पाठकहरूको प्रश्न
के इस्राएलीहरूले निर्जनभूमिमा मन्न र बट्टाई चराबाहेक अरू खानेकुरा पनि खाए?
इस्राएलीहरूले निर्जनभूमिमा ४० वर्षसम्म मुख्यगरि मन्न खाए। (प्रस्थ. १६:३५) यहोवाले दुई चोटि बट्टाई चरा पनि दिनुभयो। (प्रस्थ. १६:१२, १३; गन्ती ११:३१) तर तिनीहरूले अरू खानेकुरा भने सीमित मात्रामा मात्र खान पाए।
जस्तै: यहोवाले इस्राएलीहरूलाई कहिलेकाहीँ “आराम गर्ने ठाउँ”-तर्फ डोऱ्याउनुभयो, जहाँ पानीको मुहान र बोटबिरुवा हुन्थे। (गन्ती १०:३३) त्यस्तै एउटा ठाउँ एलिमको मरुद्यान थियो। “त्यहाँ पानीका १२ वटा मूल र खजुरका ७० वटा बोट थिए।” (प्रस्थ. १५:२७) यो खजुरको बोट छोकडाको हुनुपर्छ। प्लान्टस् अफ द बाइबल (अङ्ग्रेजी) भन्ने किताबमा यसो भनिएको छ: “छोकडा विभिन्न भौगोलिक स्थानमा फल्छ, . . . र यो मरुभूमिमा खानेकुराको मुख्य स्रोत हो। यो लाखौँ मानिसको लागि खानेकुरा र तेलको स्रोत हो। साथै यसको काठबाट घरहरू पनि बनाइन्छन्।”
इस्राएलीहरूले आज फेरन ओएसिस भनेर चिनिने ठूलो मरुद्यानमा पनि केही समय बिताएका हुन सक्छन्। यो मरुद्यान वादी फेरनकै (फेरन बगर) भाग हो। a डिस्कभरिङ द वर्ल्ड अफ द बाइबल (अङ्ग्रेजी) भन्ने किताबअनुसार “फेरन बगरको लम्बाइ १३० किलोमिटर छ अनि यो सिनैका बगरहरूमध्ये सबैभन्दा लामो, सुन्दर र प्रख्यात छ।” उक्त किताबमा अझै यसो भनिएको छ: “नजिकैको समुद्री किनारदेखि ४५ किलोमिटरको दूरीमा फेरन ओएसिस अवस्थित छ। यो मरुद्यान समुद्री सतहभन्दा झन्डै ६१० मिटरमाथि छ र यसको लम्बाइ ४.८ किलोमिटर छ। यहाँ प्रशस्तै खजुरका बोटहरू पाइन्छन्। यो ठाउँ यत्ति राम्रो छ कि यसलाई ‘सिनैको अदन’ पनि भनिन्छ। यहाँ छोकडाका हजारौँ बोट भएकोले पुरातन समयदेखि मानिसहरू यहाँ बसाइँ सरेका छन्।”
मिश्रबाट निस्कँदा इस्राएलीहरूले आफूसँगै पीठोको डल्ला, पीठो मुछ्ने भाँडा अनि सम्भवतः केही अन्न र तेल पनि ल्याए। तर यी खानेकुराहरू चाँडै सकिएको हुनुपर्छ। तिनीहरूले “भेडाबाख्रा अनि गाईवस्तुको बथान पनि” आफूसँगै ल्याएका थिए। (प्रस्थ. १२:३४-३९) निर्जनभूमिको प्रतिकूल मौसमले गर्दा थुप्रै जनावर मरेका हुन सक्छन्। अनि सायद इस्राएलीहरूले केही जनावर काटेर खाए। केहीलाई बलि चढाएका हुन सक्छन्; तिनीहरूले ती जनावरहरू झूटा देवताहरूलाई समेत चढाए। b (प्रेषि. ७:३९-४३) तैपनि इस्राएलीहरूसित भेडाबाख्रा र गाईवस्तुको बथान बाँकी थियो। हामी यस्तो निष्कर्षमा पुग्न सक्छौँ किनभने यहोवाले इस्राएलीहरू अनाज्ञाकारी भएपछि यसो भन्नुभयो: “तिमीहरूका छोराहरूले ४० वर्षसम्म यही निर्जनभूमिमा आफ्नो बगाल चराउनुपर्नेछ।” (गन्ती १४:३३) ती बाँकी रहेका जनावरहरूबाट तिनीहरूले दूध र बेलाबेलामा मासु खान पाएका हुन सक्छन्। तर ती जनावरहरू ४० वर्षसम्मको लागि अनि त्यो पनि झन्डै ३० लाख मानिसको लागि पक्कै पुग्ने थिएन। c
जनावरहरूले खानेकुरा र पानी कहाँबाट पाउँथे? d त्यतिबेला सम्भवतः निर्जनभूमिमा तुलनात्मक रूपमा धेरै पानी पर्थ्यो र बोटबिरुवा पनि धेरै थिए। धर्मशास्त्रमा अन्तर्दृष्टि (अङ्ग्रेजी) किताबको “अरेबिया” विषयको लेखअनुसार ३५ सय वर्षअघि “अरेबियामा अहिलेभन्दा धेरै पानी थियो। त्यहाँ अहिले थुप्रै गहिरा र सुक्खा बगरहरू छन्। यसबाट त्यहाँ कुनै समय प्रशस्तै पानी पर्थ्यो र नदीहरू थिए भनेर प्रस्ट हुन्छ।” तैपनि निर्जनभूमि उजाड र भयानक थियो। (व्यव. ८:१४-१६) यहोवाले चमत्कारपूर्ण ढङ्गमा पानीको प्रबन्ध नगर्नुभएको भए इस्राएलीहरू र जनावरहरू सबै मर्ने थिए।—प्रस्थ. १५:२२-२५; १७:१-६; गन्ती २०:२, ११.
यहोवाले इस्राएलीहरूलाई मन्न खुवाउनुको कारणबारे मोसाले यसो भने: “मानिस रोटीको भरमा मात्र होइन तर यहोवा परमेश्वरको मुखबाट निस्कने प्रत्येक वचनको भरमा बाँच्छ भनेर देखाउन नै उहाँले यसो गर्नुभएको थियो।”—व्यव. ८:३.
a मे १, १९९२ अङ्कको प्रहरीधरहरा (अङ्ग्रेजी), पृ. २४-२५ हेर्नुहोस्।
b निर्जनभूमिमा यहोवालाई पशुबलि चढाइएको दुइटा विवरण बाइबलमा पाइन्छ। पहिलो, पुजारीको सेवा सुरु गरिएको बेला। दोस्रो, निस्तार चाडको बेला। यी दुवै घटना इस्राएलीहरूले मिश्र छोडेको दोस्रो वर्ष अर्थात् ईसापूर्व १५१२ मा घटेका थिए।—लेवी ८:१४–९:२४; गन्ती ९:१-५.
c इस्राएलीहरूले निर्जनभूमिमा बिताएको ४० वर्षको अन्ततिर मिद्यानीहरूसित युद्ध हुँदा लाखौँ-हजारौँ वस्तुभाउ लुटेर ल्याए। (गन्ती ३१:३२-३४) तर प्रतिज्ञा गरिएको देशमा प्रवेश नगरेसम्म तिनीहरूको मुख्य खाना मन्न नै थियो।—यहो. ५:१०-१२.
d यहोवाले हरेकले जति खान सक्छ, त्यति मात्र मन्न बटुल्नू भन्ने आज्ञा दिनुभएको थियो। त्यसमा जनावरबारे कुनै कुरा उल्लेख नगरिएकोले जनावरहरूले मन्न खाएनन् भन्ने निष्कर्षमा पुग्न सक्छौँ।—प्रस्थ. १६:१५, १६.