सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४२

के तपाईँ “आज्ञाकारी” हुनुहुन्छ?

के तपाईँ “आज्ञाकारी” हुनुहुन्छ?

‘माथिबाट आउने बुद्धि पाउने मानिस आज्ञाकारी हुन्छ।’—याकु. ३:१७.

गीत १०१ एकतामा बाँधिएर गरौँ काम!

परिचय a

१. हामीलाई आज्ञाकारी हुन किन गाह्रो लाग्न सक्छ?

 के तपाईँलाई आज्ञाकारी हुन कहिलेकाहीँ गाह्रो लागेको छ? राजा दाउदलाई त्यस्तै लागेको थियो। त्यसैले तिनले परमेश्‍वरलाई प्रार्थनामा यसो भने: “तपाईँको आज्ञा पालन गर्ने चाहना ममा जगाइदिनुहोस्‌।” (भज. ५१:१२) दाउद यहोवालाई प्रेम गर्थे। तैपनि तिनलाई आज्ञाकारी हुन कहिलेकाहीँ गाह्रो लाग्यो। हामीलाई पनि त्यस्तै लाग्न सक्छ। किन? एउटा कारण, हामीमा जन्मजातै अनाज्ञाकारी हुने झुकाव छ। दोस्रो, सैतान हामीलाई आफूजस्तै विद्रोही बनाउन लागिपरेको छ। (२ कोरि. ११:३) तेस्रो, हामी विद्रोही मनोभाव भएको संसारमा बाँचिरहेका छौँ, “जुन मनोभावले अहिले अनाज्ञाकारी सन्तानमा काम गरिरहेको छ।” (एफि. २:२) त्यसैले यहोवाप्रति र उहाँले नियुक्‍त गर्नुभएका अख्तियारवालाहरूप्रति आज्ञाकारी भइरहन हामीले पापी झुकावसित सङ्‌घर्ष गर्नुपर्छ। साथै दियाबल अनि यस संसारले दिने दबाबको प्रतिरोध गर्नुपर्छ।

२. “आज्ञाकारी” हुनुको अर्थ के हो? (याकुब ३:१७)

याकुब ३:१७ पढ्‌नुहोस्‌। परमेश्‍वरको प्रेरणा पाएर याकुबले बुद्धिमान्‌ मानिसहरू “आज्ञाकारी” हुन्छन्‌ भने। यसको अर्थ के हो? यहोवाले अख्तियार दिनुभएकाहरूप्रति आज्ञाकारी हुन हामी तयार र इच्छुक हुनुपर्छ। तर त्यसको मतलब तिनीहरूले उहाँका आज्ञाहरू तोड्‌ने दबाब दिँदा पनि हामीले तिनीहरूको कुरा मान्‍नुपर्छ भन्‍ने होइन; हामीले त्यसो गरेको यहोवा पटक्कै चाहनुहुन्‍न।—प्रेषि. ४:१८-२०.

३. अख्तियार भएकाहरूप्रति आज्ञाकारी हुनुलाई यहोवा किन महत्त्वपूर्ण ठान्‍नुहुन्छ?

हामीलाई मानिसको भन्दा यहोवाको आज्ञा पालन गर्न सजिलो लाग्न सक्छ। किनभने यहोवाले दिनुहुने निर्देशन खोटरहित हुन्छ। (भज. १९:७) तर अख्तियार पाएका मानिसहरू त्रुटिपूर्ण भएकोले सधैँ सही निर्देशन दिन सक्दैनन्‌। तैपनि यहोवाले आमाबुबालाई, सरकारी अख्तियारवालाहरूलाई र एल्डरहरूलाई केही हदसम्म अख्तियार दिनुभएको छ। (हितो. ६:२०; १ थिस्स. ५:१२; १ पत्रु. २:१३, १४) तिनीहरूप्रति आज्ञाकारी हुँदा वास्तवमा हामी यहोवाप्रति आज्ञाकारी भइरहेका हुन्छौँ। त्यसोभए दिइएको निर्देशन चित्त नबुझे पनि हामी कसरी आज्ञाकारी हुन सक्छौँ? आउनुहोस्‌, विचार गरौँ।

आमाबुबाप्रति आज्ञाकारी हुनुहोस्‌

४. थुप्रै युवा किन आमाबुबाको आज्ञा पालन गर्दैनन्‌?

यस संसारका धेरैजसो युवा ‘आमाबुबाको आज्ञा पालन गर्दैनन्‌।’ (२ तिमो. ३:१, २) किन? केही आमाबुबाको बोली एउटा अनि व्यवहार अर्कै हुन्छ। छोराछोरीलाई यस्तो कुरा चित्त नबुझ्न सक्छ। केही युवालाई भने आमाबुबाको सल्लाह पुरानो जमानाको, अव्यावहारिक वा असाध्यै कडा लाग्न सक्छ। तपाईँलाई पनि त्यस्तै लाग्छ कि? धेरैलाई यहोवाको यो आज्ञा पालन गर्न गाह्रो लाग्छ: “परमेश्‍वरको इच्छाबमोजिम आफ्ना आमाबुबाप्रति आज्ञाकारी होओ किनकि परमेश्‍वरको नजरमा यो असल छ।” (एफि. ६:१) यसो गर्न तपाईँलाई केले मदत गर्न सक्छ?

५. येसु आफ्ना आमाबुबाप्रति आज्ञाकारी हुनुभएको कुरा किन उल्लेखनीय छ? (लुका २:४६-५२)

आज्ञाकारी हुने सन्दर्भमा येसुले उत्कृष्ट उदाहरण बसाल्नुभएको छ। (१ पत्रु. २:२१-२४) उहाँ त्रुटिरहित हुनुहुन्थ्यो तर उहाँका आमाबुबा भने त्रुटिपूर्ण थिए। तिनीहरूले कहिलेकाहीँ गल्ती गरे र उहाँलाई बुझ्न सकेनन्‌। तैपनि उहाँले तिनीहरूको आदर गर्नुभयो। (प्रस्थ. २०:१२) येसु १२ वर्षको हुनुहुँदा भएको घटना विचार गरौँ। (लुका २:४६-५२ पढ्‌नुहोस्‌।) युसुफ र मरियमले येसुलाई यरुसलेम लगेका थिए तर घर फर्कँदा उहाँ त्यहीँ छुट्‌नुभएको तिनीहरूले यादै गरेनन्‌। वास्तवमा सबै छोराछोरी आफूसँगै छन्‌ कि छैनन्‌ भनेर पक्का गर्ने जिम्मेवारी युसुफ र मरियमकै थियो। उहाँलाई धुइँधुइँती खोजेर भेट्टाएपछि मरियमले उहाँको कारणले आफूहरूलाई कत्ति दुःख भयो भनेर बताइन्‌। आफ्नी आमाले त्यस्तो दोष लगाउँदा येसुले त्यसको खण्डन गर्न सक्नुहुन्थ्यो। तर उहाँले आफ्नो आमाबुबालाई सरल अनि आदरपूर्ण तरिकामा जवाफ दिनुभयो। हुनत “उहाँले के भन्‍न खोज्नुभएको हो, तिनीहरूले बुझेनन्‌।” तैपनि येसु “तिनीहरूप्रति आज्ञाकारी भइरहनुभयो।”

६-७. युवाहरूलाई आमाबुबाप्रति आज्ञाकारी हुन केले मदत गर्न सक्छ?

युवाहरू हो, आमाबुबाले गल्ती गर्दा वा तपाईँलाई बुझ्न नसक्दा के तपाईँलाई उहाँहरूको आज्ञा पालन गर्न गाह्रो लागेको छ? त्यस्तो अवस्थामा आज्ञा पालन गर्न केले मदत गर्न सक्छ? पहिलो कुरा, यहोवालाई कस्तो लाग्छ, विचार गर्नुहोस्‌। तपाईँले आमाबुबाको आज्ञा पालन गर्दा “प्रभु खुसी हुनुहुन्छ” भनेर बाइबल बताउँछ। (कल. ३:२०) आमाबुबाले कहिलेकाहीँ तपाईँको कुरा राम्रोसँग बुझ्दैनन्‌ वा पालन गर्न गाह्रो हुने नियमहरू बनाउँछन्‌ भनेर यहोवालाई थाह छ। तर उहाँहरूको आज्ञा पालन गर्ने छनौट गर्नुभयो भने तपाईँले यहोवालाई खुसी बनाइरहनुभएको हुनेछ।

दोस्रो, आमाबुबालाई कस्तो लाग्छ, विचार गर्नुहोस्‌। तपाईँ आमाबुबाप्रति आज्ञाकारी हुनुभयो भने उहाँहरू खुसी हुनुहुनेछ र तपाईँले उहाँहरूको भरोसा जित्नुहुनेछ। (हितो. २३:२२-२५) अनि उहाँहरूसितको तपाईँको सम्बन्ध अझै घनिष्ठ हुन सक्छ। बेल्जियमका अलेक्जान्द्रे यसो भन्छन्‌: “आमाबुबाले भन्‍नुभएको कुरा मान्‍न थालेपछि हाम्रो सम्बन्ध अझै राम्रो भयो र हामी अझै आनन्दित हुन सक्यौँ।” b तेस्रो, अहिले आज्ञाकारी हुँदा पछि कस्तो फाइदा हुन्छ, विचार गर्नुहोस्‌। ब्राजिलका पाउलो यसो भन्छन्‌: “आमाबुबाप्रति आज्ञाकारी हुन सिकेकोले मैले यहोवा र अख्तियार पाएकाहरूप्रति आज्ञाकारी हुन मदत पाएको छु।” आमाबुबाप्रति आज्ञाकारी हुँदा पाइने इनामबारे बाइबल यसो भन्छ: “तिम्रो भलो होस्‌ र पृथ्वीमा तिम्रो आयु लामो होस्‌।”—एफि. ६:२, ३.

८. थुप्रै युवाले किन आफ्नो आमाबुबाको आज्ञा पालन गर्ने छनौट गरेका छन्‌?

थुप्रै युवाले आज्ञाकारी हुनुका फाइदा अनुभव गरेका छन्‌। ब्राजिलकी १६ वर्षीया लुइजाले आमाबुबाले मोबाइल नदिनुको कारण सुरुमा बुझिनन्‌। किनभने तिनको उमेरका धेरैजसोसित मोबाइल हुन्थ्यो। तर पछि आमाबुबाले वास्तवमा तिनकै सुरक्षाको लागि त्यस्तो निर्णय गरेका हुन्‌ भनेर तिनले बुझिन्‌। अहिले तिनी आमाबुबाको आज्ञा पालन गर्नुलाई बन्धनको रूपमा होइन, सुरक्षाको रूपमा हेर्छिन्‌। अमेरिकाकी १८ वर्षीया एलिजाबेथलाई कहिलेकाहीँ आमाबुबाको आज्ञा पालन गर्न गाह्रो लाग्छ। तिनी भन्छिन्‌: “आमाबुबाले कुनै नियम बनाउनुको कारण बुझ्न कहिलेकाहीँ गाह्रो लाग्छ। तर त्यस्तो बेला पहिला-पहिला उहाँहरूले बनाउनुभएको नियमले कसरी मेरो सुरक्षा गरेको थियो भनेर विचार गर्ने गर्छु।” आर्मेनियाकी १७ वर्षीया मोनिकाले आमाबुबाको आज्ञा पालन गर्दा सधैँ राम्रो नतिजा हासिल भएको अनुभव गरेकी छिन्‌।

“उच्च अख्तियारवालाहरू”-प्रति आज्ञाकारी हुनुहोस्‌

९. थुप्रैलाई नियम पालन गर्नु कस्तो लाग्छ?

बाइबलमा सरकारहरूलाई “उच्च अख्तियारवालाहरू” भनिएको छ। (रोमी १३:१) थुप्रै मानिस सरकारहरू हाम्रै भलाइका लागि हुन्‌ र तिनीहरूले बनाएका केही नियम पालन गर्नुपर्छ भनेर मानिलिन्छन्‌। तर तिनीहरू कुनै नियम अन्यायपूर्ण वा अचाक्ली माग गरेको जस्तो लाग्दा त्यो नियम पालन नगरे पनि हुन्छ भन्छन्‌। जस्तै: कर तिर्नेबारे विचार गरौँ। एउटा युरोपेली देशमा गरिएको सर्वेक्षणमा ४ जनामध्ये १ जनाले “कसैलाई अनुचित लाग्छ भने कर नतिरे पनि हुन्छ” भने। त्यसैले त्यहाँका नागरिकहरूले लगभग ६५ प्रतिशत मात्र कर तिर्ने गरेका छन्‌।

आज्ञाकारी हुने सन्दर्भमा युसुफ र मरियमबाट के सिक्न सक्छौँ? (अनुच्छेद १०-१२ हेर्नुहोस्‌) c

१०. हामी आफूलाई चित्त नबुझेका नियमहरू पनि किन पालन गर्छौँ?

१० बाइबलमा बताइएअनुसार मानव सरकारहरूले गर्दा हामीले दुःख पाइरहेका छौँ, तिनीहरू सैतानको अधीनमा छन्‌ र ती चाँडै नाश हुनेछन्‌। (भज. ११०:५, ६; उप. ८:९; लुका ४:५, ६) साथै बाइबलमा यस्तो पनि भनिएको छ: “जसले अख्तियारको विरोध गर्छ, ऊ परमेश्‍वरको प्रबन्धविरुद्ध खडा भएको हुन्छ।” यहोवाले सुव्यवस्था कायम राख्न सरकारहरूलाई शासन गर्ने अनुमति दिनुभएको छ र हामीले तिनीहरूको नीतिनियम पालन गरेको चाहनुहुन्छ। त्यसैले ‘तिनीहरूलाई तिर्नुपर्ने सबै कुरा तिर्नुपर्छ,’ जसमा कर तिर्नु, तिनीहरूको आदर गर्नु र तिनीहरूप्रति आज्ञाकारी हुनु समावेश छ। (रोमी १३:१-७) हामीलाई कुनै नियम पालन गर्न असहज लाग्न सक्छ, त्यो नियम अन्यायपूर्ण लाग्न सक्छ वा पालन गर्दा धेरै पैसा खर्च हुन्छ जस्तो लाग्न सक्छ। तैपनि हामी यहोवाप्रति आज्ञाकारी हुन्छौँ र उहाँले अख्तियार दिनुभएका व्यक्‍तिहरूप्रति पनि आज्ञाकारी हुन्छौँ। किनभने तिनीहरूको नीतिनियम यहोवाको आज्ञासित नबाझिएसम्म हामी तिनीहरूप्रति आज्ञाकारी भएको उहाँ चाहनुहुन्छ।—प्रेषि. ५:२९.

११-१२. लुका २:१-६ अनुसार युसुफ र मरियमले गाह्रो भए पनि नियम पालन गर्न के गरे र नतिजा कस्तो भयो? (चित्रहरू पनि हेर्नुहोस्‌।)

११ असहज भए पनि उच्च अख्तियारवालाहरूप्रति आज्ञाकारी हुन तयार हुने सन्दर्भमा हामी युसुफ र मरियमबाट पाठ सिक्न सक्छौँ। (लुका २:१-६ पढ्‌नुहोस्‌।) मरियम गर्भवती भएको नौ महिनाजति हुँदा युसुफ र मरियमले एउटा गाह्रो अवस्थाको सामना गर्नुपऱ्‍यो। रोमी साम्राज्यका शासक अगस्तसले मानिसहरूलाई आ-आफ्नो नाम दर्ता गर्नू भनी एउटा उर्दी जारी गरे। त्यसको लागि युसुफ र मरियम पहाडी इलाका हुँदै १५० किलोमिटर लामो यात्रा गरेर बेतलेहेम जानुपर्थ्यो। त्यो यात्रा विशेषगरि मरियमको लागि सजिलो हुने थिएन। युसुफलाई आफ्नी पत्नी र तिनको गर्भमा भएको बच्चाको चिन्ता लागेको हुन सक्छ। यात्रा गर्दा गर्दै बाटोमै व्यथा लाग्यो भने के गर्ने भनेर पनि चिन्ता लागेको हुन सक्छ। तिनीहरू आफ्नो बच्चालाई सुरक्षित राख्न चाहन्थे किनभने मरियमको गर्भमा हुर्किरहेको बच्चा प्रतिज्ञा गरिएका मसीह थिए। के यी कारणहरूले गर्दा तिनीहरूले सरकारको आज्ञा उल्लङ्‌घन गर्ने थिए?

१२ यस्ता चिन्ताहरूको बाबजुद युसुफ र मरियमले नियम पालन गरे। आज्ञाकारी भएकोले यहोवाले तिनीहरूलाई आशिष्‌ दिनुभयो। मरियम सुरक्षितसाथ बेतलेहेम पुगिन्‌, स्वस्थ बच्चालाई जन्म दिइन्‌ र बाइबलको भविष्यवाणी पूरा भयो!—मिका ५:२.

१३. हामी आज्ञाकारी हुँदा भाइबहिनीलाई कस्तो लाभ हुन सक्छ?

१३ उच्च अख्तियारवालाहरूप्रति आज्ञाकारी हुँदा हामी आफैलाई र अरूलाई पनि लाभ हुन्छ। कसरी? एउटा त, अनाज्ञाकारी हुनेहरूले भोग्नुपर्ने सजायदेखि हामी जोगिन्छौँ। (रोमी १३:४) हामीले अख्तियारवालाहरूको आज्ञा पालन गर्दा अरू मानिसहरूले यहोवाका साक्षीहरू असल नागरिक हुन्‌ भनेर देख्नेछन्‌। जस्तै: केही दशकअघि नाइजेरियामा कर तिर्न नचाहनेहरूले आन्दोलन गरिरहेका थिए। केही सैनिक सभा भइरहेको बेला आन्दोलनकारीहरूलाई खोज्दै सभाभवनमा छिरे। तर सैनिक कमान्डरले आफ्ना सैनिकहरूलाई यसो भन्दै त्यहाँबाट निस्किन आदेश दिए: “यहोवाका साक्षीहरू सधैँ कर तिर्छन्‌।” तपाईँले प्रत्येक चोटि नियम पालन गर्दा यहोवाका साक्षीहरूको मान बढाइरहनुभएको हुन्छ र त्यस्तो मानले भविष्यमा सङ्‌गी भाइबहिनीलाई जोगाउन सक्छ।—मत्ति ५:१६.

१४. एक बहिनीलाई उच्च अख्तियारवालाहरूप्रति “आज्ञाकारी” हुन केले मदत गऱ्‍यो?

१४ तैपनि कहिलेकाहीँ हामीलाई उच्च अख्तियारवालाहरूप्रति आज्ञाकारी हुन गाह्रो लाग्न सक्छ। अमेरिकाकी जोआना यसो भन्छिन्‌: “मलाई अख्तियारवालाहरूप्रति आज्ञाकारी हुन असाध्यै गाह्रो लाग्थ्यो किनभने तिनीहरूले गर्दा मेरो परिवारका कसै-कसैले अन्याय भोग्नुपरेको थियो।” तर जोआनाले तिनीहरूप्रतिको सोचाइ परिवर्तन गर्न केही कदम चालिन्‌। पहिलो, तिनले अख्तियारवालाहरूप्रति नकारात्मक भावना जगाउने किसिमका पोस्टहरू पढ्‌न छोडिन्‌। (हितो. २०:३) दोस्रो, तिनले सरकार परिवर्तन होस्‌ भनेर प्रार्थना गर्नुको साटो यहोवामा भर पर्न सकूँ भनेर प्रार्थना गरिन्‌। (भज. ९:९, १०) तेस्रो, तिनले तटस्थताबारे हाम्रा प्रकाशनहरूमा छापिएका लेखहरू पढिन्‌। (युह. १७:१६) जोआना अहिले अख्तियारवालाहरूको आदर गर्छिन्‌ र तिनीहरूप्रति आज्ञाकारी छिन्‌। तिनी अहिले कस्तो महसुस गर्छिन्‌? तिनी भन्छिन्‌: “मैले यस्तो मनोशान्ति पाएकी छु, जुन म शब्दमा बयानै गर्न सक्दिनँ।”

यहोवाको सङ्‌गठनबाट आएको निर्देशन पालन गर्नुहोस्‌

१५. यहोवाको सङ्‌गठनबाट आएको निर्देशन पालन गर्न हामीलाई किन गाह्रो लाग्न सक्छ?

१५ यहोवाले हामीलाई मण्डलीमा ‘अगुवाइ लिइरहेकाहरूप्रति आज्ञाकारी होओ’ भन्‍नुभएको छ। (हिब्रू १३:१७) हाम्रो नेता येसु त्रुटिरहित हुनुहुन्छ तर उहाँले अगुवाइ लिन नियुक्‍त गर्नुभएका पुरुषहरू भने त्रुटिपूर्ण छन्‌। विशेषगरि तिनीहरूले हामीलाई चित्त नबुझ्ने निर्देशन दिँदा तिनीहरूप्रति आज्ञाकारी हुन गाह्रो लाग्न सक्छ। एकचोटि प्रेषित पत्रुसलाई पनि आज्ञाकारी हुन गाह्रो लागेको थियो। एक जना स्वर्गदूतले मोसाको व्यवस्थाअनुसार अशुद्ध ठानिने जनावरको मासु खाने निर्देशन दिँदा पत्रुसले एक चोटि मात्र होइन, तीन-तीन चोटि तिरस्कार गरेका थिए। (प्रेषि. १०:९-१६) किन? तिनलाई त्यो नयाँ निर्देशन बेतुकको लाग्यो। तिनले पहिला कहिल्यै अशुद्ध जनावरको मासु खाएका थिएनन्‌। त्रुटिरहित स्वर्गदूतले दिएको निर्देशन पालन गर्न त पत्रुसलाई गाह्रो लाग्यो भने त्रुटिपूर्ण मानिसहरूले दिएको निर्देशन पालन गर्न हामीलाई झन्‌ कत्ति गाह्रो लाग्ला!

१६. प्रेषित पावललाई आफूले पाएको निर्देशन अव्यावहारिक लागेको हुन सक्छ। तैपनि तिनले के गरे? (प्रेषित २१:२३, २४, २६)

१६ प्रेषित पावलले एउटा निर्देशन पाएका थिए, जुन तिनलाई अव्यावहारिक लागेको हुन सक्छ। तैपनि तिनी “आज्ञाकारी” भए। पावल “मोसाको व्यवस्थाविपरीत कुराहरू सिकाएर धर्मत्याग फैलाउँदै” छन्‌ र तिनी मोसाको व्यवस्थाको अनादर गर्दै छन्‌ भन्‍ने हल्ला यहुदी ख्रिष्टियनहरूमाझ फैलिएको थियो। (प्रेषि. २१:२१) त्यसैले यरुसलेमका एल्डरहरूले पावललाई चार जना पुरुषलाई आफूसितै मन्दिरमा लैजान र शुद्धीकरणको विधिअनुसार आफूलाई शुद्ध पार्न निर्देशन दिए। त्यसो गरेको खण्डमा पावलले मोसाको व्यवस्था पालन गर्दै छन्‌ भनेर देखिने थियो। तर पावललाई ख्रिष्टियनहरू अबउसो मोसाको व्यवस्थाको अधीनमा छैनन्‌ भनेर थाह थियो। अनि तिनले कुनै गलत काम गरेका थिएनन्‌। तैपनि तिनले आफूले पाएको निर्देशन तुरुन्तै पालन गरे। “भोलिपल्ट पावलले ती मानिसहरूलाई आफूसित लगे र मोसाको व्यवस्थाबमोजिम तिनीहरूसँगसँगै आफूलाई शुद्ध पारे।” (प्रेषित २१:२३, २४, २६ पढ्‌नुहोस्‌।) पावल आज्ञाकारी भएकोले भाइबहिनीबीचको एकता कायम रह्‍यो।—रोमी १४:१९, २१.

१७. स्टेफ्नीको अनुभवबाट तपाईँले के सिक्नुभयो?

१७ स्टेफ्नी बहिनीलाई शाखा कार्यालयबाट आएको एउटा निर्देशन स्विकार्न गाह्रो भयो। तिनी र तिनको पति आनन्दित भई विदेशी भाषाको समूहमा सेवा गरिरहेका थिए। तर शाखा कार्यालयले त्यस समूहलाई बन्द गर्ने निर्णय गऱ्‍यो र तिनीहरूलाई आफ्नै भाषाको मण्डलीमा खटायो। स्टेफ्नी भन्छिन: “त्यो निर्णय मलाई चित्तै बुझेन किनभने हाम्रो मातृभाषाको इलाकामा आवश्‍यकता धेरै छ जस्तो पटक्कै लाग्दैनथ्यो।” तैपनि तिनले यो नयाँ निर्देशन स्विकारिन्‌। तिनी भन्छिन्‌: “शाखा कार्यालयका भाइहरूले गर्नुभएको निर्णय बुद्धिमानी थियो भनेर मैले पछि मात्र बुझेँ। हाम्रो मण्डलीका कतिपय भाइबहिनी सत्यमा एक्लै हुनुहुन्छ। हामी उहाँहरूको लागि आध्यात्मिक आमाबुबा भएका छौँ। म अहिले भर्खरै सक्रिय भएकी एउटी बहिनीलाई बाइबल अध्ययन गराउँदै छु। अनि व्यक्‍तिगत अध्ययन गर्न प्रशस्तै समय पाएकी छु। मैले आज्ञाकारी हुन सक्दो गरेँ। त्यसैले सफा अन्तस्करण कायम राख्न सकेकी छु।”

१८. आज्ञाकारी हुँदा हामीलाई कस्तो लाभ हुन्छ?

१८ हामी आज्ञाकारी हुन सिक्न सक्छौँ। येसुले “आफूले भोगेको दुःखबाट . . . आज्ञाकारी हुन सिक्नुभयो।” (हिब्रू ५:८) उहाँजस्तै हामी पनि चुनौतीपूर्ण अवस्थाहरूमा परेपछि अक्सर आज्ञाकारी हुन सिक्छौँ। जस्तै: कोभिड-१९ महामारीको सुरुतिर हामीलाई सभाभवनहरूमा सभा नगर्न अनि घरघरको साक्षीकार्य स्थगित गर्न निर्देशन दिइएको थियो। के तपाईँलाई त्यो निर्देशन पालन गर्न गाह्रो लाग्यो? गाह्रो लागे पनि आज्ञाकारी भएकोले तपाईँ सुरक्षित हुनुभयो, भाइबहिनीसित एकताबद्ध हुनुभयो र यहोवालाई खुसी बनाउन सक्नुभयो। साथै महासङ्‌कष्टको दौडान पाउने जस्तोसुकै निर्देशन पालन गर्न अझै तयार हुनुभयो। ती निर्देशनहरू पालन गर्छौँ कि गर्दैनौँ भन्‍ने कुरामा हाम्रो जीवन निर्भर हुनेछ!—अय्यु. ३६:११.

१९. तपाईँ किन आज्ञाकारी हुन चाहनुहुन्छ?

१९ आज्ञाकारी हुँदा हामीले अनगिन्ती आशिष्‌ पाउन सक्छौँ भनेर सिक्यौँ। तर यहोवाप्रति आज्ञाकारी हुनुको मुख्य कारण उहाँप्रतिको हाम्रो प्रेम र उहाँलाई खुसी बनाउने हाम्रो चाहना हो। (१ युह. ५:३) यहोवाले हाम्रो लागि गर्नुभएका कुराहरूको बदलामा हामी उहाँलाई केही पनि दिन सक्दैनौँ। (भज. ११६:१२) तर हामी उहाँप्रति र हामीमाथि अख्तियार भएकाहरूप्रति आज्ञाकारी हुन सक्छौँ। आज्ञाकारी हुँदा हामी बुद्धिमान्‌ छौँ भनेर देखाइरहेका हुन्छौँ। अनि बुद्धिमान्‌ हुँदा यहोवाको हृदयलाई खुसी बनाइरहेका हुन्छौँ।—हितो. २७:११.

गीत ८९ सुनौँ, मानौँ र आशिष्‌ पाऔँ!

a त्रुटिपूर्ण भएकोले हामीलाई आज्ञाकारी हुन कहिलेकाहीँ गाह्रो लाग्न सक्छ, चाहे हामीले पाउने निर्देशन अख्तियार भएको व्यक्‍तिबाट आएको किन नहोस्‌। यस लेखमा आमाबुबाप्रति, “उच्च अख्तियारवालाहरू”-प्रति र मण्डलीमा अगुवाइ लिइरहेका भाइहरूप्रति आज्ञाकारी हुँदा कस्तो लाभ उठाउन सकिन्छ भनेर छलफल गर्नेछौँ।

b आमाबुबाले बनाएका नियमहरू पालन गर्न गाह्रो लाग्दा उहाँहरूसित कसरी कुरा गर्ने भन्‍ने सन्दर्भमा व्यावहारिक सुझावहरूका लागि jw.org मा “आमाबुबाले तोक्नुभएका नियमहरूबारे कसरी कुरा गरूँ?” भन्‍ने लेख हेर्नुहोस्‌।

c चित्रको व्याख्या: युसुफ र मरियमले सिजरको उर्दी पालन गरे र नाम दर्ता गराउन बेतलेहेम गए। आज पनि ख्रिष्टियनहरू “उच्च अख्तियारवालाहरूले” तोकेको कर तिर्छन्‌ अनि ट्राफिक नियम र स्वास्थ्यसम्बन्धी निर्देशन पालन गर्छन्‌।