सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४०

साँचो पश्‍चात्ताप भनेको के हो?

साँचो पश्‍चात्ताप भनेको के हो?

“म . . . पापीहरूले पश्‍चात्ताप गरून्‌ भनी उनीहरूलाई बोलाउन आएको हुँ।”—लुका ५:३२.

गीत ३६ हृदय सुरक्षित राखौँ!

परिचय *

१-२. आहाब र मनस्सेबीच कस्तो भिन्‍नता थियो र यस लेखमा हामी के छलफल गर्नेछौँ?

 पुरातन समयको दुई जना राजाबारे छलफल गरौँ। एक जनाले इस्राएलको दस-गोत्रे राज्यमा शासन गर्थे भने अर्कोले चाहिँ यहुदाको दुई-गोत्रे राज्यमा शासन गर्थे। तिनीहरू एउटै समयका नभए तापनि तिनीहरूमा थुप्रै समानता थिए। ती दुवै राजाले यहोवाको विद्रोह गरे र मानिसहरूलाई पाप गर्न लगाए। ती दुवैले मूर्तिपूजा गरे र मानिसहरूको हत्या गरे। तर ती दुई जनाबीच एउटा भिन्‍नता थियो। एक जनाले जीवनभर गलत काम गरिरहे भने अर्कोले चाहिँ पश्‍चात्ताप गरे र आफूले गरेका खराब कामहरूको लागि क्षमा पाए। तिनीहरू को थिए?

तिनीहरू इस्राएलको राजा आहाब र यहुदाको राजा मनस्से थिए। ती दुई बीचको भिन्‍नताहरूबाट हामी एउटा महत्त्वपूर्ण विषय अर्थात्‌ पश्‍चात्तापबारे धेरै कुरा सिक्न सक्छौँ। (प्रेषि. १७:३०; रोमी ३:२३) पश्‍चात्ताप भनेको के हो र यो कसरी देखाइन्छ? हामीले यो कुरा थाह पाउनु जरुरी छ किनभने हामीले पाप गर्दा यहोवाले क्षमा दिनुभएको हामी चाहन्छौँ। यी प्रश्‍नहरूको जवाफ पाउन हामी ती दुई जना राजाको जीवनी केलाउनेछौँ र तिनीहरूको उदाहरणबाट कस्तो पाठ सिक्न सक्छौँ, त्यो पनि ध्यान दिनेछौँ। त्यसपछि येसुले पश्‍चात्तापबारे सिकाउनुभएको कुरा पनि छलफल गर्नेछौँ।

राजा आहाबको उदाहरणबाट हामी के सिक्न सक्छौँ?

३. आहाब कस्तो किसिमका राजा थिए?

आहाब इस्राएलको दस-गोत्रे राज्यको सातौँ राजा थिए। तिनले उत्तरमा पर्ने एउटा सम्पन्‍न राष्ट्र सिदोनको राजाकी छोरी ईजेबेलसित विवाह गरे। त्यस विवाहले गर्दा इस्राएललाई आर्थिक लाभ भएको हुनुपर्छ। तर त्यसले गर्दा यहोवासितको इस्राएलको सम्बन्ध झनै बिग्रियो। ईजेबेल एक बाआल उपासक थिइन्‌। उनले त्यस भ्रष्ट धर्मलाई बढावा दिन आहाबलाई उक्साइन्‌, जुन धर्ममा मन्दिरमा वेश्‍यावृत्ति गरिन्थ्यो र बच्चाहरूको बलि चढाइन्थ्यो। रानी ईजेबेलको कारण यहोवाको सबै भविष्यवक्‍ताको जीवन खतरामा परेको थियो। उनले तिनीहरूमध्ये धेरैको हत्या गरिन्‌। (१ राजा १८:१३) आहाब आफै पनि “यहोवा परमेश्‍वरको नजरमा तिनका पूर्वजभन्दा खराब थिए।” (१ राजा १६:३०) आहाब र ईजेबेलले गरिरहेका कामहरू यहोवाको नजरबाट लुकेको थिएन। तैपनि उहाँले आफ्ना जनहरूलाई कृपा देखाउनुभयो र भविष्यवक्‍ता एलियालाई पठाउनुभएर समय छँदै खराब कामहरू त्याग्न तिनीहरूलाई चेतावनी दिनुभयो। तर आहाब र ईजेबेलले त्यो चेतावनीलाई बेवास्ता गरे।

४. यहोवाले आहाबलाई कस्तो न्यायदण्ड सुनाउनुभयो र तिनले कस्तो प्रतिक्रिया देखाए?

अन्ततः यहोवाको धैर्यको बाँध टुट्यो। उहाँले आहाब र ईजेबेलमाथि आफ्नो न्यायदण्ड सुनाउन एलियालाई पठाउनुभयो। तिनीहरूको पूरै वंश नाश हुने थियो। एलियाको कुरा सुनेर आहाबलाई साह्रै नराम्रो लाग्यो। अचम्मको कुरा, ती हठी मानिसले “आफैलाई नम्र” तुल्याए।—१ राजा २१:१९-२९.

राजा आहाबले साँचो पश्‍चात्ताप गरेका थिएनन्‌; त्यसैले तिनले यहोवाको भविष्यवक्‍तालाई झ्यालखानामा हालिदिए (अनुच्छेद ५-६ हेर्नुहोस्‌) *

५-६. आहाबले साँचो पश्‍चात्ताप गरेका थिएनन्‌ भनेर कुन कुराले देखाउँछ?

हुनत त्यतिबेला आहाबले आफैलाई नम्र तुल्याए तर तिनले साँचो पश्‍चात्ताप गरेका थिएनन्‌ भन्‍ने कुरा तिनको व्यवहारबाट देखियो। तिनले आफ्नो राज्यबाट बाआल उपासना हटाउन कोसिस गरेनन्‌। तिनले मानिसहरूलाई यहोवाको उपासना गर्न प्रोत्साहन पनि दिएनन्‌। तिनले साँचो पश्‍चात्ताप गरेका थिएनन्‌ भनेर अरू कुराले पनि देखायो।

पछि आहाबले सिरियाविरुद्धको युद्धमा आफूलाई साथ दिन यहुदाका असल राजा यहोसापातलाई आग्रह गरे। तर यहोसापातले तिनलाई सुरुमा यहोवाको भविष्यवक्‍तासित सल्लाह लिन सुझाव दिए। सुरुमा त आहाबले त्यसो गर्न मानेनन्‌। तिनले यसो भने: “यहोवा परमेश्‍वरको सल्लाह लिन सकिने अर्को एक जना पनि छ। तर मलाई ऊ फिटिक्कै मन पर्दैन। किनकि उसले मेरो विषयमा भविष्यवाणी गर्दा कहिल्यै राम्रो कुरा भन्दैन, सधैँ नराम्रो कुरा मात्र भन्छ।” तैपनि तिनीहरूले भविष्यवक्‍ता मिकायाहसित सल्लाह मागे। नभन्दै ती भविष्यवक्‍ताले आहाबको विषयमा नराम्रो भविष्यवाणी गरे। पश्‍चात्ताप गरेर यहोवासित क्षमा माग्नुको साटो दुष्ट आहाबले ती भविष्यवक्‍तालाई झ्यालखानामा हालिदिए। (१ राजा २२:७-९, २३, २७) तिनी यहोवाको भविष्यवक्‍तालाई झ्यालखानामा हाल्न सफल भए पनि भविष्यवाणी पूरा हुनदेखि भने रोक्न सकेनन्‌। पछि राजा आहाब युद्धमा मारिए।—१ राजा २२:३४-३८.

७. आहाबको मृत्युपछि यहोवाले तिनीबारे के भन्‍नुभयो?

यहोवा आहाबलाई कस्तो नजरले हेर्नुहुन्थ्यो भन्‍ने कुरा तिनको मृत्युपछि स्पष्ट भयो। असल राजा यहोसापात सकुशल यहुदा फर्केपछि आहाबलाई साथ दिएकोमा उनलाई हप्काउन यहोवाले भविष्यवक्‍ता येहुलाई पठाउनुभयो। ती भविष्यवक्‍ताले यसो भने: “के तपाईँले दुष्ट व्यक्‍तिलाई मदत गर्नु सही हो? अनि यहोवा परमेश्‍वरलाई घृणा गर्ने मानिसलाई प्रेम गर्नु उचित हो?” (२ इति. १९:१, २) अब एकैछिन विचार गर्नुहोस्‌, यदि आहाबले साँचो पश्‍चात्ताप गरेका भए ती भविष्यवक्‍ताले पक्कै पनि तिनलाई यहोवालाई घृणा गर्ने दुष्ट मानिस भन्‍ने थिएनन्‌। स्पष्ट छ, आहाबले केही हदसम्म पश्‍चात्ताप गरेको देखाए तापनि तिनले हृदयदेखि साँचो पश्‍चात्ताप भने गरेका थिएनन्‌।

८. आहाबको उदाहरणबाट पश्‍चात्तापबारे हामी के सिक्न सक्छौँ?

आहाबको उदाहरणबाट हामी के सिक्न सक्छौँ? आफ्नो पूरै वंश नाश हुने न्यायदण्ड एलियाबाट सुन्दा सुरुमा त आहाबले आफैलाई नम्र तुल्याए। त्यो राम्रो सुरुवात थियो। तर तिनले पछि गरेका कामहरूले तिनले साँचो पश्‍चात्ताप गरेका थिएनन्‌ भनेर देखायो। त्यसैले पश्‍चात्ताप गर्नुमा आफूले गरेको गलत कामको लागि क्षणिक दुःख व्यक्‍त गर्नु मात्र पर्याप्त छैन। साँचो पश्‍चात्ताप गर्नुमा के-के समावेश छ भनेर बुझ्न अब हामी अर्को उदाहरण विचार गरौँ।

राजा मनस्सेको उदाहरणबाट हामी के सिक्न सक्छौँ?

९. मनस्से कस्तो किसिमका राजा थिए?

करिब दुई सय वर्षपछि मनस्से यहुदाका राजा भए। तिनले आहाबले भन्दा झन्‌ धेरै खराब काम गरेका हुन सक्छन्‌। बाइबलमा यस्तो लेखिएको छ: “तिनले यहोवा परमेश्‍वरको नजरमा असाध्यै खराब काम गरेर उहाँलाई साह्रै रिस उठाए।” (२ इति. ३३:१-९) मनस्सेले यहोवाको पवित्र मन्दिरमा झूटा देवताहरूको निम्ति वेदीहरू बनाए र पवित्र खामो कुँदेर बनाउन लगाए, जुन सायद यौन उपासनाको प्रतीक थियो। तिनले जादु गर्ने, भावी बताउने र टुनामुना गर्नेजस्ता कामहरू गरे। तिनले “निर्दोष मानिसहरूको रगत बगाए।” तिनी यतिसम्म क्रूर भए कि झूटा देवताहरूको लागि बलि चढाउने क्रममा “आफ्नै छोराहरूलाई आगोमा बलि चढाए।”—२ राजा २१:६, ७, १०, ११, १६.

१०. यहोवाले मनस्सेलाई कसरी अनुशासन दिनुभयो र तिनले कस्तो प्रतिक्रिया देखाए?

१० आहाबले जस्तै मनस्सेले पनि हठी भई यहोवाका भविष्यवक्‍ताहरूले दिएको चेतावनी बेवास्ता गरे। अन्ततः “यहोवा परमेश्‍वरले अस्सेरियाका राजाका सेनापतिहरूलाई [यहुदामाथि] आक्रमण गर्न लगाउनुभयो। ती सेनापतिहरूले मनस्सेलाई अङ्‌कुसेहरूले पक्रे अनि तामाका दुई वटा नेल ठोकेर बेबिलोन लगे।” बेबिलोनको झ्यालखानामा छँदा मनस्सेले आफूले गरेका कामहरूबारे गहिरिएर विचार गरेका हुन सक्छन्‌। “तिनले आफ्ना पितापुर्खाका परमेश्‍वरसामु आफूलाई साह्रै नम्र तुल्याइरहे।” तिनले उहाँसित “दयाको भीख मागे।” साँच्चै भन्‍ने हो भने, मनस्सेले “परमेश्‍वरलाई प्रार्थना गरिरहे।” ती दुष्ट मानिस परिवर्तन हुँदै थिए। तिनले यहोवालाई “आफ्ना परमेश्‍वर” ठान्‍न थाले र उहाँलाई व्यग्र प्रार्थना गरे।—२ इति. ३३:१०-१३.

राजा मनस्सेले साँचो पश्‍चात्ताप गरेका थिए; त्यसैले तिनी झूटो उपासनाविरुद्ध लडे (अनुच्छेद ११ हेर्नुहोस्‌) *

११. दोस्रो इतिहास ३३:१५, १६ अनुसार मनस्सेले साँचो पश्‍चात्ताप गरेको कसरी देखाए?

११ पछि यहोवाले मनस्सेको प्रार्थनाको जवाफ दिनुभयो। तिनी साँच्चै परिवर्तन भएको कुरा तिनका प्रार्थनाहरूबाट उहाँले देख्नुभयो। त्यसैले उहाँले तिनको बिन्ती सुन्‍नुभयो र तिनको राज्य फिर्ता गरिदिनुभयो। आफूले गरेको पश्‍चात्ताप साँचो हो भनेर देखाउन मनस्सेले यो अवसरको पूर्ण सदुपयोग गरे। आहाबले कहिल्यै नगरेको काम तिनले गरे। तिनले आफ्ना गल्तीहरू सच्याए। तिनी सक्रिय भई झूटो उपासनाविरुद्ध लडे र तिनले मानिसहरूलाई यहोवाको उपासना गर्न प्रोत्साहन दिए। (२ इतिहास ३३:१५, १६ पढ्‌नुहोस्‌।) त्यस्तो कदम चाल्न मनस्सेलाई धेरै साहस र विश्‍वास चाहिएको थियो किनभने तिनले धेरै वर्षसम्म आफ्नो परिवार, भारदार र प्रजाको लागि खराब उदाहरण बसालेका थिए। तर आफ्नो जीवनको अन्तिम वर्षहरूमा मनस्सेले आफ्नो कारणले गर्दा निम्तिएका केही समस्याहरू समाधान गर्ने प्रयास गरे। तिनको उदाहरणले तिनको नाति योसियाहमा राम्रो प्रभाव पारेको हुनुपर्छ, जो पछि गएर निकै असल राजा बने।—२ राजा २२:१, २.

१२. मनस्सेको उदाहरणबाट हामी पश्‍चात्तापबारे के सिक्न सक्छौँ?

१२ मनस्सेको उदाहरणबाट हामी के सिक्न सक्छौँ? तिनले आफूलाई नम्र तुल्याए र थप कदमहरू चाले। तिनले दयाको भीख माग्दै परमेश्‍वरलाई प्रार्थना गरे अनि खराब कामहरू त्यागे। तिनले आफूले गर्दा भएको हानिलाई सच्याउन कडा मेहनत गरे। तिनले तनमनले यहोवाको उपासना गरे र अरूलाई पनि त्यसै गर्न मदत गरे। जतिसुकै गम्भीर पाप गरेको व्यक्‍तिले समेत यहोवाबाट क्षमा पाउन सक्छन्‌ भन्‍ने कुरा मनस्सेको उदाहरणले देखाउँछ। तिनको उदाहरणले यहोवा परमेश्‍वर “असल हुनुहुन्छ र क्षमा गर्न सधैँ तयार हुनुहुन्छ” भन्‍ने कुराको सशक्‍त प्रमाण दिन्छ। (भज. ८६:५) हो, साँचो पश्‍चात्ताप गर्नेहरूलाई यहोवा क्षमा गर्नुहुन्छ।

१३. साँचो पश्‍चात्तापको लागि कुन कुरा मात्र पर्याप्त छैन? उदाहरणसहित बताउनुहोस्‌।

१३ मनस्से आफूले गरेको पापको लागि दुःखी मात्र भएनन्‌। यसबाट हामी पश्‍चात्तापबारे एउटा महत्त्वपूर्ण कुरा सिक्न सक्छौँ। एउटा उदाहरण विचार गर्नुहोस्‌: तपाईँ बेकरीमा केक किन्‍न जानुभयो तर साहुजीले तपाईँलाई केकको सट्टा अण्डा दियो। के तपाईँ त्यो लिनुहुन्छ? पक्कै पनि लिनुहुन्‍न। तर साहुजीले तपाईँलाई अण्डा भनेको केक बनाउन नभई नहुने कुरा हो भन्यो भने नि? के तपाईँ त्यो अण्डा किन्‍नुहुन्छ? पक्कै पनि किन्‍नुहुन्‍न। त्यसैगरि यहोवा पाप गर्ने व्यक्‍तिले पश्‍चात्ताप गरेको चाहनुहुन्छ। ती व्यक्‍तिले आफ्नो पापको लागि दुःखी महसुस गर्नु राम्रो कुरा हो। यस्तो भावना पश्‍चात्ताप गर्नको लागि नभई नहुने कुरा हो तर यति मात्र पर्याप्त छैन। पाप गर्ने व्यक्‍तिले अझै के गर्नुपर्छ? येसुले दिनुभएको एउटा मनै छुने उदाहरणबाट हामी यसबारे धेरै कुरा सिक्न सक्छौँ।

साँचो पश्‍चात्ताप हो कि होइन भनेर कसरी थाह पाउने?

होस खुलेपछि हराएको छोरा लामो यात्रा गरेर आफ्नो घर फर्कियो (अनुच्छेद १४-१५ हेर्नुहोस्‌) *

१४. येसुको उदाहरणको हराएको छोराले पश्‍चात्ताप गर्न थालेको कुन कुराबाट देखियो?

१४ येसुले लुका १५:११-३२ मा हराएको छोराबारे एउटा मनै छुने कथा बताउनुभयो। एक जना केटोले बुबाको विद्रोह गऱ्‍यो र घर छोडेर “टाढा परदेश” गयो। त्यहाँ उसले अनैतिक र भोगविलासको जीवन बितायो। तर पाउनुसम्म दुःख पाएपछि उसले आफूले गरेको निर्णयबारे गम्भीरतापूर्वक सोच्न थाल्यो। बुबासँग हुँदा आफू कत्ति खुसी थिएँ भन्‍ने कुरा उसले महसुस गऱ्‍यो। येसुले भन्‍नुभएझैँ त्यो केटोको “होस खुल्यो।” उसले घर फर्केर आफ्नो बुबासँग क्षमा माग्ने निर्णय गऱ्‍यो। त्यो केटाले आफ्नो गल्ती महसुस गर्नु राम्रो कुरा थियो। तर के त्यति नै पर्याप्त थियो? थिएन। उसले थप कदम चाल्नुपर्थ्यो।

१५. येसुको उदाहरणमा हराएको छोराले पश्‍चात्ताप गरेको कुरा आफ्नो कामबाट कसरी देखायो?

१५ हराएको छोराले आफूले गरेको गल्तीको लागि साँचो पश्‍चात्ताप गरेको देखायो। ऊ लामो यात्रा गरेर घर फर्कियो। घर पुगेपछि उसले बुबालाई यसो भन्यो: “मैले परमेश्‍वर र तपाईँको विरुद्धमा पाप गरेको छु। अब म तपाईँको छोरा भनिन लायकको छैनँ।” (लुका १५:२१) उसले मनैदेखि आफ्नो गल्ती स्विकारेको कुराले ऊ यहोवासितको सम्बन्ध सुधार्न चाहन्थ्यो भन्‍ने कुरा देखियो। आफ्नो निर्णयले गर्दा बुबाको चित्त दुखेको कुरा पनि उसले महसुस गऱ्‍यो। ऊ आफ्नो बुबाको निगाह पाउन जे गर्न पनि तयार थियो; यहाँसम्म कि ऊ आफ्नो बुबाको ज्यालादारी कामदार बन्‍न पनि तयार भयो। (लुका १५:१९) यो उदाहरण एउटा मन छुने कथा मात्र होइन। यस उदाहरणमा पाइने सिद्धान्तहरूले मण्डलीका एल्डरहरूलाई गम्भीर गलत काम गर्ने भाइ वा बहिनीले साँचो पश्‍चात्ताप गरेका छन्‌ कि छैनन्‌ भनेर पत्ता लगाउन मदत गर्छ।

१६. कुनै व्यक्‍तिले साँचो पश्‍चात्ताप गरेको हो कि होइन भनेर पत्ता लगाउन एल्डरहरूलाई किन गाह्रो हुन सक्छ?

१६ गम्भीर गलत काम गर्ने व्यक्‍तिले साँचो पश्‍चात्ताप गरेको हो कि होइन भनेर पत्ता लगाउन एल्डरहरूलाई सजिलो छैन। किन? एल्डरहरूले तिनको मनको कुरा थाह पाउन सक्दैनन्‌। त्यसैले आफूले गरेको पापप्रति तिनको दृष्टिकोण पूरै परिवर्तन भएको छ कि छैन भनेर एल्डरहरूले पत्ता लगाउने कोसिस गर्नुपर्छ। कुनै-कुनै मामिलामा कसैले यति गम्भीर पाप गरेका हुन्छन्‌ कि एल्डरहरू तिनले साँचो पश्‍चात्ताप गरेका छन्‌ भन्‍ने कुरामा विश्‍वस्त नहुन सक्छन्‌।

१७. (क) कसैले आफ्नो पापको लागि दुःख व्यक्‍त गर्दैमा साँचो पश्‍चात्ताप गरेको छ भन्‍न मिल्दैन भनेर कुन उदाहरणले देखाउँछ? (ख) दोस्रो कोरिन्थी ७:११ अनुसार पाप गर्ने व्यक्‍तिले साँचो पश्‍चात्ताप गरेको कुरा केमा देखिन्छ?

१७ एउटा उदाहरण विचार गर्नुहोस्‌। एक जना भाइले धेरै वर्षदेखि व्यभिचार गर्दै आएका छन्‌। मदत माग्नुको साटो तिनी आफ्नी पत्नी, साथीहरू र एल्डरहरूबाट आफ्नो गलत काम लुकाउँछन्‌। पछि एल्डरहरूले त्यो कुरा थाह पाउँछन्‌। एल्डरहरूले त्यसको प्रमाण देखाइदिँदा तिनी आफ्नो गल्ती स्विकार्छन्‌ र तिनले पछुतो मानेको पनि देखिन्छ। तर के त्यो पर्याप्त छ? त्यो मामिला सम्हाल्ने एल्डरहरूले तिनी दुःखी भएको कुरालाई मात्र ध्यान दिनेछैनन्‌। तिनी एकछिनको लागि प्रलोभनमा परेर पाप गर्न पुगेको नभई तिनले वर्षौँदेखि पाप गरिरहेका थिए। साथै तिनी आफै अघि सरेर आफ्नो पाप स्विकारेका थिएनन्‌; बरु कसैले तिनको पापबारे थाह पाएर एल्डरहरूलाई रिपोर्ट गरेका थिए। त्यसैले एल्डरहरूले तिनको सोचाइ, भावना र व्यवहारमा तिनले साँचो पश्‍चात्ताप गरेको स्पष्ट प्रमाण देख्नुपर्छ। (२ कोरिन्थी ७:११ पढ्‌नुहोस्‌।) आफूले साँचो पश्‍चात्ताप गरेको हो भनेर प्रमाणित गर्न तिनलाई धेरै समय लाग्न सक्छ। त्यतिन्जेल तिनलाई मण्डलीबाट बहिष्कार गरिन सक्छ।—१ कोरि. ५:११-१३; ६:९, १०.

१८. बहिष्कार भएको व्यक्‍तिले साँचो पश्‍चात्ताप गरेको कसरी देखाउन सक्छन्‌ र त्यसको नतिजा कस्तो हुन्छ?

१८ बहिष्कार भएको व्यक्‍तिले साँचो पश्‍चात्ताप गरेको देखाउन नियमित रूपमा सभाहरूमा उपस्थित हुनुपर्छ अनि व्यक्‍तिगत अध्ययन र प्रार्थनाको राम्रो तालिका बनाउन एल्डरहरूले दिएको सल्लाहअनुसार चल्नुपर्छ। फेरि पापमा फस्न सक्ने परिस्थितिदेखि तिनी टाढै बस्नुपर्छ। यहोवासितको आफ्नो सम्बन्ध सुधार्न कडा मेहनत गरेमा उहाँले पूर्णरूपमा क्षमा गर्नुहुनेछ र एल्डरहरूले मण्डलीमा पुनर्बहाली हुन मदत गर्नेछन्‌ भन्‍ने कुरामा तिनी ढुक्क हुन सक्छन्‌। कसैले साँचो पश्‍चात्ताप गरेको हो कि होइन भनेर पत्ता लगाउन प्रयास गरिरहेका एल्डरहरूलाई हरेक मामिला फरक-फरक हुन्छ भन्‍ने कुरा राम्ररी थाह छ। त्यसैले तिनीहरू हरेक मामिलालाई होसियारीपूर्वक जाँच्छन्‌ र पाप गर्ने व्यक्‍तिसित कठोर व्यवहार गर्दैनन्‌।

१९. साँचो पश्‍चात्ताप गर्नुमा के-के समावेश छ? (इजकिएल ३३:१४-१६)

१९ साँचो पश्‍चात्ताप गर्नुमा आफूले गरेको पापको लागि दुःख व्यक्‍त गर्नु मात्र पर्याप्त छैन भन्‍ने कुरा हामीले सिक्यौँ। बरु यसमा आफ्नो सोचाइ र भावनामा परिवर्तन ल्याउनु र कदम चाल्नु पनि समावेश छ। यसको लागि पाप गर्ने व्यक्‍तिले खराब मार्ग त्यागेर फेरि यहोवाको मार्गमा हिँड्‌न थाल्नुपर्छ। (इजकिएल ३३:१४-१६ पढ्‌नुहोस्‌।) पाप गर्ने व्यक्‍तिको मुख्य उद्देश्‍य यहोवासितको आफ्नो बिग्रेको सम्बन्ध सुधार्ने हुनुपर्छ।

पाप गर्ने व्यक्‍तिलाई पश्‍चात्ताप गर्न मदत गर्नुहोस्‌

२०-२१. गम्भीर पाप गरेको व्यक्‍तिलाई हामी कसरी मदत गर्न सक्छौँ?

२० येसुले आफ्नो सेवाको एउटा महत्त्वपूर्ण पक्षबारे यसरी बताउनुभयो: “म . . . पापीहरूले पश्‍चात्ताप गरून्‌ भनी उनीहरूलाई बोलाउन आएको हुँ।” (लुका ५:३२) हाम्रो उद्देश्‍य पनि यस्तै हुनुपर्छ। हाम्रो कुनै घनिष्ठ साथीले गम्भीर पाप गरेको कुरा थाह पायौँ भने हामीले के गर्नुपर्छ?

२१ आफ्नो साथीको पाप लुकाउने कोसिस गऱ्‍यौँ भने हामीले उल्टै तिनलाई हानि पुऱ्‍याइरहेका हुन्छौँ। त्यस्तो प्रयास कहिल्यै सफल हुँदैन किनभने यहोवाको नजरबाट कुनै कुरा लुक्न सक्दैन। (हितो. ५:२१, २२; २८:१३) एल्डरहरू हामीलाई मदत गर्न सधैँ तयार छन्‌ भनेर तपाईँ आफ्नो साथीलाई सम्झाउन सक्नुहुन्छ। तर तिनले एल्डरहरूसामु आफ्नो गल्ती स्विकार्न मानेनन्‌ भने तपाईँले यसबारे एल्डरहरूलाई खबर गर्नुपर्छ। यसो गरेर तपाईँ तिनलाई साँच्चै मदत गर्न चाहनुहुन्छ भनेर देखाइरहनुभएको हुनेछ। यस्तो कदम नचाल्ने हो भने यहोवासितको तिनको सम्बन्ध खतरामा पर्न सक्छ।

२२. अर्को लेखमा हामी के छलफल गर्नेछौँ?

२२ कुनै ख्रिष्टियनले गम्भीर पाप गरेका छन्‌ र तिनी निकै लामो समयदेखि त्यस्तो पापमा फसेका छन्‌ अनि एल्डरहरूले तिनलाई बहिष्कार गर्ने निर्णय गर्छन्‌ भने नि? के एल्डरहरूले तिनलाई दया नदेखाएको भन्‍न मिल्छ? यहोवाले पापीहरूलाई अनुशासन दिनुहुँदा उहाँको कृपा कसरी झल्किन्छ र हामी कसरी उहाँको अनुकरण गर्न सक्छौँ, अर्को लेखमा छलफल गर्नेछौँ।

गीत १०३ गोठालाहरू—वरदानको रूपमा पुरुषहरू

^ साँचो पश्‍चात्तापमा आफूले गरेको गल्तीको लागि माफी माग्नु मात्र पर्याप्त छैन। साँचो पश्‍चाताप भनेको के हो भनेर बुझ्न हामी यस लेखमा राजा आहाब, राजा मनस्से र येसुको उदाहरणको हराएको छोराबारे विचार गर्नेछौँ। साथै गम्भीर पाप गरेको कुनै भाइ वा बहिनीले साँचो पश्‍चाताप गरेका छन्‌ कि छैनन्‌ भनेर निर्णय गर्नुपर्दा एल्डरहरूले कुन-कुन कुरामा ध्यान दिनुपर्छ, त्यसबारे पनि छलफल गर्नेछौँ।

^ चित्रको व्याख्या: राजा आहाब रिसाउँदै यहोवाको भविष्यवक्‍ता मिकायाहलाई झ्यालखानामा हाल्न पहरेदारहरूलाई आदेश दिन्छन्‌।

^ चित्रको व्याख्या: आफूले मन्दिरमा खडा गरेका मूर्तिहरूलाई नष्ट गर्न राजा मनस्से कामदारहरूलाई आदेश दिन्छन्‌।

^ चित्रको व्याख्या: लामो यात्रा गरेर थकित भएको हराएको छोराले टाढैबाट आफ्नो घर देख्नेबित्तिकै ढुक्क महसुस गर्छ।