अरिमथियाका यूसुफ दृढ अडान लिन्छन्
रोमी राज्यपालसित कुरा गर्न त्यत्रो साहस कहाँबाट आयो भनेर अरिमथियाका यूसुफ आफैलाई थाह थिएन। पन्तियस पिलातस असाध्यै हठी मानिस भनेर चिनिन्थे। तर येशूको शव मर्यादापूर्वक गाड्नको लागि कसै न कसैले त पिलातसकहाँ गएर येशूको शव निकाल्न अनुमति माग्नुपर्ने थियो। पिलातससित कुरा गर्न जति गाह्रो होला भनेर यूसुफले सोचेका थिए, त्यस्तो भएन। येशूको मृत्यु भइसक्यो भनेर सैनिक अफिसरले पक्का गरेपछि पिलातसले यूसुफलाई उहाँको शव निकाल्न अनुमति दिए। येशूको मृत्युले गर्दा अझै पनि निराश यूसुफ येशूलाई मृत्युदण्ड दिइएको ठाउँमा हतार-हतार गए।—मर्कू. १५:४२-४५.
-
अरिमथियाका यूसुफ को थिए?
-
येशूसित तिनको कस्तो सम्बन्ध थियो?
-
तिनको विवरणमा हामीले किन चासो लिनुपर्छ?
यहूदी न्यायपरिषद्को सदस्य
मर्कूसले लेखेको सुसमाचारको पुस्तकमा यूसुफ यहूदी “न्यायपरिषद्का प्रतिष्ठित सदस्य” थिए भनेर बताइएको छ। (मर्कू. १५:१, ४३) यहूदी न्यायपरिषद् भनेको यहूदीहरूको सर्वोच्च अदालत थियो अनि यसले सम्पूर्ण प्रशासकीय जिम्मेवारी सँभाल्थ्यो। यूसुफ आफ्नो इलाकाको एक जना प्रतिष्ठित व्यक्ति थिए। तिनले आफ्नो ओहदाकै कारण रोमी राज्यपालसित कुरा गर्न अनुमति पाएका थिए। तिनी धनी पनि थिए।—मत्ती २७:५७.
के तपाईंसित आफू येशूको चेला भएको कुरा खुलेआम स्विकार्ने साहस छ?
यहूदी न्यायपरिषद् येशूलाई असाध्यै घृणा गर्थ्यो। त्यसका सदस्यहरूले येशूलाई मार्न षड्यन्त्र रचेका थिए। तर यूसुफ भने “भलादमी अनि परमेश्वरको स्तरबमोजिम असल काम गर्ने मानिस थिए।” (लूका २३:५०) तिनी न्यायपरिषद्का अरू सदस्यजस्तो थिएनन्। तिनी इमानदार र असल मानिस थिए अनि परमेश्वरको आज्ञा पालन गर्न सकेजति गर्थे। तिनी “परमेश्वरको राज्यको बाटो हेरिरहेका थिए।” त्यसैले तिनी येशूको चेला बनेका हुन सक्छन्। (मर्कू. १५:४३; मत्ती २७:५७) सत्य र न्यायलाई प्रेम गर्ने भएकोले तिनी येशूको शिक्षाप्रति आकर्षित भएका हुन सक्छन्।
गुप्तमा येशूका चेला बने
यूहन्ना १९:३८ ले बताएअनुसार यूसुफ “यहूदीहरूको डरले गर्दा गुप्तमा येशूका चेला बनेका थिए।” तिनलाई कुन कुराको डर थियो? यहूदीहरू येशूलाई घृणा गर्छन् अनि उहाँमाथि विश्वास गर्नेहरूलाई सभाघरबाट निकाल्न कुनै कसर बाँकी राख्दैनन् भनेर यूसुफलाई थाह थियो। (यूह. ७:४५-४९; ९:२२) सभाघरबाट निष्कासित हुनु भनेको यहूदीहरूको लागि साह्रै अपमानजनक कुरा थियो। सभाघरबाट निकालिएका व्यक्तिलाई मानिसहरू गिल्ला गर्थे अनि उसलाई अन्य जातिका मानिसहरूलाई जस्तो व्यवहार गर्थे। त्यसैले येशूमाथि विश्वास गरेको कुरा खुलेआम प्रकट गर्न यूसुफ डराएका हुन सक्छन्। तिनले विश्वास प्रकट गरेका भए आफ्नो ओहदा अनि मान-प्रतिष्ठा सबै गुमाउनुपर्ने हुन्थ्यो।
त्यस्तो दोधारमा परेका व्यक्ति यूसुफ मात्र थिएनन्। यूहन्ना १२:४२ अनुसार “शासकहरूमध्ये धेरै जनाले [येशूमाथि] विश्वास गर्थे तर सभाघरबाट निष्कासित हुन नपरोस् भनेर फरिसीहरूको डरले गर्दा उहाँलाई खुलेआम स्वीकार्दैनथे।” तिनको जस्तै परिस्थितिमा परेका अर्का व्यक्ति निकोदेमस हुन्। तिनी पनि यहूदी न्यायपरिषद्का सदस्य थिए।—यूह. ३:१-१०; ७:५०-५२.
यूसुफ साँच्चै येशूका चेला थिए, तर तिनले त्यो खुलेआम स्विकार्न सकिरहेका थिएनन्। येशूलाई खुलेआम नस्विकार्ने व्यक्तिले ठूलो मोल चुकाउनुपर्ने थियो किनभने उहाँले यसो भन्नुभएको थियो: “जसले मलाई मानिसहरूसामु स्वीकार्छ, म पनि उसलाई स्वर्गमा बस्नुहुने मेरो बुबासामु स्वीकार्नेछु; तर जसले मलाई मानिसहरूसामु इन्कार गर्छ, म पनि उसलाई स्वर्गमा बस्नुहुने मेरो बुबासामु इन्कार गर्नेछु।” (मत्ती १०:३२, ३३) यूसुफले येशूलाई इन्कार नै गरेका त थिएनन्, तर उहाँलाई स्विकार्न साहस पनि बटुल्न सकिरहेका थिएनन्। तपाईं नि?
यहूदी न्यायपरिषद्ले येशूलाई मार्न षड्यन्त्र रच्दा त्यसमा साथ नदिएर यूसुफले राम्रो काम गरे। (लूका ) कसै-कसैको अनुमानअनुसार यूसुफ येशूको पुर्पक्ष भइरहेको बेला त्यहाँ उपस्थित थिएनन्। जे होस्, येशूमाथि घोर अन्याय भएको देख्दा तिनी पक्कै विचलित थिए। तर त्यस अन्यायलाई रोक्न तिनले गर्न सक्ने कुरा पनि केही थिएन। २३:५१
यूसुफ दोधारमा बसेनन्
येशूको मृत्यु भएको समयसम्ममा यूसुफले आफ्नो डरलाई हटाइसकेका थिए अनि येशूका चेलाहरूलाई साथ दिने निर्णय गरिसकेका थिए। तिनको निर्णयबारे मर्कूस १५:४३ मा यस्तो लेखिएको छ: “तिनले पिलातससामु गएर येशूको शव माग्ने साहस गरे।”
येशूको मृत्यु भएको समयमा यूसुफ सायद त्यहीं थिए। पिलातसले येशूको मृत्युबारे थाह पाउनुअघि नै यूसुफले थाह पाइसकेका थिए। त्यसैले यूसुफले येशूको शव माग्दा “[येशूको] मृत्यु भइसकेको छ कि छैन भनेर जान्न पिलातस उत्सुक” भएका थिए। (मर्कू. १५:४४) येशूले यातनाको खम्बामा पीडा भोगिरहनुभएको देखेकोले गर्दा यूसुफ आफ्नो हृदय जाँच्न र अब उप्रान्त उहाँको पक्षमा खडा हुने निर्णय गर्न उत्प्रेरित भएका हुन् कि? त्यसो भएको हुन सक्छ। जे होस्, यूसुफ अहिले ठोस कदम चाल्न उत्प्रेरित भएका थिए। तिनी अब उप्रान्त गुप्तमा येशूको चेला हुने थिएनन्।
यूसुफ येशूको शव गाड्न लैजान्छन्
यहूदीहरूको नियमअनुसार मृत्युदण्ड दिइएका व्यक्तिहरूलाई सूर्यास्त हुनुअघि नै गाड्नुपर्थ्यो। (व्यव. २१:२२, २३) तर रोमीहरू भने खम्बामा टाँगिएका अपराधीहरूको शवलाई या त त्यत्तिकै कुहिन छोडिदिन्थे या त चिहानमा लगेर गाडिदिन्थे। येशूलाई पनि त्यस्तै गरिएको यूसुफ पक्कै चाहँदैनथे। येशूलाई मृत्युदण्ड दिइएको ठाउँनजिकै तिनले चट्टान खोपेर बनाइएको चिहान किनेका थिए। त्यसअघि त्यो चिहानमा कसैको शव राखिएको थिएन। यसबाट के देखिन्छ भने सायद यूसुफ भर्खरै अरिमथियाबाट * यरूशलेममा सरेका थिए अनि आफ्नो परिवारको लागि भनेर त्यो चिहान किनेका थिए। (लूका २३:५३; यूह. १९:४१) पछि आफ्नै शव गाड्नको लागि किनेको चिहानमा तिनले येशूको शव गाड्न लगे। यसबाट तिनको उदारता देखिनुका साथै मसीह “धनी”-सित गाडिनेछन् भन्ने बाइबलको भविष्यवाणी पनि पूरा भयो।—यशै. ५३:५, ८, ९.
के तपाईं यहोवासितको सम्बन्धलाई भन्दा अरू नै कुरालाई धेरै महत्त्व दिनुहुन्छ?
खम्बाबाट येशूको शव निकालेपछि यूसुफले उहाँको शवलाई सफा मलमलको कपडाले बेह्रे अनि चट्टान खोपेर बनाइएको नयाँ चिहानमा राखे। यो विवरण सुसमाचारको चारैवटा पुस्तकमा पाउन सकिन्छ। (मत्ती २७:५९-६१; मर्कू. १५:४६, ४७; लूका २३:५३, ५५; यूह. १९:३८-४०) तिनलाई मदत गर्नेहरूमध्ये नामै उल्लेख गरिएका एक मात्र व्यक्ति निकोदेमस हुन्। निकोदेमस अनि यूसुफको ओहदा र मान-प्रतिष्ठा विचार गर्ने हो भने तिनीहरूले नै येशूको शवलाई खम्बाबाट निकाल्ने अनि गाड्ने जस्ता सबै काम गरेको नहुन सक्छ। तिनीहरूले त्यो काम गर्न आफ्ना सेवकहरूलाई अह्राएका हुन सक्छन्। तर जे होस्, ती दुईले जे गरे, त्यसले गर्दा तिनीहरूले गाह्रो अवस्था भोग्नुपर्ने हुन सक्थ्यो। व्यवस्थाअनुसार लास छुने मानिस सात दिनका लागि अशुद्ध हुन्थ्यो अनि उसले छुने जुनसुकै कुरा पनि अशुद्ध हुन्थ्यो। (गन्ती १९:११; हाग्गै २:१३) यसले गर्दा तिनीहरू निस्तार चाड मनाउने हप्ताभरि अरूहरूदेखि अलग्गै बस्नुपर्थ्यो। (गन्ती ९:६) यूसुफले येशूको शवलाई गाड्ने बन्दोबस्त मिलाउँदा न्यायपरिषद्का अन्य सदस्यहरू तिनीदेखि टाढिन सक्थे। तर जस्तोसुकै अवस्था आइपरे पनि अब भने यूसुफ मर्यादापूर्वक येशूको शव गाड्न र खुलेआम उहाँको चेला बन्न तयार थिए।
यूसुफलाई पछि के भयो?
येशूलाई गाड्दाखेरिको विवरणमा बाहेक बाइबलमा अन्त कतै अरमथियाका यूसुफबारे उल्लेख गरिएको छैन। त्यसैले प्रश्न उठ्छ: तिनलाई पछि के भयो त? त्यसबारे हामीलाई थाह छैन। तर माथिका विवरणहरू विचार गर्ने हो भने तिनले आफू ख्रीष्टको चेला भएको कुरा खुलेआम स्विकारेको हुनुपर्छ भन्ने कुरामा चाहिं हामी विश्वस्त हुन सक्छौं। किनभने येशूको मृत्युको त्यो कठिन घडीमा तिनको विश्वास अनि साहस झन्झन् बढिरहेको थियो।
तिनको विवरण विचार गर्दा हामी आफैलाई यो प्रश्न सोध्न उत्प्रेरित हुन्छौं: “म कुन कुरालाई धेरै महत्त्व दिन्छु, यहोवासितको सम्बन्धलाई कि आफ्नो ओहदा, करिअर, धनसम्पत्ति, परिवारप्रतिको मोह वा स्वतन्त्रतालाई?”
^ अनु. 18 अरिमथिया सम्भवतः रामा सहर (अहिलेको रान्टिस) हुन सक्छ। रामामा भविष्यवक्ता शमूएलको घर थियो। अनि रामा सहर यरूशलेमबाट झन्डै ३५ किलोमिटर उत्तर-पश्चिमतिर पर्थ्यो।—१ शमू. १:१९, २०.