सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४१

बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न कसरी मदत गर्न सकिन्छ?—भाग १

बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न कसरी मदत गर्न सकिन्छ?—भाग १

‘तिमीहरू ख्रिष्टका पत्र हौ, जुन हामी सेवकहरूले लेखेका हौँ।’—२ कोरि. ३:३.

गीत ७८ ‘परमेश्‍वरको वचन सिकाउनुहोस्‌’

परिचय *

आफूले माया गरेर हुर्काएको बाइबल विद्यार्थीले बप्तिस्मा गरेको देख्न पाउनुभन्दा खुसीको कुरा मण्डलीको लागि अरू के होला र? (अनुच्छेद १ हेर्नुहोस्‌)

१. दोस्रो कोरिन्थी ३:१-३ अनुसार बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न मदत गर्नु किन विशेष सुअवसर हो? (आवरण तस्बिर हेर्नुहोस्‌)

आफ्नो मण्डलीको कुनै बाइबल विद्यार्थीले बप्तिस्मा गर्दा तपाईँ कस्तो महसुस गर्नुहुन्छ? तपाईँ पक्कै खुसी हुनुहुन्छ! (मत्ति २८:१९) ती भाइ वा बहिनीलाई तपाईँले नै बाइबल अध्ययन गराउनुभएको हो भने त तिनले बप्तिस्मा गरेको देख्दा तपाईँलाई झनै खुसी लाग्छ! (१ थिस्स. २:१९, २०) भर्खरै बप्तिस्मा गरेका चेलाहरू तिनीहरूको बाइबल अध्ययन सञ्चालकको लागि मात्र होइन, पूरै मण्डलीको लागि राम्रो “सिफारिसपत्र” हुन्‌।२ कोरिन्थी ३:१-३ पढ्‌नुहोस्‌।

२. (क) हामीले कुन महत्त्वपूर्ण प्रश्‍नबारे विचार गर्नुपर्छ र किन? (ख) बाइबल अध्ययन भनेको के हो? (फुटनोट हेर्नुहोस्‌)

विगत चार वर्षदेखि यहोवाका साक्षीहरूले संसारभर हरेक महिना औसतमा लगभग एक करोड बाइबल अध्ययन * सञ्चालन गरिरहेका छन्‌। अनि ती वर्षहरूको दौडान औसतमा प्रत्येक वर्ष २ लाख ८० हजारभन्दा धेरैले बप्तिस्मा गरेर यहोवाको साक्षी र येसु ख्रिष्टको नयाँ चेला बनेका छन्‌। तर अझ धेरै बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न कसरी मदत गर्न सकिन्छ? अहिले यहोवाले धैर्य गरेर मानिसहरूलाई ख्रिष्टको चेला बन्‍ने समय र मौका दिइरहनुभएको छ। त्यसैले हामी तिनीहरूलाई सकेसम्म चाँडो बप्तिस्मासम्म पुग्न सक्दो मदत गर्न चाहन्छौँ। किनकि समय थोरै मात्र बाँकी छ!—१ कोरि. ७:२९क; १ पत्रु. ४:७.

३. बाइबल अध्ययनबारे हामी यस लेखमा कुन कुरा छलफल गर्नेछौँ?

अहिले चेला बनाउनु अत्यन्तै महत्त्वपूर्ण भएकोले हाम्रा बाइबल विद्यार्थीहरूलाई बप्तिस्मासम्म प्रगति गर्न कसरी मदत गर्न सकिन्छ भनेर परिचालक निकायले शाखा कार्यालयहरूलाई सोधेको थियो। यो र यसपछिको लेखमा अनुभवी अग्रगामीहरू, मिसनरीहरू र क्षेत्रीय निरीक्षकहरूबाट के सिक्न सक्छौँ भनेर बुझ्नेछौँ। * (हितो. ११:१४; १५:२२) तिनीहरूले बाइबल अध्ययनलाई अझ प्रभावकारी बनाउन सञ्चालक र विद्यार्थीले के गर्न सक्छन्‌ भनेर बताएका छन्‌। यस लेखमा बप्तिस्मासम्म प्रगति गर्न प्रत्येक विद्यार्थीले चाल्नुपर्ने पाँच वटा कदमबारे छलफल गर्नेछौँ।

हरेक हप्ता अध्ययन गर्नुहोस्‌

विद्यार्थीलाई कतै बसेरै छलफल गर्न सकिन्छ कि भनेर सोध्नुहोस्‌ (अनुच्छेद ४-६ हेर्नुहोस्‌)

४. ढोकामै गरिने बाइबल अध्ययनबारे हामीले कुन कुरा बुझ्नुपर्छ?

हाम्रा थुप्रै भाइबहिनीले ढोकामै बाइबल अध्ययन सञ्चालन गरिरहेका छन्‌। हुनत बाइबलप्रति चासो जगाउने यो राम्रो तरिका हो। तर यस्तो छलफल अक्सर छोटो हुन्छ र हरेक हप्ता छलफल नहुन पनि सक्छ। घरधनीको चासो बढाउँदै लैजान केही भाइबहिनीले तिनीहरूको फोन नम्बर वा इमेल माग्छन्‌ अनि फोन वा मेसेज गरेर तिनीहरूलाई बाइबलबाट केही कुरा बताउँछन्‌। बेलाबेलामा गरिने यस्तो छलफल महिनौँसम्म चल्न सक्छ तर प्रगतिशील बाइबल अध्ययन भने नहुन सक्छ। परमेश्‍वरको वचन अध्ययन गर्न विद्यार्थीले योभन्दा बढी प्रयास गर्दैनन्‌ र समय दिँदैनन्‌ भने के तिनले समर्पण र बप्तिस्मासम्म प्रगति गर्न सक्लान्‌? सायद सक्दैनन्‌!

५. लुका १४:२७-३३ अनुसार चेला बन्‍न चाहने व्यक्‍तिले कुन कुरा बुझेको हुनुपर्छ?

एक पटक येसुले एउटा उदाहरणद्वारा उहाँको चेला बन्‍न के गर्नुपर्छ भनी बुझाउनुभयो। उहाँले धरहरा बनाउने विचार गरिरहेको मानिसबारे अनि लडाइँमा जान खोजिरहेको राजाबारे बताउनुभयो। धरहरा बनाउन चाहेको मानिसले “त्यो बनाइसिद्ध्याउने खर्च आफूसित छ कि छैन भनी बसेर पहिला हिसाब” गर्नुपर्छ अनि राजाले पनि आफ्नो सेनाले लडाइँ पूरा गर्न सक्छ कि सक्दैन भनेर “बसेर पहिला सल्लाह” गर्नुपर्छ भनी येसुले बताउनुभयो। (लुका १४:२७-३३ पढ्‌नुहोस्‌) त्यसैगरि येसुलाई उहाँको चेला बन्‍न चाहने व्यक्‍तिले उहाँको पछि लाग्नुको अर्थ के हो भनेर राम्ररी बुझ्नुपर्छ भनी थाह थियो। त्यसैले पछि गएर येसुको चेला बन्‍न सक्ने हाम्रा विद्यार्थीहरूलाई हामीले हरेक हप्ता अध्ययन गर्न प्रोत्साहन दिनुपर्छ। हामी कसरी त्यसो गर्न सक्छौँ?

६. प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्न हामी के गर्न सक्छौँ?

तपाईँ ढोकामै बाइबल अध्ययन गराउँदै हुनुहुन्छ भने छलफलको समयलाई अलि लामो बनाउने प्रयास गर्नुहोस्‌। सायद तपाईँ घरधनीलाई प्रत्येक चोटि भेट्‌दा एउटा मात्र नभई अरू पदहरू पनि छलफल गर्न सक्नुहुन्छ। तिनलाई लामो समय छलफल गर्ने बानी परेपछि कतै बसेरै छलफल गर्न सकिन्छ कि भनेर सोध्नुहोस्‌। घरधनीले दिने जवाफबाट तिनले बाइबल अध्ययनलाई कत्तिको गम्भीरतासाथ लिएका छन्‌ भनेर थाह पाउन सक्नुहुन्छ। अनि तिनलाई अझै प्रगति गर्न मदत दिन हप्ताको दुई चोटि अध्ययन गर्न सकिन्छ कि भनेर सोध्न सक्नुहुन्छ। तर हप्तामा एक वा दुई चोटि अध्ययन गर्नुको अलावा अरू कुरा पनि गर्नुपर्छ।

अध्ययनको लागि हरेक चोटि तयारी गर्नुहोस्‌

बाइबल अध्ययनको लागि राम्ररी तयारी गर्नुहोस्‌ अनि विद्यार्थीलाई पनि तयारी गर्न सिकाउनुहोस्‌ (अनुच्छेद ७-९ हेर्नुहोस्‌)

७. सञ्चालकले अध्ययनको लागि हरेक चोटि कसरी राम्ररी तयारी गर्न सक्छन्‌?

अध्ययन सञ्चालकको रूपमा तपाईँले बाइबल अध्ययनको लागि हरेक चोटि राम्ररी तयारी गर्नुपर्छ। सुरुमा अध्ययन गराउने भाग पढ्‌नुहोस्‌ र शास्त्रपदहरू हेर्नुहोस्‌। मुख्य बुँदालाई मनमा ठप्प राख्नुहोस्‌। अध्यायको शीर्षक, उपशीर्षकहरू, प्रश्‍नहरू, “पढ्‌नुहोस्‌” शास्त्रपदहरू र चित्रहरूबारे सोच्नुहोस्‌। अनि विषयवस्तुलाई अझ राम्ररी बुझ्न मदत गर्ने भिडियोहरू छन्‌ कि भनेर विचार गर्नुहोस्‌। त्यसपछि आफ्नो विद्यार्थीबारे सोच्नुहोस्‌; तिनले बुझ्न र लागू गर्न सक्ने तरिकामा कसरी सरल र स्पष्ट रूपमा व्याख्या गर्ने भनी मनन गर्नुहोस्‌।—नहे. ८:८; हितो. १५:२८क.

८. बाइबल विद्यार्थीको लागि प्रार्थना गर्नेबारे कलस्सी १:९, १० बाट के सिक्न सक्छौँ?

अध्ययनको लागि तयारी गर्दा विद्यार्थीबारे र तिनलाई कुन क्षेत्रमा मदत चाहिएको छ, त्यसबारे यहोवालाई प्रार्थना पनि गर्नुहोस्‌। विद्यार्थीको मनसम्म पुग्नेगरि बाइबलबाट सिकाउन यहोवासित मदत माग्नुहोस्‌। (कलस्सी १:९, १० पढ्‌नुहोस्‌) विद्यार्थीलाई बुझ्न वा स्विकार्न गाह्रो लाग्न सक्ने कुराबारे विचार गर्नुहोस्‌। तपाईँको लक्ष्य तिनलाई बप्तिस्मासम्म पुग्न मदत दिनु हो भन्‍ने कुरा सधैँ मनमा राख्नुहोस्‌।

९. विद्यार्थीलाई अध्ययनको लागि तयारी गर्न सञ्चालकले कसरी मदत गर्न सक्छन्‌? व्याख्या गर्नुहोस्‌।

नियमित रूपमा अध्ययन गर्दै जाँदा विद्यार्थी यहोवा र येसुले गरिदिनुभएका कुराहरूप्रति कृतज्ञ हुन थाल्नेछन्‌ अनि उहाँहरूबारे अझ धेरै सिक्न इच्छुक हुनेछन्‌ भनेर हामी आशा गर्छौँ। (मत्ति ५:३, ६) अध्ययनबाट पूरापूर लाभ उठाउन विद्यार्थीले आफूले सिकिरहेको कुरामा ध्यान दिनुपर्छ। विद्यार्थीलाई अध्ययन गरिने भाग पहिल्यै पढेर अनि त्यसमा लेखिएका कुराहरू आफूलाई कसरी लागू हुन्छ भनी मनन गरेर तयारी गर्नुको महत्त्व बुझाउनुहोस्‌। तयारी गर्न सञ्चालकले कसरी मदत गर्न सक्छन्‌? तयारी कसरी गर्न सकिन्छ भनी देखाउन कुनै भाग सँगै बसेर तयारी गर्नुहोस्‌। * छापिएका प्रश्‍नहरूको जवाफ अनुच्छेदमा खोज्न सिकाउनुहोस्‌ अनि मुख्य शब्दहरू वा वाक्यांशहरूमा मात्र चिन्ह लगाउँदा जवाफ सम्झन कसरी मदत पुग्छ भनी बुझाउनुहोस्‌। त्यसपछि तिनलाई आफ्नै शब्दमा जवाफ दिन लगाउनुहोस्‌। यसो गर्दा तिनले विषयवस्तु कत्तिको राम्ररी बुझेका छन्‌ भनेर थाह पाउन सक्नुहुनेछ। तर तपाईँ आफ्नो बाइबल विद्यार्थीलाई अर्को एउटा कुरा गर्न पनि प्रोत्साहन दिन सक्नुहुन्छ।

तिनलाई हरेक दिन यहोवासित कुराकानी गर्न सिकाउनुहोस्‌

विद्यार्थीलाई यहोवासित कुराकानी गर्न सिकाउनुहोस्‌ (अनुच्छेद १०-११ हेर्नुहोस्‌)

१०. हरेक दिन बाइबल पढ्‌नु किन महत्त्वपूर्ण छ अनि बाइबल पढाइबाट अझ धेरै लाभ उठाउन के गर्नुपर्छ?

१० हरेक हप्ता सञ्चालकसित बाइबल अध्ययन गर्नुको अलावा विद्यार्थी आफैले हरेक दिन गर्नुपर्ने कुराहरू पनि छन्‌। तिनले यहोवासित कुराकानी गर्नुपर्छ। कसरी? यहोवाको कुरा सुनेर र उहाँलाई आफ्नो कुरा बताएर। तिनले हरेक दिन बाइबल पढेर परमेश्‍वरको कुरा सुन्‍न सक्छन्‌। (यहो. १:८; भज. १:१-३) jw.org मा भएको “बाइबल पढाइ तालिका” कसरी प्रयोग गर्न सकिन्छ भनी विद्यार्थीलाई देखाउनुहोस्‌। * व्यक्‍तिगत बाइबल पढाइबाट अझ धेरै लाभ उठाउन तिनलाई आफूले बाइबलबाट यहोवाबारे के सिकिरहेको छु अनि पढेको कुरा जीवनमा कसरी लागू गर्न सक्छु भनी मनन गर्न प्रोत्साहन दिनुहोस्‌।—प्रेषि. १७:११; याकु. १:२५.

११. विद्यार्थीले कसरी सही तरिकामा प्रार्थना गर्न सिक्न सक्छन्‌? तिनले यहोवा परमेश्‍वरलाई प्रार्थना गर्ने बानी बसाल्नु किन आवश्‍यक छ?

११ विद्यार्थीलाई हरेक दिन प्रार्थना गरेर यहोवासित कुरा गर्न प्रोत्साहन दिनुहोस्‌। बाइबल अध्ययनको सुरुमा र अन्तमा मनैदेखि प्रार्थना गर्नुहोस्‌ अनि प्रार्थनामा विद्यार्थीको लागि पनि बिन्ती गरिदिनुहोस्‌। तिनले तपाईँको प्रार्थना सुनेर मनैदेखि प्रार्थना गर्न अनि येसु ख्रिष्टको नाममा यहोवा परमेश्‍वरलाई प्रार्थना गर्न सिक्नेछन्‌। (मत्ति ६:९; युह. १५:१६) विद्यार्थीले हरेक दिन बाइबल पढ्‌दा (यहोवाको कुरा सुन्दा) अनि प्रार्थना गर्दा (यहोवालाई आफ्नो कुरा बताउँदा) तिनी परमेश्‍वरसित कत्ति नजिक हुनेछन्‌, सोच्नुहोस्‌ त! (याकु. ४:८) यस्तो राम्रो बानी बसाल्दा विद्यार्थीले अर्को एउटा महत्त्वपूर्ण कुरा गर्न सक्नेछन्‌, जसले तिनलाई समर्पण र बप्तिस्मासम्म प्रगति गर्न मदत गर्नेछ।

तिनलाई यहोवासित व्यक्‍तिगत सम्बन्ध गाँस्न मदत गर्नुहोस्‌

१२. विद्यार्थीलाई यहोवासित व्यक्‍तिगत सम्बन्ध गाँस्न सञ्चालकले कसरी मदत गर्न सक्छन्‌?

१२ अध्ययनबाट सिक्ने कुराले विद्यार्थीको दिमाग मात्र होइन, मनलाई पनि छुनुपर्छ। किन? किनकि हाम्रो मनमा हाम्रो इच्छा, चाहना र भावना हुन्छ अनि मनमा जे छ, त्यसले हामीलाई कदम चाल्न जुरमुऱ्‍याउँछ। येसु तर्कपूर्ण ढङ्‌गमा सिकाउनुहुन्थ्यो। त्यसैले मानिसहरू उहाँको कुरा सुन्‍न चाहन्थे। तर मानिसहरू उहाँको पछि लाग्नुको कारण भनेको उहाँ तिनीहरूको मन छुने तरिकामा सिकाउनुहुन्थ्यो। (लुका २४:१५, २७, ३२) तपाईँको विद्यार्थीले यहोवालाई वास्तविक व्यक्‍तिको रूपमा हेर्न सिक्नुपर्छ, जसले गर्दा तिनले उहाँसित व्यक्‍तिगत सम्बन्ध गाँस्न अनि उहाँलाई आफ्नो बुबा, परमेश्‍वर र साथीको रूपमा हेर्न सक्नेछन्‌। (भज. २५:४, ५) बाइबल अध्ययनको दौडान विद्यार्थीलाई यहोवाका सुन्दर गुणहरूबारे थाह पाउन मदत गर्नुहोस्‌। (प्रस्थ. ३४:५, ६; १ पत्रु. ५:६, ७) जुनसुकै विषयमा छलफल गर्दा पनि यहोवा कस्तो किसिमको परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा जोड दिनुहोस्‌। विद्यार्थीलाई प्रेम, दया र कृपाजस्ता यहोवाका मनमोहक गुणहरूबारे बुझ्न मदत गर्नुहोस्‌। येसुले “सबैभन्दा ठूलो र पहिलो आज्ञा” भनेको ‘यहोवा परमेश्‍वरलाई प्रेम गर्नु’ हो भनी बताउनुभयो। (मत्ति २२:३७, ३८) त्यसैले विद्यार्थीलाई यहोवाप्रतिको गहिरो प्रेम विकास गर्न मदत गर्नुहोस्‌।

१३. विद्यार्थीलाई यहोवाका सुन्दर गुणहरूबारे बुझ्न कसरी मदत गर्न सकिन्छ, एउटा उदाहरण दिनुहोस्‌।

१३ विद्यार्थीसित कुराकानी गर्दा तपाईँ यहोवालाई किन प्रेम गर्नुहुन्छ भनेर बताउनुहोस्‌। यसो गर्दा तिनले पनि परमेश्‍वरसित न्यानो र व्यक्‍तिगत सम्बन्ध गाँस्नुपर्छ भनेर महसुस गर्नेछन्‌। (भज. ७३:२८) उदाहरणको लागि, अध्ययन भइरहेको प्रकाशनमा वा कुनै शास्त्रपदमा यहोवाबारे अर्थात्‌ उहाँको प्रेम, बुद्धि, न्याय वा शक्‍तिबारे केही बताइएको छ कि? त्यो पढ्‌दा त्यसले तपाईँको मन छोएको थियो कि? त्यसबारे विद्यार्थीलाई भन्‍नुहोस्‌ अनि तपाईँले स्वर्गमा बस्नुहुने बुबा यहोवालाई प्रेम गर्नुको एउटा कारण यो पनि हो भनेर बताउनुहोस्‌। बप्तिस्मासम्म प्रगति गर्न प्रत्येक बाइबल विद्यार्थीले गर्नुपर्ने अर्को एउटा कुरा पनि छ।

तिनलाई मण्डलीका सभाहरूमा उपस्थित हुन प्रोत्साहन दिनुहोस्‌

अध्ययन सुरु गरेदेखि नै विद्यार्थीलाई सभामा आउन प्रोत्साहन दिनुहोस्‌ (अनुच्छेद १४-१५ हेर्नुहोस्‌)

१४. हिब्रू १०:२४, २५ अनुसार विद्यार्थीलाई प्रगति गर्न मण्डलीका सभाहरूले कसरी मदत गर्छ?

१४ हामी आफ्ना विद्यार्थीहरूले बप्तिस्मासम्म प्रगति गरेको चाहन्छौँ। तिनीहरूलाई मदत गर्न हामीले गर्न सक्ने एउटा महत्त्वपूर्ण कुरा भनेको मण्डलीका सभाहरूमा उपस्थित हुन प्रोत्साहन दिनु हो। अध्ययन सुरु गरेदेखि नै सभामा आउन थाल्ने विद्यार्थीहरूले छिटोछिटो प्रगति गर्छन्‌ भनी अनुभवी सञ्चालकहरू बताउँछन्‌। (भज. १११:१) केही सञ्चालकले विद्यार्थीलाई तिनीहरूले बाइबलको आधा शिक्षा अध्ययनबाट अनि आधा शिक्षा सभाहरूबाट पाउन सक्छन्‌ भनी बताउँछन्‌। विद्यार्थीसँगै हिब्रू १०:२४, २५ पढ्‌नुहोस्‌ अनि सभाहरूमा उपस्थित हुँदा तिनलाई कस्तो फाइदा हुन्छ भनी बुझाउनुहोस्‌। तिनलाई राज्यभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? * भन्‍ने भिडियो देखाउनुहोस्‌। तपाईँको विद्यार्थीलाई हरेक हप्ता हुने सभा नछुटाउने लक्ष्य राख्न मदत गर्नुहोस्‌।

१५. विद्यार्थीलाई सभामा नियमित रूपमा उपस्थित हुन हामी कसरी प्रोत्साहन दिन सक्छौँ?

१५ तपाईँको विद्यार्थी अहिलेसम्म सभामा आएका छैनन्‌ वा नियमित रूपमा सभामा आउँदैनन्‌ भने तपाईँ के गर्न सक्नुहुन्छ? हालै तपाईँले सभाबाट सिक्नुभएको कुनै कुराबारे तिनलाई उत्साहित हुँदै बताउनुहोस्‌। विद्यार्थीलाई ‘सभामा आउनुहोस्‌’ मात्र भन्‍नुभन्दा यसो गर्नु अझ प्रभावकारी हुन्छ। तिनलाई सभामा छलफल भइरहेको प्रहरीधरहरा वा जीवन र सेवा अभ्यास पुस्तिका दिनुहोस्‌। अर्को सभामा के-कस्ता विषयमा छलफल हुनेछ भनेर देखाउनुहोस्‌ अनि तिनलाई त्यसमध्ये कुन विषय रोचक लाग्छ भनी सोध्नुहोस्‌। तपाईँको विद्यार्थीले पहिलो सभामा अनुभव गर्ने कुरा तिनले अरू कुनै पनि धार्मिक सभामा अनुभव नगरेका हुन सक्छन्‌। (१ कोरि. १४:२४, २५) तिनले सभामा असल व्यक्‍तिहरू भेट्‌नेछन्‌ र उनीहरूको राम्रो उदाहरण अनुकरण गर्दा तिनले बप्तिस्मासम्म प्रगति गर्न सक्नेछन्‌।

१६. विद्यार्थीहरूलाई बप्तिस्मासम्म पुऱ्‍याउने तरिकामा हामी कसरी अध्ययन गराउन सक्छौँ? यसपछिको लेखमा हामी के छलफल गर्नेछौँ?

१६ विद्यार्थीहरूलाई बप्तिस्मासम्म पुऱ्‍याउने तरिकामा हामी कसरी अध्ययन गराउन सक्छौँ? प्रत्येक विद्यार्थीलाई हरेक हप्ता अध्ययन गर्न अनि हरेक चोटि अध्ययनको लागि राम्रो तयारी गर्न प्रोत्साहन दिनुहोस्‌। यसो गर्दा तिनले अध्ययनलाई गम्भीरतासाथ लिन सक्नेछन्‌। हामी तिनलाई यहोवासित नियमित रूपमा कुराकानी गर्न र उहाँसित व्यक्‍तिगत सम्बन्ध गाँस्न प्रोत्साहन दिन चाहन्छौँ। तिनलाई मण्डलीका सभाहरूमा उपस्थित हुने इच्छुकता बढाउन पनि मदत दिन चाहन्छौँ। (“ बप्तिस्मासम्म प्रगति गर्न विद्यार्थीले के गर्नुपर्छ?” भन्‍ने पेटी हेर्नुहोस्‌।) तर विद्यार्थीलाई बप्तिस्मासम्म पुऱ्‍याउन अध्ययन सञ्चालकले गर्न सक्ने थप पाँच वटा कुरा छन्‌। यसबारे हामी यसपछिको लेखमा छलफल गर्नेछौँ।

गीत ७६ भन कस्तो लाग्छ?

^ अनु. 5 कसैलाई केही कुरा सिकाउनुको अर्थ उसलाई “नयाँ वा फरक तरिकामा सोच्न, महसुस गर्न र कदम चाल्न” मदत गर्नु हो। सन्‌ २०२० को वार्षिक पद, मत्ति २८:१९ ले मानिसहरूलाई बाइबल अध्ययन गराउनु र उनीहरूलाई येसु ख्रिष्टको चेलाको रूपमा बप्तिस्मा गर्न मदत दिनुको महत्त्वबारे सम्झाउँछ। यस महत्त्वपूर्ण काममा हामी कसरी अझ उन्‍नति गर्न सक्छौँ भनेर यो र यसपछिको लेखबाट बुझ्नेछौँ।

^ अनु. 2 थप व्याख्या: तपाईँले कसैसित नियमित र सिलसिलेवार ढङ्‌गमा बाइबलबाट छलफल गरिरहनुभएको छ भने तपाईँले बाइबल अध्ययन सञ्चालन गर्दै हुनुहुन्छ। तपाईँले तिनलाई बाइबल अध्ययन गर्ने तरिका देखाइसकेपछि दुई चोटि अध्ययन भइसकेको छ र तिनीसित अध्ययन अघि बढ्‌छ जस्तो लाग्छ भने त्यो अध्ययनको रिपोर्ट दिन सक्नुहुन्छ।

^ अनु. 3 यी लेखहरूमा जुलाई २००४ देखि मे २००५ सम्म हाम्रो राज्य सेवकाई-मा प्रकाशित “प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने” भन्‍ने शृङ्‌खलामा भएका सुझावहरू पनि समावेश गरिएका छन्‌।

^ अनु. 9 विद्यार्थीहरूलाई तयारी गर्न सिकाउनुहोस्‌ विषयको चार मिनेट लामो भिडियो हेर्नुहोस्‌। JW Library® मा मिडिया > हाम्रो सभा र प्रचारकार्य > हाम्रो सिप अझै तिखार्ने अन्तर्गत हेर्नुहोस्‌।

^ अनु. 10 बाइबलको शिक्षा > बाइबल अध्ययन सामग्री अन्तर्गत हेर्नुहोस्‌।

^ अनु. 14 JW Library® मा मिडिया > हाम्रो सभा र प्रचारकार्य > प्रचारमा मदत गर्ने सामग्री अन्तर्गत हेर्नुहोस्‌।