सीधै सामग्रीमा जाने

बेलायत फोटो ग्यालरी भाग १ (जनवरी-अगस्त, २०१५)

बेलायत फोटो ग्यालरी भाग १ (जनवरी-अगस्त, २०१५)

लन्डनको मिल हिलमा रहेको यहोवाका साक्षीहरूको शाखा कार्यालय लगभग ७० किलोमिटर पूर्वतिर पर्ने चेम्सफोर्ड सहरमा सारिंदै छ। निर्माणकार्य सुरु गर्न कामदारहरूले निर्माणस्थलहरू तयार पारे। यो काम सन्‌ २०१५ को जनवरीदेखि अगस्तसम्म चल्यो।

जनवरी २३, २०१५—शाखा कार्यालय निर्माणस्थल

निर्माणकार्य सुरु गर्न स्थानीय अधिकारीहरूको अनुमति लिएर रूखहरू काटियो। यो काम चराहरू ओथारो बस्ने समय सुरु हुनुअघि नै सिध्याइयो। हिंड्‌न सजिलो होस्‌ भनेर काठका टुक्राहरू बाटोमा बिछ्याइयो। अनि काठका मुढाहरूचाहिं निर्माणकार्यमा प्रयोग गर्न राखियो।

जनवरी ३०, २०१५—भोजन कक्ष

स्क्रिन जडान गर्न बिजुलीको तार जोड्‌दै। यो भवन पहिला होटेल थियो। अहिले यसलाई भान्छा कोठा बनाइएको छ। बिहानको उपासना र बेथेल परिवारको प्रहरीधरहरा अध्ययनजस्ता कार्यक्रमहरूबाट निर्माणकर्मीहरूले लाभ उठाउन सकून्‌ भनेर यी स्क्रिनहरू जडान गरिएका हुन्‌।

फेब्रुअरी २३, २०१५—शाखा कार्यालय निर्माणस्थल

कामदारहरू सुरक्षाको लागि बार लगाउँदै। यस्तो बार निर्माणस्थलको थुप्रै ठाउँमा लगाइनेछ। निर्माणस्थल सहरबाट टाढा भएकोले यहाँ थुप्रै वन्यजन्तु पाइन्छ। त्यसैले तिनीहरूलाई हानि नपुऱ्‍याउन विशेष ध्यान दिइएको छ। उदाहरणको लागि, राती सक्रिय हुने ब्याजरलाई (मलसाँप्रोजस्तो देखिने एक किसिमको जन्तु) आउन-जान सजिलो होस्‌ भनेर बारमूनि ८ इन्च खाली ठाउँ छोडिएको छ।

फेब्रुअरी २३, २०१५—शाखा कार्यालय निर्माणस्थल

निर्माणस्थलदेखि अस्थायी आवाससम्म पुऱ्‍याउने अस्थायी बाटो बनाउँदै।

मार्च ५, २०१५—शाखा कार्यालय निर्माणस्थल

निर्माण सम्पन्‍न भएको अस्थायी बाटो। यो बाटो निर्माणस्थलसँग जोडिएको छ। तलको बायाँपट्टि देखिएका भवनहरूलाई मर्मत गरेर निर्माणकर्मीहरूको लागि आवास बनाइँदै छ। नजिकैको खाली जग्गामा पछि अस्थायी घरहरू बनाइनेछ।

अप्रिल २०, २०१५—अस्थायी आवास

निर्माण टोलीसित परिचालक निकायका सदस्य अनि मुख्यालयका अरू सदस्यहरू। गत हप्ता विशेष सभा आयोजना गरिएको थियो अनि बेलायत र आयरल्याण्डका सबै राज्यभवनमा प्रसारण गरिएको थियो। अघिल्लो साँझ निर्माण परियोजना सुरु गर्न चेम्सफोर्ड सहरको प्रशासनबाट अनुमति पाएको कुरा घोषणा गरियो।

मे १३, २०१५—मुख्य निर्माणस्थल

दुइटा सालको रूखको जरा सुरक्षित राख्न विशेष प्रणाली जडान गर्दै। यसले गर्दा ठूलठूला गाडीले पनि जरालाई कुनै असर पुऱ्‍याउन पाउँदैन। यो बाटो निर्माणकर्मीहरूलाई मुख्य निर्माणस्थलसम्म पुऱ्‍याउने बाटो हो।

मे २१, २०१५—अस्थायी आवासीय क्षेत्र

अस्थायी घरको लागि पानीको पाइप र बिजुलीको तार बिछ्याउँदै। पछाडितिर पचास अस्थायी घरमध्ये केही देखिन्छ। निर्माणकार्य नसकुन्जेल कामदारहरू यहाँ बस्नेछन्‌।

जून १६, २०१५—अस्थायी आवासीय क्षेत्र

अस्थायी घरमा पानीको पाइप जडान गर्दै।

जून १६, २०१५—अस्थायी आवासीय क्षेत्र

निर्माणस्थलको पूर्वबाट खिचिएको तस्बिर। यसमा भर्खरै निर्माण गरिएका अस्थायी घरहरू देखिन्छ। अगाडिको खाली जग्गामा अरू अस्थायी घर बनाउन जग तयार पारिंदै छ। बायाँतिर निर्माणकर्मीहरूका लागि भोजन कक्ष अनि सरसामान राख्ने घरहरू देखिन्छन्‌। पछाडितिर देखिएको खाली जग्गामा शाखा कार्यालय निर्माण गरिनेछ।

जून १६, २०१५—अस्थायी आवासीय क्षेत्र

फाइबर-अप्टिक केवल जोड्‌दै प्राविधिज्ञ। निर्माणसम्बन्धी कामकुरा गर्न, अरू शाखा कार्यालयसित सम्पर्क गर्न अनि मुख्यालयको निर्देशनअनुसार कामकुरा मिलाउनको लागि निर्माण परियोजनाको सुरुमा कम्प्युटरमा नेटवर्क तथा इन्टरनेटको सुविधा आवश्‍यक थियो।

जुलाई ६, २०१५—शाखा कार्यालय निर्माणस्थल

पहिले खनिएका खाल्टोहरू पत्ता लगाउन ठेकेदारले जी पी एस उपकरणद्वारा जग्गा परीक्षण गर्दै। चेम्सफोर्ड सहरमा पहिला रोमीहरूको बस्ती थियो। त्यसैले पुरातत्त्वविद्‌हरूले पुरातात्त्विक महत्त्वका कुनै वस्तु फेला पर्ला कि भनेर खोज-अनुसन्धान गरेका थिए। अनुसन्धानको पहिलो चरणमा १०७ वटा लामो-लामो खाल्टो खनिएको थियो तर केही पनि फेला परेन।

जुलाई ६, २०१५—मुख्य निर्माणस्थल

ढोकाको लागि फ्रेम तयार पार्दै। केही पुराना घरलाई मर्मत गरेर वर्कसपहरू बनाइयो। अस्थायी कार्यालयहरू अनि निर्माणसम्बन्धी विभागहरू पनि यहीं बनाइनेछ।

जुलाई ६, २०१५—मुख्य निर्माणस्थल

जमिन सम्याउन ट्रकमा माटो ओसार्दै।

जुलाई ७, २०१५—शाखा कार्यालय निर्माणस्थल

निर्माण स्थलको दक्षिणबाट खिचिएको बेलायती गाउँको तस्बिर। निर्माणस्थलको जग्गा चौंतीस हेक्टर छ। मूल सडक (यस फोटोमा देखाइएको छैन) निर्माणस्थलबाट नजिकै भएकोले बन्दरगाहहरू, विमानस्थलहरू अनि लन्डन सहर जान सजिलो छ।

जुलाई २३, २०१५—शाखा कार्यालय निर्माणस्थल

शाखा कार्यालय निर्माण गर्न पुराना घरहरू भत्काउँदै।

अगस्त २०, २०१५—मुख्य निर्माणस्थल

साठी टनको क्रेनले पहिल्यै तयार पारिएका कोठाहरू जगमाथि राख्दै। अगाडि देखिएको खाली जग्गामा पनि कोठाहरू बनाउन जग तयार पारिसकेको छ। यी कोठाहरू संयोजन कार्यालयको लागि प्रयोग गरिनेछ।