लुगा धुने मेसिनमुनि छोडिएको नोट
रूसमा छँदा जरिनाले यहोवाको साक्षीको रूपमा बप्तिस्मा गरिन्। त्यसपछि आफ्ना दुई छोरीहरूलाई पनि यहोवाको मार्गमा हिँडाउने अठोटका साथ तिनी आफ्नो गृहनगर मध्य एसिया फर्किन्। आर्थिक समस्याको कारण तिनी आफ्नो आमाबुबा अनि भाइबुहारीसँग एउटै अपार्टमेन्टमा बसिन्। तिनको आमाबुबाले छोरीहरूलाई बाइबल सत्य नसिकाउनू भनेर कडा चेतावनी दिए। अनि तिनका छोरीहरूलाई पनि आमासित बाइबलको कुरा नगर्नू भने।
आफ्ना छोरीहरूलाई यहोवाबारे कसरी सिकाउने भनेर जरिनाले गहिरिएर सोचिन्। (हितोपदेश १:८) त्यसैले तिनले बुद्धि र डोऱ्याइको लागि यहोवासित व्यग्र प्रार्थना गरिन्। प्रार्थनाको अलावा तिनले व्यावहारिक कदम पनि चालिन्। तिनले छोरीहरूलाई वरपर डुलाउन लगिन् अनि त्यसरी डुल्न जाँदा बाटोमा यहोवाको सृष्टिबारे कुरा गर्न थालिन्। यसले गर्दा छोरीहरूमा सृष्टिकर्ताबारे जान्ने इच्छा जाग्न थाल्यो।
पछि जरिनाले छोरीहरूलाई बाइबलले वास्तवमा के सिकाउँछ? a किताब प्रयोग गरेर सिकाउने विचार गरिन्। तिनले त्यस किताबको हुबहु शब्दहरू कागजमा उतारिन्। अनि बीच-बीचमा छोरीहरूलाई बुझ्न सजिलो होस् भनेर केही वाक्यहरू पनि थपिन्। त्यसपछि तिनले त्यो कागज एउटा कलमसहित बाथरुममा भएको लुगा धुने मेसिनको मुन्तिर लुकाइन्। छोरीहरू कोठामा हुँदा उनीहरूले अनुच्छेद पढ्थे र त्यसको जवाफ लेख्थे।
यो तरिका लागू गरेर जरिनाले सिकाउँछ किताबको दुई अध्यायसम्म छोरीहरूलाई सिकाउन सकिन्। त्यसपछि तिनीहरूले बस्नको लागि अर्कै ठाउँ पाए। त्यहाँ तिनले बिना रोकटोक छोरीहरूलाई हुर्काउन सकिन्। सन् २०१६ को अक्टोबर महिनामा तिनका दुवै छोरीहरूले बप्तिस्मा गरे। आफ्ना छोरीहरूलाई आध्यात्मिक रूपमा खुवाउन एउटी आमाले त्यसरी बुद्धि-विवेक चलाउनु कत्ति खुसीको कुरा हो नि, होइन र?
a अहिले थुप्रैले बाइबलले हामीलाई के सिकाउँछ? भन्ने किताब प्रयोग गर्छन्।