बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
“म झडङ्ग रिसाउँथेँ”
जन्म मिति: १९७५
देश: मेक्सिको
विगतमा: कडा रिस; अपराधी
मेरो विगत
मेरो जन्म मेक्सिकोको चियापास राज्यको सानो गाउँ सान वान चाङ्कालाइटोमा भएको थियो। हामी चोल सम्प्रदायका हौँ र हामी माया जातिका सन्तान हौँ। हामी १२ जना छोराछोरी थियौँ र मचाहिँ ठाहिँलो हुँ। सानो छँदा हामी केटाकेटीले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरेका थियौँ। तर दुःखको कुरा, हुर्कँदै जाँदा मैले बाइबलबाट सिकेअनुसार जीवन बिताइनँ।
मैले १३ वर्षको उमेरमा लागू औषध सेवन गर्न र चोर्न थालिसकेको थिएँ। त्यही उमेरमा मैले घर छोडेँ र यताउता भौँतारिँदै हिँडेँ। म १६ वर्षको हुँदा गाँजा खेती गर्ने ठाउँमा काम गर्न थालेँ। त्यहाँ मैले एक वर्षजति काम गरेँ। त्यहीँ काम गर्दा एकरातको कुरा हो, हामी डुङ्गाबाट ठूलो मात्रामा गाँजा ओसार्दै थियौँ तर पूरा हातहतियार भिरेर आएका दुस्मन गिरोहले हामीलाई आक्रमण गऱ्यो। तिनीहरूको गोलीबाट बच्न म नदीमा हाम्फालेँ र परतिर किनारामा निस्केँ। त्यसपछि म भागेर अमेरिका गएँ।
अमेरिका पुगेपछि पनि मैले लागू औषध ओसारपसार गर्ने काम छोडिनँ र झन्झन् समस्यामा फस्दै गएँ। म १९ वर्षको छँदा डकैती र मान्छे मार्न खोजेको अभियोगमा मलाई गिरफ्तार गरियो र झ्यालखानामा जाकियो। झ्यालखानामा म एउटा ग्याङमा सामेल भएँ र झनै हिंस्रक गतिविधिमा मुछिन थालेँ। यसले गर्दा त्यहाँका हाकिमहरूले मलाई पेन्सिलभेनियाको लुविसबर्गस्थित कडा सुरक्षा व्यवस्था भएको झ्यालखानामा सारे।
लुविसबर्ग झ्यालखानामा मेरो बानीबेहोरा झनै खत्तम भयो। मैले पहिल्यै आफ्नो शरीरमा ग्याङको ट्याटु खोपिसकेको थिएँ। त्यसैले यो झ्यालखानामा पनि आफ्नो पुरानो ग्याङमा छिर्न कुनै गाह्रो भएन। मेरो हिंस्रक स्वभावले झन्झनै उग्र रूप लिन थाल्यो र म एकपछि अर्को झगडामा मुछिन थालेँ। एकचोटि झ्यालखानाको चौरमा ठूलो ग्याङ फाइट भयो। हामीले बेसबल ब्याट र व्यायाम गर्ने गह्रौँ फलाम प्रयोग गरेर बेस्सरी झगडा गऱ्यौँ। हामीलाई छुटाउन झ्यालखानाका गार्डहरूले अश्रु ग्याँस प्रहार गरे। त्यसपछि झ्यालखानाका हाकिमहरूले मलाई खतरनाक कैदीहरू थुन्ने विशेष कोठरीमा थुने। म जोकोहीसित झडङ्ग रिसाउँथेँ अनि असाध्यै छाडा बोली बोल्थेँ। मानिसहरूलाई कुट्न मलाई केही गाह्रो लाग्दैनथ्यो। नढाँटी भन्ने हो भने अरूलाई कुट्दा मजा आउँथ्यो। आफ्नो यस्तो नराम्रो व्यवहार भए तापनि मलाई पटक्कै पछुतो लाग्दैनथ्यो।
बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?
खतरनाक कैदीहरू थुन्ने विशेष कोठरीमा राखिँदा म प्राय दिनभरि एक्लै बस्नुपर्थ्यो। त्यसैले मैले समय बिताउन बाइबल पढ्न थालेँ। पछि एक जना गार्डले मलाई पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नुहुन्छ a भन्ने किताब दिए। यो किताब पढ्दै जाँदा मैले सानो छँदा साक्षीहरूसित अध्ययन गरेको बेला सिकेको धेरै कुरा सम्झेँ। त्यसपछि, आफ्नो हिंस्रक स्वभावले गर्दा म कत्ति पतित भइसकेको रहेछु भनेर महसुस गर्न थालेँ। मैले आफ्नो परिवारबारे पनि सोच्न थालेँ। मेरो दिदी र बहिनी यहोवाका साक्षी बनिसकेका थिए। त्यसैले मलाई यस्तो लाग्यो, ‘उनीहरू त सधैँभरि बाँच्नेछन्। मचाहिँ किन नपाउने त?’ तब मैले आफ्नो जीवन परिवर्तन गर्ने अठोट गरेँ।
तर परिवर्तन गर्न मलाई अरूको मदत चाहिन्छ भनेर थाह थियो। त्यसैले सुरुमा मैले यहोवा परमेश्वरलाई प्रार्थना गरेँ र मदतको लागि बिन्ती गरेँ। त्यसपछि मैले यहोवाका साक्षीहरूको अमेरिकास्थित शाखा कार्यालयलाई ‘म बाइबल अध्ययन गर्न चाहन्छु’ भनेर चिठी लेखेँ। शाखा कार्यालयले मसित भेट्न नजिकैको मण्डलीसित पत्राचार गऱ्यो। त्यतिबेला मलाई आफ्नो परिवारका सदस्यबाहेक अरूलाई भेट्न दिइँदैनथ्यो। त्यसैले मण्डलीको एक जना भाइले मलाई प्रोत्साहनदायी चिठी र बाइबल साहित्यहरू पठाउन थाल्नुभयो। यसले गर्दा परिवर्तन गर्ने मेरो चाहना झन्झन् बढ्दै गयो।
थुप्रै वर्षसम्म सदस्य रहँदै आएको ग्याङलाई छोड्न मैले एउटा ठूलो कदम चालेँ। मेरो ग्याङको नाइके पनि मसितै विशेष कोठरीमा थिए। त्यसैले एकचोटि आराम गरेर बसिरहेको बेला म तिनलाई भेट्न गएँ र म यहोवाको साक्षी बन्न चाहन्छु भनेर बताएँ। तिनको यस्तो जवाफ सुनेर म छक्कै परेँ: “तिमी यो कुरामा साँच्चै गम्भीर छौँ भने ठीक छ, बन। म परमेश्वरको कुरामा हस्तक्षेप गर्न सक्दिनँ। तर ग्याङबाट निस्कने बहाना मात्र हो भने तिमीलाई थाहै छ नि, नतिजा के हुन्छ भनेर।”
त्यसपछि दुई वर्षको दौडान मेरो व्यक्तित्वमा आएको परिवर्तन झ्यालखानाका गार्डहरूले याद गर्न थाले। त्यसैले तिनीहरूले मसित दयालु व्यवहार गर्न थाले। जस्तै, नुहाउनको लागि आफ्नो कोठरीबाट बाहिर निस्कनुपर्दा तिनीहरूले मलाई हतकडी लगाउन छोडे। एक जना गार्डले त मकहाँ आएर ‘तिमी अझै सुध्रिँदै जाऊ’ भनेर प्रोत्साहनसमेत दिए। त्यसपछि झ्यालखानाका हाकिमहरूले मलाई मुख्य झ्यालखानानजिकैको अर्को झ्यालखानामा सारे, जहाँको सुरक्षा व्यवस्था त्यत्तिको कडा थिएन। जेलसजायको अन्तिम एक वर्ष मैले त्यहीँ बिताएँ। दस वर्ष जेलसजाय काटिसकेपछि २००४ मा मलाई जेलमुक्त गरियो। अनि झ्यालखानाकै बसमा राखेर मेक्सिको पुऱ्याइयो।
मेक्सिको पुग्नेबित्तिकै मैले यहोवाका साक्षीहरूको राज्यभवन पत्ता लगाएँ। पहिलो चोटि सभामा जाँदा म कैदीहरूले लगाउने लुगा लगाएर गएको थिएँ किनभने मसित भएको अलि भद्र देखिने लुगा भनेको त्यही मात्र थियो। यस्तो लुगा लगाएर गए तापनि साक्षीहरूले मलाई न्यानो स्वागत गरे। तिनीहरूको दयालु व्यवहार देखेपछि आफू साँचो ख्रिष्टियनहरूमाझ छु भन्ने महसुस गरेँ। (युहन्ना १३:३५) त्यही सभामा गएको बेला एल्डरहरूले मलाई बाइबल अध्ययन गराउने प्रबन्ध मिलाउनुभयो। त्यसको एक वर्षपछि सेप्टेम्बर ३, २००५ मा मैले यहोवाका साक्षीको रूपमा बप्तिस्मा गरेँ।
जनवरी २००७ देखि मैले पूर्ण-समय प्रचारकको रूपमा सेवा गर्दै अरूलाई बाइबलको कुरा सिकाउन हरेक महिना ७० घण्टा बिताउन थालेँ। मैले २०११ मा ‘अविवाहित भाइहरूका लागि बाइबल स्कुल’-बाट (अहिले ‘राज्य प्रचारकहरूका लागि स्कुल’ भनिन्छ) स्नातक गरेँ। यस स्कुलबाट मैले मण्डलीका जिम्मेवारीहरू राम्ररी पूरा गर्न धेरै कुरा सिकेँ।
मेरी प्यारी पत्नी पेलारसित मैले २०१३ मा विवाह गरेँ। मैले आफ्नो विगतबारे बताउँदा उनलाई पत्याउनै गाह्रो लाग्छ भनेर उनी ठट्यौलो पारामा भन्ने गर्छिन्। म आफ्नो पुरानो जीवनशैलीमा कहिल्यै फर्किनँ। बाइबलले मानिसको जीवन परिवर्तन गर्न सक्छ भन्ने कुराको सशक्त प्रमाण म स्वयम् हुँ भनेर हामी दुवै जना विश्वस्त छौँ।—रोमी १२:२.
मैले कसरी लाभ उठाएको छु?
येसुले लुका १९:१० मा भन्नुभएका शब्दहरू ममा लागू हुन्छ जस्तो लाग्छ। उहाँले यसो भन्नुभयो: ‘म हराएकोलाई खोज्न र उसको उद्धार गर्न आएको हुँ।’ अहिले मलाई आफू हराएको जस्तो लाग्दैन। अनि अरूलाई हानि पुऱ्याउने काम पनि गरेर हिँड्दिनँ। बाइबलको ज्ञानले गर्दा मैले जीवनको सर्वोत्तम उद्देश्य पाएको छु, अरूसित मिलेर बस्न सकेको छु अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, आफ्नो सृष्टिकर्ता यहोवासित राम्रो सम्बन्ध गाँस्न सकेको छु।
[फुटनोट]
a यो यहोवा साक्षीहरूद्वारा प्रकाशित किताब हो तर अहिले छापिँदैन। अहिले तिनीहरूले बाइबल अध्ययन गर्न चलाउने मुख्य किताब बाइबलले हामीलाई के सिकाउँछ? हो।