अध्ययन लेख ४४
आफ्नो आशालाई बलियो बनाइराख्नुहोस्
“यहोवामा आशा राख।”—भज. २७:१४.
गीत १४४ इनाममा दृष्टि राखौँ!
परिचय *
१. यहोवाले हामीलाई कस्तो आशा दिनुभएको छ?
यहोवाले हामीलाई अनन्त जीवनको सुन्दर आशा दिनुभएको छ। कोही-कोहीले स्वर्गमा अमर जीवन पाउने आशा राख्छन्। (१ कोरि. १५:५०, ५३) तर धेरैजसोले भने यसै पृथ्वीमा पूर्णतया स्वस्थ अनि आनन्दित भएर सधैँभरि बाँच्ने आशा राख्छन्। (प्रका. २१:३, ४) हाम्रो आशा जुनसुकै भए पनि यो हाम्रो लागि बहुमूल्य छ।
२. हाम्रो आशा केमा आधारित छ र हामी किन त्यसो भन्न सक्छौँ?
२ बाइबलमा प्रयोग गरिएको “आशा” शब्दले “असल कुराहरूको अपेक्षा गर्नु”-लाई बुझाउँछ। हाम्रो भविष्यको आशा पक्कै पूरा हुनेछ किनभने यो आशा यहोवाले दिनुभएको हो। (रोमी १५:१३) हामीलाई उहाँका प्रतिज्ञाहरूबारे थाह छ र उहाँ ती सधैँ पूरा गर्नुहुन्छ। (गन्ती २३:१९) उहाँसित आफूले बोलेको कुरा पूरा गर्ने इच्छा र शक्ति दुवै छ भन्ने कुरामा हामी विश्वस्त छौँ। त्यसैले हाम्रो आशा कल्पना वा चाहनामा नभई प्रमाण र वास्तविकतामा आधारित छ।
३. यस लेखमा हामी के छलफल गर्नेछौँ? (भजन २७:१४)
३ यहोवा हामीलाई माया गर्नुहुन्छ र हामीले उहाँमाथि भरोसा गरेको चाहनुहुन्छ। (भजन २७:१४ पढ्नुहोस्।) हामीले उहाँमाथिको आशालाई बलियो बनायौँ भने अहिले र भविष्यमा जस्तोसुकै परीक्षा आइपरे पनि साहसी भई त्यसको सामना गर्न र आनन्द कायम राख्न सक्नेछौँ। यस लेखमा आशाले कसरी सुरक्षा दिन्छ भनेर विचार गर्नेछौँ। सुरुमा आशालाई लङ्गर र टोपसित किन तुलना गर्न सकिन्छ, विचार गरौँ। त्यसपछि हामी कसरी आशालाई बलियो बनाउन सक्छौँ भनेर छलफल गर्नेछौँ।
हाम्रो आशा लङ्गरजस्तै हो
४. आशालाई किन लङ्गरसित तुलना गर्न सकिन्छ? (हिब्रू ६:१९)
४ पावलले हिब्रूहरूलाई लेखेको पत्रमा आशालाई लङ्गरसित तुलना गरे। (हिब्रू ६:१९ पढ्नुहोस्।) तिनी अक्सर समुद्री यात्रा गर्थे; त्यसैले आँधीहुरीले गर्दा जहाजलाई यताउता हुत्तिन नदिन लङ्गरहरू प्रयोग गरिन्छ भनेर तिनलाई थाह थियो। एकचोटि तिनी समुद्री यात्रामा छँदा भीषण आँधी चल्यो। त्यतिबेला नाविकहरूले जहाजलाई चट्टानमा बजारिन नदिन लङ्गरहरू समुद्रमा झारेको तिनले देखे। (प्रेषि. २७:२९, ३९-४१) लङ्गरले जहाजलाई स्थिर बनाएझैँ आशाले हामीलाई आँधीरूपी परीक्षाहरू आइपर्दा यहोवादेखि नतर्किन र स्थिर रहन मदत गर्छ। हाम्रो बलियो आशाले कठिन परीक्षाहरूमा शान्त रहन मदत गर्छ किनभने एकदिन सबै कुरा ठीक हुन्छ भनेर हामी विश्वास गर्छौँ। साथै हामीले खेदोको सामना गर्नुपर्नेछ भनेर येसुले चेतावनी दिनुभएको थियो। (युह. १५:२०) त्यसैले भविष्यको इनाममा मनन गर्दा जीवनको बाटोमा हिँडिरहन सक्नेछौँ।
५. आशाले येसुलाई स्थिर रहन कसरी मदत गऱ्यो?
५ पीडादायी मृत्यु भोग्नुपर्नेछ भनेर थाह भए तापनि आशाले येसुलाई स्थिर रहन मदत गऱ्यो। इस्वी संवत् ३३ पेन्तिकोसको दिन प्रेषित पत्रुसले भजनको किताबबाट एउटा भविष्यवाणी उल्लेख गरे, जहाँ येसु कठिन परीक्षामा पनि शान्त र विश्वस्त हुनुहुन्थ्यो भन्ने कुरा सुन्दर तरिकामा वर्णन गरिएको छ: “म आशामा जिउनेछु किनकि तपाईँले मलाई चिहानमा छोड्नुहुनेछैन, तपाईँले आफ्नो वफादार जनलाई कुहिन दिनुहुनेछैन। . . . तपाईँले आफ्नो उपस्थितिद्वारा मलाई आनन्दले भरिदिनुहुनेछ।” (प्रेषि. २:२५-२८; भज. १६:८-११) आफू मर्नुपर्नेछ भनेर थाह भए तापनि परमेश्वरले आफूलाई ब्युँताउनुहुनेछ र स्वर्गमा आफ्नो बुबासित पुनर्मिलन हुनेछ भन्ने कुरामा उहाँको बलियो आशा थियो।—हिब्रू १२:२, ३.
६. आशाबारे एक जना भाइले के भने?
६ बाइबलले दिने आशाले थुप्रै भाइबहिनीलाई सहन मदत गरेको छ। इङ्गल्याण्डका एक भाइ लियोनार्ड चिनको उदाहरण विचार गरौँ। पहिलो विश्वयुद्धको बेला सेनामा भर्ती हुन इन्कार गरेकोले तिनलाई जेलमा हालियो। तिनलाई दुई महिना एकल कारावासमा राखियो। त्यसपछि तिनलाई सजायस्वरूप काममा जोताइयो। तिनले पछि यस्तो लेखे: “मैले आफ्नो अनुभवबाट परीक्षा सहन आशा नभई हुँदैन भनेर सिकेँ। हामीसित येसु, प्रेषितहरू र भविष्यवक्ताहरूका उदाहरणहरू छन् अनि बाइबलका अनमोल प्रतिज्ञाहरू पनि छन्। यी सबै कुराले भविष्यको लागि भरपर्दो आशा र सहने बल दिन्छ।” लियोनार्ड भाइको लागि जस्तै हाम्रो लागि पनि आशा लङ्गरजस्तै हुन सक्छ।
७. परीक्षा सहँदा हाम्रो आशा कसरी बलियो हुन्छ? (रोमी ५:३-५; याकुब १:१२)
७ परीक्षा सहन यहोवाले मदत गर्नुभएको अनुभव गर्दा हामीले उहाँको अनुमोदन पाएको महसुस गर्छौँ। यसले गर्दा हाम्रो आशा अझै बलियो हुन्छ। (रोमी ५:३-५; याकुब १:१२ पढ्नुहोस्।) हामीले सुरुमा सुसमाचार सुन्दा पाएको आशा परीक्षा सहेपछि अझै बलियो हुन्छ। परीक्षा आइपर्दा हामीले हार मानेको सैतान चाहन्छ तर यहोवाको मदत पाएर हामी हरेक परीक्षा सफलतापूर्वक सामना गर्न सक्छौँ।
हाम्रो आशा टोपजस्तै हो
८. आशालाई किन टोपसित तुलना गर्न सकिन्छ? (१ थिस्सलोनिकी ५:८)
८ बाइबलमा हाम्रो आशालाई टोपसित पनि तुलना गरिएको छ। (१ थिस्सलोनिकी ५:८ पढ्नुहोस्।) युद्धमा सिपाहीले आफ्नो टाउकोलाई शत्रुको आक्रमणबाट जोगाउन टोप लगाउँछ। हामीले पनि आध्यात्मिक युद्धमा आफ्नो सोचाइलाई सैतानको आक्रमणबाट जोगाउनुपर्छ। त्यसले हाम्रो सोचाइलाई भ्रष्ट पार्न हामीमाथि अनेक प्रलोभन र धारणाहरू बर्साउँछ। टोपले सिपाहीको टाउकोलाई जोगाएझैँ आशाले हाम्रो सोचाइलाई जोगाउँछ र हामी यहोवाप्रति वफादार रहन सक्छौँ।
९. परमेश्वरका प्रतिज्ञाहरूमा आशा नराख्ने मानिसहरूको जीवनशैली कस्तो छ?
९ अनन्त जीवनको आशाले बुद्धिमानी छनौट गर्न मदत गर्छ। अर्कोतर्फ हाम्रो आशा कमजोर भयो र आफ्नो इच्छाबारे मात्र सोचिरह्यौँ भने हामीले अनन्त जीवनको आशा बिर्सन सक्छौँ। कोरिन्थका केही ख्रिष्टियनबारे विचार गरौँ। तिनीहरूले परमेश्वरको एउटा महत्त्वपूर्ण प्रतिज्ञा अर्थात् फेरि जीवित हुने आशामा विश्वास गर्न छोडे। (१ कोरि. १५:१२) यस आशामा विश्वास नगर्नेहरू आफ्नो इच्छा पूरा गर्न मात्र बाँच्छन् भनेर पावलले लेखे। (१ कोरि. १५:३२) अहिले पनि परमेश्वरका प्रतिज्ञाहरूमा आशा नराख्ने थुप्रै मानिस आजको लागि मात्र बाँच्छन् र आफ्नो खुसीको लागि जे गर्न पनि तयार हुन्छन्। तर हामी भने परमेश्वरका प्रतिज्ञाहरूमा भरोसा गर्छौँ। टोपले टाउकोलाई जोगाएझैँ आशाले हाम्रो सोचाइलाई जोगाउँछ र आफूबारे मात्रै नसोच्न मदत गर्छ। किनकि यस्तो स्वार्थी सोचाइले यहोवासितको सम्बन्ध बिगार्न सक्छ।—१ कोरि. १५:३३, ३४.
१०. आशाले हामीलाई झूटा तर्कहरूदेखि कसरी जोगाउँछ?
१० आशाको टोपले यहोवालाई खुसी बनाउनु बेकार छ भन्ने सोचाइ राख्नदेखि पनि जोगाउँछ। जस्तै, कसै-कसैले यस्तो तर्क गर्न सक्छन्: ‘म अनन्त जीवन पाउन लायकको छैनँ। म कहिल्यै परमेश्वरले चाहनुभएअनुसार जीवन बिताउन सक्दिनँ।’ अय्युबलाई झूटो सान्त्वना दिन आउने एलिपजले पनि यस्तै तर्क गरेका थिए। तिनले यसो भने: “मानिस के हो र? ऊ कसरी शुद्ध रहन सक्छ?” तिनले परमेश्वरबारे पनि यसो भने: “हेर्नुहोस्! परमेश्वर त पवित्र जनहरूलाई समेत भरोसा गर्नुहुन्न, स्वर्ग पनि उहाँको नजरमा शुद्ध छैन।” (अय्यु. १५:१४, १५) कत्ति ठूलो झूट! यस्तो सोचाइको पछाडि सैतानको हात छ भनेर नबिर्सनुहोस्। आफ्नो दिमागमा यस्तो सोचाइ खेलायौँ भने हाम्रो आशा धमिलो हुँदै जान्छ भनेर त्यसलाई थाह छ। त्यसैले त्यस्ता झूटहरूलाई तिरस्कार गर्नुहोस् र यहोवाका प्रतिज्ञाहरूमा ध्यान दिनुहोस्। उहाँ तपाईँले अनन्त जीवन पाएको चाहनुहुन्छ र त्यो लक्ष्य हासिल गर्न मदत गर्नुहुनेछ भन्ने कुरामा कहिल्यै शङ्का नगर्नुहोस्।—१ तिमो. २:३, ४.
आफ्नो आशालाई बलियो बनाइराख्नुहोस्
११. हाम्रो आशा पूरा हुने समय पर्खँदै गर्दा हामीले किन धैर्य गर्नुपर्छ?
११ हाम्रो आशालाई बलियो बनाइराख्न सधैँ सजिलो हुँदैन। परमेश्वरले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुने समय पर्खँदै गर्दा हामीलाई धैर्य गर्न गाह्रो हुन सक्छ। तर यहोवा युगयुगका परमेश्वर हुनुभएकोले हामीलाई लामोजस्तो लाग्ने समय उहाँको लागि छोटो हुन्छ। (२ पत्रु. ३:८, ९) उहाँले आफ्ना प्रतिज्ञाहरू सबैभन्दा उत्तम तरिकामा पूरा गर्नुहुनेछ तर ती प्रतिज्ञाहरू हामीले आशा गरेको समयमा पूरा नहुन सक्छ। उहाँका प्रतिज्ञाहरू पूरा हुने समय धैर्य गर्दै पर्खँदा हामीलाई आफ्नो आशा बलियो बनाइराख्न केले मदत गर्न सक्छ?—याकु. ५:७, ८.
१२. हिब्रू ११:१, ६ अनुसार विश्वास र आशाबीच कस्तो सम्बन्ध छ?
१२ यहोवासित नजिक भइरह्यौँ भने हामीले आफ्नो आशालाई बलियो बनाइराख्न सक्नेछौँ किनभने उहाँले नै हाम्रो आशा साकार पार्नुहुनेछ। यहोवा साँच्चै हुनुहुन्छ अनि “जोडतोडले उहाँको खोजी गरिरहनेहरूलाई इनाम दिनुहुन्छ” भन्ने कुरामाथिको हाम्रो विश्वास र हाम्रो आशाबीच नजिकको सम्बन्ध छ भनी बाइबल बताउँछ। (हिब्रू ११:१, ६ पढ्नुहोस्।) हामीलाई यहोवा जत्ति वास्तविक लाग्छ, उहाँले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भन्ने कुरामाथिको भरोसा त्यत्ति नै बढ्नेछ। यहोवासितको सम्बन्ध र हाम्रो आशालाई बलियो बनाइराख्ने केही व्यावहारिक तरिका छलफल गरौँ।
१३. हामी कसरी परमेश्वरको नजिक हुन सक्छौँ?
१३ यहोवालाई प्रार्थना गर्नुहोस् र उहाँको वचन पढ्नुहोस्। हामी यहोवालाई देख्न सक्दैनौँ तैपनि उहाँसित नजिक हुन सक्छौँ। उहाँले हाम्रो कुरा सुन्नुहुनेछ भन्ने कुरामा विश्वस्त हुँदै हामी उहाँलाई प्रार्थना गर्न सक्छौँ। (यर्मि. २९:११, १२) उहाँको वचन पढेर र मनन गरेर हामी उहाँको कुरा सुन्न सक्छौँ। विगतमा उहाँले आफ्ना वफादार जनहरूको कसरी ख्याल राख्नुभयो भनेर पढ्दा हाम्रो आशा झन्झनै बलियो हुन्छ। बाइबलमा भएका “सबै कुरा हाम्रो शिक्षाका लागि लेखिएका हुन् ताकि हाम्रो सहनशीलता र धर्मशास्त्रबाट पाइने सान्त्वनाद्वारा हामीले आशा पाऔँ।”—रोमी १५:४.
१४. यहोवाले आफ्ना प्रतिज्ञाहरू कसरी पूरा गर्नुभयो भन्नेबारे किन मनन गर्नुपर्छ?
१४ यहोवाले आफ्ना प्रतिज्ञाहरू कसरी पूरा गर्नुभयो भन्नेबारे मनन गर्नुहोस्। अब्राहाम र सारालाई विचार गरौँ। तिनीहरूको छोराछोरी जन्माउने उमेर कटिसकेको थियो। तैपनि परमेश्वरले तिनीहरूलाई एउटा छोरा दिने प्रतिज्ञा गर्नुभयो। (उत्प. १८:१०) अब्राहामले कस्तो प्रतिक्रिया देखाए? बाइबल भन्छ: “थुप्रै जातिको बुबा हुनेछु भनेर आशा गर्दै तिनले विश्वास गरे।” (रोमी ४:१८) मानिसको नजरबाट असम्भव देखिए पनि यहोवाले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भन्ने कुरामा अब्राहाम विश्वस्त थिए। ती वफादार पुरुषको भरोसा खेर गएन। (रोमी ४:१९-२१) यस्ता विवरणहरूबाट के सिक्न सक्छौँ? परिस्थिति असम्भव देखिए पनि यहोवा आफ्ना प्रतिज्ञाहरू सधैँ पूरा गर्नुहुन्छ भनेर हामी भरोसा गर्न सक्छौँ।
१५. परमेश्वरले हाम्रो लागि गरिदिनुभएका कुराहरूमा किन मनन गर्नुपर्छ?
१५ यहोवाले तपाईँको लागि गरिदिनुभएका कुराहरूबारे सोच्नुहोस्। बाइबलका प्रतिज्ञाहरू पूरा हुँदा तपाईँलाई कस्तो लाभ भएको छ, सोच्नुहोस्। जस्तै, यहोवाले तपाईँका आवश्यकताहरू पूरा गरिदिनुहुनेछ भनेर येसुले प्रतिज्ञा गर्नुभएको छ। (मत्ति ६:३२, ३३) तपाईँले यहोवासित पवित्र शक्ति माग्दा उहाँले त्यो दिनुहुनेछ भनेर पनि येसुले आश्वासन दिनुभएको छ। (लुका ११:१३) यहोवाले यी प्रतिज्ञाहरू पूरा गर्नुभएको छ। साथै उहाँले पूरा गर्नुभएका अरू प्रतिज्ञाहरूबारे सोच्नुहोस्। जस्तै, उहाँले तपाईँलाई क्षमा, सान्त्वना र आध्यात्मिक भोजन दिने प्रतिज्ञा गर्नुभएको छ। (मत्ति ६:१४; २४:४५; २ कोरि. १:३) उहाँले तपाईँको लागि गरिदिनुभएका कुराहरूमा मनन गर्दा उहाँले भविष्यमा पनि आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भन्ने तपाईँको आशा अझ बलियो हुनेछ।
आशामा रमाओ
१६. आशा किन अमूल्य उपहार हो?
१६ अनन्त जीवनको आशा परमेश्वरले दिनुभएको अमूल्य उपहार हो। हामी नयाँ संसारको प्रतीक्षा गर्दै छौँ र त्यो एकदिन पक्कै आउनेछ भन्ने कुरामा विश्वस्त छौँ। लङ्गरले जहाजलाई स्थिर बनाएझैँ आशाले परीक्षा र खेदो सहन अनि मृत्युको मुखमा पर्दा समेत वफादार रहन मदत गर्छ। टोपले टाउकोलाई सुरक्षित राखेझैँ आशाले हाम्रो सोचाइलाई सुरक्षा दिन्छ अनि खराब कुरालाई तिरस्कार गर्न र असल काम गरिरहन सक्नेछौँ। बाइबलले दिने आशाले परमेश्वरलाई अझ राम्ररी चिन्न र उहाँ हामीलाई धेरै माया गर्नुहुन्छ भनेर थाह पाउन मदत गर्छ। आफ्नो आशालाई धमिलो हुन दिएनौँ र यसलाई बलियो बनाइराख्यौँ भने हामीले थुप्रै लाभ उठाउनेछौँ।
१७. हामी किन आशामा रमाउन सक्छौँ?
१७ प्रेषित पावलले रोमीहरूलाई लेखेको पत्रमा “आशामा रमाओ” भनेर प्रोत्साहन दिए। (रोमी १२:१२) पावल रमाउन सके किनभने वफादार रहँदा स्वर्गमा अमर जीवन पाइन्छ भन्ने कुरामा तिनी पक्का थिए। हामी पनि आशामा रमाउन सक्छौँ किनभने यहोवाले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भनेर हामी ढुक्क छौँ। भजनरचयिताले यस्तो लेखे: “आनन्दित हो त्यो मानिस, . . . जसले यहोवा आफ्ना परमेश्वरमा आशा राख्छ; उहाँमा, . . . जो सधैँ वफादार रहनुहुन्छ।”—भज. १४६:५, ६.
गीत १३९ नयाँ संसारको जीवन कल्पना गरौँ!
^ यहोवाले हामीलाई भविष्यको लागि सुन्दर आशा दिनुभएको छ। यस आशाले हाम्रो जीवन उज्ज्वल बनाउँछ र समस्याहरूमा मात्र ध्यान नदिन मदत गर्छ। साथै जस्तोसुकै गाह्रो अवस्थामा पनि वफादार रहन मदत गर्छ। अनि हाम्रो सोचाइलाई भ्रष्ट बनाउने गलत विचारको बहकाउमा पर्नदेखि पनि जोगाउँछ। हामी यस लेखमा आफ्नो आशालाई बलियो बनाइराख्नुपर्ने यस्ता असल कारणहरूबारे बुझ्नेछौँ।
^ चित्रको व्याख्या: टोपले सिपाहीको टाउकोलाई जोगाएझैँ र लङ्गरले जहाजलाई स्थिर बनाएझैँ आशाले हाम्रो सोचाइलाई जोगाउँछ र परीक्षाहरूको बेला स्थिर रहन मदत गर्छ। एक बहिनी यहोवाले प्रार्थना सुन्नुहुन्छ भन्ने कुरामा विश्वस्त हुँदै प्रार्थना गर्दै छिन्। एक भाइ परमेश्वरले अब्राहामसित गर्नुभएका प्रतिज्ञाहरू कसरी पूरा गर्नुभयो भन्ने कुरामा मनन गर्दै छन्। अर्को भाइ आफूले पाएका आशिष्हरूमा मनन गर्दै छन्।