सीधै सामग्रीमा जाने

शास्त्रपदको व्याख्या

एफिसी ३:२०—“[परमेश्‍वर] हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ”

एफिसी ३:२०—“[परमेश्‍वर] हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ”

 “परमेश्‍वर, जसको शक्‍तिले हामीभित्र काम गरिरहेको छ अनि जसले हामीले मागे वा सोचेभन्दा कता हो कता धेरै गर्न सक्नुहुन्छ।”—एफिसी ३:२०, नयाँ संसार अनुवाद।

 “उहाँलाई, जसले हामीभित्र काम गर्ने उहाँको शक्‍तिअनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ।”—एफिसी ३:२०, नयाँ संशोधित संस्करण।

एफिसी ३:२० को अर्थ

 यहोवा हाम्रो प्रार्थना सुन्‍नुहुन्छ भन्‍ने कुरामा प्रेषित पावल ढुक्क थिए। अनि उहाँले प्रार्थनाको जवाफ हामीले सोच्दै नसोचेको तरिकामा दिन सक्नुहुन्छ भनेर पनि तिनले बताए।

 “परमेश्‍वर, जसको शक्‍तिले हामीभित्र काम गरिरहेको छ।” यसको मतलब, यहोवा a हामीलाई उहाँको इच्छाअनुसार गर्न चाहिने शक्‍ति र बल दिनुहुन्छ।—फिलिप्पी ४:१३.

 प्रेषित पावलले पद २० मा यहोवा आफ्ना उपासकहरूलाई मदत गर्न सक्नुहुन्छ भन्‍ने कुरामा जोड दिएका छन्‌। ‘परमेश्‍वरको शक्‍ति’ भन्‍ने अभिव्यक्‍तिबारे एउटा किताबमा यसो भनिएको छ: “यस पदमा यहोवा आफ्ना उपासकहरूलाई मदत गर्न सक्नुहुन्छ भनेर मात्र बताइएको छैन। बरु उहाँसित त्यसो गर्ने शक्‍ति पनि छ भनेर जोड दिइएको छ।” हाम्रा साथीभाइहरू हामीलाई परेको बेला मदत गर्न चाहन्छन्‌ तर तिनीहरूले सधैँ त्यसो गर्न सक्छन्‌ भन्‍ने ग्यारेन्टी छैन। यहोवा भने सधैँ आफ्ना उपासकहरूको ख्याल राख्न र तिनीहरूको प्रार्थनाको जवाफ दिन सक्नुहुन्छ। उहाँसित मात्र असीमित शक्‍ति र अख्तियार छ।—यसैया ४०:२६.

 “[परमेश्‍वर] हामीले मागे वा सोचेभन्दा कता हो कता धेरै गर्न सक्नुहुन्छ।” परमेश्‍वर हामीले सोच्दै नसोचेको वा आशै नगरेको तरिकामा हामीलाई मदत गर्न सक्नुहुन्छ। अनि प्रेषित पावल सबै ख्रिष्टियनले यो कुरा बुझेको चाहन्थे।

 कहिलेकाहीँ ख्रिष्टियनहरूलाई आफूले भोगिरहेको समस्या एकदमै ठूलो वा सुल्झाउनै नसकिने जस्तो लाग्न सक्छ। तिनीहरूलाई प्रार्थनामा के भन्‍ने भनेर पनि थाह नहुन सक्छ। तर यहोवा आफ्ना उपासकहरूको अवस्था राम्ररी बुझ्नुहुन्छ र तिनीहरूलाई मदत गर्न सक्नुहुन्छ। उहाँको लागि कुनै कुरा असम्भव नभएकोले उहाँले आफ्नो समयमा हाम्रा समस्याहरू समाधान गरिदिनुहुनेछ। (अय्युब ४२:२; यर्मिया ३२:१७) त्यो पनि हामीले सोचेभन्दा कता हो कता उत्तम तरिकामा। त्यतिन्जेल उहाँले हामीलाई आनन्दित भई परीक्षा सहन बल दिनुहुनेछ।—याकुब १:२, ३.

एफिसी ३:२० को प्रसङ्‌ग

 एफिसीको किताब प्रेषित पावलले एफिसस सहरमा बस्ने ख्रिष्टियनहरूका लागि लेखेका थिए। यो सहर अहिले टर्कीमा पर्छ। पावलले यस पत्रमा ती ख्रिष्टियनहरूको लागि गरेको प्रार्थना उल्लेख गरेका छन्‌। (एफिसी ३:१४-२१) तिनीहरूले ख्रिष्टको प्रेम अझ राम्ररी जानून्‌ भनेर तिनले प्रार्थना गरे। त्यसको लागि तिनीहरूले ख्रिष्टको सोचाइ र व्यवहार अनुकरण गर्न सक्दो कोसिस गर्नुपर्थ्यो। आज हामीले पनि त्यसै गर्नुपर्छ। पावलले परमेश्‍वरको प्रशंसा गर्दै आफ्नो प्रार्थना टुङ्‌ग्याए। यो कुरा हामी एफिसी ३:२०, २१ मा पाउन सक्छौँ।

 एफिसीको किताबको विषयवस्तुबारे बुझ्न यो छोटो भिडियो हेर्नुहोस्‌।

a परमेश्‍वरको नाम यहोवा हो। (भजन ८३:१८) “यहोवा को हुनुहुन्छ?” लेख हेर्नुहोस्‌।