शास्त्रपदको व्याख्या
यर्मिया ३३:३—“मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु”
“मलाई पुकार अनि म तिमीहरूलाई जवाफ दिनेछु र तिमीहरूले कहिल्यै नबुझेका र तिमीहरूको समझबाहिरका अचम्मलाग्दा कुराहरू बताउनेछु।”—यर्मिया ३३:३, नयाँ संसार अनुवाद।
“मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु र तैंले नजानेका गहिरा र गुप्त कुराहरू म तँलाई बताउनेछु।”—यर्मिया ३३:३, नयाँ संशोधित संस्करण।
यर्मिया ३३:३ को अर्थ
यस पदमा बताइएअनुसार परमेश्वरले मानिसहरूलाई प्रार्थना गर्न आग्रह गर्नुभएको छ। यो आग्रहअनुसार चलेर उहाँलाई प्रार्थना गर्नेहरूलाई उहाँले भविष्यमा हुने कुरा प्रकट गर्नुहुनेछ।
“मलाई पुकार अनि म तिमीहरूलाई जवाफ दिनेछु।” “मलाई पुकार” भन्ने अभिव्यक्तिको अर्थ साधारणतया परमेश्वरको नाम ठूलो स्वरमा पुकार्नु होइन। बरु परमेश्वरलाई पुकार्नुमा प्रार्थना गरेर उहाँसित मदत र डोऱ्याइ माग्नु समावेश छ।—भजन ४:१; यर्मिया २९:१२.
यो आग्रह पुरातन इस्राएल राष्ट्रलाई गरिएको हुनुपर्छ। त्यो राष्ट्र परमेश्वरबाट तर्किएको थियो अनि तिनीहरूलाई बेबिलोनी सेनाले आक्रमण गरेको थियो। (यर्मिया ३२:१, २) त्यसैले यहोवाले a तिनीहरूलाई प्रार्थनामार्फत उहाँलाई पुकारेर उहाँकहाँ फर्कन आग्रह गर्नुभयो।
“म ... तिमीहरूले कहिल्यै नबुझेका र तिमीहरूको समझबाहिरका अचम्मलाग्दा कुराहरू बताउनेछु।” परमेश्वरले भविष्यमा प्रकट गर्नुहुने कुराहरू मानिसको “समझबाहिरका” (वा पहुँचबाहिरका) छन्। भन्नुको अर्थ, मानिसहरूले आफ्नै भरमा ती कुराहरू कहिल्यै बुझ्न सक्दैनन्। ‘समझबाहिरका कुराहरू’ भन्ने अभिव्यक्तिलाई ‘लुकाइएका कुराहरू’ भनेर पनि अनुवाद गर्न सकिन्छ।
परमेश्वरले “लुकाइएका” कस्ता कुराहरू प्रकट गर्नुहुनेछ? भविष्यमा घट्ने घटनाहरू। त्यो हो, पुरातन सहर यरुसलेम विनाश र उजाड हुने अनि पछि पुनर्स्थापित हुने। (यर्मिया ३०:१-३; ३३:४, ७, ८) तर परमेश्वरले उहाँको उपासना गर्ने इस्राएल राष्ट्रको नामोनिसान मेटिनेछैन भनेर पनि घोषणा गर्नुभयो।—यर्मिया ३२:३६-३८.
यर्मिया ३३:३ को प्रसङ्ग
यो सन्देश यहोवाले भविष्यवक्ता यर्मियालाई ईसापूर्व ६०८ मा राजा सिदकियाहको शासनकालको १० औँ वर्षमा दिनुभएको थियो। यर्मियाले यरुसलेमको विनाश हुनेछ र राजा सिदकियाहलाई बन्दी बनाएर लगिनेछ भनेर भविष्यवाणी गरे। तर राजालाई त्यो सन्देश मन नपरेकोले तिनले यर्मियालाई थुन्ने आदेश दिए।—यर्मिया ३२:१-५; ३३:१; ३७:२१.
त्यही समयमा यहोवाले यर्मिया ३३:३ मा उल्लिखित आग्रह गर्नुभएको थियो। तर दुःखको कुरा, राजा सिदकियाह र थुप्रै इस्राएलीले परमेश्वरको यो आग्रहलाई बेवास्ता गरे र विश्वासघाती भए। (यर्मिया ७:२६; २५:४) तिनीहरूले परमेश्वरको डोऱ्याइको लागि उहाँलाई पुकारेनन्। त्यसको एक वर्षपछि सिदकियाहले राजसत्ता गुमाए, यरुसलेमको विनाश भयो अनि थुप्रैलाई कैदी बनाएर बेबिलोन लगियो।—यर्मिया ३९:१-७.
यर्मिया ३३:३ मा उल्लेख गरिएका शब्दहरूले परमेश्वरले उहाँलाई पुकार्ने र उहाँको वचन बाइबल अध्ययन गर्नेहरूलाई आफ्नो “इच्छाबारे सही ज्ञान” र “गहिरा कुराहरू” प्रकट गर्नुहुनेछ भनेर सम्झाउँछ। (कलस्सी १:९; १ कोरिन्थी २:१०) यी गहिरा कुराहरूमा उहाँले भविष्यको लागि गर्नुभएका प्रतिज्ञाहरू समावेश छन्।—प्रकाश २१:३, ४.
यर्मियाको किताबको विषयवस्तुबारे बुझ्न यो छोटो भिडियो हेर्नुहोस्।
a परमेश्वरको नाम यहोवा हो। (भजन ८३:१८) “यहोवा को हुनुहुन्छ?” लेख हेर्नुहोस्।