सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आशा गरिएका कुराहरूमा विश्‍वास बलियो बनाउनुहोस्‌

आशा गरिएका कुराहरूमा विश्‍वास बलियो बनाउनुहोस्‌

“विश्‍वास भनेको आशा गरिएका कुराहरू पक्कै पूरा हुनेछन्‌ भनेर पर्खनु . . . हो।”—हिब्रू ११:१.

गीत: ८१, १३४

१, २. (क) साँचो ख्रीष्टियनहरूले राखेको अनमोल आशा र सैतानको संसारका मानिसहरूले राखेको आशाबीच कस्तो भिन्‍नता छ? (ख) हामी कस्ता महत्त्वपूर्ण प्रश्‍नहरूबारे विचार गर्नेछौं?

 साँचो ख्रीष्टियनहरूसामु अद्‌भुत आशा छ! चाहे हामी अभिषिक्‍त जन वा “अरू भेडा”-मध्येका होऔं, हामी परमेश्‍वरको सुरुको उद्देश्‍य पूरा भएको र यहोवाको नाम पवित्र पारिएको हेर्न चाहन्छौं। (यूह. १०:१६; मत्ती ६:९, १०) मानिसले राख्न सक्ने योभन्दा ठूलो आशा अर्को छैन। परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको “नयाँ आकाश” वा “नयाँ पृथ्वीको” भागको रूपमा अनन्त जीवनको इनाम पाउने आशा पनि राख्छौं। (२ पत्रु. ३:१३) तर त्यतिन्जेल परमेश्‍वरका जनहरू आध्यात्मिक तवरमा झन्‌झन्‌ फलिफाप हुँदै गएको आशा गर्छौं।

सैतानको संसारको भाग भएकाहरूले पनि भविष्यको आशा राख्छन्‌। तर आफूले राखेको आशा पूरा होला कि नहोला भनेर शङ्‌का गर्छन्‌। उदाहरणको लागि, लाखौं जुवाडेहरूले कुनै दिन ठूलो धनराशि भएको चिट्ठा जित्ने सपना देख्छन्‌। तर जित्छ नै भन्‍ने आशाचाहिं गर्न सक्दैनन्‌। अर्कोतर्फ, साँचो विश्‍वास भनेको हामी ख्रीष्टियनहरूले ‘आशा गरेका कुराहरू पक्कै पूरा हुनेछन्‌ भनेर पर्खनु’ हो। (हिब्रू ११:१) तर तपाईंलाई लाग्न सक्छ, आफूले आशा गरेका कुराहरूबारे हामी कसरी अझै पक्का हुन सक्छौं? अनि आफूले आशा गरेका कुराहरूमा बलियो विश्‍वास राख्दा कस्ता फाइदा हुन्छन्‌?

३. परमेश्‍वरका प्रतिज्ञाहरू अवश्‍य पूरा हुनेछन्‌ भनेर हामी किन विश्‍वास गर्छौं?

विश्‍वास, त्रुटिपूर्ण मानिसहरूसित जन्मजात हुने गुण होइन। अनि यो गुण स्वतः विकास हुने कुरा पनि होइन। परमेश्‍वरको कुरा सुन्‍न उत्सुक मानिसहरूको मनमा उहाँको पवित्र शक्‍तिले काम गर्न थालेपछि विश्‍वास जाग्छ। (गला. ५:२२) बाइबलमा यहोवासित विश्‍वास छ वा उहाँलाई विश्‍वास चाहिन्छ भनिएको छैन। यहोवा सर्वशक्‍तिमान्‌ हुनुहुन्छ अनि सबैभन्दा बुद्धिमान्‌ हुनुहुन्छ। त्यसैले आफ्ना उद्देश्‍यहरू पूरा गर्न उहाँलाई कुनै कुराले रोक्न सक्दैन। स्वर्गमा बस्नुहुने हाम्रो बुबा आफ्ना प्रतिज्ञाहरू पक्कै पूरा हुनेछन्‌ भनेर ढुक्क हुनुहुन्छ। भनौं भने, उहाँको नजरमा ती पूरा भएसरह छन्‌। त्यसैले उहाँ भन्‍नुहुन्छ “यी वचनहरू पूरा भइसकेका छन्‌!” (प्रकाश २१:३-६ पढ्‌नुहोस्‌) यहोवा “विश्‍वासयोग्य परमेश्‍वर” हुनुहुन्छ र आफ्ना सबै प्रतिज्ञा पूरा गर्नुहुन्छ। यसकारण हामी आफूले आशा गरेका कुराहरूमा विश्‍वास गर्छौं।—व्यव. ७:९.

पहिले-पहिलेका विश्‍वासी मानिसहरूबाट सिकौं

४. येशूको समयभन्दा अघिका विश्‍वासी पुरुष तथा स्त्रीले कस्तो आशा राखेका थिए?

हिब्रू अध्याय ११ मा १६ जना विश्‍वासी पुरुष र स्त्रीको सूची दिइएको छ। परमेश्‍वरको प्रेरणा पाएर हिब्रूको पुस्तकका लेखकले “विश्‍वासैले गर्दा . . . आफ्नो विषयमा राम्रो साक्षी” पाएका अरू थुप्रै व्यक्‍तिहरूबारे पनि बताए। (हिब्रू ११:३९) तिनीहरू सबै जना परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको “सन्तान”-लाई पर्खिरहेका थिए। (उत्प. ३:१५) त्यस सन्तानले शैतानले गरेको विद्रोहको नामोनिसान मेटाउनेछ र यहोवाले सुरुमा राख्नुभएको उद्देश्‍य पूरा गर्नेछ भनेर तिनीहरूलाई थाह थियो। यो प्रतिज्ञा “पक्कै पूरा हुनेछ” भनेर तिनीहरूलाई कुनै शङ्‌का थिएन। ती विश्‍वासी पुरुष तथा स्त्रीले मरेपछि स्वर्गमा पुनर्जीवित हुने आशा गरेका थिएनन्‌। किनभने प्रतिज्ञा गरिएको “वंश” अर्थात्‌ येशू ख्रीष्टले स्वर्गमा जाने बाटो खोलिसक्नुभएको थिएन। (गला. ३:१६) परमेश्‍वरले पूरै पृथ्वीलाई सुन्दर बगैंचा बनाउने प्रतिज्ञा गर्नुभएको छ र त्यहाँ त्रुटिरहित मानिसहरू बस्नेछन्‌। त्यस सुन्दर पृथ्वीमा ती विश्‍वासी पुरुष र स्त्रीहरू पुनर्जीवित हुनेछन्‌।—भज. ३७:११; यशै. २६:१९; होशे १३:१४.

५, ६. अब्राहाम र तिनको परिवारको आशा कुन कुरामा केन्द्रित थियो? तिनीहरूले कसरी आफ्नो विश्‍वास बलियो बनाइराखे? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

येशूको समयभन्दा अघिका केही व्यक्‍तिहरूबारे हिब्रू ११:१३ यसो भन्छ: “तिनीहरू सबैले आफ्नो मृत्यु नहोउन्जेल अन्तसम्मै विश्‍वास गरे। आफूलाई प्रतिज्ञा गरिएका कुराहरू तिनीहरूको जीवनकालमा पूरा नभए तापनि ती कुराहरूलाई टाढैबाट देखे र स्वागत गरे।” तिनीहरूमध्ये एक जना अब्राहाम थिए। के तिनले प्रतिज्ञा गरिएको “सन्तान”-को शासनको अधीनमा जीवन सुखद हुनेछ भनेर स्पष्टसित बुझेका थिए? येशूले यस प्रश्‍नको स्पष्ट जवाफ दिंदै आफ्ना विरोधीहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूका बुबा अब्राहाम मेरो दिन हेर्ने आशामा असाध्यै रमाउँथे अनि तिनले त्यो दिन देखे र रमाए।” (यूह. ८:५६) सारा, इसहाक, याकूब र अरू थुप्रैले यस्तै आशा राखेका थिए। तिनीहरू सबैको आशा भविष्यमा स्थापना हुने परमेश्‍वरको राज्यमा केन्द्रित थियो, जसको “निर्माता र रचनाकार परमेश्‍वर हुनुहुन्छ।”—हिब्रू ११:८-११.

अब्राहाम र तिनको परिवारले कसरी आफ्नो विश्‍वास बलियो बनाइ राखे? आफूभन्दा अघिका विश्‍वासी व्यक्‍तिहरूको कुरा सुनेर, पहिले-पहिलेका भरपर्दा प्रमाणहरू पढेर अथवा यहोवाले दर्शन या स्वर्गदूत मार्फत प्रकट गर्नुभएका कुराहरूबाट तिनीहरूले उहाँबारे सिकेको हुनुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, आफूले सिकेका कुराहरू तिनीहरूले बिर्सेनन्‌। तिनीहरू परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका कुराहरूको मोल गर्थे र उहाँ तिनीहरूबाट के चाहनुहुन्छ भनेर चिन्तन-मनन गर्थे। तिनीहरूको आशा एकदमै पक्का थियो। त्यसैले जस्तोसुकै कठिनाइ भोग्नु परे तापनि परमेश्‍वरप्रति वफादार रहिरहन तयार थिए।

७. हाम्रो विश्‍वास बलियो बनाउन यहोवाले कस्ता मायालु प्रबन्धहरू गर्नुभएको छ? अनि हामीले के गर्नुपर्छ?

हामीले आफ्नो विश्‍वास बलियो बनाएको यहोवा चाहनुहुन्छ। त्यसैले हामीलाई माया गरेर उहाँले सिङ्‌गो बाइबल दिनुभएको छ। “धन्य” अर्थात्‌ खुसी हुन र “सफल” बन्‍न हामीले नियमित रूपमा परमेश्‍वरको वचन पढ्‌नुपर्छ, सम्भव भएसम्म दिनहुँ पढ्‌नुपर्छ। (भज. १:१-३; प्रेषित १७:११ पढ्‌नुहोस्‌) हामीले पनि येशूको समयभन्दा अघिका यहोवाका उपासकहरूले जस्तै उहाँका प्रतिज्ञाहरूमा मनन गरिरहनुपर्छ र उहाँको आज्ञा पालन गर्नुपर्छ। यहोवाले हामीलाई “विश्‍वासी र बुद्धिमान्‌ दास” मार्फत प्रचुर मात्रामा आध्यात्मिक भोजन दिइरहनुभएको छ। (मत्ती २४:४५) पहिले-पहिलेका विश्‍वासी पुरुष तथा स्त्रीहरू परमेश्‍वरको राज्यले प्रतिज्ञा गरेका कुराहरू ‘पक्कै पूरा हुनेछन्‌’ भनेर ढुक्क थिए। त्यसरी नै परमेश्‍वरले प्रबन्ध गर्नुभएको आध्यात्मिक भोजन नियमित रूपमा लिइरह्‍यौं भने हामी पनि ढुक्क हुनेछौं।

८. प्रार्थनाले कसरी हाम्रो विश्‍वास बलियो बनाउन सक्छ?

येशूको समयभन्दा अघिका यहोवाका उपासकहरूको विश्‍वास बलियो बनाइराख्न प्रार्थनाले पनि महत्त्वपूर्ण भूमिका खेल्यो। आफ्नो प्रार्थनाको जवाफ परमेश्‍वरले कसरी दिनुहुन्छ, सो आफैले अनुभव गरेपछि तिनीहरूको विश्‍वास बलियो भयो। (नहे. १:४, ११; भज. ३४:४, १५, १७; दानि. ९:१९-२१) हामी पनि आफ्नो पीर व्यथा सबै यहोवालाई पोखाउन सक्छौं। किनभने हामीलाई थाह छ, उहाँ हाम्रो पुकारा सुन्‍नुहुन्छ अनि गाह्रो अवस्थामा निराश नभई सहन बल दिनुहुन्छ। अनि आफ्नो प्रार्थनाको जवाफ पाउँदा हाम्रो विश्‍वास झन्‌ बलियो हुन्छ। (१ यूहन्‍ना ५:१४, १५ पढ्‌नुहोस्‌) विश्‍वास भनेको परमेश्‍वरको पवित्र शक्‍तिको फलको एउटा पक्ष हो। त्यसैले येशूले भन्‍नुभएझैं हामीले परमेश्‍वरको पवित्र शक्‍ति ‘मागिरहनुपर्छ।’—लूका ११:९, १३.

९. हामीले आफ्नो लागि प्रार्थना गर्नुको साथै अरू क-कसको लागि पनि प्रार्थना गर्नुपर्छ?

हामीले आफूलाई चाहिएको कुरा माग्न मात्र प्रार्थना गर्नु हुँदैन। यहोवाले गर्नुभएका “अचम्मका कामहरू”-को हामी “गन्ती” समेत गर्न सक्दैनौं। (भज. ४०:५) त्यसैले दिनहुँ उहाँलाई धन्यवाद दिने र प्रशंसा गर्ने कारणहरू थुप्रै छन्‌। हामीले झ्यालखानामा थुनिएकाहरूलाई सम्झेका छौं र आफू पनि तिनीहरूसित थुनामा परेझैं ठानेका छौं’ भनेर पनि हाम्रा प्रार्थनाहरूमा देखिनुपर्छ। साथै संसारभरिका हाम्रा दाजुभाइ दिदीबहिनीको निम्ति पनि प्रार्थना गर्नुपर्छ। विशेषगरि “जसले [हामीहरूबीच] अगुवाइ लिइरहेका छन्‌,” तिनीहरूका लागि प्रार्थना गर्न पनि बिर्सनु हुँदैन। हामी सबैले गरेको प्रार्थनाको जवाफ यहोवाले कसरी दिनुहुन्छ, त्यो देखेपछि त्यसले हाम्रो मनमा अमेट छाप पार्छ।—हिब्रू १३:३, ७.

तिनीहरूले सम्झौता गर्न मानेनन्‌

१०. हाम्रो सामु परमेश्‍वरका सेवकहरूको कस्ता उदाहरणहरू छन्‌, जसले सत्यनिष्ठामा सम्झौता गर्न मानेनन्‌? तिनीहरूलाई सत्यनिष्ठ भइरहन केले मदत गऱ्‍यो?

१० हिब्रू अध्याय ११ मा प्रेषित पावलले परमेश्‍वरका थुप्रै सेवकहरूले भोगेका परीक्षाहरूबारे बताएका छन्‌। तर ती कतिपय सेवकहरूको नाम भने दिइएको छैन। उदाहरणको लागि, पावलले केही विश्‍वासी स्त्रीहरूबारे उल्लेख गरेका छन्‌, जसले मृत्युको कारण आफ्ना छोराहरू गुमाए तर पछि पुनर्जीवित भएर फेरि फिर्ता पाए। पावलले उल्लेख गरेका अरूले भने “कुनै सम्झौता गरेर छुट्‌न मानेनन्‌, किनकि तिनीहरू पुनर्जीवित भएर उत्तम जीवन पाउन चाहन्थे।” (हिब्रू ११:३५) यतिखेर पावलको मनमा कसको नाम थियो भनेर हामीलाई पक्का थाहा त छैन। तर तिनले नाबोत र जकर्याहजस्ता व्यक्‍तिहरूलाई सम्झेका हुन सक्छन्‌। किनभने परमेश्‍वरको आज्ञा मानेको र उहाँको इच्छाबमोजिम चलेकोले तिनीहरू ढुङ्‌गाले हानेर मारिए। (१ राजा २१:३, १५; २ इति. २४:२०, २१) दानियल र तिनका साथीहरू परमेश्‍वरप्रतिको सत्यनिष्ठामा सम्झौता गरेर सजिलै “छुट्‌न” सक्थे। तर तिनीहरू परमेश्‍वरको शक्‍तिमा विश्‍वास गर्थे। त्यो शक्‍तिले तिनीहरूलाई बोल्न, ‘सिंहहरूका मुख थुन्‍न’ र ‘दनदनी बलिरहेको आगोबाट उम्कन’ मदत गऱ्‍यो।—हिब्रू ११:३३, ३४; दानि. ३:१६-१८, २०, २८; ६:१३, १६, २१-२३.

११. आफ्नो विश्‍वासले गर्दा कतिपय भविष्यवक्‍ताहरूले कस्तो परीक्षाको सामना गर्नु पऱ्‍यो?

११ विश्‍वासैले गर्दा मीकाया र यर्मियाजस्ता भविष्यवक्‍ताहरू ‘गिल्लाको शिकार भए अनि झ्यालखानामा थुनिए।’ अरू थुप्रै विश्‍वासी जनहरूजस्तै एलिया “निर्जन ठाउँ, पहाड, गुफा र जमिनका प्वालहरू हुँदो भौंतारिए।” तिनीहरूले यस्ता परीक्षाहरू सहन सक्नुको कारण “आशा गरिएका कुराहरू पक्कै पूरा हुनेछन्‌” भन्‍ने तिनीहरूको विश्‍वासले गर्दा हो।—हिब्रू ११:१, ३६-३८; १ राजा १८:१३; २२:२४-२७; यर्मि. २०:१, २; २८:१०, ११; ३२:२.

१२. परीक्षा सहने सन्दर्भमा कसले सबैभन्दा उत्कृष्ट उदाहरण बसाल्नुभएको छ? अनि यस्तो परीक्षा सहन उहाँलाई केले मदत गऱ्‍यो?

१२ पावलले विभिन्‍न विश्‍वासी पुरुष तथा स्त्रीहरूबारे बताइसकेपछि तिनले सबैभन्दा उत्कृष्ट उदाहरणतिर ध्यान खिचे। ती हुन्‌, हाम्रा प्रभु येशू ख्रीष्ट। हिब्रू १२:२ भन्छ, “किनकि उहाँले आफ्नो अगाडि राखिएको आनन्दका लागि बेइज्जतीको समेत वास्ता नगरेर यातनाको खम्बामा मृत्यु सहनुभयो र उहाँ परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।” त्यसैले हामीले गाह्रो परीक्षाको सामना गर्नु पर्दा येशू ख्रीष्टको विश्‍वासको उदाहरणलाई ‘ध्यान दिनुपर्छ।’ (हिब्रू १२:३ पढ्‌नुहोस्‌) येशूजस्तै आफ्नो विश्‍वासको खातिर सहिद भएका प्रथम शताब्दीका ख्रीष्टियनहरूले सम्झौता गरेनन्‌। तीमध्ये एक हुन्‌, एन्टिपास। (प्रका. २:१३) पुरातन समयका विश्‍वासी पुरुष तथा स्त्रीहरूले “पुनर्जीवित भएर उत्तम जीवन” पाउने आशा राखेका थिए। तर प्रथम शताब्दीका ख्रीष्टियनहरूले पुनर्जीवित भएर त्योभन्दा अझै उत्तम इनाम अर्थात्‌ स्वर्गमा जीवन पाउनेछन्‌। (हिब्रू ११:३५) मृत्युको गहिरो निद्रामा परेका यी सबै विश्‍वासी अभिषिक्‍त जनहरूलाई १९१४ मा परमेश्‍वरको राज्य स्थापना भएको केही समयपछि पुनर्जीवित गरियो। तिनीहरूले येशूसँगै मिलेर स्वर्गबाट मानिसहरूमाथि शासन गर्नेछन्‌।—प्रका. २०:४.

आधुनिक समयमा विश्‍वासका उदाहरणहरू

१३, १४. रूडोल्फ ग्राइकेनले कस्ता परीक्षाहरूको सामना गरे? ती परीक्षाहरू सहन तिनलाई केले मदत दियो?

१३ आधुनिक समयका परमेश्‍वरका लाखौं सेवकहरूले आशामा ध्यान केन्द्रित गरेर अनि परीक्षाहरूको सामना गर्नु पर्दा आफ्नो विश्‍वासलाई कमजोर हुन नदिएर येशूको उदाहरण अनुकरण गरिरहेका छन्‌। रूडोल्फ ग्राइकेनको उदाहरण विचार गर्नुहोस्‌। तिनी १९२५ मा जर्मनीमा जन्मेका थिए। तिनले आफ्नो घरको भित्तामा झुन्ड्याइएका बाइबलका तस्बिरहरू सम्झे। तिनले लेखे, “एउटा चित्रमा ब्वाँसो र थुमा, पाठो र चितुवा, बाछो र सिंह सँगै मिलेर बसिरहेका र तिनीहरूलाई सानो बच्चाले डोऱ्‍याइरहेको थियो। . . . त्यस्ता तस्बिरहरूले ममा अमेट छाप पाऱ्‍यो।” (यशै. ११:६-९) रूडोल्फ ग्राइकेनले पहिला नाजी गेस्टापोबाट र पछि पूर्वी जर्मनीको कम्युनिस्ट स्टासी-बाट लामो समयसम्म क्रूर सतावट भोगे। तैपनि तिनले सुन्दर पृथ्वीमा जीवन बिताउने आशालाई कहिल्यै धमिलो हुन दिएनन्‌।

१४ रूडोल्फ ग्राइकेनले अन्य गाह्रो परीक्षाहरूको पनि सामना गर्नुपऱ्‍यो। राभेन्सब्रूक यातना शिविरमा टाइफाइड ज्वरोले गर्दा तिनकी आमाको मृत्यु भयो। तिनको बुबाको विश्‍वास भने एकदमै कमजोर भयो र बुबाले आफू यहोवाको साक्षी होइन भन्‍ने कागजातमा हस्ताक्षर गरे। जेलबाट छुटेपछि रूडोल्फ ग्राइकेनले क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्ने सुअवसर पाए र पछि तिनले गिलियड स्कुलमा जाने निम्तो पाए। स्नातकपछि तिनलाई मिसनरीको रूपमा सेवा गर्न चिली पठाइयो। त्यहाँ तिनले फेरि क्षेत्रीय निरीक्षकको रूपमा सेवा गरे। तर रूडोल्फका परीक्षाहरू यतिमै सिद्धिएनन्‌। मिसनरी बहिनी पाट्‌सीसँग बिहे गरेको एक वर्षपछि तिनीहरूको सानी छोरीको मृत्यु भयो। पछि तिनकी प्यारी पत्नीको पनि ४३ वर्षको उमेरमा मृत्यु भयो। रूडोल्फले यस्ता थुप्रै परीक्षाहरू सहे। अगस्त १, १९९७ को प्रहरीधरहरा, पृष्ठ २०-२५ मा तिनको जीवनी प्रकाशित भएको थियो। त्यतिबेला तिनी वृद्ध र बिरामी अवस्थामा थिए। तैपनि नियमित अग्रगामी र एल्डरको रूपमा सेवा गरिरहेका थिए। [१]

१५. अहिले पनि हाम्रा दाजुभाइ दिदीबहिनीले निराश नभई सतावट सहिरहेका केही उदाहरण बताउनुहोस्‌।

१५ अहिले पनि विभिन्‍न ठाउँमा यहोवाका साक्षीहरूले घोर सतावट भोगिरहेका छन्‌। तैपनि तिनीहरू आफ्नो आशामा रमाइरहेका छन्‌। उदाहरणको लागि, एरिट्रिया, सिंगापुर, दक्षिण कोरियाका हाम्रा थुप्रै दाजुभाइ दिदीबहिनी जेलमा परेका छन्‌। प्रायजसो अवस्थामा, तरबार नचलाऊ भन्‍ने येशूको आज्ञा पालन गरेको हुँदा तिनीहरू थुनिएका हुन्‌। (मत्ती २६:५२) यसरी थुनिएका सयौं दाजुभाइ दिदीबहिनीमध्ये इसाक, नेगेदे र पाउलोस्‌ पनि हुन्‌। तिनीहरू एरिट्रियाको जेलमा थुनिएको २० वर्षभन्दा धेरै भइसक्यो! तिनीहरूलाई आफ्ना वृद्ध आमाबाबुको हेरचाह गर्न र विवाह गर्न दिइएको छैन। तिनीहरूले अचाक्ली दुर्व्यवहार भोग्नु परे तापनि यहोवाप्रति वफादार रहिरहेका छन्‌। हाम्रो वेब साइटमा ती दाजुभाइहरूको फोटो राखिएका छन्‌। तिनीहरूको विश्‍वास ढलपल भएको छैन भनेर तिनीहरूको हँसिलो अनुहारले देखाउँछ। त्यसैले जेलका गार्डहरूले समेत तिनीहरूको आदर गर्न थालेका छन्‌।

के तपाईं आफ्नो मण्डलीका विश्‍वासी व्यक्‍तिहरूको उदाहरणबाट सिक्दै हुनुहुन्छ? (अनुच्छेद १५, १६ हेर्नुहोस्‌)

१६. बलियो विश्‍वासले कसरी तपाईंको रक्षा गर्छ?

१६ अहिले यहोवाका धेरैजसो सेवकले क्रूर सतावट भोगिरहेका छैनन्‌। तर अर्कै प्रकारले तिनीहरूको विश्‍वासको जाँच भइरहेको छ। धेरै जना गरिबी, गृहयुद्ध वा प्राकृतिक प्रकोपको चपेटामा परेका छन्‌। अरू कतिपयले भने मोशा र कुलपिताहरूले जस्तै संसारको सुख-सुविधा वा प्रतिष्ठा त्यागेका छन्‌। तिनीहरूले धन-सम्पत्तिको मोह र आफ्नै इच्छाअनुसार जीवन बिताउने प्रलोभनको प्रतिरोध गर्न सङ्‌घर्ष गरिरहेका छन्‌। यस्ता कठिन अवस्थाहरू सहन तिनीहरूलाई केले मदत गरेको छ? यहोवाप्रतिको माया र उहाँको प्रतिज्ञामा बलियो विश्‍वासले। उहाँले सबै अन्याय हटाउने र आफ्ना विश्‍वासी सेवकहरूलाई नयाँ संसारमा अनन्त जीवन दिने प्रतिज्ञा गर्नुभएको छ।—भजन ३७:५, ७, ९, २९ पढ्‌नुहोस्‌।

१७. तपाईं के गर्न कटिबद्ध हुनुहुन्छ? अर्को लेखमा हामी कुन कुरा छलफल गर्नेछौं?

१७ परमेश्‍वरको प्रतिज्ञामा मनन गर्दा र नियमित तवरमा प्रार्थना गर्दा हाम्रो विश्‍वास बलियो भइरहन्छ भनेर हामीले यस लेखबाट बुझ्यौं। त्यसो गऱ्‍यौं भने हामीले आशा गरेका कुराहरू ‘पक्कै पूरा हुनेछन्‌ भनेर पर्खन’ सक्नेछौं। अनि हाम्रो विश्‍वासको जाँच हुँदा सहने बल पाउनेछौं। तर बाइबलमा बताइएको विश्‍वासमा अरू कुरा पनि समावेश छ। त्यसबारे अर्को लेखमा छलफल गर्नेछौं।

^ [१] (अनुच्छेद १४) मे ८, २००२ को ब्यूँझनुहोस्‌!-मा छापिएको “परीक्षाको बावजूद मेरो आशा उज्ज्वल रहिरहेको छ” भन्‍ने लेख पनि हेर्नुहोस्‌। त्यस लेखमा स्लोभाकियाका आन्द्रे हानाकको जीवनी दिइएको छ।