सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

१९१८—एक सय वर्षअघि

१९१८—एक सय वर्षअघि

जनवरी १, १९१८ को वाच टावर-को सुरुमा यस्तो लेखिएको थियो: “१९१८ कस्तो रहनेछ?” युरोपमा प्रथम विश्‍वयुद्ध अझै चर्किरहेको थियो तर १९१८ को सुरुतिर भएका केही घटनाहरूले बाइबल स्टुडेन्टस्‌ अनि संसारका सबै मानिसहरूको मनमा केही आशा जगाएको थियो।

राष्ट्रहरू शान्तिबारे कुरा गर्छन्‌

जनवरी ८, १९१८ मा अमेरिकी राष्ट्रपति वुड्रो विल्सनले संसदलाई दिएको भाषणमा “न्यायपूर्ण र स्थायी रूपमा शान्ति” कायम गर्न चाहिने १४ वटा बुँदा उल्लेख गरे। तिनले राष्ट्रहरूबीच खुला कूटनीतिक सम्बन्ध हुनुपर्छ, निश्‍शस्त्रीकरण गर्नुपर्छ र “साना-ठूला सबै राष्ट्रको” हितको लागि “राष्ट्रहरू मिलेर बनेको एउटा सङ्‌गठन” स्थापना गर्नुपर्छ भन्‍ने प्रस्ताव राखे। तिनले उल्लेख गरेका “चौध बुँदा” पछि गएर राष्ट्र सङ्‌घ स्थापना गर्न अनि भर्साइल्सको सन्धि गर्न प्रयोग हुने थियो, जसले प्रथम विश्‍वयुद्धको अन्त गर्न ठूलो भूमिका खेल्ने थियो।

विरोधीहरूको हार

अघिल्लो वर्ष निकै उथलपुथल मच्चिएको भए तापनि बाइबल स्टुडेन्टस्‌को लागि शान्तिको आशा पनि पलाएको थियो। * वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीको वार्षिक साधारण सभामा घटेका घटनाहरूले शान्ति छाउने कुराको सङ्‌केत दिएको थियो।

बेथेलबाट निकालिएका केही प्रतिष्ठित व्यक्‍तिहरूले जनवरी ५, १९१८ मा आयोजना गरिएको यो सभामा सङ्‌गठनलाई आफ्नो नियन्त्रणमा लिने प्रयास गरे। त्यतिबेला वफादार परिभ्रमण निरीक्षक भाइ रिचार्ड एच. बार्बरले प्रार्थना गरेर सभाको सुरुवात गर्नुभयो। गत वर्षको कामको रिपोर्ट प्रस्तुत भइसकेपछि सञ्चालकहरूको वार्षिक निर्वाचन भयो। भाइ बार्बरले जोसेफ रदरफोर्ड र अरू छ जना भाइहरूलाई उम्मेदवार छनौट गर्नुभयो। त्यसपछि विरोधीहरूको समर्थन गर्ने वकिलले अरू सात जनालाई उम्मेदवार छनौट गरे, जसमध्ये केही बेथेलबाट निकालिएका व्यक्‍तिहरू पनि थिए। तर तिनीहरूले हारे। सेयरधनीहरूको भारी बहुमतद्वारा भाइ रदरफोर्ड र अरू छ जना वफादार भाइहरू सङ्‌गठनको सञ्चालक नियुक्‍त भए।

यस सभामा उपस्थित थुप्रै भाइहरूले “आजसम्म कुनै पनि सभामा यति धेरै आशिष्‌ पाएको महसुस भएको थिएन” भनेर बताए। तर तिनीहरूको खुसी लामो समयसम्म रहेन।

टुङ्‌गिएको रहस्य किताबप्रति मानिसहरूको प्रतिक्रिया

बाइबल स्टुडेन्टस्‌ले केही महिनाअघि देखि टुङ्‌गिएको रहस्य (अङ्‌ग्रेजी) किताब वितरण गर्दै आइरहेका थिए। असल हृदय भएका मानिसहरूले त्यस किताबमा भएको बाइबलका सत्य कुराहरू पढेर सकारात्मक प्रतिक्रिया देखाए।

क्यानाडाका परिभ्रमण निरीक्षक इ. एफ. क्राइस्टले टुङ्‌गिएको रहस्य किताब पढेर पाँच हप्तामै सत्य स्विकारेको एक दम्पतीबारे बताए। तिनले यसो भने: “श्रीमान्‌-श्रीमती दुवै नै प्रभुमा पूर्णतया समर्पित छन्‌ अनि निकै उन्‍नति गरिरहेका छन्‌।”

एक जना मानिसले त्यो किताब पाउनेबित्तिकै त्यसबारे आफ्ना साथीहरूलाई पनि बताए। त्यसको सन्देशले तिनलाई “बेसरी लाग्यो।” तिनले यसो भने: “म बाटोमा हिँडिरहेको थिएँ अनि इँटाजस्तो केही चिजले मेरो कुममा बेसरी लाग्यो। त्यो त ‘टुङ्‌गिएको रहस्य’ किताब पो रहेछ! मैले त्यो किताब घर लगेँ र पूरै पढेँ। . . . पछि मैले थाह पाएँ, त्यो किताब त चर्चका एक जना प्रचारकले रिसको झोँकमा झ्यालबाट हुऱ्‍याएका रहेछन्‌। . . . एउटा कुरा पक्का छ: तिनले त्यो किताब झ्यालबाट हुऱ्‍याएकोले गर्दा यति धेरै मान्छेले जीवनको साँचो आशा पाए, तिनको अरू कुनै पनि कामले त्यति धेरै मान्छेलाई जीवनको आशा दिएको थिएन। . . . हुनत ती प्रचारकले रिसको झोँकमा त्यो किताब फ्याँकेका थिए तर त्यही कुरा नै हाम्रो लागि परमेश्‍वरको प्रशंसा गर्ने कारण बन्यो।”

ती प्रचारकले त्यस्तो प्रतिक्रिया देखाउनु कुनै नौलो कुरा थिएन। त्यस किताबमा देशद्रोही र युद्धविरोधी विचार लेखिएको आरोपमा क्यानाडाका सरकारी अधिकारीहरूले फेब्रुअरी १२, १९१८ मा त्यसमाथि प्रतिबन्ध लगाएका थिए। त्यसको केही समयपछि अमेरिकाका सरकारी अधिकारीहरूले पनि त्यसमाथि प्रतिबन्ध लगाए। सरकारी अधिकारीहरूले बेथेल भवनको अनि न्यु योर्क, पेन्सिलभेनिया र क्यालिफोर्नियामा भएका कार्यालयहरूको खानतलासी गरे। सङ्‌गठनमा नेतृत्व लिइरहेका भाइहरूविरुद्ध केही सबुत फेला पार्ने उद्देश्‍यले तिनीहरूले त्यसो गरेका थिए। मार्च १४, १९१८ मा अमेरिकाको न्याय विभागले टुङ्‌गिएको रहस्य किताबमाथि प्रतिबन्ध लगायो। त्यस किताबको प्रकाशन र वितरणले मानिसहरूलाई युद्धमा जानदेखि रोकेको र त्यसले जासुसी ऐनको उल्लङ्‌घन गरेको आरोपमा त्यस्तो प्रतिबन्ध लगाइएको थियो।

भाइहरूलाई जेलमा हालियो!

मे ७, १९१८ मा अमेरिकाको न्याय विभागले जोभानी डाचेकी, जर्ज फिसर, अलेक्जेन्डर म्याकमिलन, रोबर्ट मार्टिन, फ्रेडरिक रोबिसन, जोसेफ रदरफोर्ड, विलियम भान एमबर्ग र क्लेटन वूडवर्थलाई गिरफ्तार गर्ने अनुमति पायो। यी भाइहरूमाथि “जानाजानी मानिसहरूलाई विद्रोह गर्न र देशप्रति अवफादार रहन उक्साएको अनि अमेरिकाको सैनिक र जलसेनामा सेवा गर्नुपर्ने कर्तव्यबाट मानिसहरूलाई बहकाएर कानुनविपरित जघन्य अपराध गरेको” आरोप लगाइयो। जून ३, १९१८ मा यी भाइहरूमाथि मुद्दा चलाइयो तर तिनीहरूलाई दोषी ठहऱ्‍याइने कुरा लगभग निश्‍चित थियो। किन?

यी भाइहरूलाई जासुसी ऐन उल्लङ्‌घन गरेको आरोप लगाइएको थियो। त्यस किसिमको आरोपबारे अमेरिकाको महान्यायाधिवक्‍ताले यसो भने: “अफवाह फैलाउनेहरूलाई सजाय दिने यो सशक्‍त हतियार हो।” मे १६, १९१८ मा अमेरिकाको संसदले यस कानुनलाई संशोधन गर्न इन्कार गऱ्‍यो। यसलाई संशोधन गरिएको भए “उचित मनसायले अनि सही उद्देश्‍य राख्दै सत्य कुराको” प्रचार गर्नेहरू सजाय पाउनदेखि जोगिने थिए। टुङ्‌गिएको रहस्य किताब संसदमा भएको विवादको एउटा मुख्य विषय थियो। त्यस किताबबारे अमेरिकी संसदको सरकारी रेकर्डमा यस्तो लेखिएको छ: “यस किसिमको अफवाहको एउटा एकदमै खतरनाक उदाहरण भनेको ‘टुङ्‌गिएको रहस्य’ भन्‍ने किताब हो। . . . यसले सिपाहीहरूलाई देशको मुख्य नीतिलाई तुच्छ ठान्‍न र . . . सैन्य सेवामा भर्ती नहुन उक्साउनुसिवाय अरू केही पनि गर्दैन।”

जून २०, १९१८ मा न्यायाधीशहरूले यी आठ जना भाइहरूलाई सबै आरोपको दोषी ठहऱ्‍याए। त्यसको भोलिपल्ट न्यायाधीशले सजाय सुनाए। तिनले यसो भने: “यिनीहरूले फैलाइरहेको धार्मिक अफवाह . . . जर्मन सेनाको एउटा टुकडीभन्दा पनि खतरनाक छ। . . . त्यसैले यिनीहरूलाई कडाभन्दा कडा दण्ड दिनुपर्छ।” त्यसको दुई हप्तापछि ती आठ जना भाइहरूलाई जर्जियाको एटलान्टास्थित सरकारी सुधारगृह पठाइयो। ती भाइहरूलाई १० देखि २० वर्षसम्मको जेल सजाय सुनाइएको थियो।

प्रचारकार्य अघि बढिरहन्छ

यो अवधिमा बाइबल स्टुडेन्टस्‌ले घोर विरोधको सामना गर्नुपऱ्‍यो। संघीय जाँच आयोगले (एफबीआई) तिनीहरूको गतिविधिबारे कडाईका साथ छानबिन गऱ्‍यो र हजारौँ प्रतिवेदन तयार पाऱ्‍यो। हाम्रा भाइबहिनीहरू हरहालतमा प्रचार गरिरहन दृढ थिए भनेर ती प्रतिवेदनहरूले देखाउँछन्‌।

फ्लोरिडाको ओरलान्डो सहरको हुलाकका हाकिमले एफबीआई-लाई यस्तो पत्र पठाएका थिए: “[बाइबल स्टुडेन्टस्‌हरू] घर-घर जाँदै सहरभरि डुलिरहेका छन्‌। तिनीहरू धेरैजसो राती त्यसो गर्छन्‌। . . . जेहोस्‌ तिनीहरूको उद्देश्‍य मानिसहरूलाई भड्‌काएर उथलपुथल मच्चाइरहनु हो जस्तो देखिन्छ।”

फ्रेडरिक डब्ल्यु. फ्रान्ज, जसले पछि परिचालक निकायमा सेवा गर्नुभयो, उहाँको गतिविधिबारे युद्ध विभागका कर्नेलले एफबीआई-लाई रिपोर्ट पठाए। तिनले यस्तो लेखे: “एफ. डब्लु. फ्रान्ज . . . ‘टुङ्‌गिएको रहस्य’ किताबको हजारौँ प्रति बिक्री गर्ने काममा सक्रिय भई लागिरहेका छन्‌।”

चार्ल्स फेकेलले पनि घोर सतावटको सामना गर्नुपऱ्‍यो। उहाँले पनि पछि परिचालक निकायमा सेवा गर्नुभयो। टुङ्‌गिएको रहस्य वितरण गरेको आरोपमा अख्तियारवालाहरूले उहाँलाई पक्रे अनि उहाँका व्यक्‍तिगत चिठीपत्रहरूको पनि निगरानी गरे। उहाँलाई मेरील्याण्डको बाल्टिमोरमा एक महिना जेलमा हालियो र “अस्ट्रियाबाट आएको विदेशी शत्रु” भन्‍ने नाम दिइयो। उहाँले आफूलाई केरकार गर्नेहरूलाई पावलले १ कोरिन्थी ९:१६ मा बताइएको यो कुरा सम्झेर साहसी हुँदै साक्षी दिनुभयो: “मैले सुसमाचार सुनाइनँ भने मलाई धिक्कार छ!” *

बाइबल स्टुडेन्टस्‌ले जोसिलो भई प्रचार गर्नुका साथै एटलान्टामा थुनिएका भाइहरूलाई जेलमुक्‍त गर्न अपिल-पत्र पनि जोडतोडले वितरण गरे। आना के. गार्डनरले त्यसबेलाको कुरा सम्झँदै यसो भनिन्‌: “हामी सधैँ केही न केही गरिरहेका हुन्थ्यौँ। भाइहरू जेलमा हुँदा हाम्रो एउटा काम भनेको हस्ताक्षर सङ्‌कलन गर्नु थियो। हामी घर-घर गयौँ। हामीले हजारौँ हस्ताक्षर सङ्‌कलन गऱ्‍यौँ! जेलमा थुनिएका ती भाइहरू साँचो ख्रिष्टियनहरू हुन्‌ र तिनीहरूलाई अन्यायपूर्वक जेलमा हालिएको हो भनेर हामीले मानिसहरूलाई बतायौँ।”

अधिवेशनहरू

यो कठिन समयमा भाइबहिनीलाई आध्यात्मिक तवरमा बलियो पार्न थुप्रै अधिवेशनहरू आयोजना गरिए। वाच टावर-मा यस्तो लेखिएको थियो: “यस वर्ष . . . ४० वटा भन्दा धेरै अधिवेशनहरू आयोजना गरिए। . . . यी सबै अधिवेशनहरूबाट अत्यन्तै राम्रो रिपोर्ट प्राप्त भएको छ। यसअघि सबै अधिवेशनहरू गर्मी यामको अन्ततिर वा जाडो यामको सुरुतिर आयोजना गरिन्थ्यो तर यस वर्ष भने हरेक महिना अधिवेशनहरू भइरहेका छन्‌।”

असल हृदय भएकाहरूले अझै पनि सुसमाचार सुनिरहेका थिए। ओहायोको क्लिभल्याण्डमा आयोजना गरिएको एउटा अधिवेशनमा करिब १,२०० जना उपस्थित भए र ४२ जनाले बप्तिस्मा गरे। तीमध्ये एक जना सानो केटो पनि थियो, जसले “परमेश्‍वरको र ख्रिष्टियन समर्पणको मनैदेखि कदर गर्थ्यो र उसले चालेको त्यो कदमले थुप्रै वयस्कहरूलाई लज्जित महसुस गराउने थियो।”

अब के हुन्छ?

सन्‌ १९१८ को अन्ततिर आइपुग्दा बाइबल स्टुडेन्टस्‌को भविष्य अन्योल देखिन्थ्यो। ब्रूक्लिनमा भएका केही भवनहरू बिक्री गरियो र मुख्यालयलाई पेन्सिलभेनियाको पिट्‌सबर्गमा सारियो। नेतृत्व लिने भाइहरूलाई जेलमा थुनिएको भए तापनि सेयरधनीहरूको अर्को वार्षिक सभा जनवरी ४, १९१९ मा गर्ने निर्णय भयो। घटनाले कस्तो मोड लिने थियो?

हाम्रा भाइबहिनीहरू आफ्नो काममा सक्रिय भई लागिरहे। अन्तमा नतिजा राम्रो हुनेछ भन्‍ने कुरामा तिनीहरू यति विश्‍वस्त थिए कि तिनीहरूले १९१९ को लागि यो वार्षिक पद रोजे: “तिमीविरुद्ध उठाइने जुनसुकै हतियार बेकामको हुनेछ।” (यसै. ५४:१७) परिस्थितिले अचानक कोल्टे फेर्न लागेको थियो, जसले गर्दा तिनीहरूको विश्‍वास बलियो हुने थियो र तिनीहरू आफ्नो अगाडि रहेको ठूलो काम पूरा गर्न अझ तम्तयार हुने थिए।

^ अनु. 6 यहोवाका साक्षीहरूको वार्षिक पुस्तक २०१७ (अङ्‌ग्रेजी), पृष्ठ १७२-१७६ मा भएको “एक सय वर्षअघि—१९१७” हेर्नुहोस्‌।

^ अनु. 22 प्रहरीधरहरा (अङ्‌ग्रेजी) मार्च १, १९६९ मा प्रकाशित “असल काममा लागिरहँदा पाइने आनन्द” भन्‍ने लेखमा चार्ल्स फेकेलको जीवनी पढ्‌नुहोस्‌।