बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
मैले साँचो धन भेट्टाएँ
जन्म मिति: १९६८
जन्म स्थान: अमेरिका
पृष्ठभूमि: एक व्यापार कार्यकारी जो धनी हुन प्रार्थना गर्थे
मेरो विगत:
म न्यु योर्कको रोचेस्टरमा एउटा क्याथोलिक परिवारमा हुर्केँ। म आठ वर्षको छँदा मेरो आमाबुबा छुट्टिनुभयो। त्यसैले म हप्ताको अरू दिन आमासित गरिबहरू बस्ने एउटा अपार्टमेन्टमा बस्थेँ अनि सप्ताहन्तमा चाहिँ बुबासित धनाढ्यहरू बस्ने इलाकामा बस्थेँ। आमाले हामी छ जना छोराछोरीलाई हुर्काउन निकै दुःख गर्नुहुन्थ्यो। त्यसैले म धेरै पैसा कमाएर आफ्नो परिवारलाई मदत गर्न चाहन्थेँ।
म जीवनमा सफल भएको बुबा चाहनुहुन्थ्यो। त्यसैले उहाँले मलाई होटेल व्यवस्थापनसम्बन्धी एउटा नाम चलेको स्कुलमा पठाउने प्रबन्ध मिलाउनुभयो। म राजी भएँ र भर्ना पनि भएँ। धनी र आनन्दित हुन मैले परमेश्वरलाई गरेको प्रार्थनाको जवाफ यही हो जस्तो मलाई लाग्यो। मैले पाँच वर्ष होटेल व्यवस्थापन, व्यावसायिक कानुन र कर्पोरेट वित्तसम्बन्धी अध्ययन गरेँ। त्यतिबेला म नेभाडाको लस भेगासमा एउटा क्यासिनोमा काम पनि गर्दै थिएँ।
बाइस वर्षको उमेरमा म क्यासिनोको सहायक उपाध्यक्ष नियुक्त भएँ। अरूको नजरमा म एक सम्पन्न र सफल व्यक्ति थिएँ। म अक्सर स्वादिष्ठ खानेकुरा र महँगा-महँगा रक्सीहरूको आनन्द उठाउँथेँ। मेरा व्यापारी साथीहरू मलाई यसो भन्ने गर्थे: “आफ्नो पूरै ध्यान संसारलाई उलटपुलट पार्न सक्ने कुरा अर्थात् पैसामा लगाऊ।” तिनीहरूको विचारमा साँचो आनन्दको रहस्य नै पैसा थियो।
मेरो काममा जुवा खेल्न लस भेगास आउने धनाढ्यहरूलाई आवश्यक कुराहरूको प्रबन्ध गर्नु पनि समावेश थियो। तिनीहरू जति नै धनी भए पनि खुसी देखिँदैन थिए। मलाई पनि आफ्नो जीवन खल्लो लाग्न थाल्यो। म धनी हुँदै गइरहेको थिएँ तर म पटक्कै खुसी थिइनँ र राम्रोसँग निद्रा पनि लाग्दैनथ्यो। मेरो मनमा आत्महत्या गर्ने विचारसमेत आयो। म आफ्नो जीवनदेखि दिक्क भइसकेको थिएँ। त्यसैले मैले परमेश्वरलाई यसरी प्रार्थना गरेँ: “म साँचो आनन्द कहाँ पाउन सक्छु?”
बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?
त्यही समयतिर मेरो दुई जना दिदी जो यहोवाको साक्षी हुनुहुन्थ्यो, उहाँहरू लस भेगास सर्नुभयो। मैले उहाँहरूको साहित्य लिन इन्कार गरेँ तर उहाँहरूसित मेरै बाइबल चलाएर पढ्न भने राजी भएँ। मेरो बाइबलमा येसुका शब्दहरू रातो अक्षरमा लेखिएका थिए। म येसुले भन्नुभएको सबै कुरामा विश्वास गर्थेँ। त्यसैले दिदीहरूले मसित येसुका शिक्षाहरूबारे नै कुरा गर्नुभयो। म एक्लै हुँदा पनि बाइबल पढ्ने गर्थेँ।
आफूले पढेका थुप्रै कुराहरूले गर्दा म छक्क परेँ। जस्तै, येसुले यसो भन्नुभएको थियो: “प्रार्थना गर्दा अन्यजातिका मानिसहरूले जस्तो एउटै कुरा दोहोऱ्याई नराख किनभने धेरै बोल्यो भने आफ्नो सुनुवाइ हुन्छ भनी तिनीहरू सोच्छन्।” (मत्ति ६:७) तर एक जना पादरीले मलाई येसुको एउटा चित्र दिएका थिए। मैले त्यो चित्रको अगाडि उभिएर मन्त्र जपेँ भने मैले जति पैसा मागे पनि परमेश्वरले दिनुहुन्छ भनेर ती पादरीले मलाई बताएका थिए। तर वास्तवमा त्यसो गरेर मैले प्रार्थनामा येसुले भन्नुभएझैँ एउटै कुरा दोहोऱ्याइरहेको थिएँ। मैले येसुको यो कुरा पनि पढेँ: “तिमीहरू पृथ्वीमा कसैलाई पिता नभन किनकि तिमीहरूका पिता एकै जना हुनुहुन्छ, जो स्वर्गमा बस्नुहुन्छ।” (मत्ति २३:९) त्यसैले मैले यस्तो विचार गरेँ, ‘त्यसोभए म र अरू क्याथोलिकहरू किन पादरीलाई “पिता” भन्छौँ त?’
याकुबको किताब पढेपछि आफूले हासिल गरेको सांसारिक सफलताबारे मैले गहिरिएर सोच्न थालेँ। अध्याय ४ मा याकुबले यस्तो लेखेका छन्: “यस संसारसितको मित्रता परमेश्वरसितको शत्रुता हो भनेर के तिमीहरूलाई थाह छैन? त्यसकारण जो यस संसारको मित्र हुन चाहन्छ, उसले आफूलाई परमेश्वरको शत्रु बनाइरहेको हुन्छ।” (याकुब ४:४) पद १७ ले मेरो मनमा झनै गहिरो प्रभाव पाऱ्यो: “त्यसकारण यदि कसैले सही काम गर्न जानेर पनि गर्दैन भने उसले पाप गरिरहेको हुन्छ।” त्यसपछि मैले दिदीहरूलाई बोलाएँ अनि म क्यासिनोको जागिर छोड्दै छु भनेर बताएँ किनकि मेरो काममा जुवा र लोभ मुछिएको थियो र अब त्यो मेरो लागि स्वीकार्य थिएन।
“याकुबको किताब पढेपछि आफूले हासिल गरेको सांसारिक सफलताबारे मैले गहिरिएर सोच्न थालेँ”
म परमेश्वरसितको र परिवारसितको सम्बन्ध सुधार्न चाहन्थेँ। त्यसैले मैले आफ्नो जीवन सरल बनाएर उहाँहरूको लागि समय निकाल्ने निर्णय गरेँ। तर यसो गर्न सजिलो भएन। मलाई क्यासिनोमा अझ ठूलो पदमा काम गर्ने लोभलाग्दो प्रस्तावहरू आए र त्यसबापत मैले पहिलाको भन्दा दुई वा तीन गुणा धेरै तलब पाउने थिएँ। तर मैले यसबारे प्रार्थना गरेँ र यस्तो जीवनशैली त्याग्ने निर्णय गरेँ। मैले जागिर छोडेँ अनि आमाको ग्यारेज मर्मत गरेर त्यहीँ नै रेस्टुरेन्टको मेन्युहरू लेमिनेसन गर्ने एउटा सानो व्यवसाय सुरु गरेँ।
हुनत बाइबलले मलाई जीवनमा राम्रा निर्णयहरू गर्न मदत गरिरहेको थियो तर म यहोवाका साक्षीहरूको सभामा जान भने थालिसकेको थिइनँ। दिदीहरूले ‘तिमीलाई अझै पनि साक्षीहरूको के कुरा चित्त बुझेको छैन’ भनेर मलाई सोध्नुभयो। मैले भनेँ: “किनकि तिमीहरूको परमेश्वर यहोवाले परिवार बिगार्छ। मैले परिवारसित समय बिताउन पाउने भनेकै क्रिसमस र जन्मदिनहरूमा हो तर तपाईँहरू यी चाडहरू मान्नुहुन्न।” मेरो एक जना दिदी रुन थाल्नुभयो र मलाई यस्तो सोध्नुभयो: “वर्षको अरू दिन तिमी कहाँ हुन्छौ? हामी त सधैँ तिमीसित समय बिताउन चाहन्छौ। तर तिमी भने चाडबाडको बेला मात्र हामीलाई भेट्न आउँछौ, त्यही पनि आउनै पर्ने भएर मात्रै!” उहाँले भन्नुभएको त्यो कुराले मेरो मनै छोयो र म पनि उहाँसँगै रुन थालेँ।
यहोवाका साक्षीहरू परिवारलाई माया गर्दा रहेछन् बरु मैले पो गलत सोचिरहेको रहेछु भनेर बुझेपछि मैले सभामा जाने विचार गरेँ। त्यहाँ मैले केभिनलाई भेटेँ। उहाँ निकै अनुभवी शिक्षक हुनुहुन्थ्यो र मैले उहाँसँगै अध्ययन गर्न थालेँ।
अरूलाई बाइबलको कुरा सिकाउने काममा सक्दो समय दिन केभिन र उहाँकी पत्नीले आफ्नो जीवन सन्तुलित र सरल बनाउनुभएको थियो। यहोवाका साक्षीहरूको शाखा भवनहरू बनाउने काममा सघाउन उहाँहरू आफ्नै खर्चमा अफ्रिका र मध्य अमेरिका पनि जानुभयो। उहाँहरू धेरै आनन्दित हुनुहुन्थ्यो र एकअर्कालाई धेरै माया गर्नुहुन्थ्यो। मैले सोचेँ, ‘मैले चाहेको जीवन पनि यस्तै हो।’
केभिनले मलाई मिसनरी सेवा गर्दा पाइने आनन्दबारे एउटा भिडियो देखाउनुभयो र मैले पनि मिसनरी सेवा गर्ने लक्ष्य राखेँ। छ महिना विस्तृत रूपमा बाइबल अध्ययन गरेपछि १९९५ मा मैले बप्तिस्मा गरेँ। परमेश्वरसित धनसम्पत्ति माग्नुको साटो मैले यसरी प्रार्थना गर्न थालेँ: “म गरिब हुन नपरोस् अनि मलाई धनी पनि नबनाउनुहोस्।”—हितोपदेश ३०:८.
मैले कसरी लाभ उठाएको छु?
म अहिले भौतिक रूपमा धनी नभए पनि आध्यात्मिक रूपमा धनी छु। मैले होण्डुरसमा मेरी प्यारी पत्नी नुरियालाई भेटेँ। हामी दुई जनाले पानामामा मिसनरी सेवा गऱ्यौँ र अहिले मेक्सिकोमा मिसनरी सेवा गर्दै छौँ। बाइबलका यी शब्दहरू साँच्चै सत्य छन्: “यहोवाको आशिष्ले मानिसलाई धनी बनाउँछ; उहाँले त्योसँगै कुनै दुःख पठाउनुहुन्न।”—हितोपदेश १०:२२.