सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सत्य सिकाउनुहोस्‌

सत्य सिकाउनुहोस्‌

“हे यहोवा, . . . सत्य नै तपाईँको वचनको सार हो।” —भज. ११९:१५९, १६०.

गीत: २९, ५३

१, २. (क) येसुको जीवनको प्रमुख काम के थियो र किन? (ख) “परमेश्‍वरका सहकर्मीहरू”-को रूपमा सफल हुन हामीले के गर्नुपर्छ?

येसु ख्रिष्ट सिकर्मी र परमेश्‍वरको वचनको सेवक हुनुहुन्थ्यो। (मर्कु. ६:३; रोमी १५:८) उहाँ दुवै काममा निपुण हुनुभयो। सिकर्मी हुनुभएकोले उहाँले विभिन्‍न किसिमका औजारहरू प्रयोग गर्न अनि काठबाट उपयोगी सामानहरू बनाउन सिक्नुभयो। सुसमाचारको शिक्षक हुनुभएकोले सर्वसाधारणलाई परमेश्‍वरको वचनका सत्यहरू बुझाउन उहाँले धर्मशास्त्रको गहिरो ज्ञान निपुणतापूर्वक प्रयोग गर्नुभयो। (मत्ति ७:२८; लुका २४:३२, ४५) येसुले ३० वर्षको उमेरमा आफ्ना औजारहरू थन्काउनुभयो र सिकर्मी काम गर्न छोड्‌नुभयो किनभने उहाँले गर्नुपर्ने अझ महत्त्वपूर्ण काम सुसमाचारको सेवक बन्‍नु हो भनेर उहाँलाई थाह थियो। परमेश्‍वरले उहाँलाई पृथ्वीमा पठाउनुको एउटा कारण परमेश्‍वरको राज्यको सुसमाचार सुनाउन हो भनेर उहाँले बताउनुभयो। (मत्ति २०:२८; लुका ३:२३; ४:४३) येसुले प्रचारकार्यलाई आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण काम बनाउनुभयो र यस काममा अरूले पनि भाग लिएको उहाँ चाहनुहुन्थ्यो।—मत्ति ९:३५-३८.

हामी सिकर्मी होइनौँ होला। तर हामी सबै जना सुसमाचारका सेवक भने अवश्‍य हौँ। यो काम अत्यन्तै महत्त्वपूर्ण छ किनकि यसमा स्वयम्‌ परमेश्‍वर समावेश हुनुहुन्छ। त्यसैले हामीलाई “परमेश्‍वरका सहकर्मीहरू” भनिएको छ। (१ कोरि. ३:९; २ कोरि. ६:४) “सत्य नै [यहोवाको] वचनको सार हो” भन्‍ने कुरा हामी मानिलिन्छौँ। (भज. ११९:१५९, १६०) त्यसैले “सत्यको वचन ठीकसित प्रयोग” गरिरहेका छौँ कि छैनौँ भनेर हामी पक्का हुन चाहन्छौँ। (२ तिमोथि २:१५ पढ्‌नुहोस्‌) यसकारण हामी बाइबल प्रयोग गर्ने आफ्नो सीप तिखारिरहन्छौँ किनभने अरूलाई यहोवा, येसु र परमेश्‍वरको राज्यबारे सत्य सिकाउन हामीले प्रयोग गर्ने प्रमुख सामग्री बाइबल हो। प्रचारकार्यमा हामी सफल हुन सकौँ भनेर यहोवाको सङ्‌गठनले अन्य आधारभूत सामग्रीहरूको पनि प्रबन्ध गरिदिएको छ र हामीले ती सामग्रीहरू पनि प्रयोग गर्न सिक्नुपर्छ। ती सामग्रीहरूलाई हामी ‘शिक्षण सामग्री’ भन्छौँ।

३. अरूलाई साक्षी दिन थोरै समय बाँकी भएकोले हाम्रो ध्यान केमा केन्द्रित हुनुपर्छ? त्यसो गर्न प्रेषित १३:४८ ले हामीलाई कसरी मदत गर्छ?

ती सामग्रीहरूलाई ‘प्रचार सामग्री’ नभनेर किन ‘शिक्षण सामग्री’ भनिएको जस्तो तपाईँलाई लाग्छ होला। “प्रचार गर्नु” भनेको सर्वसाधारणलाई कुनै जानकारी सुनाउनु हो। तर “सिकाउनु” भनेको मानिसको दिमाग र मनसम्म पुग्ने गरी बुझाउनु हो ताकि तिनले सिकेको कुरा व्यवहारमा उतारून्‌। अरूलाई साक्षी दिन थोरै समय मात्र बाँकी भएकोले हाम्रो ध्यान बाइबल अध्ययन सुरु गर्नमा र मानिसहरूलाई सत्य सिकाउनमा केन्द्रित हुनुपर्छ। यसको मतलब हामीले “अनन्त जीवन पाउन लायकको उचित मनसाय” भएका मानिसहरूलाई जोडतोडले खोज्नुपर्छ र तिनीहरूलाई प्रभुमा विश्‍वास गर्न मदत गर्नुपर्छ।प्रेषित १३:४४-४८ पढ्‌नुहोस्‌।

४. “अनन्त जीवन पाउन लायकको उचित मनसाय” भएका मानिसहरू को हुन्‌ भनेर हामी कसरी थाह पाउन सक्छौँ? हामी तिनीहरूलाई कसरी भेट्टाउन सक्छौँ?

“अनन्त जीवन पाउन लायकको उचित मनसाय” भएका मानिसहरू को हुन्‌ भनेर हामी कसरी थाह पाउन सक्छौँ? प्रथम शताब्दीमा जस्तै त्यो थाह पाउने एउटै तरिका भनेको साक्षी दिएर हो। त्यसैले हामीले येसुको यो आज्ञा पालन गर्नुपर्छ: “तिमीहरू जुन सहर वा गाउँमा पसौला, त्यहाँ को योग्य छ भनी खोज।” (मत्ति १०:११) हामी बेइमान, अहङ्‌कारी वा कुनै आध्यात्मिक झुकाव नभएका मानिसहरूले सुसमाचार सुन्‍ने आशा गर्दैनौँ। हामी सोझो हृदय भएका, नम्र अनि सत्यको लागि भोकाएका मानिसहरू खोज्दै छौँ। यसरी खोज्ने कामलाई येसुले सिकर्मी काम गर्नुहुँदा जे गर्नुभयो, त्यससित तुलना गर्न सक्छौँ। उहाँले फर्निचर, ढोका, जुवा वा अन्य सामानहरू बनाउन उचित किसिमको काठ भेट्टाउनुपर्थ्यो। त्यसपछि मात्र उहाँले औजारहरू झिकेर आफ्नो सीप प्रयोग गर्दै सामान बनाउन सक्नुहुन्थ्यो। सोझो हृदय भएका मानिसहरूलाई चेला बनाउन हामीले पनि त्यस्तै प्रयास गर्नुपर्छ।—मत्ति २८:१९, २०.

५. हाम्रो शिक्षण सामग्रीमा भएका प्रत्येक सामग्रीबारे हामीले के थाह पाउनुपर्छ? उदाहरणसहित बताउनुहोस्‌। (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

हरेक औजारको काम फरक हुन्छ। उदाहरणको लागि, येसुले सिकर्मी काम गर्न कस्ता औजारहरू प्रयोग गर्नुभयो होला, सोच्नुहोस्‌ त। * उहाँले काठ नाप्न, चिन्ह लगाउन, काट्‌न, प्वाल पार्न, विभिन्‍न आकार दिन, चिल्लो पार्न, सोझो भए नभएको हेर्न अनि टुक्राहरू जोड्‌न विभिन्‍न किसिमको औजार प्रयोग गर्नुहुन्थ्यो। त्यसरी नै हाम्रो शिक्षण सामग्रीमा भएका प्रत्येक सामग्रीको खास उद्देश्‍य छ। त्यसैले आउनुहोस्‌, हाम्रो शिक्षण सामग्रीमा के-के छन्‌ अनि ती अत्यावश्‍यक सामग्रीहरू कसरी प्रयोग गर्न सक्छौँ, हेरौँ।

हाम्रो परिचय दिने सामग्रीहरू

६, ७. (क) तपाईँ कार्डको प्रयोग कसरी गर्दै हुनुहुन्छ? (ख) सभाको निम्तोपर्चीले कुन दुई वटा उद्देश्‍य पूरा गर्छ?

कार्ड। यी कार्डहरू साना छन्‌ तर मानिसहरूलाई हाम्रो परिचय दिन र हाम्रो वेबसाइटतिर ध्यान खिच्न प्रभावकारी छन्‌। हाम्रो वेबसाइट हेरेर मानिसहरूले हामीबारे थप जानकारी पाउन सक्छन्‌ अनि बाइबल अध्ययनको लागि अनुरोधसमेत गर्न सक्छन्‌। jw.org मार्फत हालसम्म ४ लाखभन्दा धेरै मानिसहरूले बाइबल अध्ययनको अनुरोध पठाएका छन्‌। अनि हरेक दिन सयौँ अनुरोध आइरहेका छन्‌! आफ्नो दैनिक कामको लागि यताउता जाँदा तपाईँ आफूसित अलिकति कार्ड बोकिरहन सक्नुहुन्छ। त्यसो गर्नुभयो भने साक्षी दिने मौका पाउनेबित्तिकै त्यो प्रयोग गरिहाल्न सजिलो हुनेछ।

निम्तोपर्ची। यसलाई हामी सभाको निम्तोपर्ची पनि भन्‍ने गर्छौँ। यसले दुई वटा उद्देश्‍य पूरा गर्छ। यस निम्तोपर्चीमा यस्तो लेखिएको छ: “हार्दिक निमन्त्रणा! यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्नुहोस्‌।” साथै यसमा “हाम्रा सभाहरूमा उपस्थित भएर” अध्ययन गर्ने “वा घरमै बसेर” अध्ययन गर्ने भनेर मानिसहरूलाई छनौट गर्न दिइएको छ। यसरी यस निम्तोपर्चीले हाम्रो परिचय दिने मात्र होइन “आध्यात्मिक आवश्‍यकताबारे सचेत” मानिसहरूलाई हामीसित बाइबल अध्ययन गर्ने निम्तो पनि दिन्छ। (मत्ति ५:३) मानिसहरूले बाइबल अध्ययनको अनुरोध स्विकारे पनि नस्विकारे पनि हामी तिनीहरूलाई सभामा स्वागत गर्छौँ। यदि तिनीहरू सभामा उपस्थित भए भने बाइबलबाट के-कस्ता सत्य कुराहरू सिक्न सक्छन्‌ भनेर तिनीहरू आफैले देख्न र सुन्‍न सक्नेछन्‌।

८. मानिसहरू हाम्रो सभामा एक चोटि भए पनि आउनु कत्तिको महत्त्वपूर्ण छ? एउटा उदाहरण बताउनुहोस्‌।

हामीले मानिसहरूलाई एक चोटि भए पनि हाम्रो सभामा उपस्थित हुन निम्तो दिइरहनु महत्त्वपूर्ण छ। किन? किनभने तिनीहरूले आध्यात्मिक रूपमा तृप्त भएका परमेश्‍वरका जनहरूको अवस्था र महान्‌ बेबिलोनको भाग भएकोले आध्यात्मिक रूपमा भोकाएका मानिसहरूको अवस्थाबीच स्पष्ट भिन्‍नता देख्नेछन्‌। (यसै. ६५:१३) अमेरिकाका एक दम्पती रे र लिन्डाले केही वर्षअघि यस्तै महसुस गरे। तिनीहरूले चर्च जान थाल्ने निर्णय गरे। तिनीहरू परमेश्‍वरमाथि विश्‍वास गर्थे अनि आध्यात्मिक रूपमा आफू भोको भएको महसुस गरेका थिए। त्यसैले तिनीहरू एक-एक गर्दै आफ्नो सहरमा भएका सबै चर्चहरू जान थाले। त्यहाँ विभिन्‍न थरीका साना-ठूला चर्चहरू थिए। तर कुनै चर्चको सदस्य बन्‍नुअघि त्यसले दुइटा आवश्‍यकता पूरा गरेको हुनुपर्छ भनेर तिनीहरूले निधो गरिसकेका थिए। पहिलो कुरा, त्यहाँ हुने धार्मिक कार्यक्रमको दौडान केही न केही सिक्न पाउनुपर्छ अनि दोस्रो कुरा, त्यहाँका सदस्यहरूलाई हेर्दाखेरि तिनीहरू साँच्चै परमेश्‍वरका उपासकहरू भन्‍न सुहाउने हुनुपर्छ। केही वर्षभित्रमा तिनीहरूले आफ्नो सहरको सबै चर्च चहारे तर चित्तबुझ्दो चर्च कतै नभेटेर साह्रै निराश भए। तिनीहरूले चर्चमा केही सिक्ने मौका पाएनन्‌ अनि त्यहाँ जाने मानिसहरूलाई हेर्दाखेरि तिनीहरू पटक्कै मर्यादित देखिँदैन थिए। आफू जान चाहेका चर्चहरूमध्ये अन्तिम चर्चबाट निस्केपछि लिन्डा आफ्नो कामतिर लागिन्‌ अनि रे घर फर्किए। फर्किँदै गर्दा रे राज्यभवनको बाटो हुँदै गइरहेका थिए। तिनले मनमनै यस्तो सोचे, ‘योचाहिँ कस्तो ठाउँ रहेछ, एक चोटि हेर्न जानुपर्ला जस्तो छ।’ हो, तिनले गरेको यो निर्णय सबैभन्दा उत्तम साबित भयो! राज्यभवनमा भेटेका सबै जना मित्रैलो थिए र तिनलाई न्यानो स्वागत गरे। अनि त्यहाँका मानिसहरूको पहिरन एकदमै राम्रो थियो। रे सबैभन्दा अगाडि गएर बसे अनि आफूले सिक्न पाएका कुराहरूले गर्दा दङ्‌ग परे! पहिलो चोटि सभामा आउने मानिसले कस्तो महसुस गर्छ भन्‍नेबारे प्रेषित पावलले यस्तो लेखे: “परमेश्‍वर साँच्चै तपाईँहरूमाझ हुनुहुँदो रहेछ।” (१ कोरि. १४:२३-२५) हो, पहिलो चोटि हाम्रो सभामा आउँदा रेले पनि यस्तै महसुस गरे। त्यसपछि रे हरेक हप्ता आइतबार सभामा उपस्थित भए अनि पछि मध्यहप्ताको सभामा पनि आउन थाले। लिन्डा पनि सँगै सभामा आउन थालिन्‌। दुवै जनाको उमेर ७० वर्ष नाघिसकेको भए तापनि तिनीहरू बाइबल अध्ययन गर्न राजी भए र बप्तिस्मा गरे।

कुराकानी सुरु गर्ने सामग्रीहरू

९, १०. (क) पर्चाहरूबाट कुराकानी सुरु गर्न किन एकदमै सजिलो छ? (ख) परमेश्‍वरको राज्य के हो? भन्‍ने पर्चा कसरी प्रयोग गर्न सकिन्छ, व्याख्या गर्नुहोस्‌।

पर्चा। मानिसहरूसित कुराकानी सुरु गर्न सजिलो आठ किसिमका पर्चा हामीसित छन्‌। यी पर्चाहरू सन्‌ २०१३ देखि विमोचन हुन थाले। त्यस यता ५ अरबभन्दा धेरै प्रति छापिसकिएका छन्‌! यी सामग्रीहरूको विशेषता के हो भने, कुनै एउटा पर्चा प्रयोग गर्ने तरिका सिक्नुभयो भने त्यही नमुनाअनुसार सबै प्रयोग गर्न सक्नुहुन्छ किनकि सबै पर्चा एउटै ढाँचामा तयार पारिएका छन्‌। अरूसित कुराकानी सुरु गर्न तपाईँ कसरी पर्चा प्रयोग गर्न सक्नुहुन्छ?

१० मानौँ तपाईँ परमेश्‍वरको राज्य के हो? भन्‍ने पर्चा प्रयोग गर्न चाहनुहुन्छ। अगाडिपट्टि भएको प्रश्‍न देखाउँदै सोध्नुहोस्‌: “तपाईँलाई परमेश्‍वरको राज्य भनेको के हो जस्तो लाग्छ? तपाईँ के भन्‍नुहुन्छ . . . ” त्यसपछि त्यहाँ दिइएका तीन वटा जवाफमध्ये कुनचाहिँ छान्‍नुहुन्छ भनेर सोध्नुहोस्‌। तिनले छानेको जवाफ सही हो या गलत भनेर बताउनतिर लाग्नुको साटो भित्रपट्टि भएको “पवित्र शास्त्र के भन्छ?” भन्‍ने भाग देखाउनुहोस्‌। त्यसपछि त्यहाँ दिइएको दानियल २:४४ र यसैया ९:६ पढेर सुनाउनुहोस्‌। सम्भव भए कुराकानीलाई अघि बढाउनुहोस्‌। अन्तमा, पुनःभेटको लागि पर्चाको पछिल्लो पानामा भएको “यसबारे सोच्नुहोस्‌” भन्‍ने शीर्षकअन्तर्गत यो प्रश्‍न देखाउनुहोस्‌: “परमेश्‍वरको राज्यमा हाम्रो जीवन कस्तो हुनेछ?” यस प्रश्‍नको आधारमा तपाईँ अर्को चोटि छलफल सुरु गर्न सक्नुहुन्छ। अर्को चोटि कुराकानी गर्दा परमेश्‍वरबाट आएको सुसमाचार! पुस्तिकाको पाठ ७ देखाउन सक्नुहुन्छ। अनि त्यो पुस्तिका बाइबल अध्ययन सुरु गर्ने सामग्रीमध्ये एउटा हो।

चासो जगाउने सामग्रीहरू

११. हाम्रा पत्रिकाहरू कुन उद्देश्‍यले तयार पारिएका छन्‌? ती पत्रिकाहरूबारे हामीलाई के थाह हुनुपर्छ?

११ पत्रिका। प्रहरीधरहरा ब्यूँझनुहोस्‌! संसारमा सबैभन्दा धेरै छापिने र अनुवाद हुने पत्रिकाहरू हुन्‌! यी पत्रिकाहरू व्यापक वितरण हुने हुँदा सबै ठाउँका मानिसहरूलाई रोचक लाग्ने किसिमका आवरण लेखहरू तयार पारिएका हुन्छन्‌। मानिसहरूले आफ्नो जीवनमा साँच्चै महत्त्वपूर्ण ठान्‍ने विषयहरूमा चासो जगाउन हामीले यी सामग्रीहरू प्रयोग गर्नुपर्छ। तर हाम्रा पत्रिकाहरू सही व्यक्‍तिको हातमा पुगेको चाहन्छौँ भने प्रत्येक पत्रिका खासगरि कसको लागि तयार पारिएको हो भनेर हामीले बुझ्नुपर्छ।

१२. (क) ब्यूँझनुहोस्‌! खासगरि कसको लागि तयार पारिएको हो? यसको उद्देश्‍य के हो? (ख) यो सामग्री प्रयोग गर्दा हालै तपाईँले कस्तो राम्रो नतिजा हासिल गर्नुभएको छ?

१२ ब्यूँझनुहोस्‌! पत्रिकाचाहिँ बाइबलबारे अलि-अलि मात्र थाह भएका वा केही पनि थाह नभएका पाठकहरूको लागि हो। तिनीहरूलाई बाइबलले के सिकाउँछ भनेर केही पनि थाह नहुन सक्छ, कुनै पनि धर्मप्रति भरोसा गर्न गाह्रो लागेको हुन सक्छ वा बाइबल हाम्रो जीवनको लागि व्यावहारिक छ भनेर थाह नभएको हुन सक्छ। ब्यूँझनुहोस्‌!-को मुख्य उद्देश्‍य परमेश्‍वर साँच्चै हुनुहुन्छ भनेर विश्‍वास दिलाउनु हो। (रोमी १:२०; हिब्रू ११:६) यसको अर्को उद्देश्‍य बाइबल ‘साँच्चै परमेश्‍वरकै वचन’ हो भनेर विश्‍वास गर्न मदत दिनु हो। (१ थिस्स. २:१३) सन्‌ २०१८ को लागि छापिएका तीन वटा आवरण विषयहरू हुन्‌: “आनन्दतर्फ लैजाने बाटो,” “पारिवारिक जीवन सफल बनाउने १२ रहस्य” अनि “शोकमा परेकाहरूको लागि मदत।

१३. (क) प्रहरीधरहरा जनसंस्करण खासगरि कसको लागि तयार पारिएको हो? (ख) यो सामग्री प्रयोग गर्दा हालै तपाईँले कस्तो राम्रो नतिजा हासिल गर्नुभएको छ?

१३ प्रहरीधरहरा जनसंस्करणको मुख्य उद्देश्‍य परमेश्‍वर र उहाँको वचनलाई केही हदसम्म आदर गर्ने मानिसहरूलाई बाइबलका कुराहरू बताउनु हो। तिनीहरूसित बाइबलको केही ज्ञान होला तर तिनीहरूले यसका शिक्षाहरू सही तरिकामा बुझेका हुँदैनन्‌। (रोमी १०:२; १ तिमो. २:३, ४) सन्‌ २०१८ को लागि तयार पारिएका तीन वटा आवरण विषयहरूले यी प्रश्‍नहरूको जवाफ दिन्छ: “के बाइबल आज पनि उत्तिकै उपयोगी छ?,” “भविष्य कस्तो छ?” र “के ईश्‍वरले तपाईँको ख्याल राख्नुहुन्छ?

उत्प्रेरित गर्ने सामग्रीहरू

१४. (क) हाम्रो शिक्षण सामग्रीमा भएका चार वटा भिडियोको उद्देश्‍य के हो? (ख) यी भिडियोहरू प्रयोग गर्दा तपाईँले कस्तो राम्रो नतिजा हासिल गर्नुभएको छ?

१४ भिडियो। येसुको समयका सिकर्मीहरूले हातेऔजार मात्र प्रयोग गर्थे। अहिले हाम्रो समयमा भने सिकर्मीहरू बिजुलीले चल्ने करौँती, बर्मा, रन्दाजस्ता शक्‍तिशाली औजारहरू प्रयोग गर्छन्‌। छापिएका पत्रपत्रिकाहरूको अलावा हामीसित एकदमै राम्रा-राम्रा भिडियोहरू पनि छन्‌। तीमध्ये चार वटा हाम्रो शिक्षण सामग्रीमा पनि राखिएको छ। बाइबल किन पढ्‌नुपर्छ?, बाइबल अध्ययन कसरी गरिन्छ?, राज्यभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌?यहोवाका साक्षीहरू—हामी को हौँ? यीमध्ये दुई मिनेटभन्दा छोटो भिडियोहरू पहिलो भेटमा देखाउन सक्छौँ। लामा भिडियोहरूचाहिँ पुन:भेट गर्दा र अलि फुर्सद भएका व्यक्‍तिहरूसित कुराकानी गर्दा प्रयोग गर्न सक्छौँ। यी उत्कृष्ट सामग्रीहरूले मानिसहरूलाई बाइबल अध्ययन गर्न र हाम्रा सभाहरूमा उपस्थित हुन उत्प्रेरित गर्न सक्छ।

१५. आफ्नै भाषामा भिडियो हेर्न पाउँदा त्यसले मानिसहरूमा कस्तो प्रभाव पार्छ, उदाहरणसहित बताउनुहोस्‌।

१५ एउटा अनुभव विचार गर्नुहोस्‌। हाम्री एक जना बहिनीले माइक्रोनेसियाबाट बसाइँ सरेर आएकी एउटी स्त्रीलाई भेटिन्‌। तिनको मातृभाषा यापिज थियो। त्यसैले हाम्री बहिनीले तिनकै भाषामा बाइबल किन पढ्‌नुपर्छ? भन्‍ने भिडियो देखाइन्‌। भिडियो सुरु हुनासाथ त्यस स्त्रीले यसो भनिन्‌: “ओहो! कस्तो अचम्म! यो त मेरै भाषा हो! यो मान्छे मेरै टापुको हुनुपर्छ किनकि हाम्रो बोल्ने लवज एउटै छ!” त्यसपछि त्यस स्त्रीले jw.org मा तिनको भाषामा उपलब्ध सबै कुरा पढ्‌नेछु र हेर्नेछु भनिन्‌। (प्रेषित २:८, ११ तुलना गर्नुहोस्‌) अर्को एउटा अनुभव पनि विचार गर्नुहोस्‌। अमेरिकाकी एउटी बहिनीले विदेशमा बस्ने आफ्नो भदालाई उनकै भाषामा बाइबल किन पढ्‌नुपर्छ? भन्‍ने भिडियोको लिङ्‌क पठाइन्‌। उनले त्यो भिडियो हेरेपछि फुपूलाई यस्तो इमेल पठाए: “एउटा दुष्ट शक्‍तिले संसारलाई आफ्नो इशारामा नचाइरहेको छ भन्‍ने भाग मलाई असाध्यै रोचक लाग्यो। मैले बाइबल अध्ययनको लागि अनुरोध पठाएँ।” उनी हाम्रो काममा प्रतिबन्ध लगाइएको देशमा बस्छन्‌।

सत्य सिकाउने सामग्रीहरू

१६. निम्न पुस्तिकाहरूको खास उद्देश्‍य बताउनुहोस्‌: (क) सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌। (ख) परमेश्‍वरबाट आएको सुसमाचार! (ग) आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?

१६ पुस्तिका। अलि-अलि मात्र पढ्‌न सक्ने वा आफ्नो भाषामा कुनै प्रकाशन उपलब्ध नभएका मानिसहरूलाई हामी कसरी सत्य सिकाउन सक्छौँ? यस्तै मानिसहरूको लागि हामीसित एउटा सामग्री छ। त्यो हो, सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌ भन्‍ने पुस्तिका। * बाइबल अध्ययन सुरु गर्नको लागि एकदमै राम्रो सामग्रीचाहिँ परमेश्‍वरबाट आएको सुसमाचार! भन्‍ने पुस्तिका हो। यस पुस्तिकाको पछिल्लो पानामा दिइएको १४ वटा विषय देखाउँदै कुन विषय सबैभन्दा रोचक लाग्छ भनेर सोध्न सक्नुहुन्छ। त्यसपछि त्यही पाठबाट अध्ययन सुरु गर्नुहोस्‌। के तपाईँले पुनःभेट गर्दा यस्तो तरिका अपनाउनुभएको छ? हाम्रो शिक्षण सामग्रीमा राखिएको तेस्रो पुस्तिका हो, आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌? यसले विद्यार्थीलाई हाम्रो सङ्‌गठनबारे बुझ्न मदत गर्छ। हरेक चोटिको बाइबल अध्ययनसँगसँगै यो पुस्तिका कसरी छलफल गर्ने भनेर सिक्न हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका, मार्च २०१७ को अङ्‌क हेर्नुहोस्‌।

१७. (क) बाइबल अध्ययन गराउने प्रत्येक पुस्तकको खास उद्देश्‍य के हो? (ख) बप्तिस्मातर्फ अघि बढिरहेका सबैले के गर्नै पर्छ र किन?

१७ किताब। कुनै पुस्तिकाबाट अध्ययन सुरु गरिसकेपछि तपाईँ कुनै पनि उपयुक्‍त समयमा बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तकबाट अध्ययन गराउन सक्नुहुन्छ। यो सामग्री प्रयोग गर्दा मानिसहरूले बाइबलका आधारभूत शिक्षाहरूबारे अझ धेरै कुरा सिक्न सक्छन्‌। यो पुस्तक अध्ययन गर्न सिद्धियो र विद्यार्थीले आध्यात्मिक प्रगति गर्दै छन्‌ भने आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराखभन्‍ने पुस्तकबाट अध्ययन गरिरहनुहोस्‌। यस सामग्रीले विद्यार्थीलाई दैनिक जीवनमा बाइबल सिद्धान्तहरू कसरी लागू गर्ने भनेर सिकाउनेछ। नबिर्सनुहोस्‌, बप्तिस्मा गरिसकेपछि पनि विद्यार्थीहरूले यी दुवै पुस्तक नसिद्धिउन्जेल अध्ययन गरिरहनुपर्छ। यसो गर्दा तिनीहरू सत्यमा जरा गाडेर बलिया हुनेछन्‌।कलस्सी २:६, ७ पढ्‌नुहोस्‌।

१८. (क) पहिलो तिमोथि ४:१६ ले सत्यका शिक्षकको रूपमा हामीलाई के गर्न प्रोत्साहन दिन्छ अनि त्यसो गर्दा नतिजा कस्तो हुन्छ? (ख) शिक्षण सामग्रीहरू प्रयोग गर्दा हाम्रो लक्ष्य के हुनुपर्छ?

१८ हामी यहोवाका साक्षीहरूलाई “सत्य अर्थात्‌ . . . सुसमाचार” सुम्पिइएको छ, जसले मानिसहरूलाई अनन्त जीवनतर्फ डोऱ्‍याउन मदत गर्न सक्छ। (कल. १:५; १ तिमोथि ४:१६ पढ्‌नुहोस्‌) त्यसो गर्नको लागि हामीलाई शिक्षण सामग्री दिइएको छ र त्यसमा हामीलाई चाहिने सबै सामग्री छ। (“ शिक्षण सामग्री” भन्‍ने पेटी हेर्नुहोस्‌) हामी यी सामग्रीहरू निपुणतापूर्वक चलाऔँ! चासो दिने व्यक्‍ति भेट्‌दा हाम्रा शिक्षण सामग्रीहरूमध्ये कुन सामग्री कहिले प्रयोग गर्ने भनेर प्रत्येक प्रकाशकले आफै निर्णय गर्न सक्छन्‌। तर हाम्रो मुख्य उद्देश्‍य भनेको साहित्य वितरण गर्ने मात्र हुनुहुँदैन। अनि हाम्रो सन्देशप्रति कुनै चासो नदेखाउने मानिसलाई साहित्य दिनु हुँदैन। हाम्रो लक्ष्य सोझो हृदय भएका, नम्र अनि सत्यको लागि भोकाएका मानिसहरू अर्थात्‌ “अनन्त जीवन पाउन लायकको उचित मनसाय” भएका मानिसहरू खोजेर तिनीहरूलाई चेला बनाउनु हो।—प्रेषि. १३:४८; मत्ति २८:१९, २०.

^ अनु. 5 प्रहरीधरहरा जनवरी १, २०११ को “सिकर्मी” भन्‍ने लेख र “सिकर्मीको औजार राख्ने बाकस” भन्‍ने पेटी हेर्नुहोस्‌।

^ अनु. 16 यदि कुनै व्यक्‍ति पढ्‌न जान्दैनन्‌ भने अक्षरहरू कम र चित्रहरू धेरै भएको सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ पुस्तिका तपाईँसँगसँगै हेर्न लगाउनुहोस्‌।