रिसले आगो भएका पादरीलाई ठन्डा प्रतिक्रिया
आर्मेनियाका क्षेत्रीय निरीक्षक अर्थर यहोवाका साक्षीहरूको एउटा मण्डलीमा भ्रमणको सिलसिलामा गएका थिए। त्यहाँका प्रकाशकहरूले सार्वजनिक साक्षीकार्यको एउटा पाटो अर्थात् ट्रलीमा बाइबल साहित्यहरू राखेर साक्षी दिने काम सुरु नै गरेका रहेनछन् भनेर तिनले थाह पाए। त्यसैले त्यस मण्डलीका दाजुभाइ-दिदीबहिनीको हौसला बढाउन अर्थर, तिनकी पत्नी आना अनि जेइर नामका अर्का एक साक्षीले सहरको एउटा व्यस्त इलाकामा ट्रली राखे। त्यो ठाउँमा मानिसहरूको खुबै ओहोरदोहोर हुन्थ्यो।
ट्रली राखेको केही समयमै त्यहाँबाट आउजाउ गर्नेहरूले चासो देखाउन थाले अनि साहित्यहरू लिन थाले। तर यो नयाँ शैलीले छिट्टै नै विरोधीहरूको ध्यान खिच्यो। दुई जना पादरी सरासर ट्रली राखेको ठाउँतिर आए अनि एक जनाले त केही पनि नभनी ट्रलीलाई लात्तीले भ्वाक्क हिर्काए। अनि अर्थरको चस्मा भुइँमा खस्नेगरि गालामा चड्काए। अर्थर, आना अनि जेइरले ती पादरीहरूलाई शान्त पार्न खोजे तर सकेनन्। तिनीहरूले ट्रलीलाई लात्ताले कि लात्ताले हिर्काए अनि साहित्यहरू यत्रतत्र हुर्ऱ्याइदिए। साक्षीहरूलाई नानाभाँति भनेर अनि धम्काएर तिनीहरू आफ्नो बाटो लागे।
अर्थर, आना अनि जेइर स्थानीय प्रहरीथानामा उजुरी हाल्न गए। त्यहाँ तिनीहरूले छोटकरीमा घटना विवरणबारे बताए अनि केही प्रहरी अधिकृत अनि कर्मचारीहरूलाई बाइबलबारे बताए। त्यसपछि ती तीन साक्षीलाई उच्च प्रहरी अधिकृतकहाँ लगियो। सुरुमा त ती अधिकृत घटना विवरणबारे मात्र जान्न चाहन्थे। तर अर्थर जब्बर ज्यानको, बलियो मान्छे भए पनि थप्पड खाँदा चुपचाप बसेको थाह पाएपछि तिनले प्रश्नहरू सोध्न छोडे, बरु साक्षीहरूको आस्था, विश्वासबारे सोधपुछ गर्न थाले। त्यसपछि तिनीहरूबीच चार घण्टा छलफल भयो। यसले गर्दा त्यस अधिकृतको मन छोयो। तिनले यसो भने: “कत्ति राम्रो धर्म! म पनि यसैमा लाग्नुपऱ्यो कि क्या हो!”
भोलिपल्ट अर्थर फेरि त्यही ठाउँमा सार्वजनिक साक्षीकार्यको लागि गए। अघिल्लो दिनको सबै घटना देख्ने एक जना मान्छे तिनीकहाँ आए। अनि पादरीसँग झगडा नगरेको अनि शान्त रहेकोमा अर्थरको प्रशंसा गरे। साथै पादरीहरूको चर्तिकला देखेर उनीहरूप्रतिको आदर नै गुमेको पनि तिनले बताए।
त्यही दिन साँझ प्रहरी उच्च अधिकृतले अर्थरलाई फेरि थानामा बोलाए। तर तिनले केसको बारेमा कुरा गर्नुको साटो बाइबलबारे थप प्रश्नहरू सोधे। अनि अरू दुई प्रहरी पनि छलफलमा बसे।
त्यसको भोलिपल्ट अर्थर ती अधिकृतलाई बाइबलआधारित भिडियो देखाउन फेरि भेट्न गए। ती अधिकृतले अरू प्रहरीलाई पनि भिडियो हेर्न बोलाए अनि सँगै हेरे।
पादरीहरूको नराम्रो व्यवहारले गर्दा थुप्रै प्रहरीले पहिलोचोटि राम्रो साक्षी पाए। यो घटनाले गर्दा तिनीहरूमाझ यहोवाका साक्षीहरूबारे राम्रो छाप पऱ्यो।