सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४२

यहोवाले तपाईँलाई के बन्‍न मदत गर्नुहुनेछ?

यहोवाले तपाईँलाई के बन्‍न मदत गर्नुहुनेछ?

“परमेश्‍वरले नै . . . तिमीहरूलाई बलियो बनाउनुहुन्छ अनि तिमीहरूमा इच्छा पैदा गर्नुहुन्छ र त्यो पूरा गर्ने शक्‍ति पनि दिनुहुन्छ।”—फिलि. २:१३.

गीत १०४ पवित्र शक्‍ति—परमेश्‍वरको वरदान

परिचय *

१. आफ्नो उद्देश्‍य पूरा गर्न यहोवा के गर्न सक्नुहुन्छ?

आफ्नो उद्देश्‍य पूरा गर्न यहोवा जे पनि बन्‍न सक्नुहुन्छ। यहोवाले विभिन्‍न भूमिका निर्वाह गर्नुभएको छ। जस्तै: शिक्षक, सान्त्वनादाता अनि प्रचारक। (यसै. ४८:१७; २ कोरि. ७:६; गला. ३:८) तैपनि आफ्ना उद्देश्‍यहरू पूरा गर्न उहाँ अक्सर मानिसहरूलाई चलाउनुहुन्छ। (मत्ति २४:१४; २८:१९, २०; २ कोरि. १:३, ४) उहाँको इच्छाबमोजिम चल्न जे बन्‍नु आवश्‍यक छ, त्यो बन्‍न चाहिने बुद्धि र बल पनि उहाँ हामीलाई दिन सक्नुहुन्छ। यी विभिन्‍न कुरा यहोवाको नामको अर्थमा समेटिएको छ भनेर केही शास्त्रविद्‌ बताउँछन्‌।

२. (क) यहोवाले हामीलाई प्रयोग गरिरहनुभएको छ कि छैन भन्‍ने कुरामा कहिलेकाहीँ किन शङ्‌का लाग्न सक्छ? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?

यहोवाले हामीलाई प्रयोग गर्नुभएको हामी सबै चाहन्छौँ। तर यहोवाले आफूलाई प्रयोग गरिरहनुभएको छ कि छैन भन्‍ने कुरामा कसै-कसैलाई शङ्‌का लाग्न सक्छ। किन? किनभने तिनीहरूलाई आफ्नो उमेर, परिस्थिति वा क्षमताले गर्दा आफूले चाहेजति गर्न सकिरहेको छैनँ जस्तो लाग्छ सक्छ। अरू कतिपय भने अहिले गरिरहेको कुरामा सन्तुष्ट भएकोले अझ धेरै गर्नु आवश्‍यक छैन जस्तो तिनीहरूलाई लाग्न सक्छ। यस लेखमा यहोवाले आफ्नो उद्देश्‍य पूरा गर्न हामी प्रत्येकलाई कसरी सक्षम बनाउन सक्नुहुन्छ भनेर छलफल गर्नेछौँ। त्यसपछि, बाइबलका केही विवरण केलाउनेछौँ र यहोवाले आफ्नो उद्देश्‍य पूरा गर्न आफ्ना सेवकहरू—पुरुष र स्त्री दुवैमा कसरी इच्छा पैदा गर्नुभयो र त्यो पूरा गर्ने शक्‍ति दिनुभयो भनेर बुझ्नेछौँ। अन्तमा हामी यहोवाको लागि कसरी उपयोगी हुन सक्छौँ भनेर विचार गर्नेछौँ।

यहोवा हामीलाई कसरी सक्षम बनाउनुहुन्छ?

३. फिलिप्पी २:१३ मा लेखिएअनुसार यहोवाले हामीमा कसरी इच्छा पैदा गर्न सक्नुहुन्छ?

फिलिप्पी २:१३ पढ्‌नुहोस्‌। * यहोवाले हामीमा उहाँको उद्देश्‍यअनुसार चल्ने इच्छा पैदा गर्न सक्नुहुन्छ। कसरी? उदाहरणको लागि, हामीले आफ्नो मण्डलीमा कुनै मदत चाहिएको विषयमा थाह पाउन सक्छौँ। अथवा एल्डरहरूले हाम्रो मण्डलीमा नभई अन्तै आवश्‍यकता भएको विषयमा शाखा कार्यालयबाट आएको पत्र पढेर सुनाउन सक्छन्‌। त्यस्तो अवस्थामा हामी आफैलाई यस्तो प्रश्‍न सोध्छौँ होला, ‘म कसरी मदत गर्न सक्छु?’ अथवा हुन सक्छ, हामीलाई एउटा गाह्रो काम गर्न भनियो तर आफूलाई त्यो काम पूरा गर्न सक्छु कि सक्दिनँ भन्‍ने शङ्‌का लागिरहेको छ। अथवा परमेश्‍वरको वचनबाट केही अंश पढेपछि हामीलाई यस्तो लाग्न सक्छ, ‘बाइबलका यी पदहरू म कसरी अरूलाई मदत गर्न प्रयोग गर्न सक्छु?’ यहोवाले हामीलाई कुनै पनि कुरा गर्न जबरजस्ती गर्नुहुन्‍न। तर के गर्न सक्छु भनेर आफूलाई जाँच्न तयार भएको यहोवाले देख्नुहुँदा उहाँले हामीलाई त्यसैअनुसार गर्ने इच्छा दिन सक्नुहुन्छ।

४. यहोवाले हामीलाई कसरी उहाँको उद्देश्‍य पूरा गर्ने शक्‍ति दिन सक्नुहुन्छ?

हामीले सोचेको काम पूरा गर्न यहोवाले शक्‍ति पनि दिन सक्नुहुन्छ। (यसै. ४०:२९) हामीमा भएका क्षमताहरूलाई उहाँले आफ्नो पवित्र शक्‍तिद्वारा अझ बढाइदिन सक्नुहुन्छ। (प्रस्थ. ३५:३०-३५) यहोवाले हामीलाई कुनै-कुनै काम कसरी गर्ने भनेर आफ्नो सङ्‌गठनमार्फत सिकाउन सक्नुहुन्छ। कुनै असाइनमेन्ट कसरी पूरा गर्ने भनेर आफूलाई थाह छैन भने मदत माग्नुहोस्‌। साथै स्वर्गमा बस्नुहुने हाम्रो उदार बुबासित “असाधारण शक्‍ति” माग्न नहिचकिचाउनुहोस्‌। (२ कोरि. ४:७; लुका ११:१३) यहोवाको उद्देश्‍यअनुसार चल्ने इच्छा पैदा गर्न र त्यो पूरा गर्न शक्‍ति दिएर उहाँले कसरी पुरुष तथा स्त्रीलाई सक्षम बनाउनुभयो, त्यसबारे थुप्रै उदाहरण बाइबलमा पाइन्छ। यीमध्ये केही विवरण केलाउँदा यहोवाले तपाईँलाई पनि कसरी चलाउन सक्नुहुन्छ भन्‍नेबारे सोच्नुहोस्‌।

यहोवाले पुरुषहरूलाई के-के बन्‍न मदत गर्नुभयो?

५. आफ्ना जनहरूलाई छुटकारा दिन यहोवाले मोसालाई कसरी र कहिले प्रयोग गर्नुभयो भन्‍ने कुरा विचार गर्दा हामी के सिक्न सक्छौँ?

यहोवाले मोसालाई इस्राएलीहरूलाई मिश्रबाट छुटकारा दिने व्यक्‍ति बन्‍न मदत गर्नुभयो। तर यहोवाले तिनलाई कहिले प्रयोग गर्नुभयो? के तिनले आफू “मिश्रीहरूको सारा विद्यामा . . . निपुण” भएको महसुस गरेको बेला उहाँले प्रयोग गर्नुभयो? (प्रेषि. ७:२२-२५) अहँ, गर्नुभएन। यहोवाले मोसालाई नम्र अनि कोमल व्यक्‍ति बन्‍न मदत गरिसक्नुभएपछि मात्र प्रयोग गर्नुभयो। (प्रेषि. ७:३०, ३४-३६) यहोवाले मोसालाई मिश्रको सबैभन्दा शक्‍तिशाली शासकसामु खडा हुने साहस दिनुभयो। (प्रस्थ. ९:१३-१९) उहाँले मोसालाई कसरी र कहिले प्रयोग गर्नुभयो भन्‍ने कुरा विचार गर्दा हामी के सिक्न सक्छौँ? यहोवाका गुणहरूको अनुकरण गर्ने र शक्‍तिको लागि उहाँमा भर पर्ने व्यक्‍तिलाई उहाँ प्रयोग गर्नुहुन्छ।—फिलि. ४:१३.

६. राजा दाउदलाई मदत गर्न यहोवाले बार्जिलैलाई प्रयोग गर्नुभएको कुराबाट हामी के सिक्न सक्छौँ?

शताब्दियौँपछि, राजा दाउदलाई मदत गर्न यहोवाले बार्जिलैलाई प्रयोग गर्नुभयो। आफ्नो छोरा अब्सालोमबाट बच्न भागिरहेका दाउद र तिनका मानिसहरू “भोकाएका, तिर्खाएका र थाकेका” थिए। त्यतिबेला बार्जिलै वृद्ध भइसकेका थिए तैपनि उनी र उनीसितै आएकाहरूले दाउद र तिनका मानिसहरूलाई मदत गर्न आफ्नो ज्यानको खतरा मोले। उमेर ढल्किसकेकोले अब आफू यहोवाको लागि कुनै कामको छैनँ भन्‍ने सोचाइ बार्जिलैले राखेनन्‌। बरु उनले खाँचोमा परेका परमेश्‍वरका सेवकहरूलाई उदारचित्त भई आफूसित भएको कुरा बाँडे। (२ समु. १७:२७-२९) यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? हाम्रो उमेर जतिसुकै भए तापनि स्थानीय इलाकामा होस्‌ वा अन्य मुलुकमा, सङ्‌गी उपासकहरूको आधारभूत आवश्‍यकता पूरा गर्न यहोवाले हामीलाई प्रयोग गर्न सक्नुहुन्छ। (हितो. ३:२७, २८; १९:१७) हामीले तिनीहरूलाई प्रत्यक्ष रूपमा मदत गर्न नसके तापनि विश्‍वव्यापी कार्यको लागि अनुदान दिन सक्छौँ होला। अनि त्यो रकम जहाँ र जहिले आवश्‍यक पर्छ, त्यतिबेला प्रयोग हुन्छ।—२ कोरि. ८:१४, १५; ९:११.

७. यहोवाले सिमियोनलाई कसरी प्रयोग गर्नुभयो? यो कुरा थाह पाउँदा हामी कस्तो प्रोत्साहन पाउन सक्छौँ?

यहोवाले यरुसलेममा बस्ने वफादार वृद्ध व्यक्‍ति सिमियोनलाई मसीह नदेखेसम्म तिनी मर्नेछैनन्‌ भन्‍ने प्रतिज्ञा गर्नुभयो। त्यो सुन्दा सिमियोनले निकै प्रोत्साहन पाएको हुनुपर्छ किनकि तिनले मसीहलाई पर्खेको धेरै वर्ष भइसकेको थियो। तिनले आफ्नो विश्‍वास र सहनशीलताको इनाम पाए। एकदिन “पवित्र शक्‍तिको निर्देशन पाएर तिनी मन्दिरमा आए।” त्यहाँ तिनले बालक येसुलाई देखे। त्यो बालक पछि ख्रिष्ट बन्‍नेछ भन्‍ने भविष्यवाणी गर्न यहोवाले सिमियोनलाई प्रयोग गर्नुभयो। (लुका २:२५-३५) येसुले पृथ्वीमा सेवाको काम थाल्नुभएको तिनले देख्न पाएनन्‌ होला तापनि यहोवाले आफूलाई प्रयोग गर्नुभएकोमा भने तिनी कृतज्ञ भए। तिनले भविष्यमा थुप्रै असल कुरा पाउनेछन्‌! नयाँ संसारमा येसुले शासन गर्नुहुँदा पृथ्वीका सबै परिवारले आशिष्‌ पाएको यी वफादार पुरुषले देख्नेछन्‌। (उत्प. २२:१८) यहोवाले हामीलाई उहाँको सेवामा जुनसुकै तरिकामा प्रयोग गर्नुभए तापनि हामी कृतज्ञ हुन सक्छौँ।

८. यहोवाले बर्णाबासलाई जस्तै हामीलाई पनि कसरी प्रयोग गर्न सक्नुहुन्छ?

इस्वी संवत्‌ प्रथम शताब्दीमा युसुफ नाम गरेका उदार मानिस यहोवाको लागि उपयोगी व्यक्‍ति बन्‍न इच्छुक भए। (प्रेषि. ४:३६, ३७) युसुफ अरूलाई सान्त्वना दिन सिपालु भएकोले प्रेषितहरूले तिनलाई बर्णाबास भन्‍ने नाम दिएका हुन सक्छन्‌, जसको अर्थ हो, “सान्त्वनाको छोरा।” उदाहरणको लागि, सावल ख्रिष्टियन बनेपछि थुप्रै भाइहरू तिनलाई भेट्‌न डराए किनभने तिनी मण्डलीहरूलाई खेदो गर्ने व्यक्‍ति भनेर चिनिन्थे। तर दयालु बर्णाबास सावललाई मदत गर्न अघि सरे र तिनको यस्तो दयालु व्यवहारप्रति सावल निकै कृतज्ञ भएको हुनुपर्छ। (प्रेषि. ९:२१, २६-२८) पछि, यरुसलेमका एल्डरहरूले टाढाको इलाका, सिरियाको एन्टिओकमा बस्ने भाइहरूलाई प्रोत्साहन दिनुपर्ने खाँचो महसुस गरे। तिनीहरूले कसलाई पठाए? बर्णाबासलाई! तिनीहरूले एकदमै सही व्यक्‍तिलाई छाने! बाइबलले बताएअनुसार बर्णाबासले “तिनीहरू सबैलाई मनैदेखि प्रभुप्रति वफादार भइरहन प्रोत्साहन दिए।” (प्रेषि. ११:२२-२४) त्यसरी नै आज यहोवाले हामीलाई सङ्‌गी ख्रिष्टियनहरूको लागि “सान्त्वनाको छोरा” बन्‍न प्रयोग गर्न सक्नुहुन्छ। उदाहरणको लागि, आफ्नो प्रियजन गुमाएका व्यक्‍तिहरूलाई सान्त्वना दिन यहोवा हामीलाई प्रयोग गर्न सक्नुहुन्छ। अथवा बिरामी वा निराश व्यक्‍तिलाई भेटेर वा फोन गरेर प्रोत्साहनका दुई-चार शब्द बोल्न उहाँ हामीलाई जुरमुऱ्‍याउन सक्नुहुन्छ। यहोवाले बर्णाबासलाई प्रयोग गर्नुभएजस्तै के तपाईँ पनि उहाँको लागि उपयोगी व्यक्‍ति बन्‍न सक्नुहुन्छ?—१ थिस्स. ५:१४.

९. यहोवाले भासिलि नाम गरेका भाइलाई योग्य आध्यात्मिक गोठालो बन्‍न मदत गर्नुभएको तरिकाबाट हामी के सिक्न सक्छौँ?

यहोवाले भासिलि नाम गरेका भाइलाई योग्य आध्यात्मिक गोठालो बन्‍न मदत गर्नुभयो। भासिलि २६ वर्षको उमेरमा एल्डर नियुक्‍त भए। मण्डलीलाई आध्यात्मिक तवरमा मदत गर्न आफू योग्य छैनँ भनेर त्यतिबेला तिनलाई डर लागेको थियो। तिनी खासगरि कठिन अवस्थाबाट गुज्रिरहेका भाइबहिनीलाई मदत गर्न अयोग्य महसुस गर्थे। तर तिनले अनुभवी एल्डरहरू र राज्य सेवा स्कुलबाट राम्रो तालिम पाए। तिनले अझ उन्‍नति गर्न निकै मेहनत गरे। उदाहरणको लागि, तिनले स-साना लक्ष्यहरूको एउटा सूची बनाए। एक-एक गर्दै लक्ष्यहरू हासिल गर्दै जाँदा तिनको आत्मविश्‍वास बढ्‌दै गयो। तिनी अहिले यसो भन्छन्‌: “पहिला असाध्यै डर लागेको कुराले अहिले मलाई अपार आनन्द दिन्छ। मण्डलीको कुनै भाइ वा बहिनीलाई सान्त्वना दिन यहोवाले मलाई सही शास्त्रपद भेट्टाउन मदत गर्नुहुँदा म गहिरो सन्तुष्टि महसुस गर्छु।” भाइहरू हो, यदि तपाईँहरू पनि भासिलिजस्तै यहोवाको लागि उपयोगी व्यक्‍ति बन्‍न अग्रसर हुनुभयो भने उहाँले तपाईँलाई मण्डलीमा थप जिम्मेवारी वहन गर्न योग्य बनाउनुहुनेछ।

यहोवाले स्त्रीहरूलाई के-के बन्‍न मदत गर्नुभयो?

१०. अबिगेलले के गरिन्‌? उनको उदाहरणबाट तपाईँले कस्तो पाठ सिक्नुभयो?

१० दाउद र तिनका वफादार मानिसहरूलाई मदत चाहिएको थियो किनभने राजा साउलले तिनीहरूलाई खेदिरहेका थिए। दाउदका मानिसहरूले नाबाल नाम गरेका धनी इस्राएलीसित उनले जे-जति खानेकुरा दिन सक्छन्‌, त्यो दिन बिन्ती गरे। तिनीहरू नाबालसित खानेकुरा माग्न हिचकिचाएनन्‌ किनभने तिनीहरूले निर्जनभूमिमा नाबालको वस्तुभाउको हेरचाह गरिरहेका थिए। तर स्वार्थी नाबालले तिनीहरूलाई केही पनि दिन चाहेनन्‌। यो सुनेर दाउद रिसले चूर भए अनि नाबाल र उनको घरानाको सबै पुरुषलाई मार्न सुरिए। (१ समु. २५:३-१३, २२) नाबालकी पत्नी अबिगेल सुन्दरी हुनुका साथै समझदार पनि थिइन्‌। दाउदको पाउमा घोप्टो परेर बिन्ती गर्न अबिगेलले निकै साहस बटुलिन्‌ र उनले नाबालसित बदला लिएर रक्‍तपात नगर्न दाउदलाई बिन्ती गरिन्‌। उनले सबै कुरा यहोवाको हातमा छोडिदिन दाउदलाई कौशलतापूर्वक सम्झाइन्‌। अबिगेलको मीठो बोली र समझदारीले दाउदको मन छोयो। यसले गर्दा अबिगेललाई यहोवाले नै पठाउनुभएको हो भन्‍ने सही निष्कर्षमा दाउद पुगे। (१ समु. २५:२३-२८, ३२-३४) अबिगेलले असल गुणहरू विकास गरेकी हुँदा उनी यहोवाको लागि उपयोगी हुन सकिन्‌। त्यसरी नै ख्रिष्टियन बहिनीहरूले कौशलता र समझशक्‍ति विकास गरे भने आफ्नो परिवार र मण्डलीका सदस्यहरूलाई बलियो बनाउन यहोवाले तिनीहरूलाई प्रयोग गर्न सक्नुहुन्छ।—हितो. २४:३; ति. २:३-५.

११. साल्लुमका छोरीहरूले के गरे? हाम्रो समयमा कसले तिनीहरूको अनुकरण गरिरहेका छन्‌?

११ धेरै शताब्दीपछि, साल्लुमका छोरीहरूले यरुसलेमको पर्खाल मर्मत गर्ने काममा भाग लिए। (नहे. २:२०; ३:१२) साल्लुम मुखिया भए तापनि तिनका छोरीहरू त्यस्तो गाह्रो र जोखिमपूर्ण काम गर्न इच्छुक भए। (नहे. ४:१५-१८) तिनीहरू तेकोका गण्यमान्य मानिसहरूभन्दा कत्ति भिन्‍न थिए, जो “काम गर्न राजी भएनन्‌।” (नहे. ३:५) पर्खाल मर्मत गर्ने काम जम्मा ५२ दिनमा सिध्याउँदा साल्लुमका छोरीहरू कत्ति खुसी भए होलान्‌, कल्पना गर्नुहोस्‌ त! (नहे. ६:१५) हाम्रो समयमा पनि इच्छुक बहिनीहरूले खुसीसाथ विशेष किसिमको पवित्र सेवा चढाइरहेका छन्‌। त्यो हो, यहोवालाई अर्पण गरिने भवनहरू निर्माण गर्ने र त्यसको स्याहारसम्भार गर्ने। यी इच्छुक बहिनीहरूको सीप, जोस र वफादारीले गर्दा यस्ता निर्माण परियोजनाहरू सफल बनाउन सम्भव भएको छ।

१२. यहोवाले तबितालाई जस्तै हामीलाई पनि कसरी प्रयोग गर्न सक्नुहुन्छ?

१२ यहोवाले तबितालाई खासगरि विधवाहरूको लागि “थुप्रै असल काम र दानपुण्य” गर्न उत्प्रेरित गर्नुभयो। (प्रेषि. ९:३६) उनी असाध्यै उदार र दयालु भएकीले उनको मृत्यु हुँदा थुप्रैले शोक मनाए। तर प्रेषित पत्रुसले उनलाई फेरि जीवित बनाउँदा सबै जना औधी रमाए। (प्रेषि. ९:३९-४१) तबिताबाट हामी के सिक्छौँ? जवान होऔँ वा वृद्ध, पुरुष होऔँ वा स्त्री, भाइबहिनीलाई हामी सबैले व्यावहारिक मदत गर्न सक्छौँ।—हिब्रू १३:१६.

१३. रुथ नाम गरेकी लजालु बहिनीलाई यहोवाले कसरी प्रयोग गर्नुभयो र उनी कस्तो निष्कर्षमा पुगिन्‌?

१३ रुथ नाम गरेकी लजालु बहिनी मिसनरी बन्‍न चाहन्थिन्‌। सानी छँदा उनी घरघरको प्रचारमा जाँदा पर्चा दिएर हतारहतार गइहाल्थिन्‌। उनले यसो भनिन्‌, “मलाई प्रचारकार्यमा भाग लिन साँच्चै रमाइलो लाग्थ्यो।” तर उनलाई घरघरमा मानिसहरूलाई भेटेर परमेश्‍वरको राज्यबारे बताउन भने असाध्यै गाह्रो लाग्थ्यो। लजालु भए तापनि रुथले १८ वर्षको उमेरमा नियमित अग्रगामी सेवा गर्न थालिन्‌। सन्‌ १९४६ मा उनी गिलियड स्कुलमा गइन्‌ अनि पछि हवाई र जापानमा सेवा गरिन्‌। ती मुलुकहरूमा व्यापक तवरमा सुसमाचार सुनाउन यहोवाले रुथलाई प्रयोग गर्नुभयो। प्रचारकार्यमा झन्डै ८० वर्ष बिताइसकेपछि रुथ यस्तो निष्कर्षमा पुगिन्‌: “यहोवाले मलाई सधैँ बल दिनुभएको छ। मेरो लजालु स्वभाव हटाउन उहाँले मदत गर्नुभएको छ। यहोवामाथि भरोसा राख्ने जोकोहीलाई उहाँले प्रयोग गर्न सक्नुहुन्छ भन्‍ने कुरामा म विश्‍वस्त छु।”

यहोवाले प्रयोग गर्न चाहनुहुँदा उपलब्ध हुनुहोस्‌

१४. कलस्सी १:२९ अनुसार यहोवाले हामीलाई प्रयोग गर्नुभएको चाहन्छौँ भने हामीले के गर्नुपर्छ?

१४ यहोवाका सेवकहरूको इतिहास केलाउने हो भने उहाँले तिनीहरूलाई विभिन्‍न भूमिका निर्वाह गर्न मदत गर्नुभएको थुप्रै विवरण पाउँछौँ। उहाँले तपाईँलाई के बन्‍न मदत गर्नुहुनेछ? त्यो कुरा तपाईँ कडा परिश्रम गर्न कत्तिको इच्छुक हुनुहुन्छ, त्यसमा भर पर्छ। (कलस्सी १:२९ पढ्‌नुहोस्‌) यहोवाले प्रयोग गर्न चाहनुहुँदा उपलब्ध हुनुभयो भने जोसिलो प्रचारक, प्रभावकारी शिक्षक, सान्त्वना दिन सिपालु व्यक्‍ति, निपुण कामदार, मदतगार साथी वा उहाँको उद्देश्‍य पूरा गर्न जे बन्‍नु आवश्‍यक छ, त्यो बन्‍न उहाँले तपाईँलाई मदत गर्नुहुनेछ।

१५. पहिलो तिमोथि ४:१२, १५ मा दिइएको निर्देशनअनुसार अहिले जवान भाइहरूले यहोवासित कस्तो मदतको लागि बिन्ती गर्नुपर्छ?

१५ युवावस्था पार गरेर वयस्क हुन लाग्नुभएका तपाईँ जवान भाइहरू नि? सहायक सेवकको रूपमा थप जिम्मेवारी वहन गर्न फुर्तिला पुरुषहरूको मण्डलीमा ठूलो खाँचो छ। थुप्रै मण्डलीमा एल्डरहरूको तुलनामा सहायक सेवकको सङ्‌ख्या थोरै छ। के तपाईँ जवान भाइहरूले मण्डलीमा थप जिम्मेवारी वहन गर्ने इच्छा विकास गर्न सक्नुहुन्छ? कहिलेकाहीँ केही भाइहरूले यसो भन्‍ने गरेको हामी सुन्छौँ, “म त प्रकाशकको रूपमा सेवा गर्न पाएकोमै खुसी छु।” तपाईँलाई पनि त्यस्तो लाग्छ भने सहायक सेवकको रूपमा योग्य हुने इच्छा विकास गर्नको लागि र यहोवाको सेवामा सक्दो गर्ने शक्‍तिको लागि उहाँसित बिन्ती गर्नुहोस्‌। (उप. १२:१) हामीलाई तपाईँहरूको मदत चाहिन्छ!१ तिमोथि ४:१२, १५ पढ्‌नुहोस्‌।

१६. हामीले यहोवासित के माग्नुपर्छ र किन?

१६ यहोवाले आफ्नो उद्देश्‍य पूरा गर्न तपाईँलाई जे बनाउनु आवश्‍यक छ, त्यो बन्‍न मदत गर्न सक्नुहुन्छ। त्यसैले उहाँको काम गर्ने इच्छा पैदा गर्न उहाँसित बिन्ती गर्नुहोस्‌। त्यसपछि त्यो पूरा गर्न चाहिने शक्‍ति पनि माग्नुहोस्‌। जवान होस्‌ वा वृद्ध, तपाईँको समय, शक्‍ति, सीप र स्रोतसाधन यहोवाको आदर गर्न अहिल्यै प्रयोग गर्नुहोस्‌। (उप. ९:१०) यहोवाको सेवामा आफूले सक्दो गर्ने मौकालाई डर वा अयोग्यताको भावनाले गर्दा कहिल्यै खेर जान नदिनुहोस्‌। हाम्रो मायालु बुबा यहोवा आदर पाउन योग्य हुनुहुन्छ र त्यो आदर दिन हामीले जस्तोसुकै सानो भूमिका खेल्न पाउनु पनि ठूलो सुअवसर हो!

गीत १२७ म कस्तो मानिस बनूँ?

^ अनु. 5 के तपाईँलाई आफूले यहोवाको सेवामा धेरै गर्न सकेको छैनँ जस्तो लाग्छ? तपाईँलाई आफू उहाँको लागि अझै उपयोगी छु कि छैनँ भन्‍ने कुरामा शङ्‌का लाग्छ कि? अथवा यहोवा तपाईँलाई जसरी प्रयोग गर्न चाहनुहुन्छ, आफूलाई त्यसरी प्रयोग गर्न दिनुको खाँचो बुझ्न पो तपाईँ चुकिरहनुभएको छ कि? यहोवाको उद्देश्‍य पूरा गर्न जे बन्‍न आवश्‍यक छ, त्यो बन्‍न उहाँले तपाईँमा इच्छा पैदा गर्नुहुने र त्यो पूरा गर्न शक्‍ति दिनुहुने विभिन्‍न तरिकाबारे यस लेखमा छलफल गरिनेछ।

^ अनु. 3 पावलले यो पत्र प्रथम शताब्दीका ख्रिष्टियनहरूलाई लेखेको भए तापनि वास्तवमा तिनले भनेको कुरा यहोवाका सबै सेवकलाई लागू हुन्छ।