सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साँचो बोल्नुहोस्‌

साँचो बोल्नुहोस्‌

“एकअर्कासित साँचो बोल्नू।”—जक. ८:१६.

गीत: ५६, १२४

१, २. मानिसको जीवनलाई सबैभन्दा खतरामा पार्ने कुरा के हो? यसको लागि को दोषी छ?

वर्तमान युगमा भएका केही आविष्कारहरू, जस्तै: टेलिफोन, बिजुली बत्ती, गाडी र फ्रिजले हाम्रो जीवन सजिलो बनाइदिएको छ। तर अरू कतिपय उत्पादनहरू, जस्तै: बारूद, विष्फोटक पदार्थ, चुरोट, एटम बमले हाम्रो जीवनलाई झनै खतरामा पारेको छ। तर यी सबै कुराहरूभन्दा पहिला नै एउटा यस्तो चिजको आविष्कार भइसकेको थियो, जुन मानिसजातिको लागि सबैभन्दा खतरनाक साबित भएको छ। त्यो के हो? झूट! झूट भनेको अरू कसैलाई बहकाउने मनसायले जानाजानी गलत कुरा बताउनु हो। पहिलो झूट कसले बोल्यो? “दियाबल”-ले। येसु ख्रिष्टले त्यसलाई “झूटको बुबा” भनेर चिनाउनुभयो। (युहन्‍ना ८:४४ पढ्‌नुहोस्‌) त्यसले पहिलो झूट कहिले बोल्यो?

त्यसले हजारौँ वर्षअघि अदनको बगैँचामा पहिलो झूट बोल्यो। सृष्टिकर्ताले पहिलो मानव दम्पती आदम र हव्वालाई प्रमोदवनमा राख्नुभएको थियो र तिनीहरू त्यहाँ रमाइरहेका थिए। परमेश्‍वरले तिनीहरूलाई “असल र खराबको ज्ञानको रूखको फलचाहिँ खाँदै नखानू” भन्‍ने आज्ञा दिनुभएको थियो। त्यो आज्ञा नमानेको खण्डमा तिनीहरू मर्ने थिए। यो कुरा दियाबललाई पनि थाह थियो तर त्यसले सर्पमार्फत हव्वालाई यसो भन्यो: “अहँ! तिमीहरू कदापि मर्नेछैनौ! [यो नै पहिलो झूट थियो।] किनकि परमेश्‍वरलाई थाह छ, जुन दिन तिमीहरू त्यो फल खान्छौ, त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्‌। तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ अनि असल र खराब थाह पाउनेछौ।”—उत्प. २:१५-१७; ३:१-५.

३. हानि पुऱ्‍याउने मनसाय राखेर सैतानले झूट बोलेको थियो भनेर किन भन्‍न सक्छौँ? त्यसले गर्दा परिणाम कस्तो भएको छ?

हानि पुऱ्‍याउने मनसाय राखेर सैतानले झूट बोल्यो किनकि त्यसको कुरा पत्याएर हव्वाले फल खाइन्‌ भने उनी मर्नेछिन्‌ भनेर त्यसलाई राम्ररी थाह थियो। आदम र हव्वाले सैतानको कुरा सुनेर यहोवाको आज्ञा उल्लङ्‌घन गरे। परिणामस्वरूप तिनीहरू मरे। (उत्प. ३:६; ५:५) त्यति मात्र होइन, त्यो पापले गर्दा “मृत्यु सबै मानिसमा व्याप्त भयो।” साँच्चै भन्‍ने हो भने “पापले राजाले झैँ राज गऱ्‍यो, तिनीहरूमाथि समेत, जसले आदमले जस्तो अपराध गरेर पाप गरेका थिएनन्‌।” (रोमी ५:१२, १४) हुनत परमेश्‍वरले सुरुमा मानिसहरू त्रुटिरहित अवस्थामा सधैँभरि बाँचून्‌ भन्‍ने उद्देश्‍य राख्नुभएको थियो। तर अहिले मानिस “७० वर्ष” बाँच्न सक्नु पनि ठूलै कुरा हो अनि “जो हट्टाकट्टा छ, उसको आयु ८० पुग्ला।” तैपनि मानिसहरूको जीवन अक्सर ‘दुःख र पीडाले भरिएको हुन्छ।’ (भज. ९०:१०) सैतानको झूटको कस्तो दुःखदायी परिणाम!

४. (क) हामीले कुन-कुन प्रश्‍नको जवाफ थाह पाउनुपर्छ? (ख) भजन १५:१, २ अनुसार कस्ता व्यक्‍तिहरू मात्र यहोवाको साथी बन्‍न सक्छन्‌?

दियाबलका कामहरूबारे येसुले यसरी व्याख्या गर्नुभयो: “त्यो सत्यमा अडिग रहेन किनकि त्यसमा सत्य छैन।” अहिले पनि सैतानमा कुनै सत्य छैन किनकि त्यसले आफ्नो झूटले ‘सारा संसारलाई ठगिरहेको छ।’ (प्रका. १२:९) हामी दियाबलबाट ठगिन चाहँदैनौँ। त्यसोभए आउनुहोस्‌ यी तीन वटा प्रश्‍न विचार गरौँ: सैतानले कसरी मानिसहरूलाई ठगिरहेको छ? मानिसहरूले झूट बोल्नुको कारण के हो? हामी आदम र हव्वाले जस्तो यहोवासितको मित्रता गुमाउन चाहँदैनौँ; त्यसोभए हामी सधैँ ‘साँचो बोल्छौँ’ भनेर कसरी देखाउन सक्छौँ?भजन १५:१, २ पढ्‌नुहोस्‌।

सैतानले कसरी मानिसहरूलाई ठगिरहेको छ?

५. अहिले सैतानले कसरी मानिसहरूलाई ठगिरहेको छ?

हामी सैतानको ‘छलबाट’ जोगिन सक्छौँ। प्रेषित पावलले यस्तो लेखे: “त्यसका योजनाहरूबारे हामी अनजान छैनौँ।” (२ कोरि. २:११, फुटनोट) यस संसारको झूटो धर्म, भ्रष्ट राजनीति अनि लोभी व्यापारजगत्‌ सबै नै दियाबलको नियन्त्रणमा छ भनेर हामीलाई थाह छ। (१ युह. ५:१९) त्यसैले सैतान र त्यसका प्रेतहरूले ठूलठूला ओहदामा बसेका मानिसहरूलाई “झूटा कुरा” बोल्न लगाएको देख्दा हामी छक्क पर्दैनौँ। (१ तिमो. ४:१, २) ठूलठूला कम्पनीका व्यापारीहरूले साँच्चै यसो गरिरहेका छन्‌ किनकि तिनीहरू हानिकारक उत्पादनहरू र छली योजनाहरू बिकाउन झूटो विज्ञापनको सहारा लिन्छन्‌।

६, ७. (क) झूट बोल्ने धर्मगुरुहरू किन खासगरि दोषी छन्‌? (ख) धर्मगुरुहरूले कस्ता झूटहरू बोलेको तपाईँले सुन्‍नुभएको छ?

झूट बोल्ने धर्मगुरुहरू खासगरि दोषी छन्‌ किनकि तिनीहरूको झूट पत्याउने मानिसहरू भविष्यको उज्ज्वल आशादेखि वञ्चित हुन्छन्‌। यदि परमेश्‍वरले गलत ठहराउनुभएको झूटो शिक्षा कसैले स्विकार्छ र त्यसैअनुसार चल्छ भने परिणामस्वरूप उसले अनन्त जीवन गुमाउनुपर्ने हुन सक्छ। (होसे ४:९) येसुको समयका धर्मगुरुहरू यस्तो छलछामको दोषी छन्‌ भनेर उहाँलाई थाह थियो। उहाँले तिनीहरूको मुखकै सामुन्‍ने यसो भन्‍नुभयो: “धिक्कार छ तिमीहरूलाई, ए कपटी शास्त्री र फरिसीहरू हो! किनकि तिमीहरू कोही एक जनालाई आफ्नो मतमा ल्याउन समुद्र-समुद्र र पाखा-पाखा चाहार्छौ अनि जब ऊ तिमीहरूको मतमा आउँछ, तब तिमीहरू उसलाई आफूभन्दा दोबर गेहेन्‍नाको [अनन्त विनाशको] योग्य बनाउँछौ।” (मत्ति २३:१५, फुटनोट) येसुले एकदमै कडा शब्दमा ती झूटा धर्मगुरुहरूको भर्त्सना गर्नुभयो। तिनीहरू साँच्चै “आफ्नो बुबा दियाबलबाट आएका” थिए, जो “हत्यारा” हो।—युह. ८:४४.

अहिले हाम्रो समयमा पनि संसारभरि त्यस्ता धर्मगुरुहरू छ्यासछ्यासती छन्‌। तिनीहरू पास्टर, पुजारी, रब्बी, स्वामीजस्ता विभिन्‍न पदवीहरूले चिनिन्छन्‌। प्रथम शताब्दीका धर्मगुरुहरूले जस्तै तिनीहरूले “सत्यलाई . . . दबाइरहेका” छन्‌ र “परमेश्‍वरको सत्यलाई विश्‍वास गर्नुको सट्टा तिनीहरूले झूटलाई विश्‍वास” गरेका छन्‌। (रोमी १:१८, २५) तिनीहरू नरक, अमर प्राण, पुनर्जन्मजस्ता झूटा शिक्षाहरू सिकाउँछन्‌ अनि परमेश्‍वरले समलिङ्‌गी जीवनशैली र समलिङ्‌गी विवाहलाई स्विकार्नुहुन्छ भन्‍ने झूटको प्रचारप्रसार गर्छन्‌।

८. राजनीतिज्ञहरूले अब चाँडै कस्तो झूट बोल्नेछन्‌ भनेर हामीलाई थाह छ? तर हाम्रो प्रतिक्रिया कस्तो हुनुपर्छ?

राजनीतिज्ञहरूले झूट बोलेर मानिसहरूलाई बहकाएका छन्‌। तिनीहरूको सबैभन्दा ठूलो झूट त हामीले सुन्‍न बाँकी नै छ, जब तिनीहरूले “शान्ति र सुरक्षा” आयो भनेर घोषणा गर्नेछन्‌। त्यसपछि “तिनीहरूमाथि एक्कासि विनाश आइपर्नेछ।” तिनीहरूको यस्तो झूट सुनेर हामी नबहकिऔँ किनभने हामीलाई थाह छ, अहिलेको युग एकदमै नाजुक अवस्थामा पुगिसकेको छ। हो, “यहोवा परमेश्‍वरको दिन राती चोर आएजस्तै गरी आउँदै छ” भनेर हामीलाई “राम्ररी थाह छ।”—१ थिस्स. ५:१-४.

मानिसहरूले झूट बोल्नुको कारण के हो?

९, १०. (क) मानिसहरू किन झूट बोल्छन्‌ अनि नतिजा कस्तो हुन्छ? (ख) हामीले यहोवाबारे कुन कुरा बिर्सनु हुँदैन?

कुनै नयाँ आविष्कार वा सामान लोकप्रिय भएमा त्यसलाई लाखौँको सङ्‌ख्यामा उत्पादन गरिन्छ। झूटको सन्दर्भमा पनि यस्तै भएको छ। अहिलेको समाजमा झूट फैलाउनु सामान्य भइसकेको छ। प्रभावशाली व्यक्‍तिहरूले मात्र होइन, जो-कोहीले पनि अरूसित झूट बोल्ने गर्छन्‌। वाइ. भट्टाचार्जीको “हामी किन झूट बोल्छौँ” (अङ्‌ग्रेजी) भन्‍ने लेखमा यसो भनिएको छ: “झूट बोल्नुलाई मानिसमा गहिरो जरा गाडेर बसेको दुर्गुण भनेर स्विकारिएको छ।” मानिसहरू आफूलाई जोगाउन वा आफूलाई अघि बढाउन अक्सर झूटको सहारा लिने गर्छन्‌। तिनीहरू आफ्नो गल्ती वा अपराध लुकाउन अनि आर्थिक वा व्यक्‍तिगत स्वार्थपूर्तिको लागि झूट बोल्छन्‌। त्यस लेखमा बताइएअनुसार “सानो होस्‌ या ठूलो झूट, अपरिचित व्यक्‍ति, सहकर्मी र आफ्ना प्रियजनहरूलाई कुनै धक नमानी झूट बोल्ने” मानिसहरू पनि छन्‌।

१० यसरी झूट बोल्दा नतिजा कस्तो हुन्छ? भरोसा गुम्छ अनि आपसी सम्बन्ध भताभुङ्‌ग हुन्छ। उदाहरणको लागि, पत्नीले आफूप्रति वफादार पतिलाई धोका दिनु अनि आफ्नो अवैध सम्बन्धलाई ढाकछोप गर्नु कस्तो दुःखदायी कुरा हो, कल्पना गर्नुहोस्‌ त! अथवा पतिले अरूले नदेख्ने ठाउँमा आफ्नी पत्नी र छोराछोरीलाई दुर्व्यवहार गर्नु तर अरूको अगाडि भने आदर्श पति र बुबाजस्तो व्यवहार गर्नु कत्ति नराम्रो कुरा हो! तर त्यस्ता मानिसहरूले यहोवाको नजरबाट केही पनि लुकाउन सक्दैनन्‌ भनेर हामीले बिर्सनु हुँदैन किनकि “उहाँको नजरमा सबै कुरा खुला र उदाङ्‌ग छन्‌।”—हिब्रू ४:१३.

११. हननिया र सफिराको नराम्रो उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

११ परमेश्‍वरसित झूट बोल्न प्रथम शताब्दीको एक ख्रिष्टियन दम्पतीलाई ‘सैतानले सुऱ्‍याएको’ एउटा उदाहरण हामी बाइबलमा पाउँछौँ। हननिया र सफिराले प्रेषितहरूलाई बहकाउन आफ्नो मनमा योजना बनाइसकेका थिए। तिनीहरूले आफ्नो केही जग्गाजमिन बेचे तर त्यसबाट आएको रकमको केही हिस्सा मात्र प्रेषितहरूलाई दिए। उदारचित्तले सबै रकम दिएजस्तो भान पारेर यो दम्पती मण्डलीको अगाडि आफूलाई राम्रो देखाउन चाहन्थ्यो। तर तिनीहरूले गरेको कुरा यहोवाले देख्नुभयो र तिनीहरूलाई सजाय दिनुभयो।—प्रेषि. ५:१-१०.

१२. अरूको हानि पुऱ्‍याउने मनसायले झूट बोल्ने र पश्‍चात्ताप नगर्ने मानिसहरू कहाँ हुऱ्‍याइनेछन्‌, किन?

१२ झूट बोल्नुलाई यहोवा कस्तो ठान्‍नुहुन्छ? सैतान र त्यसको अनुकरण गर्दै अरूको हानि पुऱ्‍याउने मनसायले झूट बोल्ने र पश्‍चात्ताप नगर्ने मानिसहरू “आगो[को] . . . कुण्डमा” हुऱ्‍याइनेछन्‌। (प्रका. २०:१०; २१:८; भज. ५:६) किन? किनभने झूट बोल्ने त्यस्ता मानिसहरू पनि यहोवाको नजरमा ‘घिनलाग्दा कामहरू’ गर्ने मानिसहरूकै समूहमा पर्छन्‌।—प्रका. २२:१५, फुटनोट।

१३. यहोवाबारे हामीलाई के थाह छ र त्यसले गर्दा हामी के गर्न उत्प्रेरित हुन्छौँ?

१३ हामीलाई थाह छ, यहोवा “झूट बोल्नुहुन्‍न, किनकि उहाँ मानिस हुनुहुन्‍न।” “परमेश्‍वरले झूट बोल्न असम्भव” छ। (गन्ती २३:१९; हिब्रू ६:१८) ‘यहोवा झूट बोल्ने जिब्रोलाई घृणा गर्नुहुन्छ।’ (हितो. ६:१६, १७) उहाँको अनुमोदन पाउन चाहन्छौँ भने साँचो बोल्ने सन्दर्भमा उहाँले तोक्नुभएको स्तरअनुसार हामी जिउनुपर्छ। त्यसैले हामी ‘एकअर्कालाई ढाँट्‌दैनौँ।’—कल. ३:९.

हामी ‘साँचो बोल्छौँ’

१४. (क) हामी झूटो धर्मका सदस्यहरूभन्दा कसरी फरक छौँ? (ख) लुका ६:४५ मा दिइएको सिद्धान्त व्याख्या गर्नुहोस्‌।

१४ साँचो ख्रिष्टियनहरू र झूटो धर्मका सदस्यहरूबीचको एउटा भिन्‍नता के हो? हामी ‘साँचो बोल्छौँ।’ (जकरिया ८:१६,१७ पढ्‌नुहोस्‌) हामी ‘सत्य बोलेर आफूलाई परमेश्‍वरका सेवकहरूको रूपमा सिफारिस गर्छौँ’ भनी पावलले बताए। (२ कोरि. ६:४, ७) मानिसले आफ्नो “हृदयमा जे प्रशस्त छ, मुखले त्यही बोल्छ” भनी येसुले बताउनुभयो। (लुका ६:४५) त्यसैले असल मानिसले हृदयमा साँचो बोल्छ र उसको मुखबाट पनि साँचो कुरा निस्कन्छ। तिनले सानो कुरामा होस्‌ या ठूलो कुरामा, अपरिचित व्यक्‍ति, सहकर्मी र आफ्ना प्रियजनहरूसित सत्य बोल्छन्‌। हामी सबै कुरामा इमानदार हुन प्रयास गरिरहेका छौँ भनेर देखाउने केही उदाहरण विचार गरौँ।

यस जवान बहिनीले कस्तो जीवन बिताउँदै छिन्‌? (अनुच्छेद १५, १६ हेर्नुहोस्‌)

१५. (क) दोहोरो जीवन बिताउनु किन कहिल्यै बुद्धिमानी कुरा होइन? (ख) साथीहरूबाट आउने हानिकारक दबाबको प्रतिरोध गर्न जवानहरूलाई केले मदत गर्छ? (फुटनोट हेर्नुहोस्‌)

१५ तपाईँ जवान व्यक्‍ति हुनुहुन्छ भने आफ्ना साथीहरूमाझ अनौठो देखिन पक्कै चाहनुहुन्‍न होला। तर यस्तो चाहनाले गर्दा केही जवानहरूले दोहोरो जीवन बिताएका छन्‌। तपाईँ भने त्यस्तो कहिल्यै नगर्नुहोस्‌। त्यस्ता जवानहरू आफ्नो परिवार र मण्डलीमा चोखो आचरण देखाउँछन्‌ तर सांसारिक साथीभाइ र सामाजिक सञ्जालमा भने बिलकुलै फरक रूप देखाउँछन्‌। तिनीहरू फोहोर बोली बोल्ने, अभद्र पहिरन लगाउने, पतित सङ्‌गीत सुन्‍ने, रक्सी वा लागू पदार्थको दुरुपयोग गर्ने, लुकीछिपी डेटिङ गर्ने र यीभन्दा पनि नराम्रा कुराहरू गरिरहेका हुन सक्छन्‌। यस्तो जीवन बिताउँदा तिनीहरूले आफैलाई झुक्क्याइरहेका हुन्छन्‌ अनि आमाबुबा, सङ्‌गी उपासक र परमेश्‍वरलाई छक्क्याउन खोजिरहेका हुन्छन्‌। (भज. २६:४, ५) हामीले यहोवालाई ‘आफ्नो ओठले त आदर गरेको तर हाम्रो हृदय भने उहाँदेखि धेरै टाढा भएको’ उहाँ चाल पाउनुहुन्छ। (मर्कु. ७:६) त्यसैले यो उपदेश पालन गर्नु कत्ति बेस: “तिम्रो हृदयले पापीहरूको डाह नगरोस्‌ बरु सधैँ यहोवाको डर मानोस्‌।”—हितो. २३:१७. *

१६. सेवाको विशेष सुअवसरको लागि आवेदन भर्दा हामीले के गर्नुपर्छ?

१६ तपाईँ नियमित अग्रगामीको रूपमा सेवा गर्न वा विशेष पूर्ण-समय सेवाको कुनै पक्ष जस्तै, बेथेल सेवा गर्न चाहनुहुन्छ कि? त्यस्तो सेवाको लागि आवेदन भर्दा इमानदार भई सबै प्रश्‍नको पूर्णतया साँचो जवाफ दिनु महत्त्वपूर्ण छ। जस्तै: तपाईँको स्वास्थ्य, मनोरञ्जनको छनौट र नैतिक स्तरबारे। (हिब्रू १३:१८) तपाईँ कुनै प्रकारको अशुद्ध वा शङ्‌कास्पद आचरणमा संलग्न हुनुभएको थियो र त्यसबारे तपाईँले एल्डरहरूसित कुरा गरिसक्नुभएको छैन भने नि? त्यसो हो भने एल्डरहरूको मदत माग्नुहोस्‌ र तिनीहरूले तपाईँलाई सफा अन्तस्करणले सेवा गर्न मदत गर्नेछन्‌।—रोमी ९:१; गला. ६:१.

१७. हाम्रो खेदो गर्नेहरूले हाम्रा भाइहरूबारे जानकारी लिन खोजे भने हामीले के गर्नुपर्छ?

१७ हाम्रो राज्य गतिविधिमा अख्तियारवालाहरूले प्रतिबन्ध लगाए अनि हाम्रा भाइहरूबारे जानकारी लिन तपाईँलाई पक्रेर लगे भने तपाईँले के गर्नुपर्छ? के तपाईँले आफूलाई थाह भएको सबै कुरा बताउनुपर्छ? रोमी राज्यपालले केरकार गर्दा येसुले के गर्नुभयो, विचार गर्नुहोस्‌। येसुले “चुप लाग्ने एउटा समय छ, बोल्ने एउटा समय” छ भन्‍ने धर्मशास्त्रीय सिद्धान्त लागू गर्नुभयो र कुनै-कुनै अवस्थामा केही पनि बोल्नुभएन! (उप. ३:१, ७; मत्ति २७:११-१४) त्यस्तो अवस्थामा विवेकी हुनु सबैभन्दा बुद्धिमानी हो किनभने हाम्रा भाइहरूलाई हामी खतरामा पार्न चाहँदैनौँ।—हितो. १०:१९; ११:१२.

कहिले चुप लाग्ने र कहिले सत्य बोल्ने भनेर तपाईँ कसरी निर्णय गर्नुहुन्छ? (अनुच्छेद १७, १८ हेर्नुहोस्‌)

१८. हाम्रा भाइहरूबारे एल्डरहरूले सोध्दा हामीले के गर्नुपर्छ?

१८ मण्डलीको कुनै सदस्यले गम्भीर पाप गरे र त्यसबारे तपाईँलाई थाह छ भने नि? एल्डरहरूले मण्डलीलाई नैतिक तवरमा स्वच्छ राख्ने जिम्मेवारी पाएका छन्‌। त्यसैले तिनीहरूले त्यसबारे तपाईँलाई सोध्न सक्छन्‌। त्यतिबेला तपाईँ के गर्नुहुन्छ? झन्‌ गल्ती गर्ने व्यक्‍ति तपाईँकै नजिकको साथी वा नातेदार हुन्‌ भने नि? बाइबल यसो भन्छ: “विश्‍वासयोग्य साक्षीले सीधा कुरा गर्छ।” (हितो. १२:१७; २१:२८) त्यसैले एल्डरहरूलाई आधाउधि कुरा मात्र नभएर सत्य कुरा सबै बताउनु तपाईँको जिम्मेवारी हो। अनि तपाईँले सत्यलाई बङ्‌ग्याउनु हुँदैन। सही जानकारी पाउनु एल्डरहरूको अधिकार हो किनभने तिनीहरू गल्ती गर्ने व्यक्‍तिलाई यहोवासितको सम्बन्ध पुनः कायम गर्न मदत दिने सबैभन्दा राम्रो तरिका कुन हो, त्यो पत्ता लगाउन चाहन्छन्‌।—याकु. ५:१४, १५.

१९. अर्को लेखमा हामी कुन कुरा छलफल गर्नेछौँ?

१९ भजनहार दाउदले यहोवालाई यस्तो प्रार्थना गरे: “तपाईँ त्यस्तो मानिसदेखि खुसी हुनुहुन्छ, जो मनैदेखि सोझो छ।” (भज. ५१:६) साँचो बोल्नु भनेको मनैबाट आउने कुरा हो भनेर दाउदलाई थाह थियो। साँचो ख्रिष्टियनहरू जीवनको हरेक पक्षमा ‘एकअर्कासित साँचो बोल्छन्‌।’ हामी परमेश्‍वरका सेवक भएकोले फरक छौँ भनेर देखाउने अर्को तरिका प्रचारकार्यमा मानिसहरूलाई उहाँबारे सत्य कुरा सिकाएर हो। हामी कसरी त्यसो गर्न सक्छौँ भनेर अर्को लेखमा छलफल गर्नेछौँ।

^ अनु. 15 युवाहरूको १० प्रश्‍नका जवाफहरू पुस्तिकाको प्रश्‍न ६, “साथीहरूको दबाबको कसरी प्रतिरोध गर्न सक्छु?” र युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ, खण्ड २ को (अङ्‌ग्रेजी) अध्याय १६, “दोहोरो जीवन बिताउँदा कसलाई हानि पुग्छ?” हेर्नुहोस्‌।