सृष्टि या संयोग?
डल्फिनको सोनार
डल्फिनले विभिन्न खालका आवाजहरू निकाल्छ र त्यसको प्रतिध्वनिलाई राम्ररी सुनेर आफू वरपर के-के छ भनेर थाह पाउँछ अनि बाटो पनि पत्ता लगाउँछ। वैज्ञानिकहरू बोटलनोज डल्फिनले (Tursiops truncatus) निकाल्ने सोनारको सिको गर्दै पानीमुनि प्रयोग गर्न सकिने एउटा प्रविधिको विकास गर्दै छन्। यसले हाल प्रयोगमा भइरहेको प्रविधिले भन्दा अझ राम्रोसँग समस्याहरू समाधान गर्नेछ।
विचार गर्नुहोस्: डल्फिनको सोनारले समुद्रको पिंधमा बालुवा भित्र लुकेर बसेको माछा पत्ता लगाउन अनि माछा र ढुङ्गा छुट्याउन मदत गर्छ। हेरियोट-वाट विश्वविद्यालयको सहप्राध्यापक केथ ब्राउनका अनुसार डल्फिनले “दस मिटर टाढाबाटै सफा पानी, नुनिलो पानी, गुलियो पानी र तेल भएको भाँडाहरू छुट्याउन सक्छ।” वैज्ञानिकहरू यस्तै क्षमता भएको यन्त्रहरू विकास गर्न चाहन्छन्।
अनुसन्धानकर्ताहरूले डल्फिनको आवाज निकाल्ने र सुन्ने क्षमताको अध्ययन गरेका छन्। तिनीहरूले अत्याधुनिक इलेक्ट्रोनिक सामानहरूले सुसज्जित सोनार यन्त्रको आविष्कार गरेका छन्। यो सोनार यन्त्रलाई लगभग साढे तीन फिट सानो सिलिन्डरमा राख्न सकिन्छ। यस यन्त्रलाई पानीमुनि चल्ने रोबोटमा जोडिन्छ। यसले टाढैबाट समुद्रको पिंधमा रहेका कुराको अध्ययन गर्न अनि पुरिएका तार वा पाइपलाइन पत्ता लगाउन र जाँच्न सक्छ। वैज्ञानिकहरूले तेल तथा ग्याँस उद्योगहरूमा यो प्रविधि प्रयोग गर्ने सोचाइ राखेका छन्। डल्फिनको नक्कल गरेर बनाइएको सोनारले अहिले प्रयोगमा भएको सोनारले भन्दा बढी जानकारी जम्मा गर्न सक्छ। जसले गर्दा पानीमुनि राखिने यन्त्रहरू सही ठाउँमा राख्न र ती यन्त्रहरूमा समस्या छ कि छैन भनेर सजिलै पत्ता लगाउन सकिन्छ। जस्तै: तेल राख्ने ठाउँमा कतै चर्केको छ कि छैन अनि पाइपलाइनमा अवरोध आएको छ कि छैन भनेर पत्ता लगाउन यसले मदत गर्छ।
तपाईँलाई कस्तो लाग्छ? बोटलनोज डल्फिनको सोनार क्रमविकासको उपज हो या सृष्टि?