सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“कामद्वारा साँचो प्रेम गरौं”

“कामद्वारा साँचो प्रेम गरौं”

“हामी वचन र मुखले होइन तर कामद्वारा साँचो प्रेम गरौं।”—१ यूह. ३:१८.

गीत: ७२, १२४

१. सबैभन्दा उत्तम किसिमको प्रेम कुन हो? किन? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)

सही सिद्धान्तमा आधारित प्रेम (अगापे) यहोवाले दिनुभएको उपहार हो। उहाँ नै यसको स्रोत हुनुहुन्छ। (१ यूह. ४:७) यो सबैभन्दा उत्तम किसिमको प्रेम हो। यसमा स्नेह र न्यानो भावना मुछिएको हुन्छ। यस्तो प्रेमले अरूको हित हुने निःस्वार्थ व्यवहार गर्न उत्प्रेरित गर्छ। एउटा किताबले बताएअनुसार अगापे प्रेमलाई “चिन्ने एक मात्र तरिका भनेको त्यसको कामद्वारा हो।” हामीले यस्तो निःस्वार्थ प्रेम देखाउँदा वा अरूले हामीलाई यस्तो प्रेम देखाउँदा हाम्रो जीवन अर्थपूर्ण हुन्छ र हामी आनन्दित हुन सक्छौं।

२, ३. यहोवाले मानिसहरूलाई निःस्वार्थ प्रेम गरेको कसरी देखाउनुभएको छ?

मानिसहरूलाई प्रेम गरेको कुरा यहोवाले आदम र हव्वा सृष्टि गर्नुअघि नै देखाइसक्नुभएको थियो। मानिसहरू सधैंभरि बस्नको लागि उहाँले पृथ्वी सृष्टि गर्नुभयो। मानिसहरू केवल बाँचेको होइन तर जीवनको पुरापुर आनन्द उठाएको उहाँ चाहनुहुन्थ्यो। पृथ्वी सृष्टि गर्नुमा उहाँको कुनै स्वार्थ लुकेको छैन, उहाँले यो हाम्रै फाइदाको लागि बनाउनुभयो। साथै उहाँले आफ्ना सन्तानहरूलाई प्रमोदवनरूपी पृथ्वीमा सधैंभरि बाँच्ने आशा दिनुभयो। यसमा पनि उहाँको निःस्वार्थ प्रेम देखिन्छ।

पछि आदम र हव्वाले विद्रोह गरे। तब यहोवाले आफ्नो निःस्वार्थ प्रेम अझ महान्‌ तरिकामा प्रकट गर्नुभयो। उहाँले आदम र हव्वाका सन्तानहरूका लागि फिरौतीको बलिदानको प्रबन्ध गरिदिनुभयो। किनभने तिनीहरूका सन्तानमध्ये कसै-कसैले उहाँलाई प्रेम गर्नेछन्‌ भनेर उहाँ ढुक्क हुनुहुन्थ्यो। (उत्प. ३:१५; १ यूह. ४:१०) भनौं भने, उहाँले भविष्यमा आउने उद्धारकर्ताबारे प्रतिज्ञा गर्नुभएको बेला नै त्यो फिरौतीको बलिदान चढाइसके सरह ठान्नुभयो। लगभग ४ हजार वर्ष पछि यहोवाले मानिसजातिको लागि आफ्नो एक मात्र छोराको बलिदान दिनुभएर ठूलो त्याग गर्नुभयो। (यूह. ३:१६) यस्तो निःस्वार्थ प्रेम देखाउनुभएकोमा हामी यहोवाप्रति कत्ति कृतज्ञ छौं!

४. त्रुटिपूर्ण मानिसहरूले निःस्वार्थ प्रेम देखाउन सक्छन्‌ भनेर किन भन्न सक्छौं?

हामी परमेश्वरको स्वरूपमा सृष्टि गरिएकोले उहाँले जस्तै निःस्वार्थ प्रेम देखाउन सक्छौं। हुन त जन्मजात पापी भएकोले हामीलाई यस्तो प्रेम देखाउन गाह्रो हुन्छ। तैपनि हामीसित यस्तो प्रेम देखाउने क्षमता अझै छ। हाबिलले आफूसित भएकामध्ये सबैभन्दा उत्तम कुरा चढाउन कुनै कन्जुस्याइँ नगरेर परमेश्वरप्रति प्रेम देखाए। (उत्प. ४:३, ४) नूहले पनि यस्तै निःस्वार्थ प्रेम देखाए। मानिसहरूले कुनै चासो नदेखाए तापनि तिनले वर्षौंसम्म उनीहरूलाई परमेश्वरको सन्देश सुनाइरहे। (२ पत्रु. २:५) आफ्नो छोरा इसहाकलाई बलिदान दिन आज्ञा दिइँदा अब्राहामले आफ्ना भावनाहरूलाई भन्दा परमेश्वरप्रतिको प्रेमलाई पहिलो स्थान दिएर निःस्वार्थ प्रेम देखाए। (याकू. २:२१) यी वफादार पुरुषहरूले जस्तै गाह्रो अवस्थामा समेत हामी प्रेम देखाउन चाहन्छौं।

साँचो प्रेम र नक्कली प्रेमबीचको भिन्नता

५. हामी कुन-कुन तरिकामा साँचो प्रेम देखाउन सक्छौं?

हामी “वचन र मुखले होइन तर कामद्वारा” साँचो प्रेम देखाउँछौं भनी बाइबल बताउँछ। (१ यूह. ३:१८) के यसको मतलब हामी आफ्नो बोलीद्वारा प्रेम देखाउन सक्दैनौं भनेको हो? त्यसो त पटक्कै होइन! (१ थिस्स. ४:१८) तर कामद्वारा नै प्रेम देखाउनुपर्ने अवस्थाहरूमा भने हाम्रो प्रेम बोलीमा मात्र सीमित हुनुहुँदैन। उदाहरणको लागि, हाम्रा सङ्‌गी भाइबहिनीलाई जीवन धान्न आधारभूत कुराहरूको खाँचो पर्दा दयालु वचन बोलेर मात्र पुग्दैन। (याकू. २:१५, १६) त्यसैगरि यहोवा र छिमेकीप्रतिको प्रेमले हामीलाई ‘फसलका लागि खेतालाहरू पठाइदिन’ आग्रह गर्न मात्र नभई आफू पनि प्रचारकार्यमा सक्दो भाग लिन उत्प्रेरित गर्छ।—मत्ती ९:३८.

६, ७. (क) “निष्कपट प्रेम” के हो? (ख) नक्कली प्रेमका केही उदाहरण बताउनुहोस्।

हामीले “कामद्वारा साँचो प्रेम” देखाउनुपर्छ भनेर प्रेषित यूहन्नाले बताए। त्यसैले हाम्रो प्रेम “कपटरहित” अर्थात्‌ “निष्कपट” हुनुपर्छ। (रोमी १२:९; २ कोरि. ६:६) यसको मतलब हामी मुकुन्डो लगाएको मानिसजस्तो साँचो प्रेम गरेको ढोंग गर्न सक्दैनौं। हामीलाई यस्तो लाग्न सक्छ, ‘कपटी प्रेम भन्ने कुरा हुन्छ र?’ वास्तवमा भन्ने हो भने हुँदैन। त्यस्तो प्रेम त प्रेम नै होइन, केवल ढोंग मात्र हो।

नक्कली प्रेमका केही उदाहरण विचार गर्नुहोस्। अदनको बगैंचामा सैतानले हव्वाको भलो चिताएको जस्तो देखायो। तर वास्तवमा त्यसको व्यवहार स्वार्थी र कपटी थियो। (उत्प. ३:४, ५) अहीतोपेलको उदाहरण विचार गरौं। उनी राजा दाऊदको मित्र थिए तर पछि आफ्नो फाइदा हुन सक्ने कुरा थाह पाउँदा उनले राजालाई धोका दिए। (२ शमू. १५:३१) त्यसरी नै आज पनि धर्मत्यागीहरू र मण्डलीमा फूट गराउने मानिसहरू “चिप्ला कुराहरू गरेर अनि फुरुक्क पार्ने बोलीद्वारा” आफू मायालु भएको ढोंग गर्छन्‌। तर वास्तवमा तिनीहरूको मनमा स्वार्थ लुकेको हुन्छ।—रोमी १६:१७, १८.

८. हामीले आफूलाई कस्तो प्रश्न सोध्नु बेस हो?

कपटी प्रेम गर्नु भनेको लाजमर्दो कुरा हो। किनभने यस्तो प्रेम परमेश्वरलाई मन पर्ने आत्मत्यागी प्रेमको ठिक विपरीत हो। ढोंगी अर्थात्‌ कपटी व्यवहार गरेर मानिसहरूलाई त झुक्क्याउन सकिएला तर यहोवालाई भने सकिंदैन। कपटी व्यवहार गर्नेहरूले “असाध्यै कठोर दण्ड” भोग्नेछन्‌ भनेर येशूले बताउनुभयो। (मत्ती २४:५१) हामी यहोवाका सेवकहरू यस्तो कपटी प्रेम कहिल्यै देखाउन चाहँदैनौं। तर हामीले आफूलाई यो प्रश्न सोध्नु बेस हो, ‘के म सधैं साँचो प्रेम देखाउँछु वा कतै मेरो प्रेममा स्वार्थ वा छलकपट पो लुकेको छ कि?’ आउनुहोस्, “निष्कपट प्रेम” देखाउने नौ वटा तरिका विचार गरौं।

“कामद्वारा साँचो प्रेम” कसरी देखाउन सक्छौं?

९. साँचो प्रेमले हामीलाई के गर्न उत्प्रेरित गर्छ?

कसैले नदेखे तापनि खुसीसाथ असल काम गर्नुहोस्। सम्भव छ भने, आफ्ना दाजुभाइ दिदीबहिनीको लागि “गुप्तमा” अर्थात्‌ अरूले नदेख्ने गरी दयालु काम गरिदिन हामी इच्छुक हुनुपर्छ। (मत्ती ६:१-४ पढ्‌नुहोस्) हननिया र सफीराले भने त्यसो गरेनन्‌। उनीहरू आफूले अनुदान दिएको कुरा सबैले थाह पाओस् भन्ने चाहन्थे। त्यति मात्र होइन, आफूले दिएको अनुदानबारे उनीहरूले बढाइचढाइ कुरा गरे। यस्तो ढोंगी व्यवहार गरेकोले उनीहरूले ठूलो मोल चुकाउनुपऱ्यो। (प्रेषि. ५:१-१०) अर्कोतर्फ, साँचो प्रेमले हामीलाई तामझाम गरेर मानिसहरूको वाहवाही पाउन नभई भाइबहिनीको सेवा गर्न पाउँदा रमाउन उत्प्रेरित गर्छ। उदाहरणको लागि, आध्यात्मिक भोजन तयार गर्न परिचालक निकायलाई सघाउने भाइहरूले मानिसहरूको ध्यान आफूतिर खिंच्दैनन्‌। अनि आफूले कुन-कुन प्रकाशन तयार पार्न मदत गरेका थिए भनेर कसैलाई बताउँदैनन्‌।

१०. अरूको आदर गर्नमा कसरी अगुवाइ लिन सक्छौं?

१० एक-अर्काको आदर गर्नमा अगुवाइ लिनुहोस्। (रोमी १२:१० पढ्‌नुहोस्) मानिसहरूको नजरमा तुच्छ ठानिने काम गरेर येशूले अरूको आदर गर्ने सन्दर्भमा राम्रो उदाहरण बसाल्नुभयो। (यूह. १३:३-५, १२-१५) अरूलाई आदर देखाउन हामी येशूजस्तै नम्र हुनुपर्छ। त्यसो गर्न हामीले कडा प्रयास गर्नुपर्ने हुन सक्छ। प्रेषितहरूले पनि पवित्र शक्ति पाएपछि मात्र येशूको उदाहरण कसरी अनुकरण गर्ने भनेर राम्ररी बुझेका थिए। (यूह. १३:७) आफ्नो पढाइ, धनसम्पत्ति वा यहोवाको सेवामा पाएका सुअवसरहरूले गर्दा आफूलाई बढ्‌तै महत्त्वपूर्ण नठानेर हामी अरूको आदर गर्न सक्छौं। (रोमी १२:३) कसैले अरूको प्रशंसा गर्दा हामी उनीहरूको डाह गर्दैनौं; आफू पनि उत्तिकै आदर वा श्रेय पाउन योग्य भएजस्तो लागे तापनि हामी उनीहरूसँगै रमाउनेछौं।

११. हामीले किन साँचो मनले तारिफ गर्नुपर्छ?

११ साँचो मनले भाइबहिनीको तारिफ गर्नुहोस्। हामीले भाइबहिनीको तारिफ गर्ने मौका खोज्नुपर्छ किनभने तारिफ गर्दा “अरूको उत्थान” हुन्छ। (एफि. ४:२९) तर हामी होसियार हुनुपर्छ, अन्यथा हामीले अरूलाई फुर्काइरहेका वा सल्लाह दिनुपर्ने ठाउँमा पनि सल्लाह नदिइरहेका हुन सक्छौं। (हितो. २९:५) कसैको तारिफ गर्नु तर पछाडि भने तिनको कुरा काट्‌नु कपटी व्यवहार हो। त्यस्तो व्यवहार नगर्न प्रेषित पावल सजग थिए। तिनले साँचो मनले तारिफ गरेर निष्कपट प्रेम देखाउने सन्दर्भमा राम्रो उदाहरण बसाले। उदाहरणको लागि, कोरिन्थका ख्रीष्टियनहरूले गरेको राम्रो कामको लागि पावलले साँचो मनले तारिफ गरे। (१ कोरि. ११:२) तर तिनीहरूले तारिफ पाउन लायकको काम नगरेको अवस्थामा तिनले तारिफ गरेनन्‌। बरु दयालु अनि स्पष्ट तरिकामा त्यसको कारण बताइदिए।—१ कोरि. ११:२०-२२.

खाँचोमा परेका भाइबहिनीलाई दिंदा उनीहरूलाई प्रेम र अतिथिसत्कार गरेको देखाउन सक्छौं (अनुच्छेद १२ हेर्नुहोस्)

१२. अतिथिसत्कार गर्दा हामी कसरी साँचो प्रेम देखाउन सक्छौं?

१२ अतिथिसत्कार गर्नुहोस्। यहोवाले हामीलाई भाइबहिनीप्रति उदार हुन आज्ञा दिनुभएको छ। (१ यूहन्ना ३:१७ पढ्‌नुहोस्) तर हामीले उचित मनसायले अनि निःस्वार्थ भई अरूको अतिथिसत्कार गर्नुपर्छ। हामी आफूलाई यस्ता प्रश्न सोध्न सक्छौं: ‘के म नजिकका साथीहरू, प्रभावशाली व्यक्तिहरू वा पछि आफ्नो लागि पनि केही गरिदिन सक्ने व्यक्तिहरूको मात्र अतिथिसत्कार गर्छु? अथवा के म आफूले राम्ररी नचिनेको वा आफूलाई केही दिन नसक्ने भाइबहिनीहरूप्रति उदार हुने मौका खोज्छु?’ (लूका १४:१२-१४) मानौं, कुनै भाइ वा बहिनी आफूले गरेको गलत निर्णयले गर्दा खाँचोमा परे। वा कसैले हामीले अतिथिसत्कार गर्दा धन्यवाद दिएनन्‌। यस्ता अवस्थामा हामीले यो सल्लाह लागू गर्नुपर्छ: “गनगन नगरी एक-अर्काको अतिथि-सत्कार गर।” (१ पत्रु. ४:९) यो सल्लाह पालन गर्नुभयो भने उचित मनसायले दिंदा पाइने आनन्द तपाईंले अनुभव गर्नुहुनेछ।—प्रेषि. २०:३५.

१३. (क) हामीले कस्ता व्यक्तिहरूलाई अझ धीरजी भई मदत गर्नुपर्छ? (ख) कमजोरहरूलाई कस्ता व्यावहारिक मदत दिन सक्छौं?

१३ कमजोरहरूलाई मदत गर्नुहोस्। बाइबल हामीलाई यस्तो आज्ञा दिन्छ: “जो कमजोर छन्‌, तिनीहरूलाई मदत गर अनि सबैसित धीरजी होओ।” (१ थिस्स. ५:१४) यो आज्ञा पालन गरिरहेका छौं भने मात्र हामीले साँचो प्रेम देखाइरहेका हुन्छौं। हुन त आध्यात्मिक रूपमा कमजोर व्यक्तिहरू पछि विश्वासमा बलिया हुन्छन्‌। तर कोही-कोही भने त्यसो हुँदैनन्‌। हामीले उनीहरूलाई अझ धीरजी हुँदै निरन्तर मदत गरिरहनुपर्छ। उनीहरूलाई बाइबलबाट केही उत्थानदायी कुरा बताएर, सँगै प्रचारमा जान निम्तो दिएर वा उनीहरूको कुरा सुन्न समय निकालेर हामी मदत गर्न सक्छौं। साथै कुनै भाइ वा बहिनीलाई ‘ऊ बलियो, ऊ कमजोर’ भनेर छुट्टयाउनुको सट्टा सबैसित राम्रा पक्षहरू पनि हुन्छन्‌ अनि कमीकमजोरी पनि हुन्छन्‌ भनेर हामीले बुझ्नुपर्छ। प्रेषित पावलले पनि आफ्ना कमजोरीहरू स्विकारेका थिए। (२ कोरि. १२:९, १०) हो, हामीलाई मण्डलीका सबै भाइबहिनीको मदत चाहिन्छ।

१४. भाइबहिनीसँग शान्ति कायम गर्न हामी कुन हदसम्म तयार हुनुपर्छ?

१४ शान्ति कायम गर्नुहोस्। आफूबारे गलतफहमी भएको वा आफूमाथि अन्याय भएको जस्तो लागे तापनि हामी भाइबहिनीसँग शान्ति कायम गर्न सक्दो प्रयास गर्छौं। (रोमी १२:१७, १८ पढ्‌नुहोस्) कसैको चित्त दुखाएका छौं भने मनैदेखि क्षमा माग्दा शान्ति कायम गर्न सक्छौं। जस्तै, “तपाईंले चित्त दुखाउनुभएछ, मलाई माफ गर्नुहोस्!” भन्नुको साटो आफ्नो दोष स्विकार्दै “मैले तपाईंको चित्त दुखाएँ, मलाई माफ गर्नुहोस्” भन्न सक्छौं। वैवाहिक सम्बन्धमा त शान्ति कायम गर्नु झनै आवश्यक छ। पति-पत्नीले अरूको अगाडि एक-अर्कालाई माया गरेको जस्तो देखाउने तर दुई जना मात्र हुँदा भने एक-अर्कासँग कुरा नगर्ने, रुखो बोली बोल्ने वा शारीरिक दुर्व्यवहार गर्ने गर्नु हुँदैन।

१५. खुला मनले क्षमा गरेको हामी कसरी देखाउन सक्छौं?

१५ खुला मनले क्षमा गर्नुहोस्। कसैले हाम्रो चित्त दुखाउँदा तिनलाई क्षमा दिनुपर्छ अनि तिनीप्रति कुनै द्वेषको भावना राख्नु हुँदैन। कसै-कसैले भने अनजानमा हाम्रो चित्त दुखाइरहेका हुन सक्छन्‌। यस्तो अवस्थामा पनि “एक-अर्कालाई सहेर अनि शान्तिको बन्धनमा बाँधिएर पवित्र शक्तिद्वारा पाइने एकतामा रहन उत्कट प्रयास” गऱ्यौं भने खुला मनले क्षमा दिन सक्नेछौं। (एफि. ४:२, ३) मनमा कुनै द्वेष नराखी क्षमा दिन हामीले आफ्ना सोचाइलाई वशमा राख्नु जरुरी छ। किनभने प्रेमले “खराबीको हिसाब राख्दैन।” (१ कोरि. १३:४, ५) यदि हामी मनमा रिस वा इबी पालिराख्छौं भने हाम्रो चित्त दुखाउने भाइ वा बहिनीसित मात्र नभई यहोवासितको सम्बन्ध पनि सदाको लागि बिग्रन सक्ने खतरा हुन्छ। (मत्ती ६:१४, १५) हामीविरुद्ध पाप गर्नेहरूका लागि प्रार्थना गरेर पनि हामी खुला मनले क्षमा गरेको देखाउन सक्छौं।—लूका ६:२७, २८.

१६. यहोवाको सेवामा पाएका सुअवसरहरूलाई हामीले कसरी हेर्नुपर्छ?

१६ आफ्नो फाइदा नखोज्नुहोस्। यहोवाको सेवामा सुअवसरहरू पाउँदा यसलाई “आफ्नो होइन तर अर्को मानिसको फाइदा खोज्ने” मौकाको रूपमा लिनुहोस् र साँचो प्रेम प्रकट गर्नुहोस्। (१ कोरि. १०:२४) उदाहरणको लागि, हाम्रा सम्मेलन र अधिवेशनमा परिचारक भाइहरू अरू मानिसभन्दा पहिल्यै भवनभित्र पस्न पाउँछन्‌। तिनीहरू यसलाई आफू र आफ्नो परिवारको लागि राम्रो सिट रोक्ने मौकाको रूपमा लिंदैनन्‌। बरु ती भाइहरू आफूलाई खटाइएको ठाउँमा त्यति सुविधा नहुने सिटहरूमा बस्न पनि राजी हुन्छन्‌। यसरी आफ्नो फाइदा नखोजेर ती भाइहरू निःस्वार्थ प्रेम देखाउँछन्‌। तिनीहरूको राम्रो उदाहरण तपाईं कसरी अनुकरण गर्न सक्नुहुन्छ?

१७. गम्भीर पाप गरेको व्यक्तिलाई साँचो प्रेमले के गर्न झकझक्याउँछ?

१७ गोप्य पापहरू स्विकार्नुहोस् र ती त्याग्नुहोस्। लाजमा परिएला वा अरू निराश होलान्‌ भनेर कोही-कोही आफूले गरेका गम्भीर पापहरू लुकाउन खोज्छन्‌। (हितो. २८:१३) तर यसो गर्नु मायालु कुरा होइन किनभने यसले पाप गर्ने व्यक्तिलाई मात्र नभई अरूलाई पनि हानि पुऱ्याउँछ। यसले परमेश्वरको पवित्र शक्तिको कामलाई बाधा पुऱ्याउँछ र पूरै मण्डलीको शान्तिलाई खल्बल्याउँछ। (एफि. ४:३०) गम्भीर पाप गर्दा एल्डरहरूसमक्ष आफ्नो गल्ती स्विकार्न साँचो प्रेमले ख्रीष्टियनहरूलाई झकझक्याउँछ। यसरी गल्ती स्विकार्दा एल्डरहरूले आवश्यक मदत दिन सक्छन्‌।—याकू. ५:१४, १५.

१८. साँचो प्रेम कत्तिको महत्त्वपूर्ण छ?

१८ विभिन्न गुणमध्ये सर्वोत्तम चाहिं प्रेम हो। (१ कोरि. १३:१३) यसले हामीलाई येशूका चेलाहरू र प्रेमको स्रोत यहोवाको अनुकरण गर्ने व्यक्तिहरूको रूपमा चिनाउँछ। (एफि. ५:१, २) पावलले यसो भने, “यदि मसित . . . प्रेमचाहिं छैन भने म केही पनि होइन।” (१ कोरि. १३:२) त्यसैले ‘वचनले’ मात्र होइन, “कामद्वारा साँचो प्रेम” गरिरहौं!