्जीवन पाएकाहरूले पछि कहिल्यै नमर्ने आशासहित नयाँ पृथ्वीमा जिउन सक्छन्।—२ पत्रुस ३:१३; प्रकाश २१:३, ४.
पुनर्जन्मको शिक्षा र बाइबलबारे गलत धारणा
गलत धारणा: बाइबलअनुसार भविष्यवक्ता एलियाले बप्तिस्मा गराउने यूहन्नाको रूपमा पुनर्जन्म लिए।
तथ्य: परमेश्वरले भविष्यवाणी गर्नुभएको थियो: “म एलिया अगमवक्तालाई पठाउनेछु।” अनि बप्तिस्मा गराउने यूहन्नाले यो भविष्यवाणी पूरा गरे भनेर येशूले स्पष्ट पार्नुभयो। (मलाकी ४:५, ६; मत्ती ११:१३, १४) तर यसको मतलब एलियाले बप्तिस्मा गराउने यूहन्नाको रूपमा पुनर्जन्म लिएका होइनन्। यूहन्ना स्वयम्ले आफू एलिया होइन भने। (यूहन्ना १:२१) बरु तिनले एलियाले जस्तै कामहरू गरे। तिनले पश्चात्ताप गर्नुपर्नेबारे परमेश्वरको सन्देश घोषणा गरे। (१ राजा १८:३६, ३७; मत्ती ३:१) साथै एलियाले देखाएको जस्तै जोस र शक्तिका साथ तिनी अघि बढे।—लूका १:१३-१७.
गलत धारणा: बाइबलअनुसार पुनर्जन्म लिनु र “फेरि जन्मनु” एउटै हो।
तथ्य: बाइबलअनुसार फेरि जन्मनु भनेको मानिस जीवित छँदै ऊ फेरि आध्यात्मिक रूपमा जन्मनु हो। (यूहन्ना १:१२, १३) यसरी जन्मनु विगतमा गरेको कामको नतिजा भोग्नु होइन, बरु यो परमेश्वरले दिनुभएको आशिष् हो। फेरि जन्मेकाहरूले भविष्यको अद्भुत आशा पाउँछन्।—यूहन्ना ३:३; १ पत्रुस १:३, ४.
a इतिहास केलाउने हो भने आत्मा अमर रहने र पुनर्जन्ममा विश्वास राख्ने कुरा प्राचीन बेबिलोनबाट आएको देखिन्छ। पछि गएर भारतका दार्शनिकहरूले यसलाई कर्मको शिक्षाको रूपमा व्याख्या गरे। धर्मसम्बन्धी एउटा इनसाइक्लोपीडियाअनुसार (Britannica Encyclopedia of World Religions) कर्म भनेको “कारण र असरको नियम हो, जसअनुसार अहिले गर्ने कामको असर अर्को जुनीमा भोग्नुपर्ने हुन्छ।”—पृष्ठ ९१३.