सृष्टि या संयोग?
कोषहरूको विभाजन हुने क्षमता
हाम्रो सुरुवात गर्भमा रहेको एउटा सानो कोष जाइगोटबाट हुन्छ, जसलाई हामी खुला आँखाले देख्न सक्दैनौँ। केही महिनापछि ती कोषहरू मिलेर एउटा बच्चा बन्छ। त्यो कोष विभाजन हुन्छ र विभिन्न आकार, नाप अनि विशेषतासहित दुई सय वटा भन्दा धेरै प्रकारका कोषहरूमा परिणत हुन्छ।
विचार गर्नुहोस्: जाइगोटले आफ्नो डिएनए-जस्तै अर्को डिएनए बनाउँछ र त्यसलाई दुई भागमा विभाजन गर्छ। यी विभाजन गरिएका कोषहरूले पनि यही प्रक्रिया थुप्रै पटक दोहोऱ्याउँछन्। सुरुमा सबै नयाँ कोषहरू उस्तै हुन्छन्। हरेकको डिएनए-मा सबै प्रकारको कोष बनाउन चाहिने आवश्यक निर्देशनहरू हुन्छन्।
गर्भधारण गरेको एक हप्ता पछि कोषहरू दुई भागमा विभाजन हुन्छन्। केही कोषहरू भ्रूण बन्छन् भने अरू कोषहरूचाहिँ सालनाल बन्छन्, जसले भ्रूणलाई बढ्न मदत गर्छ।
तीन हप्तासम्ममा भ्रूणको कोषहरूले तीन वटा तहहरू बनाउँछन्। बाहिरी तहमा भएका कोषहरूबाट नसा, मस्तिष्क, मुख, छाला र अरू कोषहरू बन्छन्। बीचको तहमा भएका कोषहरूबाट रगत, हड्डी, मिर्गौला, मांसपेशी र अन्य तन्तुहरू बन्छन्। भित्री तहमा भएका कोषहरूबाट फोक्सो, मूत्राशय र पाचन प्रणालीजस्ता भित्री अङ्गहरू बन्छन्।
गर्भधारणको समयभरि नै कुनै-कुनै कोष वा कोषहरूको समूह भ्रूणभित्र एक ठाउँबाट अर्को ठाउँमा सरिरहन्छन्। केही कोषहरू भने एकआपसमा खापिएर तहतह मिलेर बस्छन् वा रेसा बन्छन्। यस प्रक्रियाको लागि कोषहरूबीच अचूक व्यवस्थापन हुनु जरुरी छ। उदाहरणको लागि, पत्र-पत्र बनेर बसेका कोषहरू एक मोडमा गएर बेरिन थाल्छन् र मसिना-मसिना ट्युबजस्तो आकार लिँदै जान्छन्। भ्रूणभित्र धेरै ठाउँमा यो प्रक्रिया चल्छ। ती ट्युबहरू समयको दौडान आपसमा जोडिँदै जान्छन् र त्यसबाट थप हाँगाहरू पलाउँदै जान्छ। पूर्ण रूपमा विकसित भएपछि त्यो नै स्नायु प्रणाली बन्छ।
एक स्वस्थ बच्चाको जन्म हुँदासम्म उसको शरीरमा भएको अरबौँखरबौँ कोषहरू ठीक समय र ठाउँमा विभाजन भइसकेको हुन्छ।
तपाईँलाई कस्तो लाग्छ? कोषहरूको विभाजन हुने क्षमता क्रमविकासको उपज हो या सृष्टि?