सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईँलाई थाह थियो?

के तपाईँलाई थाह थियो?

पुरातन इस्राएलमा सङ्‌गीत कत्तिको महत्त्वपूर्ण थियो?

पुरातन इस्राएलमा सङ्‌गीतको महत्त्वपूर्ण स्थान थियो। बाइबलमा मानिसहरूले बाजागाजा बजाएको र गीतहरू गाएको विवरणहरू पाउँछौँ। वास्तवमा बाइबलको दस भागको एक भाग गीतहरू हुन्‌। तीमध्ये केही किताबको नाम भन्‍नुपर्दा भजन, श्रेष्ठगीत र विलाप हुन्‌। बाइबलकालीन समयमा सङ्‌गीत (अङ्‌ग्रेजी) भन्‍ने किताबअनुसार इस्राएलीहरू थुप्रै अवसरहरूमा गीतहरू गाउने र बाजागाजा बजाउने गर्थे भनेर बाइबल पढ्‌दा स्पष्टसित बुझ्न सक्छौँ।

दैनिक जीवनमा सङ्‌गीत। इस्राएलीहरू आफ्नो भावना व्यक्‍त गर्न बाजा बजाउँथे र गीत गाउँथे। (यसै. ३०:२९) राज्याभिषेकको बेला, चाडपर्वमा अनि लडाइँमा जित हासिल गरेको बेला स्त्रीहरू खैंजडी र बाजा बजाउँदै खुसीले गाउँथे र नाच्थे। (न्याय. ११:३४; १ समु. १८:६, ७; १ राजा १:३९, ४०) इस्राएलीहरू प्रियजनको मृत्यु हुँदा आफ्नो दुःख व्यक्‍त गर्न शोकगीतहरू गाउँथे। (२ इति. ३५:२५) बाइबलविद्‌ म्याक्लिन्टक र स्ट्रङले लेखेको विश्‍वकोशअनुसार “हिब्रूहरूलाई सङ्‌गीत धेरै मन पर्थ्यो।”

राजदरबारमा सङ्‌गीत। इस्राएलका राजाहरूलाई सङ्‌गीत असाध्यै मन पर्थ्यो। राजा साउलले दाउदलाई वीणा बजाउन दरबारमा बोलाए। (१ समु. १६:१८, २३) राजा भएपछि दाउदले बाजाहरू बनाए, सुन्दर गीतहरू रचे र वाद्यवादन टोलीको प्रबन्ध मिलाए, जुन टोलीले पछि यहोवाको भवनमा पनि बजाए। (२ इति. ७:६; आमो. ६:५) राजा सुलेमानको दरबारमा गायक-गायिकाहरू थिए।—उप. २:८.

उपासनामा सङ्‌गीत। सबैभन्दा महत्त्वपूर्ण कुरा, इस्राएलीहरू यहोवाको प्रशंसा गर्न बाजा बजाउँथे र गीतहरू गाउँथे। यरुसलेमको मन्दिरमा ४ हजार जना सङ्‌गीतकारहरू बाजा बजाएर यहोवाको प्रशंसा गर्थे। (१ इति. २३:५) तिनीहरू झ्याली, तारेबाजा र वीणा बजाउँथे अनि बिगुल फुक्थे। (२ इति. ५:१२) तर अरू इस्राएलीहरू पनि यहोवाको उपासनामा बाजा बजाउने र गीत गाउने गर्थे। थुप्रै इस्राएलीहरू हरेक वर्ष यरुसलेममा चाड मनाउनको लागि यात्रा गर्दा ‘उकालीको गीत’ भनिने भजन गाउँथे। (भज. १२०–१३४) यहुदीहरूको लेखोटअनुसार इस्राएलीहरू निस्तार चाडको बेला ‘हल्लेल भजन’ a गाउँथे।

परमेश्‍वरका जनहरूको लागि आज पनि सङ्‌गीत उत्तिकै महत्त्वपूर्ण छ। (याकु. ५:१३) हामी यहोवाको उपासना गर्न गीतहरू गाउँछौँ। (एफि. ५:१९) सङ्‌गीतले हामीलाई दाजुभाइ दिदीबहिनीहरूसित एकतामा बाँध्छ। (कल. ३:१६) अनि यसले कठिनाइहरू सहन बल दिन्छ। (प्रेषि. १६:२५) सङ्‌गीत यहोवाप्रतिको प्रेम र उहाँमाथिको विश्‍वास देखाउने एउटा सुन्दर तरिका हो।

a यहुदीहरू भजन ११३ देखि ११८ लाई ‘हल्लेल भजन’ भन्छन्‌, जुन यहोवाको प्रशंसा गर्न गाइन्थ्यो।