सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विदेशी भाषाको इलाकामा सेवा गर्दा आफ्नो आध्यात्मिक स्वास्थ्यको ख्याल राख्नुहोस्

विदेशी भाषाको इलाकामा सेवा गर्दा आफ्नो आध्यात्मिक स्वास्थ्यको ख्याल राख्नुहोस्

“तपाईंको वचन मैले मेरो हृदयमा राखेको छु।”—भज. ११९:११.

गीत: १४२, ९२

१-३. (क) परिस्थिति जस्तोसुकै भए तापनि हामीले कुन कुरालाई विशेष ध्यान दिनुपर्छ? (ख) नयाँ भाषा सिकिरहेकाहरूले कस्ता बेग्लै किसिमका चुनौतीहरू सामना गर्छन्‌? यसले गर्दा कस्ता प्रश्नहरू उठ्‌छन्‌? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)

“हरेक राष्ट्र, कुल, भाषा र जातिलाई” राज्यको सुसमाचार घोषणा गरिनेछ भनेर एउटा दर्शनमा बताइएको थियो। त्यसैको पूर्तिअनुरूप अहिले यहोवाका लाखौं साक्षीले जोडतोडले प्रचार गरिरहेका छन्‌। (प्रका. १४:६) के तपाईं पनि नयाँ भाषा सिक्दै हुनुहुन्छ? के तपाईं मिसनरीको रूपमा वा आवश्यकता धेरै भएको विदेशी भूमिमा सेवा गर्दै हुनुहुन्छ? अथवा आफ्नै देशमा विदेशी भाषाको मण्डलीमा हुने सभाहरूमा उपस्थित हुन थाल्नुभएको छ कि?

हामी परमेश्वरका सेवकहरूले आफ्नो र आफ्नो परिवारको आध्यात्मिक स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्छ। (मत्ती ५:३) आफ्नो व्यस्त तालिकाले गर्दा कहिलेकाहीं हामीलाई अर्थपूर्ण ढङ्‌गमा व्यक्तिगत अध्ययन गर्न गाह्रो हुन सक्छ। तर विदेशी भाषाको इलाकामा सेवा गर्नेहरूले भने थप चुनौतीहरू सामना गर्छन्‌।

विदेशी भाषाको इलाकामा सेवा गर्नेहरूले नयाँ भाषा सिक्नुपर्ने हुन्छ। त्यति मात्र होइन, उनीहरूले गहिरा-गहिरा आध्यात्मिक भोजन पनि नियमित रूपमा लिइरहनुपर्छ। (१ कोरि. २:१०) मण्डलीमा बोलिने भाषा राम्ररी बुझ्न सक्दैनन्‌ भने उनीहरूले कसरी आध्यात्मिक भोजन लिन सक्छन्‌ र? अनि परमेश्वरको वचन छोराछोरीको मनसम्म पुगेको छ कि छैन भनेर आमाबाबुले किन पक्का गर्नुपर्छ?

आध्यात्मिक स्वास्थ्यको लागि खतरा

४. हाम्रो आध्यात्मिक स्वास्थ्यको लागि कुन कुरा खतरा हुन सक्छ? एउटा उदाहरण बताउनुहोस्।

विदेशी भाषामा परमेश्वरको वचन बुझ्न सकेनौं भने त्यसले हाम्रो आध्यात्मिक स्वास्थ्यलाई खतरामा पार्न सक्छ। ईसापूर्व पाँचौं शताब्दीमा यहूदीहरू बेबिलोन फर्के। ती यहूदीहरूका कतिपय छोराछोरीले हिब्रू भाषा बोल्न जान्दैनन्‌ भनेर थाह पाउँदा नहेम्याह चिन्तित भए। (नहेम्याह १३:२३, २४ पढ्‌नुहोस्) यी केटाकेटीहरूले परमेश्वरको वचनको अर्थ राम्ररी बुझ्न सकेका थिएनन्‌। त्यसकारण वास्तवमा तिनीहरूले परमेश्वरको सेवकको रूपमा आफ्नो चिनारी गुमाइरहेका थिए।—नहे. ८:२, ८.

५, ६. विदेशी भाषाको इलाकामा सेवा गर्ने केही आमाबाबुले कुन कुरा महसुस गरेका छन्‌? किन?

विदेशी भाषाको इलाकामा सेवा गरिरहेका केही आमाबाबुले सत्यप्रति आफ्ना छोराछोरीको जोस सेलाएको महसुस गरेका छन्‌। सभामा हुने कार्यक्रम राम्ररी नबुझ्दा राज्यभवनमा सिकाइने आध्यात्मिक कुराहरू उनीहरूको मनसम्म पुग्दैन। दक्षिण अमेरिकाबाट सपरिवार अस्ट्रेलिया बसाइँ सरेका पेद्रो [१] भन्छन्‌, “आध्यात्मिक कुराहरूको सन्दर्भमा मानिसको मन र भावनाहरू मुछिएको हुनुपर्छ।”—लूका २४:३२.

विदेशी भाषामा कुनै विषय पढ्‌दा आफ्नै भाषामा पढेजस्तो मनसम्म नपुग्न सक्छ। साथै, अर्को भाषामा कुराकानी गर्न नसक्दा मानसिक अनि आध्यात्मिक तवरमा थकित र हताश हुन सक्छौं। त्यसैले विदेशी भाषाको इलाकामा यहोवाको सेवा गर्ने हाम्रो इच्छा सेलाउन नदिन आफ्नो आध्यात्मिक स्वास्थ्यलाई जोगाइराख्नुपर्छ।—मत्ती ४:४.

तिनीहरूले आफ्नो आध्यात्मिक स्वास्थ्यलाई जोगाइराखे

७. दानियललाई बेबिलोनीहरूले आफ्नो रहनसहन अनि रीतिथितिमा घुलमिल गराउन के गरे?

दानियल र तिनका साथीहरूलाई बेबिलोन लगिंदा बेबिलोनीहरूले तिनीहरूलाई आफ्नो रहनसहन अनि रीतिथितिमा घुलमिल गराउन “कल्दीहरूका भाषा” सिकाए। त्यति मात्र होइन, तिनीहरूलाई तालिम दिन खटाइएका प्रमुख अधिकृतले तिनीहरूलाई बेबिलोनी नाम दिए। (दानि. १:३-७) दानियललाई दिइएको नामले बेललाई बुझाउँथ्यो अनि बेल बेबिलोनको प्रमुख देव थियो। दानियलका परमेश्वर यहोवालाई बेबिलोनी देवको अधीनमा पारिसकें भनेर देखाउन राजा नबूकदनेसरले तिनलाई बेबिलोनी देवको नाम दिएको हुनुपर्छ।—दानि. ४:८.

८. विदेशी भूमिमा छँदा दानियलले आफ्नो आध्यात्मिक स्वास्थ्यलाई कसरी जोगाइराख्न सके?

दानियललाई राजकीय भोजन दिइएको थियो। तर तिनले “आफैलाई अशुद्ध नपार्न” मनमा “निश्चय” गरेका थिए। (दानि. १:८) तिनले आफ्नो मातृभाषामा “परमप्रभुबाट आएको वचन” पढ्‌ने गर्थे। त्यसैले विदेशी भूमिमा छँदा पनि तिनले आफ्नो आध्यात्मिक स्वास्थ्यलाई जोगाइराख्न सके। (दानि. ९:२) यसकारण बेबिलोनमा आएको ७० वर्षपछि पनि तिनी हिब्रू नामले नै चिनिन्थे।—दानि. ५:१३.

९. भजन ११९ का लेखकले परमेश्वरको वचनबाट कस्तो मदत पाए?

अरू मानिसहरूभन्दा आफ्नो बेग्लै चिनारी बनाउन भजन ११९ का लेखकले परमेश्वरको वचनबाट बल पाए। तिनले राजदरबारमा केही मानिसहरूको खिसीटिउरी सहनुपऱ्यो। (भज. ११९:२३, ६१) तैपनि तिनले परमेश्वरको वचनलाई आफ्नो मनमा राखे र त्यसबारे बोल्न पछि हटेनन्‌।—भजन ११९:११, ४६ पढ्‌नुहोस्।

आफ्नो आध्यात्मिक स्वास्थ्यको ख्याल राख्नुहोस्

१०, ११. (क) कस्तो लक्ष्य राखेर हामीले परमेश्वरको वचन अध्ययन गर्नुपर्छ? (ख) हामी कसरी यो लक्ष्य हासिल गर्न सक्छौं? उदाहरणसहित बताउनुहोस्।

१० ईश्वरतान्त्रिक र अन्य जिम्मेवारीहरूले गर्दा हामी असाध्यै व्यस्त छौं होला। तैपनि हामीले व्यक्तिगत अध्ययन र पारिवारिक उपासनाको लागि समय निकाल्नुपर्छ। (एफि. ५:१५, १६) अध्ययन गर्नुको उद्देश्य केही पाना पढिसिध्याउने वा सभामा भाग लिनको लागि टिप्पणीहरू तयार गर्ने मात्र हुनु हुँदैन। अध्ययन गर्दा परमेश्वरको वचन आफ्नो मनसम्म पुग्नुपर्छ र आफ्नो विश्वासलाई बलियो बनाउनुपर्छ।

११ यो लक्ष्य हासिल गर्न हामीले यी दुई कुरालाई सही सन्तुलनमा राख्नुपर्छ: अध्ययन गर्दा अरूको आवश्यकतालाई विचार गर्ने र आफ्नो आध्यात्मिक आवश्यकता पूरा गर्ने। (फिलि. १:९, १०) प्रचारकार्य, सभा वा भाषणको लागि तयारी गर्दा आफूले पढेको कुरा जीवनमा लागू गर्छौं नै भन्ने छैन। उदाहरणको लागि: एक जना कुकले मीठा-मीठा परिकारहरू तयार गर्छन्‌ अनि अरूलाई पस्कनुअघि आफैले चाख्छन्‌। तर त्यति चाखेको भरमा तिनी स्वस्थ रहन सक्दैनन्‌। त्यसैले तिनले आफ्नो लागि पोसिलो भोजन तयार गर्नुपर्छ। त्यसरी नै, हामीले पनि आफ्नो खास आवश्यकता पूरा गर्न पोसिलो आध्यात्मिक भोजन लिइरहने प्रयास गर्नुपर्छ।

१२, १३. विदेशी भाषाको इलाकामा सेवा गरिरहेका थुप्रैले आफ्नै मातृभाषामा नियमित रूपमा अध्ययन गर्नु किन उपयोगी पाएका छन्‌?

१२ विदेशी भाषाको इलाकामा सेवा गरिरहेका थुप्रैले आफ्नै मातृभाषामा नियमित रूपमा बाइबल अध्ययन गर्नु उपयोगी पाएका छन्‌। (प्रेषि. २:८) विदेशी भूमिमा सेवा गर्ने मिसनरीहरूले समेत आध्यात्मिक तवरमा स्वस्थ रहन सभामा प्रस्तुत गरिने आधारभूत कुराहरू मात्र बुझ्नु यथेष्ट छैन भनेर मानिलिएका छन्‌।

१३ एलेनले फारसी भाषा सिक्न थालेको लगभग आठ वर्ष भइसक्यो। तिनी यसो भन्छन्‌: “फारसी भाषामा सभाको लागि तयारी गर्दा मेरो ध्यान धेरैजसो भाषा मै जान्छ। यसो हुँदा मेरो मन होइन, दिमाग मात्र चलिरहेको हुन्छ। हुन त आध्यात्मिक कुरा पढिरहेको हुन्छु, तर कहिलेकाहीं मेरो मनसम्म पुगिरहेको हुँदैन। त्यसैले आफ्नै मातृभाषामा बाइबल र अन्य प्रकाशनहरू अध्ययन गर्न म सधैं समय छुट्टयाउँछु।”

छोराछोरीको मनसम्म पुग्नुहोस्

१४. आमाबाबुले कुन कुरा पक्का गर्नुपर्छ? किन?

१४ छोराछोरीको मनमस्तिष्कमा परमेश्वरको वचन पुगिरहेको छ कि छैन भनेर आमाबाबुले पक्का गर्नुपर्छ। पत्नी म्युरियल र १७ वर्षीय छोरासित सर्जे विदेशी भाषाको इलाकामा सेवा गर्दै थिए। त्यहाँ सेवा गरेको तीन वर्षपछि तिनीहरूले आफ्नो छोरालाई ईश्वरतान्त्रिक गतिविधिहरूमा भाग लिन रमाइलो लाग्न छोडेको याद गरे। म्युरियल भन्छिन्‌, “फ्रान्सेली भाषामा प्रचार गर्दा हाम्रो छोरा रमाउँथ्यो, किनभने त्यो उसको आफ्नै भाषा हो। तर विदेशी भाषामा प्रचार गर्नुपर्दा उसलाई दिक्क लाग्थ्यो।” सर्जे भन्छन्‌, “भाषाको समस्याले गर्दा उसलाई आध्यात्मिक तवरमा अघि बढ्‌न गाह्रो भइरहेको थियो। यो देखेपछि हामीले पहिलेकै मण्डलीमा फर्कने निर्णय गऱ्यौं।”

परमेश्वरको कुरा छोराछोरीको मनसम्म पुगेको छ कि छैन, पक्का गर्नुहोस् (अनुच्छेद १४, १५ हेर्नुहोस्)

१५. (क) आमाबाबुले कस्ता कारणहरूले गर्दा आफ्ना छोराछोरीले सजिलै बुझ्ने भाषाको मण्डलीमा फर्कने निर्णय गर्न सक्छन्‌? (ख) व्यवस्था ६:५-७ ले आमाबाबुलाई कस्तो सल्लाह दिन्छ?

१५ कहिलेकाहीं आमाबाबुले आफ्ना छोराछोरीले सजिलै बुझ्ने भाषाको मण्डलीमा फर्कने निर्णय गर्न सक्छन्‌। त्यस्तो निर्णय गर्नुपछाडि कस्ता कारणहरू हुन सक्छन्‌? पहिलो, आफ्ना छोराछोरीलाई नयाँ भाषा सिकाउनुको साथै तिनीहरूको मनमा यहोवाप्रतिको प्रेम जगाउन आफूसित पर्याप्त समय छ कि छैन, पक्का गर्नुपर्छ। दोस्रो, ईश्वरतान्त्रिक गतिविधिमा वा अहिले सेवा गरिरहेको विदेशी भाषाको इलाकाप्रति आफ्नो छोराछोरीको चासो सेलाइरहेको आमाबाबुले याद गर्न सक्छन्‌। यस्तो अवस्थामा आमाबाबुले आफ्ना छोराछोरीले सजिलै बुझ्ने भाषाको मण्डलीमा फर्कने विचार गर्न सक्छन्‌। अनि यहोवाको सेवा गर्ने सन्दर्भमा छोराछोरी आफैले दृढ अडान लिन सक्ने भएपछि फेरि विदेशी भाषाको मण्डलीमा आउने निर्णय गर्न सक्छन्‌।—व्यवस्था ६:५-७ पढ्‌नुहोस्।

१६, १७. कोही-कोही आमाबाबुले विदेशी भाषाको इलाकामा सेवा गर्दै कसरी आफ्ना छोराछोरीलाई आध्यात्मिक कुराहरू पनि सिकाइरहेका छन्‌?

१६ अर्कोतर्फ, केही आमाबाबुले विदेशी भाषाको मण्डली वा समूहको सभामा गए पनि छोराछोरीलाई आफ्नै भाषामा यहोवाबारे सिकाउने प्रभावकारी तरिकाहरू पाएका छन्‌। चार्ल्सको ९ देखि १३ वर्षबीचका तीन जना छोरी छन्‌। उनीहरू सबै जना लिंगाला भाषाको समूहमा जान्छन्‌। चार्ल्स भन्छन्‌: “हामीले छोरीहरूसित आफ्नै मातृभाषामा अध्ययन र पारिवारिक उपासना गर्ने निर्णय गऱ्यौं। तर उनीहरूलाई नयाँ भाषा सिक्न रमाइलो लागोस् भनेर हामी लिंगाला भाषा अभ्यास गर्ने खेलहरू पनि खेल्छौं।”

नयाँ ठाउँको भाषा सिक्न र त्यहाँका सभाहरूमा भाग लिन प्रयास गर्नुहोस् (अनुच्छेद १६, १७ हेर्नुहोस्)

१७ केभिनका दुइटी छोरी पाँच वर्ष र आठ वर्षका छन्‌। विदेशी भाषाको सभामा हुने सबै कुरा बुझ्न छोरीहरूलाई गाह्रो लाग्छ्‌। त्यसैले तिनले अर्कै एउटा उपाय निकालेका छन्‌। तिनी भन्छन्‌: “हाम्रा छोरीहरूको मातृभाषा फ्रान्सेली हो। त्यसैले म र मेरी पत्नी उनीहरूसित फ्रान्सेली भाषामा छुट्टै अध्ययन गर्छौं। साथै, महिनाको एक चोटि फ्रान्सेली भाषाको सभामा जाने लक्ष्य पनि राखेका छौं। अनि हाम्रै भाषामा हुने अधिवेशनहरूमा जान बिदा पनि मिलाउँछौं।”

१८. (क) छोराछोरीको सर्वोत्तम हित हुने निर्णय गर्न रोमी १५:१, २ मा दिइएको कस्तो सिद्धान्तले तपाईंलाई मदत गर्न सक्छ? (ख) अरू आमाबाबुले कस्ता सुझावहरू दिएका छन्‌? (नोट हेर्नुहोस्)

१८ हुन त, आफ्ना छोराछोरीको आध्यात्मिक स्वास्थ्यको ख्याल राख्न कुन कुरा सबैभन्दा उपयोगी छ भनेर प्रत्येक परिवारले आफै निर्णय गर्नुपर्छ। [२] (गला. ६:५) अनुच्छेद १४ मा उल्लेख गरिएकी म्युरियलले आफू र आफ्नो पतिको इच्छाभन्दा छोराको आध्यात्मिक हितलाई महत्त्व दिएको कुरा बताउँछिन्‌। (रोमी १५:१, २ पढ्‌नुहोस्) अहिले फर्केर हेर्दा सर्जेलाई त्यो निर्णय सही थियो जस्तो लाग्छ। तिनी भन्छन्‌: “फ्रान्सेली भाषा बोल्ने मण्डलीमा फर्केपछि हाम्रो छोराले राम्रो आध्यात्मिक प्रगति गरेर बप्तिस्मा गऱ्यो। अहिले उसले नियमित अग्रगामीको रूपमा सेवा गर्दै छ। अनि विदेशी भाषाको समूहमा फर्केर जाऊँ कि भनेर पनि सोच्दै छ!”

परमेश्वरको वचन तपाईंको मनसम्म पुगोस्

१९, २०. परमेश्वरको वचनप्रतिको प्रेम हामी कसरी देखाउन सक्छौं?

१९ मानिसहरूप्रतिको प्रेमले गर्दा यहोवाले आफ्नो वचन बाइबल सयौं भाषामा उपलब्ध गराउनुभएको छ। किनभने “उहाँ सबै किसिमका मानिसहरूले . . . सत्यको सही ज्ञान लिऊन्‌ भन्ने चाहनुहुन्छ।” (१ तिमो. २:४) मानिसहरूले आफ्नै भाषामा परमेश्वरको वचन पढ्‌न सकेमा मात्र तिनीहरूको आध्यात्मिक आवश्यकता पूरा हुन्छ भनेर उहाँलाई थाह छ।

२० हामी सबैको परिस्थिति फरक-फरक छ। तैपनि गहिरा-गहिरा आध्यात्मिक कुराहरू हाम्रो मनमा भरिरहने सङ्‌कल्प गर्नुपर्छ। आफ्नो मातृभाषामा नियमित रूपमा बाइबल अध्ययन गऱ्यौं भने आफ्नो र आफ्नो परिवारको आध्यात्मिक स्वास्थ्यलाई जोगाइराख्नेछौं। साथै परमेश्वरको वचनलाई साँच्चै मोल गर्छौं भनेर देखाइरहेका हुनेछौं।—भज. ११९:११.

^ [१] (अनुच्छेद ५) नामहरू परिवर्तन गरिएका छन्‌।

^ [२] (अनुच्छेद १८ हेर्नुहोस्) तपाईंको परिवारलाई मदत गर्न सक्ने बाइबल सिद्धान्तहरूबारे प्रहरीधरहरा अक्टोबर १५, २००२ मा छापिएको “प्रवासमा छोराछोरी हुर्काउने चुनौती र इनामहरू” भन्ने लेख हेर्नुहोस्।