सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नजिकबाट खिचिएको स्टेजको फोटो; स्टेजमाथि ब्यानर

१९२२—एक सय वर्षअघि

१९२२—एक सय वर्षअघि

“येसु ख्रिष्टद्वारा [परमेश्‍वरले] हामीलाई विजयी तुल्याउनुहुन्छ!” (१ कोरि. १५:५७) यो पद १९२२ को लागि रोजिएको वार्षिक पद थियो। यसले बाइबल विद्यार्थीहरूलाई (अहिले यहोवाका साक्षीहरू भनिन्छ) परमेश्‍वरले तिनीहरूको वफादारीको इनाम दिनुहुनेछ भन्‍ने कुरामा आश्‍वस्त बनायो। हुन पनि त्यो वर्ष यहोवाले ती जोसिला राज्य उद्‌घोषकहरूलाई इनाम दिनुभयो। उहाँको आशिष्‌ले गर्दा तिनीहरूले राज्यको सत्य फैलाउनको लागि आफ्नै छापाखानामा किताबहरू छाप्न र बाइन्डिङ गर्न थाले अनि रेडियो स्टेसनको प्रयोग गर्न थाले। यहोवाले आफ्ना जनहरूलाई आशिष्‌ दिँदै हुनुहुन्छ भन्‍ने कुरा १९२२ को अन्ततिर फेरि एकचोटि प्रस्ट भयो। बाइबल विद्यार्थीहरूले अमेरिकाको ओहायोस्थित सिडार प्वाइन्टमा एउटा ऐतिहासिक अधिवेशन आयोजना गरे। यहोवाको सङ्‌गठनको काम तीव्र गतिमा अघि बढाउन त्यो अधिवेशन कोसेढुङ्‌गा साबित भयो।

“गजबको उपाय”

सुसमाचार सुनाउने काम फैलँदै जाँदा साहित्यको माग पनि बढ्‌न थाल्यो। ब्रुक्लिन बेथेलका भाइहरूले पत्रिकाहरू त आफैले छाप्दै थिए तर बाक्लो गाता भएको किताबको लागि भने अझै पनि बाहिरकै छापाखानाहरूमा भर पर्नुपर्थ्यो। महिनौँसम्म किताबको अभाव भएकोले साक्षीकार्यमै बाधा पुग्न थालेपछि भाइ रदरफोर्डले फ्याक्ट्री म्यानेजर रोबर्ट मार्टिनलाई किताबहरू पनि हामी आफैले छाप्न सक्छौँ कि भनेर सोध्नुभयो।

न्यु योर्कको ब्रुक्लिनमा भएको कन्कर्ड स्ट्रिट फ्याक्ट्री

भाइ मार्टिनले यसो भने: “त्यो निकै गजबको उपाय थियो। तर त्यसको लागि हामीले एउटा छापाखाना नै खोल्नुपर्ने हुन्थ्यो।” भाइहरूले ब्रुक्लिनको १८ कन्कर्ड स्ट्रिटमा एउटा भवन भाडामा लिए र छपाइसम्बन्धी मेसिनहरू किने।

हाम्रो यस्तो प्रगति देखेर कोही-कोही खुसी थिएनन्‌। हाम्रा किताबहरू छाप्दै आएको एउटा छापाखानाको मालिक हाम्रो नयाँ भवन हेर्न आए। तिनले यसो भने: “तपाईँहरूसित फस्ट-क्लासको मेसिन भएर के गर्नु! कसैले चलाउन जान्‍ने होइन। छ महिनाभित्रै मेसिन बिग्रिहाल्छ।”

भाइ मार्टिनले यसो भने: “ठीकै हो, हामी मेसिन चलाउन जान्दैन थियौँ। तर यस कामको पछाडि प्रभु हुनुहुन्छ भन्‍ने कुरा तिनीहरूलाई के थाह!” हुन पनि छापाखाना सुरु गरेको केही समयमै हाम्रा भाइहरूले प्रत्येक दिन २ हजार थान किताब प्रकाशित गर्न थाले।

भाइहरू फ्याक्ट्रीमा लाइनोटाइप मेसिनसँगै उभिरहेका छन्‌

रेडियोमार्फत हजारौँकहाँ पुग्दै

यहोवाका जनहरूले सुसमाचार सुनाउन अर्को तरिका पनि अपनाए। त्यो हो, रेडियो प्रसारण। सन्‌ १९२२, फेब्रुअरी २६ आइतबारको दिन भाइ रदरफोर्डले पहिलो चोटि रेडियोमा भाषण दिनुभयो। उहाँले अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलसमा भएको केओजी (KOG) रेडियो स्टेसनबाट “अहिले बाँचिरहेका लाखौँ मानिस कहिल्यै मर्नेछैनन्‌” विषयको भाषण दिनुभयो।

त्यो कार्यक्रम करिब २५ हजार मानिसले सुने। तिनीहरूमध्ये केहीले भाषणको लागि कृतज्ञताले भरिएका पत्रहरू पठाए। एउटा पत्र क्यालिफोर्नियाको स्यान्टा आनामा बस्ने विलार्ड एसफोर्डबाट आएको थियो। तिनले भाइ रडरफोर्डको भाषण “रोचक र रमाइलो थियो” भनेर प्रशंसा गरे। तिनले यस्तो पनि लेखे: “हाम्रो घरमा तीन जना बिरामी भएकोले बाहिर निस्कन सक्दैनौँ। तपाईँले हाम्रो घरनजिकै आएर भाषण दिनुभएको भए पनि हामी आउन सक्ने थिएनौँ। धन्‍न, रेडियोबाट भएकोले सुन्‍न सक्यौँ!”

त्यसपछिका हप्ताहरूमा रेडियोमार्फत थुप्रै भाषण प्रसारण गरिए। प्रहरीधरहरा-मा छापिएको रिपोर्टअनुसार १९२२ को अन्तसम्ममा “कम्तीमा ३ लाख मानिसले रेडियोमार्फत बाइबलको सन्देश सुने।”

यस्ता पत्रहरू र प्रशंसाका शब्दहरूबाट प्रोत्साहन पाएर हाम्रा भाइहरूले ब्रुक्लिन बेथेलनजिकै स्टेटन आइल्याण्डमा एउटा रेडियो स्टेसन बनाउने निर्णय गरे। त्यसपछिका वर्षहरूमा बाइबल विद्यार्थीहरूले राज्यको सुसमाचार व्यापक रूपमा फैलाउन डब्ल्युबिबिआर (WBBR) रेडियो स्टेसन प्रयोग गरे।

“ADV”

जून १५, १९२२ अङ्‌कको अङ्‌ग्रेजी प्रहरीधरहरा-मा त्यही वर्षको सेप्टेम्बर ५ देखि १३ मा ओहायोको सिडार प्वाइन्टमा अधिवेशन आयोजना गरिनेछ भनेर घोषणा गरियो। अधिवेशनको लागि सिडार प्वाइन्ट आएका बाइबल विद्यार्थीहरू निकै उत्साहित देखिन्थे।

भाइ रदरफोर्डले सुरुको भाषणमा श्रोताहरूलाई यसो भन्‍नुभयो: “प्रभुले यस अधिवेशनमाथि आशिष्‌ दिनुहुनेछ र अहिलेसम्मकै सबैभन्दा व्यापक साक्षीकार्य हुनेछ भन्‍ने कुरामा म शतप्रतिशत पक्का छु।” वक्‍ताहरूले श्रोतालाई साक्षीकार्यमा भाग लिन बारम्बार प्रोत्साहन दिए।

ओहायोको सिडार प्वाइन्टमा १९२२ मा भएको अधिवेशनमा उपस्थित मानिसहरूको भीड

सेप्टेम्बर ८, शुक्रबारको दिन लगभग ८ हजार जना अधिवेशनमा आए। तिनीहरू भाइ रदरफोर्डको भाषण सुन्‍न निकै उत्सुक थिए। तिनीहरू उहाँले निम्तोपर्चीमा छापिएको “ADV”-को अर्थ खुलाउनुहुनेछ भन्‍ने प्रतीक्षामा थिए। सिटमा बसेपछि केहीले स्टेजमाथि बेरेर राखिएको ब्यानर याद गरेको हुनुपर्छ। त्यस अधिवेशनमा अमेरिकाको ओक्लहोमामा भएको टुल्साबाट अर्थर क्लाउस पनि आएका थिए। तिनले वक्‍ताको स्वर राम्रोसँग सुन्‍न सकिने सिट पाए। हलमा माइक वा स्पिकर नभएकोले पछाडिबाट वक्‍ताको स्वर राम्रोसँग सुन्‍न सकिँदैनथ्यो।

“हामी एउटा शब्द पनि नछुटाई सुनिरहेका थियौँ”

भाषणमा बाधा नपुगोस्‌ भनेर चेयरम्यानले ढिला आउनेहरू कसैलाई पनि भाइ रदरफोर्डको भाषणको दौडान हलभित्र प्रवेश गर्न दिइनेछैन भनेर घोषणा गरे। भाइ रदरफोर्डले बिहान साढे नौ बजे मत्ति ४:१७ मा येसुले भन्‍नुभएका यी शब्दहरू उल्लेख गर्दै भाषण सुरु गर्नुभयो: “स्वर्गको राज्य नजिकै आएको छ।” मानिसहरूले कसरी परमेश्‍वरको राज्यबारे सुन्‍नेछन्‌ भनेर बताउनुहुँदा उहाँले यसो भन्‍नुभयो: “आफ्नो उपस्थितिको दौडान येसुले आफ्ना मानिसहरूको कटनी गर्नुहुनेछ अनि असल र वफादार मानिसहरूलाई जम्मा गर्नुहुनेछ भनेर उहाँ आफैले भन्‍नुभएको थियो।”

मुख्य हलमा बसिरहेका भाइ क्लाउसले यसो भने: “हामी एउटा शब्द पनि नछुटाई सुनिरहेका थियौँ।” तर अचानक तिनलाई बिसन्चो भयो। त्यसैले हलबाट निस्केपछि फेरि भित्र प्रवेश गर्न दिइनेछैन भन्‍ने कुरा थाह भए पनि तिनी बाध्य भएर हलबाट निस्के।

केही मिनेटपछि तिनलाई अलि सन्चो भयो। हलतर्फ जाँदै गर्दा तिनले तालीको गडगडाहट सुने। त्यसपछि त तिनलाई कति बेला हलमा छिरूँ जस्तो भयो। तिनले भाइ रदरफोर्डको बाँकी भाषण जसरी भए पनि सुन्‍ने मन बनाइसकेका थिए। त्यसैले त्यतिबेला जम्मा २३ वर्षका भाइ क्लाउस भाषण सुन्‍न हलको छतमै उक्ले। छतका झ्यालहरू खुल्लै थिए र त्यहाँबाट “वक्‍ताको आवाज स्पष्टसित सुन्‍न सकिन्थ्यो।”

छतमा अर्थरका अरू साथीहरू पनि थिए। तिनीहरूमध्ये एक जना फ्रान्क जनसन तिनीकहाँ दौडँदै आए अनि “तिमीसित सानो चक्कु छ” भनेर सोधे।

अर्थरले “छ” भनेर जवाफ दिए।

फ्रान्कले यसो भने: “तिमी हाम्रो प्रार्थनाको जवाफ हौ। तिमीले यो बाँधेर राखिएको ठूलो ब्यानर देख्यौ? यसलाई यहाँ किल्लामा बाँधिएको छ। जजको * भाषण ध्यान दिएर सुन अनि उहाँले ‘विज्ञापन गर्नुहोस्‌, विज्ञापन गर्नुहोस्‌’ भन्‍नुभएपछि हामीले यो चार वटा डोरी काट्‌नुपर्छ।”

अर्थर र तिनका साथीहरू हातमा चक्कु लिएर डोरी काट्‌न तम्तयार बसे। केही बेरमै भाइ रदरफोर्ड भाषणको सबैभन्दा महत्त्वपूर्ण भागमा पुग्नुभयो। उहाँ निकै उत्साहित हुनुहुन्थ्यो। उहाँले यी शब्दहरू ठूलो स्वरमा जोडदार तरिकाले भन्‍नुभएको हामी कल्पना गर्न सक्छौँ: “प्रभुको वफादार र साँचो साक्षी हुनुहोस्‌। बेबिलोनको नामोनिसान नमेटिउन्जेल साहसी भई अघि बढ्‌नुहोस्‌। चारैतिर सुसमाचार घोषणा गर्नुहोस्‌। मानिसहरूले यहोवा नै साँचो परमेश्‍वर हुनुहुन्छ अनि येसु ख्रिष्ट राजाहरूका महाराजा र प्रभुहरूका महाप्रभु हुनुहुन्छ भनेर जान्‍नुपर्छ। यो सबैभन्दा महत्त्वपूर्ण क्षण हो। हाम्रा राजाले शासन थालिसक्नुभएको छ! तपाईँहरू उहाँको प्रचार-प्रसार गर्ने माध्यम हुनुहुन्छ। त्यसकारण राजा र उहाँको राज्यको विज्ञापन गर्नुहोस्‌, विज्ञापन गर्नुहोस्‌, विज्ञापन गर्नुहोस्‌!”

अर्थर र अरू भाइहरूले डोरी काटे अनि ब्यानर सर्लक्क झऱ्‍यो। ब्यानरमा लेखिएका यी शब्दहरूबाट “ADV”-को अर्थ थाह पाउन सकिन्थ्यो: “राजा र उहाँको राज्यको विज्ञापन गर्नुहोस्‌।” “ADV” अङ्‌ग्रेजी शब्द “Advertise”-को छोटो रूप हो र यसको अर्थ “प्रचार गर्नु, साक्षी दिनु वा विज्ञापन गर्नु” भन्‍ने हुन्छ।

एउटा महत्त्वपूर्ण काम

सिडार प्वाइन्टमा भएको यस अधिवेशनले भाइबहिनीलाई राज्यको सन्देश सुनाउने महत्त्वपूर्ण काममा ध्यान दिन मदत गऱ्‍यो। इच्छुक मनोभाव भएकाहरू यस काममा भाग लिन पाउँदा खुसी थिए। अमेरिकाको ओक्लहोमामा कल्पोर्टरको (अहिले अग्रगामी भनिन्छ) रूपमा सेवा गर्ने एक भाइले यस्तो लेखे: “हामी कोइलाखानीमा काम गर्ने मानिसहरू बस्ने इलाकामा साक्षी दिन जान्थ्यौँ। त्यहाँका मानिसहरू निकै गरिब थिए।” सुनौलो युग (अङ्‌ग्रेजी) पत्रिकाबाट बाइबलको सन्देश सुन्दा अक्सर “तिनीहरू धुरुधुरु रुन्थे।” तिनले यसो पनि भने: “त्यस्ता मानिसहरूलाई सान्त्वना दिन पाउनु हाम्रो लागि ठूलो आशिष्‌को कुरा हो।”

यी बाइबल विद्यार्थीहरूले लुका १०:२ मा येसुले भन्‍नुभएका यी शब्दहरूको महत्त्व बुझ्न सके: “फसल त प्रशस्त छ तर खेतालाहरू भने थोरै छन्‌।” सन्‌ १९२२ को अन्तसम्म आइपुग्दा टाढा-टाढासम्म राज्यको सन्देश विज्ञापन गर्ने तिनीहरूको सङ्‌कल्प निकै बलियो भइसकेको थियो।

^ भाइ रदरफोर्डलाई कहिलेकाहीँ “जज” पनि भनिन्थ्यो। किनकि उहाँले अमेरिकाको मिसोरीमा न्यायाधीशको रूपमा काम गर्नुभएको थियो।