यहोवाका साक्षीहरू किन कुनै-कुनै चाडपर्व र उत्सव मनाउँदैनन्?
कुनै चाडपर्व वा उत्सव मनाउने कि नमनाउने भनी निर्णय गर्न यहोवाका साक्षीहरू कस्ता कुराहरू विचार गर्छन्?
कुनै चाडपर्व वा उत्सव मनाउने कि नमनाउने भनेर निर्णय गर्नुअघि यहोवाका साक्षीहरू बाइबलले दिने सल्लाह विचार गर्छन्। कुनै-कुनै चाडपर्व र उत्सव बाइबलको सिद्धान्तसित सीधै बाझिन्छ। यस्ता चाडपर्वहरूमा यहोवाका साक्षीहरू भाग लिँदैनन्। अरू चाडपर्वको सन्दर्भमा चाहिँ प्रत्येक यहोवाको साक्षीले “परमेश्वर र मानिसहरूसामु आफ्नो अन्तस्करण सफा राखिरहन” सक्ने किसिमको निर्णय गर्छन्।—प्रेषित २४:१६.
कुनै चाडपर्व वा उत्सव मनाउने कि नमनाउने भनी निर्णय गर्दा यहोवाका साक्षीहरूले आफैलाई सोध्ने केही प्रश्न तल दिइएका छन्। a
के यो चाड वा उत्सव धर्मशास्त्रसित बाझिने शिक्षामा आधारित छ?
बाइबलको सिद्धान्त: “तिनीहरूमाझबाट निस्केर आओ र आफूलाई अलग पार अनि अशुद्ध कुरा छुन छोड।”—२ कोरिन्थी ६:१५-१७.
यहोवाका साक्षीहरू बाइबलको शिक्षासित बाझिने शिक्षाहरूदेखि पूर्णतया अलग रहन चाहन्छन्। त्यसैले तिनीहरू निम्न पक्षहरू समावेश भएका चाडपर्व र उत्सव मनाउँदैनन्:
अरू देवीदेवताको उपासनामा आधारित चाडपर्व: येसुले यसो भन्नुभयो: “तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरको उपासना गर्नुपर्छ अनि उहाँलाई मात्र पवित्र सेवा चढाउनुपर्छ।” (मत्ति ४:१०) यो आज्ञाअनुसार चल्दै यहोवाका साक्षीहरू यहोवाबाहेक अरू देवीदेवताको उपासना गरिने चाडपर्व मनाउँदैनन्। जस्तै: क्रिसमस अनि इस्टर। साथै तिनीहरू निम्न चाडपर्व पनि मनाउँदैनन्:
क्वान्जा। एउटा विश्वकोशअनुसार b क्वान्जा भन्ने शब्द “माटुन्डा या क्वान्जा भन्ने स्वाहिली अभिव्यक्तिबाट आएको हो। यसको अर्थ हो, ‘पहिलो फल।’ अफ्रिकी इतिहासअनुसार यो चाड पहिलो बाली भित्र्याउने चाडबाट आएको हो।” कसै-कसैको विचारमा क्वान्जा धार्मिक चाड होइन तर एउटा विश्वकोशमा c यस चाडलाई एउटा अफ्रिकी कटनीको चाडसित तुलना गरिएको छ, जसमा मानिसहरू आफ्ना देवीदेवता र पुर्खाहरूलाई कृतज्ञतास्वरूप पहिलो फल चढाउँछन्। अफ्रिकी-अमेरिकी चाड क्वान्जा यस्तै चाडहरूसित सम्बन्धित छ।
मध्य-शरद् पर्व। एउटा शब्दकोशअनुसार d यो पर्व “चन्द्रदेवीको सम्मानमा मनाइने चाड हो।” एउटा विश्वकोशअनुसार e यो चाड मनाउन “घरका स्त्रीहरूले त्यस देवीलाई ढोग्ने चलन छ। यो चलनलाई चिनियाँ भाषामा काउटाउ भनिन्छ।”
नाउरुज (नोरुज)। “यो चाड एउटा फारसी धर्मबाट सुरु भएको हो। यस दिनलाई प्राचीन फारसी पात्रोको सबैभन्दा पवित्र दिनहरूमध्ये एउटा मानिन्छ। . . . फारसी परम्पराअनुसार जाडो महिनामा हिउँदको देवताले जमिनमुनि पुऱ्याएको मध्यान्हको देवता [ऱ्यापिथ्विनलाई] स्वागत गर्न मध्यान्हको समयमा नोरुज मनाइन्थ्यो।”—संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन।
साब-ए याल्डा। यो चाड जाडो यामको सबैभन्दा छोटो दिनमा मनाइन्छ। एउटा किताबअनुसार f यो चाड प्रकाशको देव “मिथ्राको उपासनासित सम्बन्धित छ।” यो चाड रोमी अनि ग्रीक सूर्यदेवहरूको उपासनासित सम्बन्धित हुन सक्छ भनेर पनि मानिन्छ। g
धन्यवाद दिवस। क्वान्जाजस्तै यो पर्व पनि बाली भित्र्याउने बेला विभिन्न देवीदेवताको सम्मानमा मनाइने चाडपर्वबाट आएको हो। समयको अन्तरालमा “चर्चहरूले यी चलनहरू अँगाले” भनी एउटा किताब h बताउँछ।
भाग्यमाथिको विश्वास वा अन्धविश्वासमा आधारित चाडपर्व तथा उत्सव। बाइबलमा “सौभाग्य देवताको लागि टेबुल तयार” गर्नेहरू “यहोवालाई त्याग्नेहरूमध्येका” हुन् भनेर बताइएको छ। (यसैया ६५:११) त्यसैले यहोवाका साक्षीहरू निम्न चाडपर्व तथा उत्सव मनाउँदैनन्:
इभान कुपाला। एउटा किताबमा i यस्तो लेखिएको छ: “लोकप्रिय विश्वासअनुसार [यस चाडको] बेला प्रकृतिले आफ्नो जादुगरी शक्ति छोड्छ अनि बहादुर र भाग्यमानी मानिसले त्यो शक्ति प्राप्त गर्न सक्छ।” पहिला यो गैर-ख्रिष्टियन चाड थियो, जुन गर्मी यामको सबैभन्दा लामो दिनमा मनाइन्थ्यो। तर एउटा विश्वकोशले j बताएअनुसार गैर-ख्रिष्टियनहरूले ख्रिष्टियन धर्म अपनाएपछि यो पर्व बप्तिस्मा गराउने युहन्नाको महिमा गरिने चर्चको चाडसित मिसियो।
चन्द्र नयाँ वर्ष (चिनियाँ नयाँ वर्ष वा कोरियन नयाँ वर्ष)। एउटा किताब k यसो भन्छ: “वर्षको यस समयमा परिवार, साथीभाइ अनि इष्टमित्रको मुख्य चासोको विषय भनेकै आगामी वर्ष सुखले बितोस् भनेर यथासक्दो गर्नु, ईश्वर तथा अलौकिक शक्तिहरूको सम्मान गर्नु र आउँदो वर्षको लागि सौभाग्यको कामना गर्नु हो।” त्यसैगरि एउटा विश्वकोशले l बताएअनुसार कोरियन नयाँ वर्षमा “पुर्खाहरूको उपासना गरिन्छ, दुष्ट शक्तिलाई धपाउन र नयाँ वर्षमा सौभाग्य प्राप्त गर्न धार्मिक अनुष्ठान गरिन्छ। साथै आउँदो वर्ष कस्तो होला भनेर थाह पाउन शकुन-अपशकुन पनि हेरिन्छ।”
मानिस मरे पनि उसको कुनै भाग जीवित रहन्छ भन्ने शिक्षामा आधारित चाडपर्व। बाइबलमा मृत्युपछि मानिसको कुनै पनि भाग जीवित रहँदैन भनेर स्पष्टसित बताइएको छ। (भजन १४६:४; इजकिएल १८:४) त्यसैले यहोवाका साक्षीहरू मानिस मरे पनि उसको कुनै भाग जीवित रहन्छ भन्ने शिक्षालाई बढावा दिने निम्न चाडपर्व मनाउँदैनन्:
मृतकहरूको सम्झना गर्ने दिन। नयाँ क्याथोलिक विश्वकोश-ले (अङ्ग्रेजी) बताएअनुसार यो उत्सव “मरिसकेका सबैको सम्झनामा मनाइन्छ। यस दिनमा पापमोचन स्थानमा भएका मृतकहरू भूतप्रेत, बोक्सी, भ्यागुता, आदिको रूप धारण गर्छन् अनि तिनीहरू जीवित हुँदा तिनीहरूलाई दुःख दिने व्यक्तिहरूकहाँ देखा पर्छन् भनेर मध्ययुगको दौडान धेरैजसो मानिस विश्वास गर्थे।”
चिङ्मिङ् पर्व अनि भोको भूतको पर्व। यी दुई पर्व पुर्खाहरूलाई सम्मान गर्न मनाइन्छ। एउटा किताबअनुसार a चिङ्मिङ् पर्वमा मरिसकेकाहरू नभोकाऊन्, नतिर्खाऊन् अनि तिनीहरूसित पैसाको अभाव नहोस् भनेर खानेकुरा, पिउने कुरा अनि पैसाजस्तै देखिने कागज जलाइन्छ। साथै त्यो किताबमा यस्तो पनि लेखिएको छ: “भोको भूतको पर्व पर्ने महिनाको विशेषगरि पूर्णिमाको रात मृतक र जीवित मानिस एकअर्कासित एकदम नजिक हुने भएकोले मरेकाहरूलाई शान्त पार्न र पुर्खाहरूको सम्मान गर्न आवश्यक सावधानी अपनाउनुपर्छ [भनेर यो चाड मनाउनेहरू विश्वास गर्छन्]।”
चिउसक। एउटा किताबअनुसार b यस चाडमा “मरेकाहरूलाई खानेकुरा र मद्य चढाइन्छ। मानिस मरे पनि उसको कुनै भाग जीवितै रहन्छ भन्ने विश्वासले गर्दा यस्तो भेटी चढाइन्छ।”
तन्त्रमन्त्रसित सम्बन्धित चाडपर्व र उत्सव। बाइबल यसो भन्छ: “जोखना हेर्ने, जादु गर्ने, शकुन-अपशकुन बताउने, तन्त्रमन्त्र गर्ने, टुनामुना गर्ने, भूतप्रेत खेलाउने व्यक्तिसित वा भावी बताउने व्यक्तिसित सल्लाह लिने अथवा मसान जगाउने . . . मानिसलाई यहोवा परमेश्वर घृणा गर्नुहुन्छ।” (व्यवस्था १८:१०-१२) ज्योतिषविद्या वा कुनै पनि किसिमको तन्त्रमन्त्रदेखि अलग रहन यहोवाका साक्षीहरू ह्यालोविन वा निम्न चाडपर्व मनाउँदैनन्:
सिन्हाला अनि तामिल नयाँ वर्ष। “यो पर्वसित सम्बन्धित रीतिथितिमा . . . ज्योतिषीहरूले जोखाना हेरेर निर्धारण गरेको शुभ घडीमा कुनै खास काम गर्नु समावेश छ।”—श्रीलंकाको विश्वकोश (अङ्ग्रेजी)।
सङ्क्रान। एउटा विश्वकोशअनुसार c यस एसियाली पर्वको नाम “संस्कृत शब्द सङ्क्रान्तिबाट आएको हो, जसको अर्थ ‘चाल’ वा ‘परिवर्तन’ हो। सूर्य मेष राशिको नक्षत्रमा प्रवेश गर्ने दिन [यो चाड] मनाइन्छ।”
येसुको बलिदानले खारेज गरेको मोसाको व्यवस्थामा आधारित चाडपर्व। बाइबल यसो भन्छ: “ख्रिष्टमै मोसाको व्यवस्थाको अन्त भयो।” (रोमी १०:४) मोसाको व्यवस्था प्राचीन समयका इस्राएलीहरूलाई दिइएको भए तापनि त्यसमा भएका सिद्धान्तहरूबाट ख्रिष्टियनहरू आज पनि लाभ उठाउँछन्। तर तिनीहरू यसमा आधारित चाडहरूचाहिँ मनाउँदैनन्, विशेषगरि मसीह आउने प्रतिज्ञामा आधारित चाडहरू। किनभने तिनीहरू मसीह आइसक्नुभएको छ भनेर विश्वास गर्छन्। बाइबल यसो भन्छ: “ती आउने कुराहरूको छाया मात्र हुन् तर वास्तविकता त ख्रिष्ट हुनुहुन्छ।” (कलस्सी २:१७) यी चाडहरूको उद्देश्य पूरा भइसकेकोले अनि यी चाडहरूमा गैर-ख्रिष्टियन चलनहरू समावेश भएकोले यहोवाका साक्षीहरू यस्ता चाडहरू मनाउँदैनन्। यीमध्ये केही तल उल्लेख गरिएका छन्:
हनुक्का। यस चाडमा यरुसलेममा भएको यहुदी मन्दिर पुनःसमर्पण गरिएको दिन सम्झिने गरिन्छ। तर बाइबलले बताएअनुसार येसु प्रधानपुजारी हुनुभयो अनि “अझ ठूलो र पूर्ण पालभित्र [अर्थात् मन्दिरभित्र] पस्नुभयो, जुन . . . पार्थिव सृष्टिको भाग होइन।” (हिब्रू ९:११) त्यस लाक्षणिक मन्दिरले यरुसलेममा भएको वास्तविक मन्दिरको ठाउँ लियो भनेर ख्रिष्टियनहरू विश्वास गर्छन्।
रोस हसाना। यो यहुदी वर्षको पहिलो दिन हो। प्राचीन समयमा यस चाडमा परमेश्वरको लागि विशेष भेटीहरू चढाइन्थ्यो। (गन्ती २९:१-६) तर येसु ख्रिष्ट नै मसीह हुनुभएकोले उहाँले “बलिदान र भेटीको अन्त” गर्नुभयो, जसले गर्दा ती परमेश्वरको नजरमा अस्वीकार्य भए।—दानिएल ९:२६, २७.
के यस चाडले अरू धर्मसित मिलेर चढाइने उपासनालाई बढावा दिन्छ?
बाइबल सिद्धान्त: “विश्वास गर्ने र विश्वास नगर्नेबीच के समानता? अनि मूर्तिहरूसित परमेश्वरको मन्दिरको के सहमति?”—२ कोरिन्थी ६:१५-१७.
यहोवाका साक्षीहरू मानिसहरूसित शान्ति कायम गर्न सक्दो कोसिस गर्छन् र के विश्वास गर्ने भनी रोज्ने उनीहरूको अधिकारको आदर गर्छन्। तर निम्न तरिकामा अरू धर्मसित मिलेर चढाइने उपासनालाई बढावा दिने चाडपर्व तिनीहरू मनाउँदैनन्:
कुनै धार्मिक हस्ति वा घटनाको सम्झनामा मिलेर चढाइने उपासनालाई बढावा दिने चाडहरू। परमेश्वरले प्राचीन समयका आफ्ना मानिसहरूलाई नयाँ ठाउँमा लानुभयो। त्यहाँका मानिसहरू अर्कै धर्म मान्थे। उहाँले आफ्ना मानिसहरूलाई यसो भन्नुभयो: “तिनीहरू र तिनीहरूका देवीदेवतासित करार नगर्नू। . . . तिनीहरूका देवीदेवतालाई पुज्यौ भने त्यो तिमीहरूको निम्ति पक्कै पासो हुनेछ।” (प्रस्थान २३:३२, ३३) त्यसैले यहोवाका साक्षीहरू निम्न चाडपर्व र उत्सवमा भाग लिँदैनन्:
लोई क्राटोङ्ग। बौद्ध धर्मको विश्वकोश-ले (अङ्ग्रेजी) बताएअनुसार यस थाई चाडको बेला “मानिसहरू टपरी बनाउँछन् अनि त्यसमा मैनबत्ती वा धूप राखेर पानीमा बगाउँछन्। त्यस टपरीले अशुभ कुराहरू बोकेर लैजान्छ भनेर विश्वास गरिन्छ। यस चाडमा खासगरि बुद्धको पवित्र पाइलाको उपासना गरिन्छ।”
राष्ट्रिय पश्चात्ताप दिवस। एक जना सरकारी अधिकारीले पापुआ न्यु गिनीको अखबार द न्याशनल-मा बताएअनुसार यस उत्सवमा भाग लिनेहरूले “ख्रिष्टियन धर्मका आधारभूत सिद्धान्तहरूलाई समर्थन गरिरहेका हुन्छन्।” यस अवसरमा “देशभरि ख्रिष्टियन धर्मको सिद्धान्तहरू फैलिन्छ” भनेर पनि तिनले बताए।
बुद्ध जयन्ती। एउटा शब्दकोश d यसो भन्छ: “यो बौद्ध धर्म मान्नेहरूले मनाउने सबैभन्दा पवित्र चाड हो। यसलाई बुद्धको जन्मदिन अनि उनले बुद्धत्व र मृत्युपछि मोक्ष प्राप्त गरेको दिनको रूपमा मनाइन्छ।”
बाइबलविपरीत धार्मिक परम्परामा आधारित चाडपर्व। येसुले धर्मगुरुहरूलाई यसो भन्नुभयो: “तिमीहरूले आफ्नो परम्पराले गर्दा परमेश्वरको वचनलाई बेकामको तुल्याएका छौ।” उहाँले तिनीहरूको उपासना व्यर्थ छ भनेर बताउनुभयो किनभने तिनीहरू “मानिसहरूले बनाएका नियमहरू” सिकाउँथे। (मत्ति १५:६, ९) यहोवाका साक्षीहरू यस चेतावनीलाई गम्भीरतापूर्वक लिन्छन्। त्यसैले तिनीहरू निम्न चाडपर्व मनाउँदैनन्:
एपिफेनी (थ्रि किङ्ग्स डे, टिमकाट वा लोस रेयस मागोस)। ज्योतिषीहरूले येसुलाई भेट्न आएको वा येसुले बप्तिस्मा गरेको दिन सम्झन यो चाड मनाइन्छ। यस चाडमा “गैर-ख्रिष्टियन वसन्त ऋतुका चाडहरू पनि मिसाइयो, जसमा बहिरहेको पानी, नदी र खोलानालाका देवताहरूको सम्मान गरिन्थ्यो।” (द क्रिसमस इन्साइक्लोपीडिया) अर्को एउटा विश्वकोशले e बताएअनुसार यस्तै किसिमको अर्को चाड टिमकाट पनि “मानिसहरूको परम्परामा आधारित छ।”
कुमारी मरियमको स्वर्गारोहणको पर्व। यो पर्व येसुकी आमा भौतिक शरीरमै स्वर्ग जानुभयो भन्ने विश्वासमा आधारित छ। एउटा विश्वकोशअनुसार f “सुरु-सुरुका ख्रिष्टियनहरू यस्तो कुरामा विश्वास गर्दैनथे अनि धर्मशास्त्रमा यसबारे केही बताइएको छैन।”
पवित्र गर्भधारणको पर्व। “बाइबलमा [मरियमको] पवित्र गर्भधारणबारे विस्तृत रूपमा बताइएको छैन। . . . [यो] चर्चको शिक्षा हो।”—नयाँ क्याथोलिक विश्वकोश (अङ्ग्रेजी)।
लेन्ट। नयाँ क्याथोलिक विश्वकोश-ले (अङ्ग्रेजी) बताएअनुसार पश्चात्ताप गर्ने अनि उपवास बस्ने यो चाड “चौथो शताब्दीमा” अर्थात् बाइबल लेख्न सिद्धिएको २०० वर्षभन्दा लामो समयपछि सुरु भएको हो। सोही विश्वकोशअनुसार यस चाडको पहिलो दिन अर्थात् खरानीको दिनमा ‘पादरीहरूले विश्वासीहरूलाई पश्चात्ताप गर्नुपर्छ भनेर सम्झाउन तिनीहरूको निधारमा खरानीको क्रस बनाइदिने गर्छन्। सन् १०९१ मा क्याथोलिक चर्चले यो प्रचलन औपचारिक रूपमा अँगाल्यो।’
मेस्केल (वा मास्केल)। यो इथियोपियाली पर्व “वास्तविक क्रस (ख्रिष्टलाई झुन्ड्याइएको क्रस) भेटिएको” दिनको रूपमा मनाइन्छ। यो दिन मानिसहरू “आगो बालेर त्यसको वरिपरि नाच्छन्” भनी एउटा विश्वकोश g बताउँछ। तर यहोवाका साक्षीहरू उपासनामा क्रस प्रयोग गर्दैनन्।
के यस चाड वा उत्सवले कुनै मानिस, सङ्गठन वा राष्ट्रिय चिन्हको महिमा गर्छ?
बाइबल सिद्धान्त: “यहोवा परमेश्वर यसो भन्नुहुन्छ: ‘मानिसमाथि भरोसा गर्ने, मानिसको बलमा भर पर्ने र म यहोवादेखि टाढा हुनेलाई धिक्कार छ।’”—यर्मिया १७:५.
हुनत निम्न उत्सवहरूमा मानिसहरूलाई कृतज्ञता व्यक्त गरिन्छ अनि तिनीहरूको लागि प्रार्थना गरिन्छ तर यहोवाका साक्षीहरू यस्ता उत्सव तथा कार्यक्रमहरूमा भाग लिँदैनन्:
कुनै शासक वा प्रख्यात व्यक्तिको सम्मानमा मनाइने उत्सवहरू। बाइबल यसो भन्छ: “मानिसमा भरोसा गर्न छोड अनि तिमीहरूको भलो हुनेछ। किनकि मानिसको मोल के नै छ र? त्यो त नाकमा भएको सास मात्र हो।” (यसैया २:२२) त्यसैले यहोवाका साक्षीहरू कुनै शासकको जन्मदिन अनि यस्तै अरू उत्सव मनाउँदैनन्।
राष्ट्रिय झन्डाको महिमा गर्न मनाइने उत्सवहरू। यहोवाका साक्षीहरू झन्डा दिवस मनाउँदैनन्। किन? किनभने बाइबल यसो भन्छ: “मूर्तिहरूदेखि अलग रहो।” (१ युहन्ना ५:२१) हिजोआज मानिसहरू झन्डालाई उपासना गरिने वस्तुको रूपमा हेर्दैनन् तर इतिहासकार कार्लटन जे. एच. हेसले यस्तो लेखे: “झन्डा राष्ट्रवादको प्रमुख प्रतीक तथा उपासनाको प्रमुख वस्तु हो।”
कुनै सन्तको महिमा गरिने उत्सवहरू। एकपटक परमेश्वरको डर मान्ने एक व्यक्तिले प्रेषित पत्रुसलाई चरणमा घोप्टो परेर दण्डवत् गर्दा पत्रुसले के गरे? बाइबल यसो भन्छ: “उनलाई उठाउँदै पत्रुसले भने: ‘उठ्नुहोस्, म पनि त मानिस नै हुँ।’” (प्रेषित १०:२५, २६) पत्रुस र अरू प्रेषितले विशेष आदर वा महिमा अस्वीकार गरे। त्यसैले यहोवाका साक्षीहरूले पनि सन्त कहलिएकाहरूको महिमा गरिने कुनै पनि उत्सवमा भाग लिँदैनन्। ती उत्सवहरूमध्ये केही विचार गर्नुहोस्:
अल सेन्टस् डे। “यस पर्वमा सबै सन्तहरूको महिमा गरिन्छ। . . . यसको सुरुवात कसरी भयो भनेर पक्का छैन।”—नयाँ क्याथोलिक विश्वकोश (अङ्ग्रेजी)
फेस्टा अफ आवर लेडी अफ ग्वाडालुपे। एउटा विश्वकोशअनुसार h यस चाडमा “मेक्सिकोका संरक्षक मानिएका सन्त”-को महिमा गरिन्छ। कोही-कोही तिनी येसुकी आमा मरियम हुन् भनेर पनि विश्वास गर्छन्। सन् १५३१ मा उनी एक किसानकहाँ देखा परेकी थिइन् भन्ने गरिन्छ।
नेम डे। एउटा किताबअनुसार i “कुनै शिशुले बप्तिस्मा गर्दा वा कसैले पछि ख्रिष्टियन धर्म अँगाल्दा तिनलाई जुन सन्तको नाम दिइन्छ, त्यस सन्तको सम्झना गर्ने दिनमा त्यस व्यक्तिले नेम डे मनाउँछ।” त्यस किताबले बताएअनुसार यो दिन मानिसहरू धार्मिक गतिविधिमा भाग लिन्छन्।
राजनैतिक वा सामाजिक अभियानलाई समर्थन गर्ने उत्सवहरू। “मानिसमा भरोसा गर्नुभन्दा यहोवामा शरण लिनु उत्तम हो” भनी बाइबल बताउँछ। (भजन ११८:८, ९) यहोवाका साक्षीहरू संसारका समस्याहरूको समाधानको लागि मानिसहरूको मुख ताक्दैनन्। त्यसैले तिनीहरू राजनैतिक वा सामाजिक अभियानलाई समर्थन गर्ने युवा दिवस अनि महिला दिवस-जस्ता उत्सवहरूमा भाग लिँदैनन्। तिनीहरू मुक्ति दिवस-जस्ता अरू उत्सवहरूमा पनि भाग लिँदैनन्। बरु तिनीहरू परमेश्वरको राज्यले जातीय भेदभाव र अन्यायको अन्त गर्ने समयको प्रतीक्षा गर्छन्।—रोमी २:११; ८:२१.
के यस उत्सवले एउटा राष्ट्र वा जातिलाई अर्कोभन्दा बढी महत्त्वपूर्ण ठान्न लगाउँछ?
बाइबलको सिद्धान्त: “परमेश्वर पक्षपाती हुनुहुन्न। बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र सही काम गर्छ, उसलाई उहाँ स्विकार्नुहुन्छ।”—प्रेषित १०:३४, ३५.
हुनत यहोवाका साक्षीहरू आफ्नो जन्मस्थानलाई माया गर्छन् तर कुनै राष्ट्र वा जातिको महिमा गर्न लगाउने निम्न प्रकारका उत्सवहरूमा तिनीहरू भाग लिँदैनन्:
सेनाको महिमा गर्ने उत्सवहरू। येसुले युद्धलाई समर्थन गर्नुभएन बरु उहाँले चेलाहरूलाई यसो भन्नुभयो: “आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो र तिमीहरूको खेदो गर्नेहरूका लागि प्रार्थना गरिरहो।” (मत्ति ५:४४) त्यसैले यहोवाका साक्षीहरू सैनिकहरूको महिमा गरिने निम्न उल्लिखित अनि यस्तै अरू उत्सवहरूमा भाग लिँदैनन्:
अन्जाक डे। “अन्जाक भनेको अस्ट्रेलिया अनि न्युजिल्यान्ड सैन्य सङ्घ हो” अनि “अन्जाक डे हिजोआज युद्धमा मारिएकाहरूको सम्झना गरिने दिन भएको छ।”—अस्ट्रेलियाको ऐतिहासिक शब्दकोश (अङ्ग्रेजी)
भेटेरन डे (रिमेम्बरेन्स डे, रिमेम्बरेन्स सन्डे वा मेमोरियल डे)। यी उत्सवहरू “सैन्य सेवा गरेकाहरू अनि देशको लागि युद्ध गर्दा मारिएकाहरूको” महिमा गर्न मनाइन्छ।—इन्साइक्लोपीडिया ब्रिटानिका
कुनै राष्ट्रको इतिहास वा स्वतन्त्रतासित सम्बन्धित उत्सवहरू। येसुले आफ्ना चेलाहरूको विषयमा यसो भन्नुभयो: “तिनीहरू यस संसारका होइनन्, जस्तो म पनि यस संसारको होइन।” (युहन्ना १७:१६) हुनत यहोवाका साक्षीहरू देशको इतिहासबारे जान्न इच्छुक हुन्छन् तर निम्न उल्लिखित अनि यस्तै अरू उत्सवहरूमा भाग लिँदैनन्:
अस्ट्रेलिया डे। एउटा विश्वकोशले j बताएअनुसार यो उत्सव “सन् १७८८ मा बेलायती सेनाले आफ्नो झन्डा फहराएर अस्ट्रेलियालाई एउटा नयाँ उपनिवेश घोषणा गरेको दिन” सम्झन मनाइन्छ।
गाइ फोक्स डे। एउटा शब्दकोश k यसो भन्छ: “सन् १६०५ मा [बेलायतका] राजा जेम्स प्रथम अनि संसदका अरूलाई मार्न गाइ फोक्स र अरू क्याथोलिक समर्थकहरूले रचेको षड्यन्त्र विफल भएको सम्झनामा यो दिन राष्ट्रिय उत्सवको रूपमा मनाइन्छ।”
स्वतन्त्रता दिवस। थुप्रै देशमा मनाइने यस दिवसबारे एउटा शब्दकोश l यसो भन्छ: “यो राष्ट्रले स्वतन्त्रता पाएको दिनको वार्षिकीको रूपमा मनाइन्छ।”
के यस चाडले अनियन्त्रित वा छाडा आचरणलाई बढावा दिन्छ?
बाइबल सिद्धान्त: “निर्लज्ज आचरण, अनियन्त्रित कामवासना, अचाक्ली मद्यपान, भोजको अनियन्त्रित मोजमस्ती, मद्यपानको होडबाजी र घृणित मूर्तिपूजामा लागेर तिमीहरूले संसारका मानिसहरूको इच्छा पूरा गर्न जे-जति समय बितायौ, त्यो नै यथेष्ट छ।”—१ पत्रुस ४:३.
यस सिद्धान्तलाई मनमा राख्दै यहोवाका साक्षीहरू त्यस्ता चाडहरूमा भाग लिँदैनन्, जसमा मानिसहरू अचाक्ली रक्सी पिउँछन् अनि अनियन्त्रित मोजमस्ती गर्छन्। यहोवाका साक्षीहरू साथीभाइसित भेटघाट गर्न पाउँदा खुसी हुन्छन् अनि कहिलेकाहीँ रक्सी पिए पनि तिनीहरू ठिक्क मात्रामा पिउँछन्। तर तिनीहरू बाइबलको यो सल्लाहअनुसार चल्न हरप्रयास गर्छन्: “चाहे तिमीहरू खाओ वा पिओ वा अरू जेसुकै गर, सबै थोक परमेश्वरकै महिमाको निम्ति गर।”—१ कोरिन्थी १०:३१.
त्यसैले यहोवाका साक्षीहरू छाडा आचरणलाई बढावा दिने पर्वहरूमा भाग लिँदैनन् किनभने यस्तो आचरण बाइबलसित मेल खाँदैन। यस्ता पर्वहरूमा यहुदी पर्व पुरिम पनि पर्छ। पहिले पुरिम यहुदीहरू ईसापूर्व पाँचौँ शताब्दीमा निर्वासनबाट छुटेको दिनलाई सम्झन मनाइन्थ्यो। तर एउटा किताबअनुसार a अहिले “यो यहुदी पर्व मार्दी ग्रास वा कार्निभल पर्वहरूजस्तै भएको छ।” सोही किताबअनुसार मोजमस्ती गर्न मन पराउनेहरू यस पर्वमा विपरीत लिङ्गको पहिरन लगाउँछन्, उपद्रव गर्छन्, धेरै रक्सी पिउँछन् अनि हल्लाखल्ला गर्छन्।
कुनै खास चाडपर्व वा उत्सव नमनाए तापनि के यहोवाका साक्षीहरू फरक विश्वास भएको आफ्नो परिवारलाई प्रेम गर्छन्?
गर्छन्। बाइबलले हामीलाई परिवारका सदस्यहरूको विश्वास जस्तो भए पनि उनीहरूलाई प्रेम अनि आदर गर्न सिकाउँछ। (१ पत्रुस ३:१, २, ७) यहोवाका साक्षीले कुनै चाडपर्व वा उत्सवमा भाग नलिँदा तिनका आफन्तहरू दुःखी हुन सक्छन् अथवा आफूलाई धोका दिइएको महसुस गर्न सक्छन्। त्यसैले धेरैजसो यहोवाका साक्षी आफै अग्रसर भएर आफन्तहरूलाई माया गरेको देखाउँछन्, विचारशील हुँदै आफूले त्यस्तो निर्णय गर्नुको कारण बताउँछन् अनि बेला-मौकामा उनीहरूलाई भेट्न गइरहन्छन्।
के यहोवाका साक्षीहरू अरूलाई कुनै चाडपर्व वा उत्सव नमनाउन भन्छन्?
भन्दैनन्। तिनीहरू हरेक व्यक्तिले आफ्नो निर्णय आफै गर्नुपर्छ भनेर विश्वास गर्छन्। (यहोसु २४:१५) यहोवाका साक्षीहरू “हरप्रकारका मानिसहरूको आदर” गर्छन्, चाहे उनीहरूको विश्वास जस्तोसुकै किन नहोस्।—१ पत्रुस २:१७.
a यस लेखमा यहोवाका साक्षीहरूले नमनाउने प्रत्येक चाड वा उत्सवबारे अनि त्यससित सम्बन्धित सबै बाइबल सिद्धान्तबारे बताइएको छैन।
b Encyclopedia of Black Studies
c Encyclopedia of African Religion
d Holidays, Festivals, and Celebrations of the World Dictionary
e Religions of the World—A Comprehensive Encyclopedia of Beliefs and Practices.
f Sufism in the Secret History of Persia
g Mithra, Mithraism, Christmas Day & Yalda, by K. E. Eduljee, पृष्ठ ३१-३३।
h A Great and Godly Adventure—The Pilgrims and the Myth of the First Thanksgiving
i The A to Z of Belarus
j Encyclopedia of Contemporary Russian Culture
k Mooncakes and Hungry Ghosts—Festivals of China
l Encyclopedia of New Year’s Holidays Worldwide
a Celebrating Life Customs Around the World—From Baby Showers to Funerals.
b The Korean Tradition of Religion, Society, and Ethics
c Food, Feasts, and Faith—An Encyclopedia of Food Culture in World Religions
d Holidays, Festivals, and Celebrations of the World Dictionary
e Encyclopedia of Society and Culture in the Ancient World
f Religion and Society—Encyclopedia of Fundamentalism
g Encyclopedia of Society and Culture in the Medieval World
h The Greenwood Encyclopedia of Latino Literature
i Celebrating Life Customs Around the World—From Baby Showers to Funerals
j Worldmark Encyclopedia of Cultures and Daily Life.
k A Dictionary of English Folklore
l Merriam-Webster’s Unabridged Dictionary.
a Essential Judaism