सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरले ल्याउनुहुने “आँधीबेहरी” नजिकिँदै जाँदा मानिसहरूले चेतावनी सुन्‍नु जरुरी छ!

परमेश्‍वरले गर्नुहुने न्याय—के उहाँले सधैँ समयमै चेतावनी दिनुहुन्छ?

परमेश्‍वरले गर्नुहुने न्याय—के उहाँले सधैँ समयमै चेतावनी दिनुहुन्छ?

एक मौसमविद्‌ले भयानक आँधीबेहरी आउँदै गरेको र हजारौँ मानिस बस्ने सहरतिर अघि बढ्‌दै गरेको कुरा थाह पाउँछन्‌। मानिसहरूको सुरक्षाको चिन्ता गरेकोले ढिला हुनुअघि नै तिनी चेतावनी दिन सक्दो प्रयास गर्छन्‌।

त्यसैगरि यहोवाले पृथ्वीका बासिन्दाहरूलाई एउटा यस्तो “आँधीबेहरी”-बारे चेतावनी दिँदै हुनुहुन्छ, जुन मौसमको रिपोर्टमा सुनिने कुनै पनि आँधीबेहरीभन्दा कता हो कता भयानक छ। उहाँले कसरी चेतावनी दिँदै हुनुहुन्छ? उहाँले मानिसहरूलाई कदम चाल्न प्रशस्त समय दिइरहनुभएको छ भनेर किन ढुक्क हुन सक्छौँ? यसको जवाफ पाउनुअघि यहोवाले पहिला दिनुभएका केही चेतावनीबारे विचार गरौँ।

परमेश्‍वरले दिनुभएका चेतावनीहरू

बाइबलकालीन समयमा जानाजानी यहोवाको आज्ञा पालन नगर्नेहरूमाथि आफूले ल्याउने “आँधीबेहरी” अर्थात्‌ न्यायबारे उहाँले थुप्रै पटक चेतावनी दिनुभएको थियो। (हितो. १०:२५; यर्मि. ३०:२३) हरेक पटक उहाँले मानिसहरूलाई समयमै चेतावनी दिनुभयो अनि तिनीहरूलाई उहाँको इच्छाबमोजिम परिवर्तन गर्न निर्देशन दिनुभयो। (२ राजा १७:१२-१५; नहे. ९:२९, ३०) मानिसहरूले परिवर्तन गरून्‌ भनेर उहाँले आफूले ल्याउन लागेको न्यायदण्डबारे सुनाउनुभयो अनि तिनीहरूले तुरुन्तै कदम चाल्नु जरुरी छ भनेर बुझाउनुभयो। यसरी चेतावनी दिन उहाँले अक्सर पृथ्वीमा भएका आफ्ना वफादार सेवकहरूलाई प्रयोग गर्नुभयो।—आमो. ३:७.

ती वफादार सेवकहरूमध्ये एक नुह थिए। अनैतिक जीवन बिताउने र हिंस्रक स्वभाव भएका मानिसहरूलाई आउँदै गरेको जलप्रलयबारे तिनले साहसी हुँदै वर्षौँसम्म चेतावनी दिइरहे। (उत्प. ६:९-१३, १७) जलप्रलयबाट बच्न के गर्नुपर्छ भनेर पनि तिनले बताए। त्यसैकारण पछि तिनी “धार्मिकताबारे प्रचार गर्ने” व्यक्‍ति भनेर चिनिए।—२ पत्रु. २:५.

नुहले परमेश्‍वरबाट पाएको सन्देश सुनाउन सकेजति गरे तर पनि मानिसहरूले त्यो सन्देशलाई बेवास्ता गरे। तिनीहरूले नुहको सन्देशमा पटक्कै विश्‍वास नगरेको देखाए। नतिजास्वरूप ‘जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै बगायो’ र तिनीहरू नाश भए। (मत्ति २४:३९; हिब्रू ११:७) विनाश नजिकै आइपुग्दा परमेश्‍वरले चेतावनी दिनुभएन भनेर तिनीहरूसित दाबी गर्ने कुनै आधार थिएन।

अरू बेलामा भने यहोवाले न्यायरूपी “आँधीबेहरी” ल्याउनुभन्दा थोरै समयअघि मात्र चेतावनी दिनुभयो। त्यसो भए तापनि उहाँले तिनीहरूलाई आवश्‍यक कदम चाल्न प्रशस्त समय दिनुभयो। उदाहरणको लागि, प्राचीन मिश्रमा दस विपत्ति ल्याउनुहुँदा उहाँले हरेक पटक चेतावनी दिनुभएको थियो। जस्तै, असिना बर्साएर सातौँ विपत्ति ल्याउनुअघि उहाँले मोसा र हारुनलाई फारो र तिनका चाकरहरूकहाँ पठाएर चेतावनी दिनुभएको थियो। असिना भोलिपल्टै बर्सिने थियो। त्यसोभए के यहोवाले तिनीहरूलाई त्यसबाट जोगिन पर्याप्त समय दिनुभयो? बाइबल भन्छ: “फारोका चाकरहरूमध्ये ज-जसले यहोवा परमेश्‍वरको डर माने, तिनीहरूले आ-आफ्ना दास अनि वस्तुभाउलाई तुरुन्तै घरमा ल्याए। तर यहोवा परमेश्‍वरको कुरा नमान्‍नेहरूले आफ्ना दास अनि वस्तुभाउलाई खेतबारीमै छोडे।” (प्रस्थ. ९:१८-२१) चेतावनी सुनेर तुरुन्तै कदम चाल्नेहरू विपत्तिबाट बचे। त्यसकारण यहोवाले पर्याप्त समय दिनुभयो भन्‍ने कुरामा कुनै शङ्‌का छैन।

त्यसैगरि दसौँ विपत्ति आउनुअघि फारो र तिनका चाकरहरूले चेतावनी पाएका थिए तर तिनीहरूले त्यो चेतावनीको कुनै वास्ता गरेनन्‌। (प्रस्थ. ४:२२, २३) नतिजास्वरूप तिनीहरूकै आँखाअगाडि तिनीहरूका जेठा छोराहरूको मृत्यु भयो। कस्तो दु:खलाग्दो कुरा! (प्रस्थ. ११:४-१०; १२:२९) के तिनीहरू त्यो विपत्तिबाट बच्न सक्थे? अवश्‍य सक्थे! मोसाले इस्राएलीहरूलाई आउनै लागेको दसौँ विपत्तिबारे चेतावनी दिएका थिए र त्यसबाट आफू र आफ्नो परिवारलाई जोगाउन के गर्नुपर्छ भनेर निर्देशन पनि दिएका थिए। (प्रस्थ. १२:२१-२८) त्यो चेतावनीअनुसार कति जनाले कदम चाले? केही तथ्याङ्‌कअनुसार तीस लाखभन्दा धेरै मानिस परमेश्‍वरको न्यायबाट बचे, जसमा इस्राएलीहरूका साथै “विदेशीहरूको ठूलो दल” थियो; त्यस “ठूलो दल”-मा गैर-इस्राएलीहरू र मिश्रीहरू थिए।—प्रस्थ. १२:३८; फुटनोट।

यी उदाहरणहरूले देखाएअनुसार यहोवाले मानिसहरूलाई चेतावनी दिनुभएपछि कदम चाल्न सधैँ प्रशस्त समय दिनुभयो। (व्यव. ३२:४) परमेश्‍वरले यसरी समय दिनुको कारण के थियो? यहोवा “कोही पनि नाश नहोस्‌ बरु सबैले पश्‍चात्ताप गरून्‌ भन्‍ने चाहनुहुन्छ” भनेर प्रेषित पत्रुसले बताए। (२ पत्रु. ३:९) हो, परमेश्‍वरले मानिसहरूको ख्याल राख्नुभयो। उहाँले न्याय गर्नुअघि नै मानिसहरूले पश्‍चात्ताप गरून्‌ र आवश्‍यक छाँटकाँट गरून्‌ भन्‍ने उहाँ चाहनुहुन्थ्यो।—यसै. ४८:१७, १८; रोमी २:४.

परमेश्‍वरको चेतावनीअनुसार अहिल्यै कदम चाल्ने

आज पनि पृथ्वीभरि घोषणा भइरहेको सन्देश सुनेर मानिसहरूले तुरुन्तै कदम चाल्नु जरुरी छ। “महासङ्‌कष्ट”-को दौडान यस युगको विनाश हुनेछ भनेर येसुले पृथ्वीमा छँदा चेतावनी दिनुभएको थियो। (मत्ति २४:२१) येसुले भविष्यमा हुने त्यस न्यायबारे बताउनुहुँदा आफ्ना अनुयायीहरूले कस्ता घटनाहरू देख्नेछन्‌ र के-कस्ता कुरा अनुभव गर्नेछन्‌ भनेर विस्तृत रूपमा भविष्यवाणी गर्नुभयो। अहिले संसारभरि भइरहेका महत्त्वपूर्ण घटनाहरूबारे येसुले पहिल्यै बताउनुभएको थियो। —मत्ति २४:३-१२; लुका २१:१०-१३.

यस युगको विनाशबारे गरिएको भविष्यवाणी पूरा हुनुअघि नै सबै मानिसहरूलाई आफ्नो मायालु शासन स्विकार्न र त्यसको अधीनमा बस्न यहोवाले आग्रह गरिरहनुभएको छ। आज्ञाकारी मानिसहरूले अहिल्यै राम्रो जीवन बिताएको र भविष्यमा धार्मिकताले बास गर्ने नयाँ पृथ्वीमा प्रशस्त आशिष्‌ पाएको यहोवा चाहनुहुन्छ। (२ पत्रु. ३:१३) उहाँका प्रतिज्ञाहरूमा मानिसहरूको विश्‍वास अझै बढाउन उहाँले जीवनदायी सन्देश अर्थात्‌ “राज्यको सुसमाचार” दिनुभएको छ। त्यो ‘सुसमाचार सबै जातिलाई साक्षी दिनका लागि सारा पृथ्वीभरि प्रचार गरिनेछ’ भनेर येसुले भविष्यवाणी गर्नुभएको थियो। (मत्ति २४:१४) यो “साक्षी” दिन अर्थात्‌ आफ्नो सन्देश सुनाउन परमेश्‍वरले २४० भन्दा धेरै देशमा रहेका साँचो उपासकहरूलाई व्यवस्थित पार्नुभएको छ। यहोवाले दिनुभएको चेतावनी सुनेर अनि त्यसैअनुसार कदम चालेर आउँदै गरेको “आँधी”-रूपी न्यायबाट धेरैभन्दा धेरै मानिसहरू बचून्‌ भन्‍ने यहोवा चाहनुहुन्छ।—सप. १:१४, १५; २:२, ३.

यहोवाले चेतावनी दिनुभएपछि मानिसहरूलाई कदम चाल्न पर्याप्त समय दिनुहुन्छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। किनभने उहाँ सधैँ पर्याप्त समय दिनुहुन्छ भनेर प्रमाणहरूले देखाउँछ। तर महत्त्वपूर्ण कुरा हो: मानिसहरूले समय छँदै परमेश्‍वरको चेतावनी सुनेर कदम चाल्नेछन्‌ कि छैनन्‌? हामी परमेश्‍वरका सन्देशवाहकहरूले धेरैभन्दा धेरै मानिस यस युगको विनाशबाट बचून्‌ भनेर तिनीहरूलाई मदत गर्न सक्दो कोसिस गरिरहौँ।