सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जीवनी

यहोवाले मेरो निर्णयमा आशिष्‌ बर्साउनुभयो

यहोवाले मेरो निर्णयमा आशिष्‌ बर्साउनुभयो

हामीलाई खटाइएको इलाकाका अन्तिम केही घरहरूको ढोकामुनि पर्चाहरू छिराउँदा बिहान उज्यालो हुनै लागिसकेको थियो। त्यो सन्‌ १९३९ को घटना हो। त्यतिबेला हामी मध्यरातमा उठेर एक घण्टाभन्दा बढी गाडीमा यात्रा गरेर अमेरिकाको मिसोरी राज्यको दक्षिणपश्‍चिम इलाकामा पर्ने सानो सहर जोप्लिन गएका थियौँ। सहरका मानिसहरू कसैले थाह नपाउनेगरि आफ्नो काम पूरा गरेपछि हामी गाडीमा छिऱ्‍यौँ र अरू गाडीमा आएका भाइबहिनीलाई पर्ख्यौँ। तर बिहान घाम झुल्किनुअघि नै प्रचारकार्य थालेर छिटोछिटो इलाकाबाट किन निस्केको जस्तो तपाईँलाई लागिरहेको होला। त्यसबारे म तपाईँलाई पछि बताउँछु।

मेरो जन्म १९३४ मा भयो। म जन्मिने बेला मेरो बुबाआमा फ्रेड र एड्‌ना मोलोहन सक्रिय बाइबल स्टुडेन्टस्‌ (यहोवाका साक्षीहरू) हुनुभएको २० वर्ष भइसकेको थियो। उहाँहरूले मलाई यहोवालाई प्रेम गर्न सिकाउनुभयो। उहाँहरूको त्यस्तो प्रयासको लागि म असाध्यै कृतज्ञ छु। हामी क्यान्सस्‌ राज्यको दक्षिणपूर्वी इलाकामा पर्ने सानो सहर पार्सन्स्‌मा बस्थ्यौँ। अनि हाम्रो मण्डलीका प्रायजसो सबै सदस्य अभिषिक्‍त ख्रिष्टियनहरू हुनुहुन्थ्यो। हाम्रो पूरै परिवार मण्डलीका सभाहरूमा नियमित उपस्थित हुन्थ्यौँ अनि परमेश्‍वरको वचनमा पाइने सत्यबारे अरूलाई प्रचार गर्थ्यौँ। शनिबार दिउँसो प्रायजसो सडक साक्षीकार्यमा भाग लिन्थ्यौँ, जसलाई अहिले सार्वजनिक साक्षीकार्य भनिन्छ। कहिलेकाहीँ भने हामीलाई थकाइ लाग्थ्यो तर प्रचारकार्य सकिएपछि बुबाले हामीलाई सधैँ आइसक्रिम किनिदिनुहुन्थ्यो।

हाम्रो सानो मण्डलीले प्रचार गर्नुपर्ने इलाका ठूलो थियो। हाम्रो इलाकामा ससाना सहर र थुप्रै खेतहरू पर्थ्यो। हामीले प्रकाशनहरू दिएबापत्‌ त्यहाँका किसानहरूले हामीलाई आफ्नै बारीको तरकारी, ताजा अण्डा (कुखुराको खोरबाटै निकालेको) अनि कहिलेकाहीँ त जिउँदो कुखुरा पनि दिन्थे। हामीले दिएका प्रकाशनहरूको लागि बुबाले पहिल्यै अनुदान दिइसक्नुभएको हुँदा हामी ती खानेकुरा आफै खान्थ्यौँ।

साक्षी अभियानहरू

मेरो बुबाआमाले प्रचारकार्यमा प्रयोग गर्न एउटा फोनोग्राफ लिनुभएको थियो। म सानो भएकोले त्यो चलाउन जान्दिनथेँ। तर बुबाआमाले पुनःभेट र बाइबल अध्ययनहरूमा भाइ रदरफोर्डका भाषणहरू बजाउनुहुँदा उहाँहरूलाई मदत गर्न रमाइलो लाग्थ्यो।

हाम्रो साउन्ड कारको अगाडि बुबा र आमासित

हामीसित १९३६ मोडेलको फोर्ड गाडी थियो। बुबाले गाडीको छतमा ठूलो स्पिकर जडान गर्नुभयो र त्यसलाई हामी साउन्ड कारको रूपमा चलाउँथ्यौँ। परमेश्‍वरको राज्यको सुसमाचार फैलाउन यो गाडी एकदमै प्रभावकारी साबित भयो। मानिसहरूको ध्यान खिच्न हामी प्रायजसो सुरुमा केही सङ्‌गीत बजाउँथ्यौँ। त्यसपछि भने बाइबलमा आधारित एउटा भाषण बजाउँथ्यौँ। भाषण सिद्धिएपछि चासो देखाउने मानिसहरूलाई प्रकाशनहरू दिन्थ्यौँ।

क्यान्सस्‌को सानो सहर चेरीभेलको पार्कमा आइतबारको दिन धेरै मानिस आराम गरिरहेका हुन्थे। त्यहाँका प्रहरीले पार्कभित्र गाडी लैजान पाइँदैन भनेर बुबालाई भने। तर पार्कबाहिर भने राख्न मिल्थ्यो। बुबाले प्रहरीको कुरा मान्‍नुभयो र नजिकैको सडकमा गाडीलाई पार्कतिर फर्काएर राख्नुभयो। त्यहाँबाट पनि मानिसहरूले सजिलै सुन्‍न सक्थे। त्यसैले बुबाले पार्कबाहिरबाटै भाषणहरू बजाउनुहुन्थ्यो। यसरी बुबा र जेरी दाइसित साक्षी अभियानहरूमा जान मलाई साह्रै रमाइलो लाग्थ्यो।

हाम्रो प्रचारकार्यको चर्को विरोध गरिने इलाकाहरूमा १९३० को दशकको अन्ततिर छिटोछिटो प्रचार गर्ने विशेष अभियानहरू गऱ्‍यौँ। हामी बिहान उज्यालो हुनुअघि नै उठ्‌थ्यौँ (मिसोरीको जप्लिनमा जस्तै) अनि कसैले चाल नपाउने गरी मानिसहरूको ढोकामुनि पर्चा वा पुस्तिकाहरू छिराउँथ्यौँ। त्यसपछि कसैलाई प्रहरीले पक्रे नपक्रेको पक्का गर्न सबैलाई सहरबाहिर भेट्‌थ्यौँ।

ती वर्षहरूको दौडान प्रचारकार्यको एउटा रमाइलो पक्ष भनेको प्लेकार्ड बोकेर गरिने पदयात्रा थियो। परमेश्‍वरको राज्यको विज्ञापन गर्न हामी प्लेकार्ड बोक्थ्यौँ र लाइन लागेर सहरमा हिँड्‌थ्यौँ। त्यस्तै एउटा पदयात्राको बेला हाम्रो सहरमा भाइबहिनीहरूले “धर्म एउटा पासो र फन्दा हो” भन्‍ने प्लेकार्ड बोकेर हिँड्‌नुभएको मलाई याद छ। उहाँहरू १.६ किलोमिटरजति हिँड्‌नुभयो र पछि हाम्रो घरमा आउनुभयो। धन्‍न! त्यतिबेला कसैले विरोध गरेन बरु थुप्रै मानिसहरू हाम्रो कुरा बुझ्न उत्सुक थिए।

म सानो छँदाका अधिवेशनहरू

अधिवेशनहरू जान हामी अक्सर क्यान्सस्‌देखि टेक्सससम्म यात्रा गर्थ्यौँ। बुबा मिसोरी-क्यान्सस्‌-टेक्सस आवतजावत गर्ने रेल कम्पनीमा जागिर खानुहुन्थ्यो। त्यसैले उहाँको कर्मचारी पास चलाएर हामी अधिवेशन जान्थ्यौँ र आफन्तहरू पनि भेट्‌न पाउँथ्यौँ। मेरो ठूलो मामा फ्रेड विस्मार र युलाली माइजू टेक्ससको टेम्पलमा बस्नुहुन्थ्यो। फ्रेड मामाले जवान छँदै सन्‌ १९०० को दशकको सुरुतिर सत्य सिक्नुभयो र बप्तिस्मा गर्नुभयो। अनि आफूले सिकेको कुरा आफ्ना दाजुभाइ दिदीबहिनी सबैलाई सुनाउनुभयो। यसरी आमाले पनि सत्य कुरा सिक्नुभयो। टेक्ससको मध्य इलाकाका धेरैजसो भाइबहिनीले फ्रेड मामालाई चिन्थे। त्यो इलाकामा उहाँले एक चोटि प्रान्तीय सेवकको (अहिले क्षेत्रीय निरीक्षक भनिन्छ) रूपमा पनि सेवा गर्नुभएको थियो। उहाँ दयालु र आनन्दित मानिस हुनुहुन्थ्यो, उहाँसित समय बिताउँदा सधैँ रमाइलो हुन्थ्यो। उहाँ सत्यको लागि जोसिलो हुनुहुन्थ्यो अनि म जवान छँदा उहाँले ममा राम्रो प्रभाव पार्नुभयो।

सन्‌ १९४१ मा एउटा ठूलो अधिवेशनमा उपस्थित हुन हामी रेल यात्रा गरेर मिसोरी राज्यको सेन्ट लुइस सहरमा गयौँ। त्यस अधिवेशनमा भाइ रदरफोर्डले दिनुभएको “राजाका केटाकेटी” भन्‍ने भाषण सुन्‍न केटाकेटीको लागि एउटा विशेष ठाउँ छुट्ट्याइएको थियो। भाषणको अन्तमा भाइ रदरफोर्ड र उहाँका सहायकहरूले केटाकेटी भन्‍ने नयाँ किताब सबै केटाकेटीलाई उपहार दिनुभयो। त्यतिबेला यो विशेष उपहार पाउनेहरू १५,००० भन्दा धेरै थिए।

अप्रिल १९४३ मा हामी क्यान्सस्‌को कफीभिल सहरमा आयोजना गरिएको “जोसिलो हुन आह्वान” विषयको सम्मेलनमा उपस्थित भयौँ। त्यो सानो तर उल्लेखनीय सम्मेलन थियो। त्यस सम्मेलनमा ईश्‍वरतान्त्रिक सेवा स्कुल सबै मण्डलीहरूमा सुरु हुनेछ भनेर घोषणा गरियो। अनि त्यस स्कुलमा प्रयोग गरिने ५२ पाठ भएको पुस्तिका पनि विमोचन गरियो। पछि त्यही वर्ष मैले पहिलो विद्यार्थी भाषण दिएँ। त्यो सम्मेलन मेरो लागि पनि विशेष थियो किनभने म र अरू केही भाइबहिनीले नजिकैको खेतमा भएको चिसो पोखरीमा बप्तिस्मा गऱ्‍यौँ।

म बेथेलमा सेवा गर्न चाहन्थेँ

सन्‌ १९५१ मा मेरो स्कुलको पढाइ सिद्धियो। त्यसपछि के गर्ने भनेर मैले निर्णयहरू गर्नुपर्ने बेला आयो। जेरी दाइले पहिला बेथेल सेवा गर्नुभएको थियो। मेरो चाहना पनि बेथेलमा सेवा गर्ने थियो। त्यसैले मैले छिट्टै आवेदन बुझाएँ। यस्तो निर्णय गर्दा मैले आध्यात्मिक तवरमा थुप्रै लाभ उठाएँ। चाँडै मेरो आवेदन स्वीकृत भयो र मलाई मार्च १०, १९५२ मा ब्रूक्लिन बेथेलमा सेवा गर्न बोलाइयो।

म पत्रपत्रिका र साहित्यहरू छाप्ने काममा भाग लिन छापाखानामा काम गर्न चाहन्थेँ। तर मलाई सुरुमा वेटरको रूपमा र पछि भान्छामा काम गर्न खटाइयो। यी दुवै काम रमाइलो भयो र मैले धेरै कुरा सिकेँ। मैले छापाखानामा सेवा गर्ने सुअवसर कहिल्यै पाइनँ। तर भान्छामा फरक-फरक सिफ्टमा काम गर्ने भएकोले मलाई फाइदा भयो किनभने दिउँसो फुर्सद हुन्थ्यो र बेथेलको ठूलो पुस्तकालयमा गएर व्यक्‍तिगत अध्ययन गर्न पाउँथेँ। यस्तो मौकाले गर्दा म आध्यात्मिक तवरमा परिपक्व हुन सकेँ र मेरो विश्‍वास पनि बलियो भयो। साथै सकेसम्म लामो समयसम्म बेथेलमा बसेर यहोवाको सेवा गर्ने मेरो सङ्‌कल्प अझ सुदृढ भयो। जेरी दाइले १९४९ मा बेथेल छोडेर प्याट्रिसिया भाउजुसित विवाह गरिसक्नुभएको थियो। उहाँहरू ब्रूक्लिनमा नजिकै बस्नुहुन्थ्यो। उहाँहरूले मलाई सधैँ मदत गर्नुभयो र बेथेल सेवा गर्न थालेको सुरु-सुरुतिर निकै प्रोत्साहन दिनुभयो।

मैले बेथेलमा सेवा गर्न थालेको धेरै समय नबित्दै जनभाषण दिने बेथेल वक्‍ताहरूको सूचीमा नयाँ व्यक्‍तिहरू थप्ने प्रबन्ध मिलाइयो। यस सूचीमा भएका भाइहरूलाई ब्रूक्लिनको चारैतिर ३२२ किलोमिटरसम्मको दूरीमा भएका मण्डलीहरूमा गएर जनभाषण दिने र त्यस मण्डलीसित प्रचारकार्यमा पनि भाग लिने जिम्मा दिइन्थ्यो। मेरो नाम पनि त्यस सूचीमा थियो। पहिलो जनभाषण दिँदा मलाई असाध्यै डर लागेको थियो। त्यतिबेला जनभाषण एक घण्टा लामो हुन्थ्यो। मण्डलीहरूमा जान म प्रायजसो रेलमा यात्रा गर्थेँ। सन्‌ १९५४ को हिउँदमा भएको एउटा घटना मलाई अझै याद छ। आइतबार साँझ बेथेल पुग्ने हिसाबले म दिउँसो न्यु योर्क जाने रेल चढेँ। तर बेसरी हुरीबतास चल्यो र हिउँ पऱ्‍यो। विद्युतीय गडबडीको कारण रेलका इन्जिनहरू राम्ररी चल्न छोडे र रेल गुड्‌न बन्द भयो। बल्लतल्ल सोमबार बिहान ५ बजेतिर म न्यु योर्क सहर आइपुगेँ। त्यहाँबाट सबवेमा ब्रूक्लिन गएँ र सीधै भान्छामा काम गर्न गएँ। काममा अलि ढिलो पुगेँ र रातभरि सुत्न नपाएकोले असाध्यै थकाइ पनि लागिरहेको थियो। तर सप्ताहन्तको विशेष गतिविधिमा भाइहरूको सेवा गर्न पाउँदा अनि थुप्रै नयाँ साथीहरू भेट्‌न पाउँदाको आनन्दले ती कठिनाइहरू सबै बिर्साइदिन्थ्यो।

डब्ल्यु बि बि आर रेडियो स्टेसनबाट कार्यक्रम प्रसारण गर्न तयारी गर्दै

बेथेलमा सेवा गरेको सुरु-सुरुतिरका वर्षहरूमा मलाई डब्ल्यु बि बि आर रेडियो स्टेसनमा काम गर्न बोलाइयो। त्यस स्टेसनको स्टुडियो १२४ कोलम्बिया हाइट्‌सको दोस्रो तलामा थियो। मलाई हरेक हप्ता प्रसारण गरिने बाइबल अध्ययन कार्यक्रममा एउटा भूमिका दिइएको थियो। भाइ ए. एच. म्याकमिलनले रेडियो कार्यक्रममा नियमित रूपमा भाग लिनुहुन्थ्यो। उहाँले बेथेलमा सेवा गर्नुभएको लामो समय भइसकेको थियो र अरूले माया गरेर उहाँलाई भाइ म्याक भन्थे। धीरजी भई यहोवाको सेवा गरिरहने सन्दर्भमा बेथेल परिवारका हामी जवान भाइहरूको लागि उहाँ उत्कृष्ट उदाहरण हुनुहुन्थ्यो।

मानिसहरूको चासो जगाउन हामी डब्ल्यु बि बि आर पर्चीहरू वितरण गर्थ्यौँ

सन्‌ १९५८ मा मलाई गिलियड स्कुलसित सम्बन्धित काम गर्न बोलाइयो। मेरो काम भनेको यी जोसिला गिलियड स्नातकहरूलाई भिसा लिन र यात्राको बन्दोबस्त मिलाउन मदत गर्ने थियो। त्यतिबेला हवाई यात्रा साह्रै महँगो थियो। त्यसैले हवाई यात्रा गरेर जाने गिलियड स्नातकहरू थोरै मात्र हुन्थे। अफ्रिका र एसियामा जाने धेरैजसो मिसनरीहरू सामान ढुवानी गर्ने पानीजहाजहरूमा यात्रा गर्थे। पछि व्यावसायिक रूपमा हवाई सेवा सुरु भएपछि भने यात्रा सस्तो भयो र धेरैजसो मिसनरीहरूलाई हवाईजहाजमै पठाइयो।

गिलियड स्नातक समारोहअघि प्रमाणपत्र जम्मा गर्दै

अधिवेशनको लागि यात्रा

यात्राको प्रबन्ध मिलाउने सिलसिलामा सन्‌ १९६० मा मेरो काम अझ थपियो। सन्‌ १९६१ मा आयोजना गरिने अन्तरराष्ट्रिय अधिवेशनहरूमा उपस्थित हुनेहरूको लागि अमेरिकादेखि युरोपसम्म जाने हवाईजहाज चार्टर गर्ने प्रबन्ध मिलाउनुपऱ्‍यो। त्यस अधिवेशनको लागि चार्टर गरिएको विमानमा म पनि न्यु योर्कदेखि जर्मनीको ह्‍यामबर्गसम्म गएँ। अधिवेशनपछि बेथेलका तीन जना भाइ र मैले एउटा गाडी भाडामा लियौँ र जर्मनीदेखि इटालीसम्म गएर रोमको शाखा कार्यालय हेर्न गयौँ। त्यहाँबाट पेरेनिज पर्वतमाला हुँदै फ्रान्स पुग्यौँ। त्यसपछि स्पेन गयौँ, जहाँ हाम्रो साक्षीकार्यमाथि प्रतिबन्ध लगाइएको थियो। हामीले बार्सिलोनाका भाइबहिनीहरूलाई उपहारको पोका दिएजस्तो गरी केही साहित्यहरू दियौँ। तिनीहरूलाई भेट्‌न पाउँदा असाध्यै खुसी लाग्यो! त्यसपछि आम्सटर्डम गयौँ र त्यहाँबाट न्यु योर्क फर्कने हवाईजहाज चढ्यौँ।

लगभग एक वर्षपछि मेरो असाइनमेन्टमा फेरि अर्को काम थपियो। सन्‌ १९६३ मा संसारका विभिन्‍न ठाउँमा आयोजना गरिने “अनन्त सुसमाचार” विषयको अन्तरराष्ट्रिय अधिवेशनहरूको लागि छानिएका प्रतिनिधिहरूको यात्राको प्रबन्ध मिलाउनु थियो। ती अधिवेशनहरूको लागि छानिएका ५८३ प्रतिनिधिहरूलाई विभिन्‍न ठाउँमा यात्रा गर्ने प्रबन्ध मिलाइयो। तिनीहरू युरोप, एसियाका साथै प्रशान्त महासागरको दक्षिणतिर अवस्थित देशका अधिवेशनहरूमा उपस्थित भए। अन्तमा हवाईको होनोलुलु र क्यालिफोर्नियाको पासाडिना पुगेपछि तिनीहरूको यात्रा टुङ्‌गियो। तिनीहरू यात्राको बीचमा बाइबलमा उल्लेख गरिएका ठाउँहरूसित सम्बन्धित विशेष शैक्षिक भ्रमणको लागि लेबनान र जोर्डन पनि गए। सबै प्रतिनिधिको लागि हवाई यात्राको तालिका बनाउने र होटेल बुकिङ गर्ने कामको अलावा हाम्रो विभागले सबैको लागि विभिन्‍न देशको भिसाको पनि प्रबन्ध मिलाइदियो।

यात्रा गर्ने नयाँ साथी

सन्‌ १९६३ अर्को एउटा कारणले पनि मेरो लागि विशेष रह्‍यो। जून २९ मा मैले लीला रजर्ससित विवाह गरेँ। उनी मिसोरीबाट आएकी थिइन्‌ र बेथेलमा सेवा गर्न थालेको तीन वर्ष भएको थियो। विवाह गरेको एक हप्तापछि लीला र म विश्‍व भ्रमणमा निस्केको टोलीमा सामेल भयौँ अनि हामी ग्रीस, इजिप्ट र लेबनान गयौँ। हामी बेरुटबाट छोटो हवाई यात्रा गरेर जोर्डनको सानो विमानस्थल पुग्यौँ। जोर्डनमा हाम्रो काममाथि प्रतिबन्ध लगाइएको छ र यहोवाका साक्षीहरूलाई त्यहाँ प्रवेश गर्न भिसा दिइँदैन भनेर हामीले सुनेका थियौँ। त्यसैले जोर्डन पुगेपछि के हुने होला भनेर हामीलाई चिन्ता लागिरहेको थियो। तर त्यहाँ पुग्दा त हामी छक्कै पऱ्‍यौँ! हाम्रा भाइबहिनीहरू हाम्रो स्वागत गर्न विमानस्थलको छतमा यस्तो ब्यानर लिएर उभिरहेका थिए: “यहोवाका साक्षीहरूलाई स्वागत छ!” अनि बाइबलमा उल्लेख गरिएका ठाउँहरू आफ्नै आँखाले देख्न पाउँदा हामी साह्रै खुसी भयौँ। हामीले बाइबलकालीन कुलपिताहरू बसेको ठाउँ, येसु र प्रेषितहरूले प्रचार गरेको ठाउँ अनि पृथ्वीको कुनाकुनासम्म ख्रिष्टियन धर्म फैलन थालेको ठाउँ हेर्न पायौँ।—प्रेषि. १३:४७.

सेवाको कामसित सम्बन्धित विभिन्‍न सुअवसरहरू पूरा गर्न लीलाले मलाई साथ दिँदै आएको ५५ वर्ष भइसक्यो। स्पेन र पोर्चुगलमा हाम्रो काममाथि प्रतिबन्ध लगाइएको बेला हामी धेरै चोटि त्यहाँ गयौँ। त्यहाँ भाइबहिनीलाई भेटेर प्रोत्साहन दिन अनि तिनीहरूलाई प्रकाशनहरू तथा अन्य आवश्‍यक कुराहरू लगिदिन सक्यौँ। हामीले स्पेनको काडिजस्थित पुरानो सैन्य गढीमा कैद गरिएका हाम्रा कोही-कोही भाइबहिनीलाई पनि भेट्‌न सक्यौँ। बाइबलआधारित भाषण दिएर उनीहरूलाई प्रोत्साहन दिन पाउँदा मलाई असाध्यै खुसी लाग्यो।

प्याट्रिसिया भाउजु र जेरी दाइसित सन्‌ १९६९ को “पृथ्वीमा शान्ति” अधिवेशनमा जाँदै

सन्‌ १९६३ देखि मैले अफ्रिका, अस्ट्रेलिया, मध्य तथा दक्षिण अमेरिका, युरोप, एसिया, हवाई, न्युजिल्यान्ड र पोर्टो रिकोमा आयोजना गरिएका अन्तरराष्ट्रिय अधिवेशनहरूमा यात्रा गर्नेहरूको लागि प्रबन्ध मिलाउने सुअवसर पाएको छु। लीला र म थुप्रै अविस्मरणीय अधिवेशनहरूमा गएका छौँ। त्यसमध्ये सन्‌ १९८९ मा पोल्याण्डको वार्साको अधिवेशन पनि हो। त्यस्तो विशाल अधिवेशनमा रूसका थुप्रै भाइबहिनी जीवनमा पहिलो चोटि उपस्थित भएका थिए! हामीले भेटेका थुप्रै भाइबहिनीले आफ्नो विश्‍वासको खातिर सोभियत सङ्‌घका झ्यालखानामा धेरै वर्ष बिताएका थिए।

विभिन्‍न ठाउँका शाखा कार्यालयहरूमा गएर त्यहाँको बेथेल परिवार र मिसनरीहरूलाई सुदृढ पार्ने र प्रोत्साहन दिने असाइनमेन्टलाई म विशेष सुअवसर ठान्छु। हालै हामी दक्षिण कोरियाको शाखा कार्यालयमा गएका थियौँ। त्यतिबेला सुवोनको झ्यालखानामा भएका ५० जना भाइहरूलाई भेट्‌न पायौँ। ती भाइहरूको सकारात्मक मनोवृत्ति अनि फेरि प्रचारकार्यमा सक्रिय भई लाग्ने इच्छुकता देख्दा हामीले अत्यन्तै प्रोत्साहन पायौँ!—रोमी १:११, १२.

वृद्धिले आनन्दित बनाउँछ

यहोवाको आशिष्‌ले गर्दा उहाँका जनहरूमाझ भएको वृद्धि मैले देखेको छु। मैले १९४३ मा बप्तिस्मा गर्दा एक लाख जति प्रकाशकहरू थिए भने अहिले २४० मुलुकमा यहोवाको उपासना गर्नेहरूको सङ्‌ख्या ८० लाखभन्दा धेरै भइसक्यो। यस्तो वृद्धिमा खासगरि गिलियड स्नातकहरूको मेहनतको ठूलो हात छ। यस्ता थुप्रै मिसनरीहरूसित मिलेर काम गर्नु र तिनीहरूलाई विदेशी भूमिमा आफ्ना असाइनमेन्टको लागि जान मदत गर्न पाउनु मेरो लागि ठूलो आनन्दको कारण भएको छ!

जवान छँदै बेथेल सेवाको लागि आवेदन भरेर सेवाको काम विस्तार गर्ने निर्णय गरेकोमा म साह्रै खुसी छु। मेरा हरेक कदमहरूमा यहोवाले प्रशस्त आशिष्‌ दिनुभएको छ। बेथेल सेवाको अलावा लीला र मैले ब्रूक्लिनका मण्डलीहरूसित मिलेर धेरै वर्ष प्रचारकार्यमा भाग लिने सुअवसर पनि पायौँ। त्यस दौडान बनाएका साथीहरूसितको मित्रता अहिलेसम्म पनि कायमै छ।

हरेक दिन लीलाको साथ पाएर मैले अहिलेसम्म बेथेल सेवा गरिरहन सकेको छु। अहिले म ८४ वर्ष पुगिसकेँ। तर अझै पनि शाखाको पत्राचारसम्बन्धी काममा सघाएर अर्थपूर्ण सेवा गरिरहन सकेको छु।

अहिले लीला र म

यहोवाको अद्‌भुत सङ्‌गठनको भाग हुन पाउँदा अनि यहोवाको सेवा गर्ने र नगर्ने मानिसबीचको भिन्‍नता देख्न पाउँदा मलाई असाध्यै खुसी लाग्छ। हामी मलाकि ३:१८ का यी शब्दहरूको अर्थ अझ स्पष्टसित बुझ्न सक्छौँ: “तिमीहरूले फेरि धर्मी र दुष्ट मानिसबीच, परमेश्‍वरको सेवा गर्ने र नगर्ने मानिसबीचको भिन्‍नता देख्नेछौ।” सैतानको संसार दिनदिनै खस्कँदै गइरहेको हामी देख्छौँ। संसारका मानिसहरूसित कुनै आशा छैन अनि तिनीहरूको जीवनमा खासै आनन्द छैन। तर यहोवालाई प्रेम गर्ने र उहाँको सेवा गर्नेहरू भने अहिलेको कठिन समयमा पनि आनन्दित छन्‌ र तिनीहरूसित भविष्यको पक्का आशा छ। हामीले अरूलाई परमेश्‍वरको राज्यको सुसमाचार सुनाउने ठूलो सुअवसर पाएका छौँ। (मत्ति २४:१४) हामी त्यस दिनको प्रतीक्षामा छौँ, जब परमेश्‍वरको राज्यले यस संसारलाई नाश गरेर नयाँ संसार ल्याउनेछ। त्यतिबेला परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका सबै आशिष्‌हरू अनुभव गर्नेछौँ र हामी सुस्वस्थ हुनुका साथै अनन्त जीवन पाउनेछौँ। यी सबै कुरा अब चाँडै पूरा हुनेछन्‌। त्यतिखेर यहोवाका वफादार सेवकहरू पृथ्वीमा सधैँभरि आनन्दित भई जिउनेछन्‌।