बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
“मैले आफ्नो मृत्यु आफै निम्त्याइरहेको थिएँ”
जन्म मिति: १९७८
जन्म स्थान: एल साल्भाडोर
विगतमा: हिंस्रक गिरोहको सदस्य
मेरो विगत
“परमेश्वरबारे साँच्चै सिक्न चाहन्छौ भने यहोवाका साक्षीहरूसित अध्ययन गर्न नछोड।” यो कुरा सुन्दा म छक्कै परेँ। त्यतिबेला मैले यहोवाका साक्षीहरूसित अध्ययन गरेको केही समय भइसकेको थियो। तर म छक्क पर्नुको कारण बुझाउन आफ्नो जीवनी सुनाउन चाहन्छु।
मेरो जन्म एल साल्भाडोरको केसाल्टेपेके भन्ने सहरमा भएको थियो। पन्ध्र जना सन्तानमध्ये म छैटौँ थिएँ। आमाबुबाले सानैदेखि मलाई इमानदार हुन र नियमकानुनको पालना गर्न सिकाउनुभएको थियो। साथै लियोनार्डो र अरू दुई जना साक्षी बेलाबेलामा हामीलाई बाइबल अध्ययन गराउन आउनुहुन्थ्यो। तर आफूले सिकेका कुराहरूको मैले वास्तै गरिनँ अनि एकपछि अर्को खराब निर्णयहरू गर्दै गएँ। चौध वर्षको हुँदा मैले स्कुलका साथीहरूसित रक्सी पिउन र लागूपदार्थ सेवन गर्न थालेँ। तिनीहरूले एउटा गिरोहको सदस्य हुन एकपछि अर्को गर्दै स्कुल छोड्न थाले। मैले पनि तिनीहरूको सिको गर्दै स्कुल छोडेँ अनि त्यस गिरोहको सदस्य भएँ। हामी गल्लीहरूमा दिन बिताउँथ्यौँ र कुलतको लागि पैसा जुटाउन मानिसहरूलाई धम्काउने अनि चोर्ने गर्थ्यौँ।
त्यो गिरोह नै मेरो परिवार बन्यो। त्यसप्रति वफादार हुनुपर्छ जस्तो मलाई लाग्थ्यो। मेरो गिरोहको एक जना साथीले एकदिन लागूपदार्थको नसामा मेरो एक जना छिमेकीलाई आक्रमण गऱ्यो। तर ती छिमेकीले उसलाई बल्लतल्ल समातेर प्रहरीलाई फोन गरे। त्यो देखेर म रिसले चुर भएँ अनि तिनले मेरो साथीलाई छोडिदेऊन् भनेर एउटा लाठोले छिमेकीको गाडी तोडफोड गर्न थालेँ। तिनको गाडीको सिसाहरू फुटाइदिएँ र अरू कुरा पनि बिगारिदिएँ। तिनले मलाई त्यसो नगर्न बिन्ती गरे पनि मैले सुनिनँ।
म १८ वर्षको हुँदा मेरो गिरोह र प्रहरीबीच झडप भयो। मैले घरमै बनाइएको बम फाल्न लाग्दा त्यो हातमै पड्कियो। कसरी त्यस्तो भयो, थाह छैन। छरपस्ट भएको आफ्नो हातका टुक्राहरू देखेको मात्र याद छ। त्यसपछि म बेहोस भएँ। अस्पतालमा होस खुल्दा त दायाँ हात गुमाइसकेको रहेछु अनि दायाँ कानले सुन्न नसक्ने भएको रहेछु। अनि दायाँ आँखाको ज्योति पनि लगभग गुमिसकेको रहेछ।
घाइते भए तापनि अस्पतालबाट छुट्नेबित्तिकै म सीधै गिरोहमा फर्केँ। तर त्यसको केही समयपछि प्रहरीले मलाई समात्यो अनि झ्यालखानामा परेँ। त्यहाँ हुँदा गिरोहका सदस्यहरूसितको मेरो सम्बन्ध झनै बलियो भयो। हामी बिहान नास्ता खानेबेला पहिलो गाँजा तान्नेदेखि लिएर राती नसुतुन्जेल सबै कुरा सँगै गर्थ्यौँ।
बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?
म झ्यालखानामा हुँदा लियोनार्डो मलाई भेट्न आउनुभयो। कुराकानी गर्दै जाँदा उहाँले मेरो दायाँ पाखुरामा भएको ट्याटु देखाउँदै यसो भन्नुभयो, “यी तीन थोप्लाको अर्थ के हो, तपाईँलाई थाह छ?” मैले “अँ, थाह छ—यौन, लागूपदार्थ र रक एण्ड रोल” भनेँ। तर उहाँले यसो भन्नुभयो, “मेरो विचारमा यिनीहरूको अर्थ अस्पताल, झ्यालखाना र मृत्यु हो। तपाईँ अस्पतालमा हुनुहुन्थ्यो र अहिले झ्यालखानामा हुनुहुन्छ। यसपछि के हुनेछ, तपाईँ आफै अनुमान लगाउन सक्नुहुन्छ।”
लियोनार्डोको कुराले मेरो मन घोच्यो। उहाँले भन्नुभएको कुरा सही थियो। मैले आफ्नो मृत्यु आफै निम्त्याइरहेको थिएँ। लियोनार्डोले बाइबल अध्ययन गर्ने प्रस्ताव राख्नुभयो अनि मैले स्विकारेँ। बाइबलबाट सिकेको कुराले गर्दा म आफ्नो जीवनमा परिवर्तन गर्न उत्प्रेरित भएँ। उदाहरणको लागि, “नराम्रो सङ्गतले नैतिकतालाई भ्रष्ट पार्छ” भनेर बाइबलमा बताइएको छ। (१ कोरिन्थी १५:३३, फुटनोट) मैले गर्नुपर्ने सबैभन्दा पहिलो काम भनेको नयाँ साथीहरू बनाउनु थियो। त्यसैले म गिरोहको सभामा जानुको सट्टा साक्षीहरूले झ्यालखानाभित्र सञ्चालन गर्ने सभामा उपस्थित हुन थालेँ। सभामा मैले आन्ड्रे नाम गरेका कैदीलाई भेटेँ, जसले झ्यालखानाभित्रै यहोवाको साक्षीको रूपमा बप्तिस्मा गर्नुभएको थियो। उहाँले मलाई सँगै बिहानको खाजा खान निम्तो दिनुभयो। त्यसपछि मैले कहिल्यै गाँजा तानेर दिनको सुरुवात गरिनँ। त्यसको सट्टा हामी दुई जना हरेक बिहान बाइबलबाट एउटा पद छलफल गर्थ्यौँ।
म परिवर्तन भइरहेको गिरोहका सदस्यहरूले याद गर्न थाले। त्यसैले गिरोहको एक जना नाइकेले मसित कुरा गर्न चाहे। गिरोह छोड्ने कुरा लगभग असम्भव भएकोले मेरो मनसाय थाह पाएपछि तिनले के गर्ने होलान् जस्तो मलाई लाग्यो। त्यसैले म डराएँ। तिनले यसो भने, “तिमी हाम्रा सभामा देखिँदैनौँ तर यहोवाका साक्षीहरूको सभामा भने जान्छौ। तिम्रो के योजना छ?” बाइबल अध्ययन गरिरहन अनि आफ्नो जीवनमा परिवर्तन गर्न चाहन्छु भनेर मैले भनेँ। म साँच्चै यहोवाको साक्षी हुन चाहेको कुरा प्रमाणित गरिरहँदासम्म गिरोहले मेरो इच्छाको कदर गर्नेछ भनेर तिनले बताए। तिनको यो कुरा सुनेर म छक्क परेँ। अनि “परमेश्वरबारे साँच्चै सिक्न चाहन्छौ भने यहोवाका साक्षीहरूसित अध्ययन गर्न नछोड। तिमीले खराब काम छोडेको हामी आशा गर्छौँ। तिमीलाई बधाई छ! तिमी सही बाटोमा हिँड्दैँ छौ। साक्षीहरूले तिमीलाई साँच्चै मदत गर्न सक्छन्। मैले पनि अमेरिकामा हुँदा तिनीहरूसित अध्ययन गरेको थिएँ अनि मेरो परिवारका केही सदस्य यहोवाका साक्षी हुन्। नडराऊ, अघि बढ्दै जाऊ।” हुनत मलाई अझै डर लागिरहेको थियो तर अर्कोतर्फ एकदमै खुसी पनि भएँ। मैले यहोवालाई मनैदेखि धन्यवाद दिएँ। पिँजडाबाट मुक्त गरिएको चराजस्तै महसुस गरेँ। “तिमीहरूले सत्य थाह पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ” भन्ने येसुका शब्दहरूको अर्थ बुझेँ।—युहन्ना ८:३२.
मेरा पुराना केही साथीहरूले लागूपदार्थ दिएर मलाई जाँच्न खोजे। कुनै-कुनै बेला त मैले लिएँ पनि। तर समयको दौडान धेरै व्यग्र प्रार्थना गरेपछि मैले त्यो कुलत त्याग्न सकेँ।—भजन ५१:१०, ११.
झ्यालखानाबाट छुटेपछि म आफ्नो पुरानो जीवनशैलीमै फर्किन्छु भनेर धेरैले सोचेका थिए। तर त्यसो गर्नुको सट्टा म बेलाबेला झ्यालखानामा गएर कैदी साथीहरूलाई आफूले बाइबलबाट सिकेका कुराहरू बताउँथेँ। म साँच्चै परिवर्तन भएको रहेछु भनेर मेरा पुराना साथीहरू बल्ल विश्वस्त भए। तर दुःखको कुरा, मेरा पुराना शत्रुहरूले यस्तो सोचेनन्।
एकदिनको कुरा हो, म र एक जना भाइ प्रचारमा भाग लिइरहेको बेला एक्कासि हामीलाई मेरो पहिलाको विपक्षी गिरोहले घेऱ्यो। तिनीहरूले हतियार बोकेका थिए अनि मलाई मार्न चाहन्थे। मसँगै भएको भाइले आदरपूर्वक तर साहसी हुँदै तिनीहरूलाई म कुनै गिरोहको सदस्य नभएको कुरा बताउनुभयो। त्यतिबेला मचाहिँ शान्त रहन प्रयास गर्दै थिएँ। तर तिनीहरूले मलाई कुटे अनि त्यो इलाकामा फेरि नआउनू भनेर धम्की दिए। त्यसपछि तिनीहरूले आफ्नो हतियार तल झारे अनि हामीलाई जान दिए। बाइबलले साँच्चै मेरो जीवनलाई नयाँ मोड दिएको थियो किनभने विगतमा भएको भए म तिनीहरूसित बदला लिन्थेँ। तर अहिले भने १ थिस्सलोनिकी ५:१५ मा पाइने यो सल्लाह मैले पालन गरेँ: “यो याद राख कि तिमीहरूमध्ये कसैले अरूलाई खराबीको बदला खराबी नगर बरु तिमीहरू सधैँ एकअर्काको अनि अरू सबैको भलो हुने काम गर।”
यहोवाको साक्षी भएदेखि नै इमानदार व्यक्ति हुने प्रयास गरिरहेको छु। हुनत यसो गर्नु सजिलो छैन तैपनि यहोवा परमेश्वरको मदत, बाइबलको सल्लाह र नयाँ साथीहरूको साथ पाएर सफल हुन सकेको छु। म आफ्नो पुरानो जीवनशैलीमा फेरि कहिल्यै फर्कन चाहन्नँ।—२ पत्रुस २:२२.
मैले कसरी लाभ उठाएको छु?
म रिसाहा अनि हिंस्रक स्वभावको व्यक्ति थिएँ। पुरानो जीवनशैलीमै लागिरहेको भए अहिलेसम्म जीवित हुन्नथेँ होला। बाइबलबाट सिकेको कुराले ममा परिवर्तन ल्याएको छ। मैले आफ्नो कुलत त्यागेको छु। आफ्नो पुरानो शत्रुहरूसित शान्ति कायम गर्न पनि सिकेको छु। (लुका ६:२७) अहिले म असल गुण विकास गर्न मदत गर्ने साथीहरूसित सङ्गत गर्छु। (हितोपदेश १३:२०) मैले आनन्दित भई अर्थपूर्ण जीवन बिताइरहेको छु अनि मेरा सबै खराब काम क्षमा गर्नुहुने परमेश्वरको सेवा गर्दै छु।—यसैया १:१८.
सन् २००६ मा अविवाहित ख्रिष्टियन प्रचारकहरूलाई विशेष तालिम दिने स्कुलमा भाग लिएँ। त्यसको केही वर्षपछि विवाह गरेँ अनि अहिले म र मेरी मायालु श्रीमती मिलेर छोरी हुर्काउँदैँ छौ। अहिले म धेरैजसो समय आफूलाई मदत गरेको बाइबल सिद्धान्तहरू अरूलाई सिकाउने काममा बिताउँछु। म स्थानीय मण्डलीमा एल्डरको रूपमा सेवा गर्दै छु अनि जवानहरूलाई मैले तिनीहरूको उमेरमा गरेको गल्ती नदोहोऱ्याउन मदत दिन्छु। आफ्नै मृत्यु निम्त्याउने काममा लाग्नुको सट्टा परमेश्वरले बाइबलमार्फत प्रतिज्ञा गर्नुभएको अनन्त भविष्यको लागि परिश्रम गर्दै छु।