सीधै सामग्रीमा जाने

महासङ्‌कष्ट भनेको के हो?

महासङ्‌कष्ट भनेको के हो?

बाइबलको जवाफ

 महासङ्‌कष्टमा मानिसजातिले कहिल्यै नभोगेको दुःख भोग्नुपर्नेछ। बाइबल भविष्यवाणीअनुसार महासङ्‌कष्ट “अन्तको दिनमा” वा “अन्तको समय”-मा हुनेछ। (२ तिमोथि ३:१; दानिएल १२:४) “त्यतिखेर यस्तो सङ्‌कष्ट हुनेछ, जुन परमेश्‍वरले सृष्टि गर्नुभएको संसारको सुरुवातदेखि अहिलेसम्म भएको छैन न त फेरि कहिल्यै हुनेछ।”—मर्कुस १३:१९; दानिएल १२:१; मत्ति २४:२१, २२.

महासङ्‌कष्टको दौडान हुने घटनाहरू

  •   झूटो धर्मको विनाश। झूटो धर्मको विनाश हामीले सोचेको भन्दा द्रुत गतिमा हुनेछ। (प्रकाश १७:१, ५; १८:९, १०, २१) संयुक्‍त राष्ट्र सङ्‌घको प्रतिनिधित्व गर्ने राजनैतिक शक्‍तिहरूद्वारा परमेश्‍वरको यो प्रतिज्ञा पूरा हुनेछ।​—प्रकाश १७:३, १५-१८. a

  •   साँचो धर्ममाथि आक्रमण। इजकिएलले देखेको दर्शनमा राष्ट्रहरूको गठबन्धनलाई चित्रण गर्ने “मागोग देशको गोग”-ले साँचो धर्मका उपासकहरूलाई नाश गर्न खोज्नेछन्‌। तर परमेश्‍वरले आफ्ना उपासकहरूलाई जोगाउनुहुनेछ।​—इजकिएल ३८:१, २, ९-१२, १८-२३.

  •   पृथ्वीमा भएकाहरूको न्याय गरिनेछ। येसुले सबै मानिसजातिको न्याय गर्नुहुनेछ र ‘गोठालोले बाख्राहरूबाट भेडाहरूलाई छुट्ट्याएजस्तै उहाँले मानिसहरूलाई छुट्ट्याउनुहुनेछ।’ (मत्ति २५:३१-३३) स्वर्गमा ख्रिष्टसँगै शासन गर्ने उहाँका ‘भाइरूसित’ मानिसहरूले गर्ने व्यवहारको आधारमा तिनीहरूको न्याय गरिनेछ।​—मत्ति २५:३४-४६.

  •   राज्यका शासकहरूलाई जम्मा गरिनेछ। ख्रिष्टसँगै शासन गर्न चुनिएका वफादार जनहरूले आफ्नो पार्थिव जीवन पूरा गर्नेछन्‌ र तिनीहरूलाई फेरि जीवित पारेर स्वर्ग लगिनेछ।​—मत्ति २४:३१; १ कोरिन्थी १५:५०-५३; १ थिस्सलोनिकी ४:१५-१७.

  •   आरमागेडोन। “सर्वशक्‍तिमान्‌ परमेश्‍वरको महान्‌ दिनको लडाइँ”-लाई “यहोवा परमेश्‍वरको दिन” पनि भनिन्छ। (प्रकाश १६:१४, १६; यसैया १३:९; २ पत्रुस ३:१२) ख्रिष्टले जसलाई दुष्ट ठान्‍नुहुन्छ तिनीहरूलाई आरमागेडोनमा नाश गर्नुहुनेछ। (सपन्याह १:१८; २ थिस्सलोनिकी १:६-१०) यसमा संसारभरिका राजनैतिक प्रणाली पनि पर्छ, जसलाई बाइबलमा सात वटा टाउको भएको जङ्‌गली जनावर भनिएको छ।​—प्रकाश १९:१९-२१.

महासङ्‌कष्टपछि हुने घटनाहरू

  •   सैतान र त्यसका प्रेतहरूलाई अगाध खाडलमा हुर्ऱ्याइनेछ। एक महान्‌ स्वर्गदूतले सैतान र त्यसका प्रेतहरूलाई “अगाध खाडलमा” हुर्ऱ्याउनुहुनेछ, जहाँ तिनीहरू मृत्युसरी अवस्थामा हुनेछन्‌। (प्रकाश २०:१-३) अगाध खाडलमा सैतानको अवस्था कैदमा भएसरह हुनेछ। त्यसले कसैलाई पनि हानि पुऱ्‍याउन सक्नेछैन।​—प्रकाश २०:७.

  •   हजार वर्षीय शासन सुरु हुन्छ। परमेश्‍वरको राज्यले हजार वर्षीय शासन सुरु गर्नेछ र मानिसजातिले थुप्रै आशिष्‌ पाउनेछन्‌। (प्रकाश ५:९, १०; २०:४, ६) असङ्‌ख्य मानिसको “ठूलो भीड”-ले “आरमागेडोन पार गरेर” हजार वर्षीय शासन सुरु भएको हेर्नेछन्‌।​—प्रकाश ७:९, १४; भजन ३७:९-११.

a प्रकाशको किताबमा झूटो धर्मलाई महान्‌ बेबिलोन अर्थात्‌ “महावेश्‍या” भनिएको छ। (प्रकाश १७:१, ५) महान्‌ बेबिलोनको विनाश गर्ने चहकिलो रातो रङ्‌गको जङ्‌गली जनावरले एउटा सङ्‌गठनलाई चित्रण गर्छ, जसको उद्देश्‍य संसारका राष्ट्रहरूमा शान्ति र सुरक्षा कायम गर्नु हो। यो सुरुमा राष्ट्र सङ्‌घको रूपमा अस्तित्वमा थियो र अहिले यसलाई संयुक्‍त राष्ट्र सङ्‌घ भनिन्छ।