सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका प्रतिज्ञाहरूमा विश्वास गर्नुहोस्

यहोवाका प्रतिज्ञाहरूमा विश्वास गर्नुहोस्

“विश्वास भनेको . . . अहिले नदेखिएका वास्तविकताहरूको स्पष्ट प्रमाण हो।”—हिब्रू ११:१.

गीत: ५४, १२५

१. ख्रीष्टियनहरूको विश्वास भनेको कस्तो कुरा हो?

ख्रीष्टियनहरूको विश्वास एउटा अनमोल गुण हो। सबैसित यो गुण हुँदैन। (२ थिस्स. ३:२) तर यहोवाले आफ्ना सबै उपासकहरूलाई कुनै न कुनै “नापले विश्वास दिनुभएको छ।” (रोमी १२:३; गला. ५:२२) उहाँले हामीलाई विश्वास दिनुभएकोमा कत्ति कृतज्ञ छौं!

२, ३. (क) विश्वास गर्ने व्यक्तिले कस्ता आशिष्‌हरू पाउन सक्छन्‌? (ख) हामी कुन-कुन प्रश्नबारे छलफल गर्नेछौं?

स्वर्गमा बस्नुहुने बुबाले मानिसहरूलाई आफ्नो छोरा मार्फत आफूतिर खिच्नुहुन्छ भनी येशू ख्रीष्टले भन्नुभयो। (यूह. ६:४४, ६५) त्यसैले येशूमाथि विश्वास राखेको खण्डमा मानिसहरूको पापको क्षमा पाउने बाटो खुल्छ। त्यसपछि यहोवासित सधैंको लागि सम्बन्ध गाँस्न सम्भव हुन्छ। (रोमी ६:२३) यस्तो ठूलो आशिष्‌ पाउन हामी योग्य थियौं र? हामी त्रुटिपूर्ण छौं। त्यसैले हामीले पाउने कुरा भनेको त मृत्यु मात्रै हो। (भज. १०३:१०) तर यहोवाले हामीमा केही असल कुरा देख्नुभयो। त्यसैले उहाँको असीम अनुग्रहले गर्दा हामीले सुसमाचार सुन्ने मौका पायौं। त्यसपछि हामीले येशूमा विश्वास गर्न थाल्यौं र अनन्त जीवनको आशा पनि राख्न सक्यौं।—१ यूहन्ना ४:९, १० पढ्‌नुहोस्।

तर विश्वास भनेको के हो? के यसको मतलब परमेश्वरले हाम्रो लागि साँच्नुभएका आशिष्‌हरूबारे थाह पाउनु अर्थात्‌ दिमागी ज्ञान हुनु मात्र हो? सबैभन्दा महत्त्वपूर्ण कुरा, आफूसित विश्वास छ भनेर हामीले कुन-कुन तरिकामा देखाउनुपर्छ?

‘आफ्नो मनमा विश्वास गर्नुहोस्’

४. विश्वास भनेको कुनै कुरा थाह पाउनु मात्र होइन, किन? व्याख्या गर्नुहोस्।

विश्वास भनेको परमेश्वरको उद्देश्यबारे थाह पाउनु मात्र होइन। विश्वास भनेको मानिसलाई परमेश्वरको इच्छाअनुसार चल्न उत्प्रेरित गर्ने जोडदार शक्ति हो। परमेश्वरले उद्धार गर्नुहुने माध्यम के हो भनेर बुझेपछि मानिसहरू अरूलाई पनि सुसमाचार सुनाउन उत्प्रेरित हुन्छन्‌। प्रेषित पावलले यसरी व्याख्या गरे: “‘तिम्रो मुखैमा भएको वचन’ अर्थात्‌ येशू नै प्रभु हुनुहुन्छ भनेर जनसमक्ष घोषणा गर्छौ अनि परमेश्वरले उहाँलाई मृत्युबाट ब्यूँताउनुभयो भनेर आफ्नो मनमा विश्वास गर्छौ भने तिमीले उद्धार पाउनेछौ। किनकि मनदेखि विश्वास गरेर मानिस परमेश्वरको नजरमा असल ठहरिन्छ तर त्यो विश्वास मुखले जनसमक्ष घोषणा गरेर चाहिं उसले उद्धार पाउँछ।”—रोमी १०:९, १०; २ कोरि. ४:१३.

५. विश्वास किन अत्यन्तै महत्त्वपूर्ण छ? यसलाई हामी कसरी बलियो बनाइराख्न सक्छौं? उदाहरणसहित बताउनुहोस्।

परमेश्वरले ल्याउनुहुने नयाँ संसारमा अनन्त जीवनको आनन्द उठाउन हामीमा विश्वास हुनुपर्छ र त्यसलाई बलियो बनाइराख्नुपर्छ। आफ्नो विश्वास बलियो बनाइराख्नु भनेको बोटमा पानी हाल्नुजस्तै हो। साँच्चैको बोट सप्रन्छ या ओइलाउँछ, सधैं एकनासको रहँदैन। तर नक्कली बोट भने त्यस्तो हुँदैन। साँच्चैको बोटलाई नियमित रूपमा पानी दिइरहनुपर्छ। प्रशस्त पानी पायो भने सप्रन्छ, तर पानी पाएन भने ओइलाइहाल्छ। पर्याप्त पानी पाएन भने एकदमै फस्टाइरहेको बोटसमेत मर्छ। हाम्रो विश्वास पनि त्यस्तै हो। बेवास्ता गऱ्यौं भने विश्वास डगमगाउँछ र मर्छ। (लूका २२:३२; हिब्रू ३:१२) तर राम्रो हेरचाह गऱ्यौं भने हाम्रो विश्वास जीवित रहन्छ र “झन्‌-झन्‌ बढ्‌दै” जान्छ अनि हाम्रो ‘विश्वास दह्रो’ हुन्छ।—२ थिस्स. १:३; ती. २:२.

बाइबलले विश्वासको परिभाषा कसरी दिन्छ?

६. हिब्रू ११:१ ले कुन दुइटा तरिकामा विश्वासको परिभाषा दिएको छ?

बाइबलले दिने विश्वासको परिभाषा हिब्रू ११:१ मा पाइन्छ। (पढ्‌नुहोस्) विश्वासमा दुइटा कुरा मुछिएको छ, जुन हामी देख्न सक्दैनौं। ती हुन्‌: (१) “आशा गरिएका कुराहरू।” यसमा भविष्यमा पूरा हुने प्रतिज्ञाहरू पनि पर्छन्‌, जुन अहिले पूरा भइसकेका छैनन्‌। जस्तै, सबै दुष्टता नामेट हुने र नयाँ संसार आउने। (२) “अहिले नदेखिएका वास्तविकताहरू।” यसको प्रसङ्‌गलाई विचार गर्दा “स्पष्ट प्रमाण” भनेर अनुवाद गरिएको ग्रीक शब्दले नदेखिए तापनि वास्तविक लाग्ने कुरालाई बुझाउँछ। जस्तै: यहोवा परमेश्वर, येशू ख्रीष्ट, स्वर्गदूतहरूको अस्तित्व र स्वर्गमा स्थापना भएको राज्यको गतिविधि। (हिब्रू ११:३) हाम्रो आशा जीवित छ भनेर हामी कसरी देखाउँछौं? अनि परमेश्वरको वचनमा बताइएका नदेखिने कुराहरूमा विश्वास गर्छौं भनेर कसरी प्रमाणित गर्छौं? आफ्नो बोली र कामद्वारा। यी दुइटा कुरा भएनन्‌ भने हाम्रो विश्वास अपूरो हुन्छ।

७. विश्वास हुनुको अर्थ बुझ्न नूहको उदाहरणले हामीलाई कसरी मदत गर्छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)

हिब्रू ११:७ मा नूहको विश्वासबारे बताइएको छ। “नूहले आफूले नदेखेका कुराहरूबारे परमेश्वरबाट चेतावनी पाएपछि उहाँको डर राखे अनि आफ्नो परिवारलाई बचाउन जहाज निर्माण गरे।” नूहले विशाल जहाज निर्माण गरेर आफ्नो विश्वास देखाए। तिनले यस्तो बडेमाको बाकस बनाएको देखेपछि वरपरका मानिसहरूले त्यो किन बनाएको भनेर पक्कै सोधे होलान्‌। के नूह चुपो लागेर बसे? के तिनले ‘तिमीहरूलाई केको चासो’ भने? अहँ, भनेनन्‌! विश्वासले गर्दा तिनले साहसी भई बताए अनि परमेश्वरले ल्याउनुहुने विनाशबारे मानिसहरूलाई चेतावनी दिए। नूहले मानिसहरूलाई यहोवाका यी शब्दहरू नै दोहोऱ्याएको हुनुपर्छ: “सबै प्राणीको अन्त्य गर्ने मैले अठोट गरिसकेको छु, किनभने पृथ्वी तिनीहरूद्वारा उपद्रवले भरिएको छ। . . . जीवनको सास हुने सबै प्राणीलाई म आकाशमुनिबाट सर्वनाश पार्नलाई पृथ्वीमा जलप्रलय ल्याउनेछु, र पृथ्वीमा भएको हरेक प्राणी मर्नेछ।” अनि नूहले मानिसहरूलाई बच्ने एक मात्र उपायबारे बताउँदै परमेश्वरको आज्ञा यसरी दोहोऱ्याएको हुनुपर्छ: ‘जहाजमा आउनू।’ यसरी नूहले “परमेश्वरको न्यायोचित स्तरबारे प्रचार” गरेर आफ्नो विश्वास देखाए।—उत्प. ६:१३, १७, १८; २ पत्रु. २:५.

८. परमेश्वरको प्रेरणा पाएर चेला याकूबले साँचो विश्वासको अर्थ कसरी बुझाए?

प्रेषित पावलले परमेश्वरको प्रेरणा पाएर विश्वासको परिभाषा लेखेको केही समयपछि याकूबले आफ्नो पत्र लेखेको हुनुपर्छ। पावलले जस्तै याकूबले पनि साँचो ख्रीष्टियनहरूको विश्वास भनेको कुनै कुरा पत्याउनु मात्र होइन, कामद्वारा देखाउनु हो भनेर लेखे। तिनले लेखे: “तिमी कामविनाको विश्वास देखाऊ तर म आफ्ना कामहरूद्वारा मेरो विश्वास प्रकट गर्नेछु।” (याकू. २:१८) याकूबले आफ्नो पत्रमा कुनै कुरा पत्याउनु र विश्वास गर्नुबीचको स्पष्ट भिन्नता बताएका छन्‌। दुष्ट स्वर्गदूतहरू परमेश्वर हुनुहुन्छ भनेर मानिलिन्छन्‌। तर तिनीहरूसित साँचो विश्वास छैन। त्यति मात्र होइन, तिनीहरू परमेश्वरको उद्देश्य पूरा नहोस् भनेर विश्वासको ठीक विपरीत काम गर्छन्‌। (याकू. २:१९, २०) तर विश्वास भएको मानिस कस्तो हुन्छ भनेर सङ्‌केत गर्दै याकूब यस्तो प्रश्न गर्छन्‌: “आफ्नो छोरा इसहाकलाई वेदीमा चढाएको हुनाले नै के हाम्रा पुर्खा अब्राहाम कामद्वारा परमेश्वरको नजरमा असल ठहरिएका होइनन्‌ र? तिनले विश्वास गर्नुका साथै त्यस बमोजिम काम पनि गरे र तिनको कामले गर्दा नै तिनको विश्वास पूर्ण भयो।” विश्वाससँगसँगै काम पनि हुनुपर्छ भनेर जोड दिन तिनले यसो पनि भने: “जसरी सासविनाको शरीर मरेको हुन्छ, त्यसरी नै कामविनाको विश्वास पनि मरेको हुन्छ।”—याकू. २:२१-२३, २६.

९, १०. विश्वास गर्नुको अर्थ बुझ्न प्रेषित यूहन्नाका शब्दहरूबाट कस्तो मदत पाउँछौं?

चेला याकूबले पत्र लेखेको लगभग ३० वर्षपछि प्रेषित यूहन्नाले सुसमाचारको पुस्तक र तीन वटा पत्र लेखे। अरू बाइबल लेखकहरूले ख्रीष्टियनहरूको साँचो विश्वासबारे लेखेका थिए। के तिनले यसको अर्थ कत्तिको गहन छ भनेर बुझेका थिए? “विश्वास गर्छ” भनेर कहिलेकाहीं अनुवाद गरिएको ग्रीक क्रिया यूहन्नाले अरू बाइबल लेखकले भन्दा धेरै चोटि प्रयोग गरेका छन्‌।

१० उदाहरणको लागि, यूहन्नाले यसरी व्याख्या गरे: “जसले छोरामाथि विश्वास गर्छ, उसले अनन्त जीवन पाउँछ; जसले छोराको आज्ञा पालन गर्दैन, उसले जीवन देख्न पाउनेछैन तर ऊमाथि परमेश्वरको क्रोध आइपर्नेछ।” (यूह. ३:३६) ख्रीष्टियनहरूको विश्वासमा येशूको आज्ञा पालन गर्नु पनि समावेश छ। हामीले विश्वास गरिरहनु आवश्यक छ भनेर देखाउन यूहन्नाले धेरै चोटि येशूका शब्दहरू उद्धरण गरे।—यूह. ३:१६; ६:२९, ४०; ११:२५, २६; १४:१, १२.

११. सत्य सिक्न पाएकोमा हामी कसरी कृतज्ञता देखाउन सक्छौं?

११ हामीलाई सत्य कुरा प्रकट गर्न र हामीले सुसमाचारमा विश्वास गर्न सकोस् भनेर यहोवाले आफ्नो पवित्र शक्ति प्रयोग गर्नुभएकोमा हामी साँच्चै कृतज्ञ छौं! (लूका १०:२१ पढ्‌नुहोस्) “हाम्रो विश्वासको मुख्य माध्यम र यसलाई पूर्ण तुल्याउनुहुने” आफ्नो छोराद्वारा यहोवाले हामीलाई आफूतिर खिंच्नुभएकोमा उहाँलाई सधैं धन्यवाद दिइरहनुपर्छ। (हिब्रू १२:२) उहाँले देखाउनुभएको असीम अनुग्रहप्रति कृतज्ञता देखाउन प्रार्थना र उहाँको वचनको अध्ययनद्वारा आफ्नो विश्वासलाई बलियो बनाइराख्नुपर्छ।—एफि. ६:१८; १ पत्रु. २:२.

मौका पाउने बित्तिकै सुसमाचार सुनाएर आफ्नो विश्वास प्रकट गर्नुहोस् (अनुच्छेद १२ हेर्नुहोस्)

१२. हाम्रो विश्वास कुन-कुन तरिकामा देखिनुपर्छ?

१२ यहोवाका प्रतिज्ञाहरूमा हामीले विश्वास गरिराख्नुपर्छ। हाम्रो विश्वास अरूले स्पष्टसित देख्नुपर्छ। उदाहरणको लागि, हामी परमेश्वरको राज्यबारे प्रचार गर्छौं अनि चेला बनाउने काममा भाग लिन्छौं। साथै ‘हामी सबैको भलाइ गरिरहन्छौं, अझ विशेष गरी एउटै विश्वास हुने हाम्रा भाइबहिनीहरूको।’ (गला. ६:१०) हामी “पुरानो व्यक्तित्वलाई त्यसका कामहरूसहित फुकालेर” मिल्काइदिन भरमग्दुर प्रयास गर्छौं अनि परमेश्वरसितको सम्बन्धलाई कमजोर बनाउन सक्ने कुनै पनि कुरादेखि टाढै बस्छौं।—कल. ३:५, ८-१०.

परमेश्वरमाथिको विश्वास हाम्रो जगको एउटा भाग हो

१३. “परमेश्वरमाथि विश्वास” गर्नु कत्तिको महत्त्वपूर्ण छ? यसलाई केसित तुलना गरिएको छ? किन?

१३ बाइबल यसो भन्छ: “विनाविश्वास उहाँलाई खुसी पार्न असम्भव छ किनभने जो परमेश्वरसामु जान्छ, उसले उहाँ साँच्चै हुनुहुन्छ र जोडतोडले उहाँको खोजी गरिरहनेहरूलाई इनाम दिनुहुन्छ भनेर पत्यार गर्नुपर्छ।” (हिब्रू ११:६) साँचो ख्रीष्टियन बन्न र त्यसैअनुसार जीवन बिताउन सबैले “परमेश्वरमाथि विश्वास” गर्नुपर्छ। यो हाम्रो “जग”-को एउटा भाग हो। (हिब्रू ६:१) यसको साथै ख्रीष्टियनहरूलाई अरू महत्त्वपूर्ण गुणहरू पनि चाहिन्छ। तिनीहरूले “आफूलाई परमेश्वरको प्रेम पाउन लायक” बनाइराख्न “विश्वासमा” ती महत्त्वपूर्ण गुणहरू थप्दै लैजानुपर्छ।—यहूदा २०, २१; २ पत्रुस १:५-७ पढ्‌नुहोस्।

१४, १५. हामीसित विश्वास मात्र होइन, प्रेम पनि हुनु किन महत्त्वपूर्ण छ?

१४ बाइबलका लेखकहरूले विश्वासको महत्त्वलाई जोड दिन त्यसबारे सयौं पटक उल्लेख गरे। ख्रीष्टियनहरूसित हुनुपर्ने यो गुण जत्तिको धेरै अरू कुनै गुणबारे बाइबलमा उल्लेख गरिएको छैन। के यसको मतलब ख्रीष्टियनहरूसित हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण गुण विश्वास हो?

१५ विश्वासलाई प्रेमसित तुलना गर्दै पावलले यस्तो लेखे: “मसित . . . डाँडाहरू सार्न सक्नेसम्मको विश्वास छ तर प्रेमचाहिं छैन भने म केही पनि होइन।” (१ कोरि. १३:२) परमेश्वरप्रतिको प्रेम सबैभन्दा महत्त्वपूर्ण हो भनेर जोड दिन येशूले यस प्रश्नको जवाफ दिनुभयो: “व्यवस्थाको सबैभन्दा ठूलो आज्ञा कुन हो?” (मत्ती २२:३५-४०) विश्वासको साथै ख्रीष्टियनहरूसित हुनुपर्ने थुप्रै महत्त्वपूर्ण गुणहरूलाई प्रेमले समेट्‌छ। त्यसैले बाइबल यसो भन्छ: प्रेमले “सबै कुरा पत्यार गर्छ।” परमेश्वरले आफ्नो सत्य वचनमा भन्नुभएका सबै कुरामा प्रेमले विश्वास गर्छ।—१ कोरि. १३:४, ७.

१६, १७. बाइबलमा विश्वास र प्रेमलाई कसरी जोड दिइएको छ? तर सर्वोत्तमचाहिं कुन हो? किन?

१६ विश्वास र प्रेम अत्यन्तै महत्त्वपूर्ण गुणहरू हुन्‌। त्यसैले बाइबल लेखकहरूले प्रायजसो एउटै वाक्य वा वाक्यांशमा यी गुणहरूबारे धेरै चोटि उल्लेख गरेका छन्‌। पावलले आफ्ना भाइहरूलाई “विश्वास प्रेमको कवच” लगाउन आग्रह गरे। (१ थिस्स. ५:८) पत्रुसले यस्तो लेखे: “तिमीहरूले [येशूलाई] कहिल्यै देखेनौ, तैपनि उहाँलाई प्रेम गर्छौ। अहिले तिमीहरू उहाँलाई देख्दैनौ, तैपनि उहाँमाथि विश्वास गर्छौ।” (१ पत्रु. १:८) याकूबले अभिषिक्त भाइहरूलाई यो प्रश्न सोधे: “के परमेश्वरले संसारका गरिब मानिसहरूलाई रोजेर विश्वासमा धनी अनि त्यस राज्यको उत्तराधिकारी बनाउनुभएको होइन र, जुन उहाँले आफूलाई प्रेम गर्नेजतिलाई दिने प्रतिज्ञा गर्नुभएको थियो?” (याकू. २:५) यूहन्नाले लेखे: “[परमेश्वरको] आज्ञा यही हो, कि हामीले उहाँको छोरा येशू ख्रीष्टको नाममा विश्वास गर्नुपर्छ र उहाँले हामीलाई आज्ञा दिनुभएबमोजिम आपसमा प्रेम गरिरहनुपर्छ।”—१ यूह. ३:२३.

१७ हुन त विश्वास अत्यावश्यक छ। तर परमेश्वरका प्रतिज्ञाहरू पूरा हुँदा र हामीले आशा गरेका कुराहरू वास्तविकतामा परिणत हुँदा विश्वासका कतिपय पक्षहरू हराएर जानेछन्‌। तर परमेश्वर र छिमेकीप्रतिको प्रेम बढाउँदै लैजानुपर्ने आवश्यकता चाहिं कहिल्यै हराएर जानेछैन। त्यसकारण पावलले यस्तो लेखे: “अब विश्वास, आशा र प्रेम, यी तीन रहिरहन्छन्‌; तर यिनमा सर्वोत्तमचाहिं प्रेम हो।”—१ कोरि. १३:१३.

विश्वासको जोडदार प्रमाण

१८, १९. आज हामी विश्वासको कस्तो जोडदार प्रमाण देख्छौं? यसको श्रेय कसलाई जान्छ?

१८ यहोवाले स्थापना गर्नुभएको राज्यमा अहिले उहाँका उपासकहरूले आफ्नो विश्वास प्रकट गरिरहेका छन्‌। यसले गर्दा विश्वभरि आध्यात्मिक प्रमोदवन विस्तार भइरहेको छ र यसका ८० लाखभन्दा धेरै बासिन्दाहरू छन्‌। यस आध्यात्मिक प्रमोदवनमा परमेश्वरको पवित्र शक्तिको फलको विभिन्न पक्ष छाएको छ। (गला. ५:२२, २३) साँचो ख्रीष्टियनहरूको विश्वास र प्रेमको कस्तो जोडदार प्रमाण!

१९ यसको श्रेय कोही पनि मानिसले लिन सक्दैन। हाम्रा परमेश्वरले गर्दा यो महान्‌ कार्य सम्भव भएको हो। यसले गर्दा “परमप्रभुको नाउँको” महिमा हुनुका साथै “त्यो कहिल्यै नमेटिने सदासर्वदाको चिन्ह” भएको छ। (यशै. ५५:१३) ‘विश्वासद्वारा हाम्रो उद्धार’ भएको परमेश्वर चाहनुहुन्छ। त्यसैले यो साँच्चै “परमेश्वरको वरदान हो।” (एफि. २:८) भविष्यमा पूरै पृथ्वी परमेश्वरको स्तरअनुसार चल्ने आनन्दित मानिसहरूले भरिनेछ र तिनीहरू सबै त्रुटिरहित हुनेछन्‌। तिनीहरूले सदासर्वदा यहोवाको नामको प्रशंसा गर्नेछन्‌। तर त्यो समय नआउन्जेल हाम्रो आध्यात्मिक प्रमोदवन झन्‌-झन्‌ फस्टाउँदै जानेछ। त्यसैले हामी यहोवाका प्रतिज्ञाहरूमा विश्वास गरिरहौं!