१९१९—एक सय वर्षअघि
चार वर्षभन्दा लामो समय चलेको महायुद्ध (पछि प्रथम विश्वयुद्ध भनियो) सन् १९१९ मा टुङ्गियो। सन् १९१८ को अन्ततिर राष्ट्रहरूले युद्ध गर्न बन्द गरे र जनवरी १८, १९१९ मा पेरिस शान्ति सम्मेलन सुरु भयो। त्यसको एउटा उपलब्धि भर्साइल्सको सन्धि थियो, जसले जर्मनी र त्यसका विपक्षी राष्ट्रहरूको संयुक्त सेनाबीचको युद्धलाई औपचारिक रूपमा समाप्त गऱ्यो। त्यस सन्धिमा जून २८, १९१९ मा हस्ताक्षर गरिएको थियो।
त्यस सन्धिले एउटा नयाँ सङ्गठनको पनि स्थापना गऱ्यो, जसलाई राष्ट्र सङ्घ भनिन्थ्यो। त्यसको उद्देश्य “अन्तरराष्ट्रिय सहकार्यको प्रवर्धन गर्नु अनि संसारभर शान्ति र सुरक्षा कायम गर्नु” थियो। चर्चजगत्का थुप्रै धर्मले यस सङ्घलाई समर्थन गरे। अमेरिकास्थित ख्रिष्टका चर्चहरूको संघीय परिषद्ले यो सङ्गठन “परमेश्वरको पार्थिव राज्यको राजनैतिक अभिव्यक्ति हो” भनेर यसको प्रशंसा गऱ्यो। त्यस परिषद्ले पेरिस शान्ति सम्मेलनमा आफ्ना प्रतिनिधिहरू पठाएर राष्ट्र सङ्घलाई समर्थन गरेको देखायो। त्यस सम्मेलनले “संसारको इतिहासमा एउटा नयाँ युगको सुरुवात गऱ्यो” भनेर ती प्रतिनिधिहरूमध्ये एक जनाले बताए।
एउटा नयाँ युगको सुरुवात हुँदै थियो तर त्यसको सुरुवात गर्नेहरू शान्ति सम्मेलनमा भेला भएकाहरू थिएनन्। सन् १९१९ मा यहोवाले आफ्ना जनहरूलाई पहिलाभन्दा जोसिलो भई प्रचार गर्न जुरमुऱ्याउनुभयो र यसरी प्रचारकार्यमा एउटा नयाँ युगको सुरुवात भयो। तर त्यसअघि बाइबल स्टुडेन्टस्माझ (अहिले यहोवाका साक्षीहरू भनिन्छ) एउटा आमूल परिवर्तन आउनु जरुरी थियो।
एउटा गाह्रो निर्णय
वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीका सञ्चालकहरूको वार्षिक निर्वाचनको लागि जनवरी ४, १९१९, शनिबारको दिन तोकिएको थियो। त्यसबेला यहोवाका जनहरूको नेतृत्व लिइरहेका भाइ जोसेफ एफ. रदरफोर्ड र अरू सात जनालाई अमेरिकाको जर्जिया राज्यको एटलान्टामा अन्यायपूर्वक थुनामा राखिएको थियो। त्यसैले ती भाइहरूलाई फेरि नियुक्त गर्ने कि तिनीहरूको साटो अरूलाई नै नियुक्त गर्ने भनेर निर्णय गर्नुपरेको थियो।
आफू जेलमा छँदा भाइ रदरफोर्डलाई सङ्गठनको भविष्यबारे चिन्ता लागेको थियो। अरू कसैलाई नै अध्यक्षको रूपमा नियुक्त गर्नु बुद्धिमानी हुन्छ जस्तो केही भाइहरूलाई लागेको कुरा उहाँलाई थाह थियो। त्यो कुरा विचार गर्दै उहाँले इभान्डर जे. कावर्डलाई अध्यक्षको रूपमा सिफारिस गरेर भाइहरूलाई चिठी लेख्नुभयो। भाइ कावर्ड “शान्त,” “बुद्धिमान्” र “प्रभुमा समर्पित” मानिस हुन् भनेर भाइ रदरफोर्डले बताउनुभयो। तर थुप्रै भाइहरूको मनमा भने अर्कै उपाय थियो; उनीहरू निर्वाचनलाई छ महिना पछि सार्न चाहन्थे। जेलमा थुनिएका भाइहरूको तर्फबाट वकालत गर्ने कानुनी टोली पनि यस कुरामा सहमत भयो। तर त्यसबारे छलफल गरिँदा भने केही भाइहरूको चित्त बुझेको थिएन।
सँगै कैदमा परेका भाइ ए. एच. म्याकमिलनले भोलिपल्ट भएको घटनाबारे बताउनुभयो। उहाँलाई थुनिएको कोठरीको भित्तामा भाइ रदरफोर्डले ढकढक्याउनुभयो र भन्नुभयो: “हात बाहिर निकाल्नुहोस् त।” त्यसपछि भाइ रदरफोर्डले उहाँको हातमा एउटा टेलिग्राम थमाइदिनुभयो। भाइ म्याकमिलनले त्यसमा लेखिएको छोटो सन्देश पढ्नेबित्तिकै बुझिहाल्नुभयो। त्यसमा यस्तो लेखिएको थियो: “रदरफोर्ड वाइज भान बार्बर एन्डरसन बुले र स्पिल सञ्चालक पहिलो तीन अफिसर सबैलाई प्रेम।” यसको अर्थ सबै सञ्चालकलाई पुनःनियुक्त गरिएको थियो अनि जोसेफ रदरफोर्ड र विलियम भान एमबर्ग अफिसरको रूपमा रहिरहनुहुने थियो। सङ्गठनको अध्यक्ष भाइ रदरफोर्ड नै हुनुहुने थियो।
जेलबाट मुक्त!
आठ जना भाइहरू थुनामा हुँदा वफादार बाइबल स्टुडेन्टस्ले ती भाइहरूलाई जेलमुक्त गर्न अपिलपत्र तयार गरे। यी साहसी भाइबहिनीले त्यस अपिलपत्रमा ७ लाखभन्दा धेरै हस्ताक्षर सङ्कलन गरे। तर अपिलपत्र बुझाउनुअघि नै मार्च २६, १९१९, बुधबारको दिन भाइ रदरफोर्ड र अरू जिम्मेवार भाइहरूलाई मुक्त गरियो।
आफूलाई स्वागत गर्नेहरूलाई दिएको भाषणमा भाइ रदरफोर्डले यसो भन्नुभयो: “हामी सबैले सामना गर्नुपरेको यो परिस्थितिले भविष्यमा आउने अझै कठिन परिस्थितिको लागि तयार बनाएको छ भनेर म विश्वस्त छु। . . . तपाईँहरूको यो सङ्घर्ष आफ्ना भाइहरूलाई जेलबाट छुटाउनको लागि मात्र थिएन। मुख्य कुरा त अर्कै थियो . . . । सत्यको साक्षी दिनको लागि तपाईँहरूले यस्तो सङ्घर्ष गर्दै आउनुभएको हो। अनि त्यसो गर्नेहरूले प्रशस्त आशिष् पाएका छन्।”
हाम्रा भाइहरूको पुर्पक्ष गरिँदाका घटनाहरू विचार गर्दा त्यसमा यहोवाकै डोऱ्याइ थियो भन्ने सङ्केत पाउँछौँ। मे १४, १९१९ मा पुनरावेदन अदालतले यस्तो फैसला सुनायो: “यस मुद्दाका प्रतिवादीहरूको पुर्पक्ष निष्पक्ष ढङ्गमा गरिएको देखिँदैन, जुन निजहरूको हक थियो। तसर्थ तल्लो अदालतको फैसलालाई बदर गरिन्छ।” हाम्रा भाइहरूलाई गम्भीर अपराधहरूको आरोप लगाइएको थियो अनि तिनीहरूलाई केवल सजायमुक्त गरिएको भए वा सजायलाई कम मात्र गरिएको भए तिनीहरूको नाममा ती अपराधहरूको रेकर्ड रहिरहने थियो। तर फैसला बदर गरिएपछि भाइहरूलाई कुनै पनि अपराधको दोषी ठहराइएन। यसले गर्दा जज (न्यायाधीश) रदरफोर्डले अमेरिकाको सर्वोच्च अदालतमा यहोवाका जनहरूको पक्षमा खडा हुने आफ्नो कानुनी योग्यता गुमाउनु परेन। जेलबाट मुक्त भएपछि उहाँले थुप्रै पटक मुद्दा लड्नुभयो।
प्रचार गर्न कटिबद्ध
त्यसबेलाको कुरा सम्झँदै भाइ म्याकमिलनले यसो भन्नुभयो: “प्रभु कहिले आउनुहोला अनि हामीलाई स्वर्ग लैजानुहोला भनेर हामी त्यसै हात बाँधेर बस्नेवाला थिएनौँ। प्रभुको इच्छा के हो भनेर थाह पाउन केही न केही त गर्नै पर्छ भनेर हामीलाई थाह थियो।”
तर मुख्यालयमा भएका भाइहरूले आफूले वर्षौँदेखि गरिरहेको कामलाई तुरुन्तै सुचारु गर्न सकेनन्। किन? किनकि भाइहरू जेलमा थुनिएको बेला साहित्य छाप्न प्रयोग गरिने छापाखानाका सबै प्लेटहरू नष्ट गरिएका थिए। यसले गर्दा भाइहरू निराश भए र कसै-कसैलाई प्रचारको काम अब बन्द भयो जस्तो लाग्यो।
बाइबल स्टुडेन्टस्ले सुनाएको राज्यको सुसमाचारमा के मानिसहरूलाई अझै पनि चासो थियो? त्यो कुरा पत्ता लगाउन भाइ रदरफोर्डले एउटा भाषण दिने निर्णय गर्नुभयो। त्यो भाषण सुन्न जो पनि आउन सक्थे। भाइ म्याकमिलनले भन्नुभयो, “यदि त्यो सभामा कोही पनि आएन भने प्रचारको काम सिद्धियो भनेर बुझिने थियो।”
त्यसैले गम्भीर बिरामी हुनुभए पनि भाइ रदरफोर्डले मे ४, १९१९, आइतबारको दिन क्यालिफोर्नियाको लस एन्जलसमा “शोकाकुल मानवजातिका लागि आशा” विषयको भाषण दिनुभयो। त्यो भाषण सुन्न ३ हजार ५ सय जति उपस्थित भए अनि अरू सयौँलाई ठाउँ नपुगेकोले फर्काउनुपऱ्यो। भोलिपल्ट १ हजार ५ सय जना त्यो भाषण सुन्न आए! त्यसैले मानिसहरूलाई अझै पनि चासो रहेछ भनेर भाइहरूले बुझे।
त्यसपछि भाइहरूले जे गरे, त्यसको प्रभाव आजसम्मै यहोवाका साक्षीहरूको प्रचारकार्यमा देखिन्छ।
भविष्यमा हुने वृद्धिको लागि तयार
अगस्त १, १९१९ अङ्कको प्रहरीधरहरा-मा (अङ्ग्रेजी) ओहायोको सिडार प्वाइन्टमा सेप्टेम्बर महिनाको सुरुमा एउटा अधिवेशनको आयोजना गरिनेछ भनेर घोषणा गरियो। मिसोरीका एक जवान बाइबल स्टुडेन्ट क्लारेन्स बी. बिटीले यसो भने, “सबै जना जसरी भए पनि त्यहाँ जानै पर्छ भनेर सोचिरहेका थिए।” त्यस अधिवेशनमा ६ हजारभन्दा धेरै भाइबहिनी उपस्थित भए र
त्यो सङ्ख्या भाइहरूले सोचेको भन्दा कता हो कता धेरै थियो। अनि २०० भन्दा धेरैले नजिकैको इरी तालमा बप्तिस्मा गर्दा माहोल अझै रमाइलो भएको थियो।अधिवेशनको पाँचौँ दिन, सेप्टेम्बर ५, १९१९ मा भाइ रदरफोर्डले “सहकर्मीहरूको लागि” भन्ने भाषण दिनुभयो। त्यस भाषणमा उहाँले सुनौलो युग * (अङ्ग्रेजी) नामको नयाँ पत्रिका विमोचन गर्नुभयो। त्यसमा “वर्तमान समयका महत्त्वपूर्ण विषयहरूबारे समाचार छापिने थियो र ती घटनाहरू हुनुपछाडिको धर्मशास्त्रीय कारण बताइने थियो।”
सबै बाइबल स्टुडेन्टस्लाई यो नयाँ प्रकाशन चलाएर साहसी हुँदै प्रचार गर्न प्रोत्साहन दिइयो। प्रचारको कामलाई व्यवस्थित गर्नेबारे लेखिएको एउटा चिठीमा यसो भनिएको थियो: “सेवा गर्न पाउनु ठूलो सुअवसर हो भन्ने कुरा प्रत्येक समर्पित (बप्तिस्मा गरेका) सेवकले मनमा राख्नुपर्छ र मौकाको सदुपयोग गर्दै सारा संसारलाई साक्षी दिन यो काममा सकेसम्म भाग लिनुपर्छ।” प्रचार गर्ने यो निम्तोलाई थुप्रैले स्विकारे! जोसिला राज्य प्रकाशकहरूले डिसेम्बर महिनासम्ममा ५० हजारभन्दा धेरै मानिसलाई त्यस नयाँ पत्रिकाको नियमित ग्राहक बनाइसकेका थिए।
सन् १९१९ को अन्तसम्ममा यहोवाका जनहरू व्यवस्थित र जोसिलो भइसकेका थिए। साथै अन्तको दिनबारे गरिएका केही महत्त्वपूर्ण भविष्यवाणीहरू पनि पूरा भएका थिए। यहोवाका जनलाई खार्ने र शुद्ध पार्ने विषयमा मलाकि ३:१-४ को भविष्यवाणी पूरा भयो; यहोवाका जनहरू “महान् बेबिलोनको” लाक्षणिक कैदबाट मुक्त भइसकेका थिए र येसुले “विश्वासी र बुद्धिमान् दास” नियुक्त गरिसक्नुभएको थियो। * (प्रका. १८:२, ४; मत्ति २४:४५) अब भने बाइबल स्टुडेन्टस् यहोवाले अह्राउनुभएको काम गर्न तयार थिए।
^ अनु. 22 सुनौलो युग-लाई (अङ्ग्रेजी) १९३७ मा सान्त्वना (अङ्ग्रेजी) र १९४६ मा ब्यूँझनुहोस्! भन्ने नाम दिइयो।