सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४३

यहोवाको मात्र उपासना गर्नुहोस्‌

यहोवाको मात्र उपासना गर्नुहोस्‌

“यहोवा आफ्नो बाहेक अरूको उपासना गरिएको नसहने . . . परमेश्‍वर हुनुहुन्छ।”—नहु. १:२.

गीत ५१ समर्पित छौँ यहोवामा!

परिचय *

१. यहोवा मात्र हाम्रो उपासनाको योग्य किन हुनुहुन्छ?

यहोवा हाम्रो सृष्टिकर्ता र जीवनदाता हुनुभएकोले उहाँ मात्र हाम्रो उपासनाको योग्य हुनुहुन्छ। (प्रका. ४:११) तर यसो गर्न हामीलाई सधैँ सजिलो हुँदैन। हामी यहोवालाई प्रेम र आदर गर्छौँ तैपनि उहाँको मात्र उपासना गर्नदेखि हामीलाई केही कुराहरूले अलमल्याउन सक्छ। यस्तो कसरी हुन सक्छ भनेर हामीले बुझ्नु आवश्‍यक छ। यहोवाको मात्र उपासना गर्नुमा के समावेश छ, पहिला त्यो विचार गरौँ।

२. प्रस्थान ३४:१४ अनुसार हामी यहोवाको मात्र भक्‍ति गर्छौँ भने के गर्नेछैनौँ?

बाइबलमा बताइएअनुसार यहोवाप्रति प्रगाढ प्रेम हुनु र उहाँको मात्र भक्‍ति गर्नुबीच गहिरो सम्बन्ध छ। हामी आफ्नो हृदयमा कसैलाई वा कुनै कुरालाई उहाँको ठाउँ लिन दिनेछैनौँ।प्रस्थान ३४:१४ पढ्‌नुहोस्‌।

३. हामीले किन अन्धाधुन्ध यहोवाको उपासना गरेका होइनौँ?

हामीले अन्धाधुन्ध यहोवाको उपासना गरेका होइनौँ। किन? किनभने हामीले उहाँबारे सिकेका कुराहरू सत्यमा आधारित छन्‌। उहाँबारे सिक्दै जाँदा हामीलाई उहाँका सुन्दर गुणहरू मन पर्न थाल्यो। उहाँलाई मन पर्ने र मन नपर्ने कुराहरू के-के हुन्‌, हामीले बुझेका छौँ र हामी पनि त्यस्तै महसुस गर्छौँ। उहाँले मानिसहरूको लागि राख्नुभएको उद्देश्‍य बुझेका छौँ र त्यसलाई समर्थन गर्छौँ। उहाँले हामीलाई आफ्नो साथी बन्‍ने मौका दिनुभएर हाम्रो सम्मान गर्नुभएको छ। (भज. २५:१४) हामी आफ्नो सृष्टिकर्ताबारे जति सिक्दै जान्छौँ, उहाँको त्यति नै नजिक हुँदै जान्छौँ।—याकु. ४:८.

४. (क) हामी यहोवालाई मात्र प्रेम गर्नदेखि चुकोस्‌ भनेर दियाबलले के गर्छ? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?

यो संसार दियाबलको नियन्त्रणमा छ अनि त्यसले संसारमा भएका कुराहरूलाई चलाएर मानिसका स्वाभाविक चाहनाहरूको नाजायज फाइदा उठाउँछ र शरीरका कुइच्छाहरू पूरा गर्न लगाउँछ। (एफि. २:१-३; १ युह. ५:१९) हामी यहोवाको मात्र उपासना गर्नदेखि चुकोस्‌ भनेर त्यसले हामीलाई अरू कुराहरूलाई पनि प्रेम गर्न उक्साउँछ। आउनुहोस्‌, सैतानले यसो गर्न सक्ने दुइटा तरिका छलफल गरौँ। पहिलो, त्यसले हामीलाई धनसम्पत्तिको पछि लाग्न लोभ्याउँछ। दोस्रो, त्यसले हामीलाई खराब मनोरञ्जन रोज्न लगाउने कोसिस गर्छ।

पैसालाई प्रेम गर्नदेखि होसियार हुनुहोस्‌

५. हामी किन पैसाप्रतिको प्रेम विकास गर्नदेखि होसियार हुनुपर्छ?

हामी सबैले आफूसित पर्याप्त भोजन, राम्रो लुगा र एउटा सुन्दर घर होस्‌ भन्‍ने चाहन्छौँ। तर हामी पैसाप्रतिको प्रेम विकास गर्नदेखि होसियार हुनुपर्छ। सैतानको संसारका धेरैजसो मानिस “पैसालाई प्रेम” गर्छन्‌ र पैसाले किन्‍न सकिने कुराहरूलाई प्रेम गर्छन्‌। (२ तिमो. ३:२) आफ्ना अनुयायीहरू पनि यस्तो प्रेम विकास गर्ने प्रलोभनमा पर्न सक्छन्‌ भनेर येसुलाई थाह थियो। उहाँले यसो भन्‍नुभयो: “कोही पनि दुई मालिकको दास बन्‍न सक्दैन किनकि उसले एक जनालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ अथवा ऊ एक जनासित टाँसिनेछ र अर्कोलाई तुच्छ ठान्‍नेछ। तिमीहरू परमेश्‍वर र धनसम्पत्ति दुवैको दास बन्‍न सक्दैनौ।” (मत्ति ६:२४) यहोवाको उपासना गर्ने अनि सँगसँगै संसारमा धनसम्पत्ति कमाउन अचाक्ली समय र शक्‍ति खर्च गर्ने व्यक्‍तिले एक अर्थमा दुई मालिकको सेवा गर्न खोजिरहेको हुन्छ। उसले यहोवाको मात्र उपासना गरिरहेको हुँदैन।

केही लाओडिसियालीहरूले आफूप्रति राखेको दृष्टिकोण . . . अनि यहोवा र येसुले तिनीहरूप्रति राख्नुभएको दृष्टिकोण (अनुच्छेद ६ हेर्नुहोस्‌)

६. येसुले लाओडिसियाको मण्डलीलाई दिनुभएको सल्लाहबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

लाओडिसियाको मण्डलीका सदस्यहरूले यस्तो घमन्ड गरे: “म धनी छु र मैले धेरै धनसम्पत्ति थुपारेको छु, मलाई केही कुराको खाँचो छैन।” तर यहोवा र येसुको नजरमा तिनीहरू “गएगुज्रेको र दयनीय अवस्थामा” अनि “गरिब, अन्धो र नाङ्‌गो” थिए। येसुले तिनीहरूलाई धनी भएकोले होइन तर पैसाप्रतिको प्रेमले गर्दा यहोवासितको सम्बन्ध कमजोर भएकोले सल्लाह दिनुभयो। (प्रका. ३:१४-१७) हाम्रो हृदयमा पनि धनसम्पत्ति हासिल गर्ने इच्छा विकास हुन थालेको चाल पायौँ भने हाम्रो सोचाइलाई सच्याउन तुरुन्तै कदम चाल्नुपर्छ। (१ तिमो. ६:७, ८) यसो गरेनौँ भने हाम्रो मन विभाजित हुनेछ अनि यहोवाले हाम्रो उपासना स्विकार्नुहुनेछैन। यहोवा “उहाँबाहेक अरू कसैको भक्‍ति गरिएको” चाहनुहुन्‍न। (व्यव. ४:२४) हामी कसरी पैसाप्रति सन्तुलित दृष्टिकोण राख्नदेखि चुक्न सक्छौँ?

७-९. डेभिड नाम गरेका एल्डरको अनुभवबाट तपाईँले के सिक्नुभयो?

अमेरिकामा बस्ने डेभिड नाम गरेका मेहनती एल्डरलाई विचार गरौँ। तिनको विचारमा तिनी असाध्यै परिश्रमी कामदार थिए। तिनले काम गरिरहेको कम्पनीमा तिनको पदोन्‍नति हुँदै गयो र तिनी आफ्नो कार्य क्षेत्रमा देशकै उत्कृष्ट व्यक्‍तिहरूमध्ये गनिन्थे। तिनी भन्छन्‌: “त्यतिबेला मैले कमाएको सफलतालाई यहोवाको आशिष्‌ सम्झिन्थेँ।” तर के त्यो साँच्चै आशिष्‌ थियो?

कामले गर्दा यहोवासितको मित्रतामा नकारात्मक असर पुगिरहेको डेभिडले चाल पाए। तिनी भन्छन्‌: “सभामा अनि प्रचारमा समेत मैले अफिसको समस्याबारे सोच्ने गरेको याद गरेँ। पैसा त प्रशस्तै कमाउँदै थिएँ तर तनावचाहिँ झन्‌झन्‌ बढ्‌दै गइरहेको थियो। हाम्रो वैवाहिक जीवनमा पनि समस्या आउन थाल्यो।”

डेभिडले आफ्नो प्राथमिकता केलाउनुपर्ने आवश्‍यकता महसुस गरे। तिनी भन्छन्‌: “आफ्नो अवस्था सुधार्न मैले ठोस कदम चाल्ने निर्णय गरेँ।” तिनी आफ्नो काम गर्ने तालिकामा छाँटकाँट गर्न चाहन्थे। त्यसैले आफ्नो योजनाबारे हाकिमलाई बताए। परिणाम कस्तो भयो? तिनले जागिर गुमाए! तिनले के गरे? तिनी भन्छन्‌: “मैले निरन्तर सहायक अग्रगामी सेवा गर्न भोलिपल्ट नै फारम भरेर बुझाएँ।” डेभिड र तिनकी पत्नीले गर्जो टार्न सरसफाइको काम गर्न सुरु गरे। केही समयपछि डेभिडले नियमित अग्रगामी सेवा सुरु गरे र पछि तिनकी पत्नीले पनि अग्रगामी सेवा गर्न थालिन्‌। यस दम्पतीले मानिसले तुच्छ ठान्‍ने काम गर्ने छनौट गरे तर तिनीहरूले जुन किसिमको काम गर्दै छन्‌, त्यो तिनीहरूको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा होइन। हुनत तिनीहरू पहिला दस गुणा धेरै कमाउँथे तर अहिले कमाइ थोरै भए तापनि तिनीहरूले हरेक महिनाको खर्च धान्‍न सकिरहेका छन्‌। तिनीहरू यहोवालाई पहिलो स्थानमा राख्न चाहन्छन्‌। परमेश्‍वरको राज्यलाई पहिलो स्थानमा राख्नेहरूको उहाँ ख्याल राख्नुहुन्छ भनेर तिनीहरूले आफ्नै अनुभवबाट सिकेका छन्‌।—मत्ति ६:३१-३३.

१०. हामी कसरी आफ्नो हृदय सुरक्षित राख्न सक्छौँ?

१० हामीसित भौतिक धनसम्पत्ति थोरै होस्‌ वा धेरै, हामीले आफ्नो हृदय सुरक्षित राख्नुपर्छ। कसरी? पैसाप्रतिको प्रेम विकास नगर्नुहोस्‌। अनि यहोवाको सेवालाई भन्दा आफ्नो कामलाई प्राथमिकता नदिनुहोस्‌। तपाईँको हृदयमा पैसाप्रतिको प्रेम बढिरहेको छ कि भनेर कसरी थाह पाउन सक्नुहुन्छ? आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्नुहुन्छ: ‘के म सभामा वा प्रचारमा हुँदा अक्सर आफ्नो कामबारे सोचिरहन्छु? भविष्यमा आर्थिक रूपमा सुरक्षित हुन के म सधैँ चिन्ता गरिरहन्छु? के पैसा र भौतिक धनसम्पत्तिले गर्दा मेरो वैवाहिक जीवनमा समस्याहरू भइरहेको छ? यहोवाको सेवामा धेरै समय बिताउनको लागि मानिसहरूले तुच्छ ठान्‍ने काम गर्नुपऱ्‍यो भने पनि के म तयार हुन्छु?’ (१ तिमो. ६:९-१२) यी प्रश्‍नहरू विचार गर्दा यो कुरा कहिल्यै नबिर्सौँ: यहोवा हामीलाई माया गर्नुहुन्छ। साथै उहाँको उपासना गर्नेहरूलाई उहाँले यस्तो प्रतिज्ञा गर्नुभएको छ भनेर पनि मनमा राखौँ: “म तिमीलाई कुनै हालतमा छोड्‌नेछैनँ र कहिल्यै त्याग्नेछैनँ।” त्यसैले प्रेषित पावलले यस्तो लेखे: “तिमीहरूको जीवनशैली पैसाको प्रेमबाट मुक्‍त होस्‌।”—हिब्रू १३:५, ६.

मनोरञ्जन रोज्ने सन्दर्भमा होसियार हुनुहोस्‌

११. मनोरञ्जनले मानिसमा कस्तो असर गर्न सक्छ?

११ हामी जीवनमा आनन्दित भएको यहोवा चाहनुहुन्छ अनि मनोरञ्जनले हामीलाई आनन्दित हुन मदत गर्न सक्छ। वास्तवमा “मानिसको लागि खानु, पिउनु र आफ्नो कामबाट सन्तुष्टि पाउनुभन्दा उत्तम कुरा अरू केही छैन” भनेर परमेश्‍वरको वचन बताउँछ। (उप. २:२४) तर संसारको धेरैजसो मनोरञ्जनले हामीमा नकारात्मक असर गर्न सक्छ। यसले मानिसको नैतिक पतन गराउँछ अनि परमेश्‍वरको वचनमा निषेध गरिएका कुराहरू स्विकार्न मात्र होइन, त्यसलाई प्रेम गर्ने हदसम्म पुऱ्‍याउँछ।

तपाईँले गर्ने मनोरञ्जन कसले तयार पार्दै छ? (अनुच्छेद ११-१४ हेर्नुहोस्‌) *

१२. पहिलो कोरिन्थी १०:२१, २२ अनुसार मनोरञ्जन रोज्ने सन्दर्भमा हामी किन होसियार हुनुपर्छ?

१२ हामी यहोवाको मात्र उपासना गर्न चाहन्छौँ। त्यसैले हामी “यहोवाको टेबुल”-बाट र “प्रेतहरूको टेबुल”-बाट पनि खाने गर्न सक्दैनौँ। (१ कोरिन्थी १०:२१, २२ पढ्‌नुहोस्‌) कसैसित सँगै खाना खानु भनेको अक्सर मित्रताको चिन्ह हो। हामीले हिंसा, तन्त्रमन्त्र, अनैतिकता वा शरीरका कुइच्छाहरू र मनोभावलाई बढवा दिने मनोरञ्जन रोज्छौँ भने हामीले परमेश्‍वरका शत्रुहरूसितै बसेर उनीहरूले तयार पारेको खाना खाइरहेको जस्तै हुन्छ। यसले हामीलाई हानि पुऱ्‍याउने मात्र होइन, यहोवासितको हाम्रो मित्रता पनि बिगारिदिन्छ।

१३-१४. याकुब १:१४, १५ अनुसार गलत इच्छाअनुसार चल्नु किन खतरनाक हुन्छ? उदाहरणसहित बताउनुहोस्‌।

१३ मनोरञ्जनलाई खानेकुरासित तुलना गर्न सकिन्छ। कसरी? हामी मुखमा कस्तो खानेकुरा हाल्न चाहन्छौँ, त्यो हाम्रो नियन्त्रणमा हुन्छ। तर त्यो खानेकुरा निलिसकेपछि पाचन प्रक्रिया स्वतः सुरु हुन्छ अनि खानेकुरामा भएको पोषण हाम्रो शरीरले लिन थाल्छ। पोसिलो खानेकुराले हामीलाई स्वस्थ बनाउँछ भने हानिकारक खानेकुराले हाम्रो स्वास्थ्य बिगार्छ। यसको नतिजा रातारात देखा नपर्ला तर समयको दौडान पक्कै देखा पर्नेछ।

१४ त्यसैगरि हामी आफ्नो दिमागमा जे भर्न चाहन्छौँ, त्यसैअनुसार मनोरञ्जन रोज्न सक्छौँ। त्यसपछि हामीले रोजेको मनोरञ्जनले हाम्रो दिमाग र हृदयलाई असर गर्ने प्रक्रिया स्वतः सुरु हुन्छ। राम्रो मनोरञ्जनले हामीलाई स्फूर्ति दिन्छ भने खराब मनोरञ्जनले हानि पुऱ्‍याउँछ। (याकुब १:१४, १५ पढ्‌नुहोस्‌) नराम्रो मनोरञ्जनको कुप्रभाव तुरुन्तै नदेखिएला तर समयको दौडान पक्कै देखिनेछ। त्यसैले बाइबल हामीलाई यस्तो चेतावनी दिन्छ: “नबहकिओ: परमेश्‍वरलाई झुक्क्याउन सकिँदैन किनकि मानिसले जे छर्छ, त्यसैको कटनी पनि गर्नेछ। किनकि जसले शरीरको लागि छर्छ, उसले आफ्नो शरीरबाट विनाशको कटनी गर्नेछ।” (गला. ६:७, ८) यहोवाले घृणा गर्नुहुने कुरालाई बढवा दिने हरप्रकारको मनोरञ्जनलाई तिरस्कार गर्नु साँच्चै महत्त्वपूर्ण छ!—भज. ९७:१०.

१५. हामीले आनन्द उठाओस्‌ भनेर यहोवाले कस्तो उपहार दिनुभएको छ?

१५ यहोवाका थुप्रै सेवक हाम्रो इन्टरनेट टेलिभिजन स्टेशन अर्थात्‌ JW ब्रोडकास्टिङ हेर्न रुचाउँछन्‌। मेरिलिन नाम गरेकी बहिनी यसो भन्छिन्‌: “JW ब्रोडकास्टिङले मलाई सकारात्मक विचारधारा राख्न मदत गरेको छ अनि त्यसमा कुनचाहिँ कार्यक्रम हेर्ने र कुनचाहिँ नहेर्ने भनेर छानिरहनुपर्दैन। म एक्लो महसुस गर्दा वा निराश हुँदा कुनै प्रोत्साहनदायी भाषण वा बिहानको उपासनाको कार्यक्रम हेर्ने गर्छु। यसले मलाई यहोवा र उहाँको सङ्‌गठनसित अझ नजिक हुन मदत गरेको छ। JW ब्रोडकास्टिङले मेरो जीवनलाई पूरै परिवर्तन गरिदिएको छ।” के तपाईँले यहोवाको उपहारबाट लाभ उठाइरहनुभएको छ? JW ब्रोडकास्टिङमा हरेक महिना नयाँ कार्यक्रम थपिँदै जान्छ। साथै त्यसमा थुप्रै अडियो र भिडियो कार्यक्रमहरू अनि उत्थानदायी गीतहरू छन्‌, जुन हामीले चाहेको समयमा हेर्न वा सुन्‍न सक्छौँ।

१६-१७. मनोरञ्जनको लागि कति समय खर्च गर्ने भनेर तोक्नु किन महत्त्वपूर्ण छ? हामी कसरी यसो गर्न सक्छौँ?

१६ हामी कस्तो मनोरञ्जनबाट आनन्द उठाउँदै छौँ, त्यसमा मात्र होसियार भएर पुग्दैन। बरु मनोरञ्जनको लागि कति समय खर्च गर्दै छौँ, त्यसमा पनि ध्यान दिनुपर्छ। त्यसो गरेनौँ भने यहोवाको सेवामा भन्दा मनोरञ्जनमा धेरै समय खर्च गरिरहेका हुन सक्छौँ। थुप्रै मानिसलाई मनोरञ्जनको लागि कति समय खर्च गर्ने भनेर तोक्न गाह्रो लाग्छ। अठार वर्षीया बहिनी एबिगेल यसो भन्छिन्‌: “दिनभरि व्यस्त भएकोले बेलुका टिभी हेर्दा स्फूर्ति पाउँछु। तर होसियार भइनँ भने टिभी अगाडि घण्टौँ समय बितेको पनि पत्तै हुँदैन।” स्यामुएल नाम गरेका जवान भाइ भन्छन्‌: “कहिलेकाहीँ मैले इन्टरनेटमा छोटो भिडियोहरू हेरेर घण्टौँ बिताएको छु। सुरुमा त एउटा मात्र हेर्छु भनेर सोचेको हुन्छु तर एकपछि अर्को हेर्दै जाँदा तीन-चार घण्टा बितिसक्छ।”

१७ मनोरञ्जनको लागि कति समय खर्च गर्ने भनेर कसरी तोक्न सक्छौँ? सुरुमा तपाईँले त्यसमा कति समय बिताउँदै हुनुहुन्छ भनेर पत्ता लगाउनुपर्छ। एक हप्तामा तपाईँले कति समय बिताउनुभयो, त्यसको रेकर्ड राखे कसो होला? तपाईँले टिभी हेर्न, इन्टरनेट चलाउन र मोबाइल वा ट्याबलेटमा गेम खेल्न कति घण्टा बिताउनुभयो, क्यालेन्डरमा लेख्नुहोस्‌। यदि तपाईँलाई आफूले मनोरञ्जनमा अचाक्ली समय बिताएको जस्तो लाग्छ भने एउटा तालिका बनाउनुहोस्‌। सुरुमा अझ महत्त्वपूर्ण कुराहरूको लागि समय तोक्नुहोस्‌ अनि मात्र मनोरञ्जनको लागि समय छुट्ट्याउनुहोस्‌। त्यसपछि आफ्नो तालिकाअनुसार चल्न यहोवासित मदत माग्नुहोस्‌। यसो गर्नुभयो भने व्यक्‍तिगत बाइबल अध्ययन गर्न, पारिवारिक उपासना गर्न, सभामा जान अनि प्रचार गर्ने र सिकाउने काममा भाग लिएर यहोवाको सेवा गर्न तपाईँसित यथेष्ट समय र शक्‍ति हुनेछ। साथै यहोवालाई पहिलो स्थान दिनुभएकोले मनोरञ्जन गर्न समय बिताउँदा तपाईँले दोषी महसुस गर्नुहुनेछैन।

यहोवाको मात्र उपासना गरिरहनुहोस्‌

१८-१९. हामी यहोवाको मात्र उपासना गर्छौँ भनेर कसरी देखाउन सक्छौँ?

१८ प्रेषित पत्रुसले सैतानको संसारको अन्तबारे र भविष्यमा आउने नयाँ संसारबारे लेखिसकेपछि यसो भने: “हे प्रियहरू हो, तिमीहरूले यी कुराहरूको प्रतीक्षा गरिरहेको हुनाले अन्तमा उहाँको नजरसामु तिमीहरू बेदाग र निष्खोट रहिरहेको अनि शान्ति कायम गरिरहेको पाइन भरमग्दुर कोसिस गर।” (२ पत्रु. ३:१४) हामीले यो सल्लाह पालन गऱ्‍यौँ अनि नैतिक र आध्यात्मिक तवरमा स्वच्छ रहन भरमग्दुर प्रयास गऱ्‍यौँ भने यहोवाको मात्र उपासना गरेको देखाइरहेका हुन्छौँ।

१९ हामीले यहोवालाई नभई अरू कुरालाई नै पहिलो स्थानमा राखोस्‌ भनेर सैतान र त्यसको संसारले प्रलोभन देखाउन छोड्‌नेछैन। (लुका ४:१३) तर जस्तोसुकै चुनौतीको सामना गर्नुपरे तापनि हामी आफ्नो हृदयमा कसैलाई वा कुनै कुरालाई उहाँको ठाउँ लिन दिनेछैनौँ। हामी यहोवाको मात्र उपासना गर्न कटिबद्ध छौँ किनभने उहाँ मात्र त्यसको योग्य हुनुहुन्छ!

गीत ३० यहोवा नै मेरा बुबा, ईश्‍वर र साथी

^ अनु. 5 हामी तनमनले यहोवाको उपासना गर्छौँ। तर के हामीले उहाँको मात्र उपासना गरिरहेका छौँ? यसको जवाफ हाम्रा निर्णयहरूले देखाउँछ। हामी यहोवालाई मात्र उपासना चढाइरहेका छौँ कि छैनौँ भन्‍ने कुरा बुझ्न आउनुहोस्‌, हाम्रो जीवनको दुइटा खास क्षेत्रबारे विचार गरौँ।

^ अनु. 53 चित्रको व्याख्या: हामी फोहोर भान्छामा पकाएको दूषित खानेकुरा खान चाहँदैनौँ। त्यसोभए हिंसा, तन्त्रमन्त्र वा अनैतिकताले दूषित बनाएको मनोरञ्जन किन रोज्नु र?