सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४०

गीत ३० यहोवा नै मेरा बुबा, ईश्‍वर र साथी

यहोवा ‘मन भाँचिएकाहरूलाई निको पार्नुहुन्छ’

यहोवा ‘मन भाँचिएकाहरूलाई निको पार्नुहुन्छ’

“मन भाँचिएकाहरूलाई उहाँले निको पार्नुहुन्छ; तिनीहरूको घाउमा उहाँले मलहमपट्टी गरिदिनुहुन्छ।”​—भज. १४७:३.

सिक्न सकिने कुरा

भावनात्मक चोट लागेकाहरूको यहोवा एकदमै ख्याल राख्नुहुन्छ। यस लेखमा दुःख आइपर्दा यहोवा हामीलाई कसरी सम्हाल्नुहुन्छ र अरूलाई सान्त्वना दिन हामीलाई कसरी मदत गर्नुहुन्छ, त्यसबारे छलफल गर्नेछौँ।

१. आफ्ना वफादार सेवकहरूलाई देख्दा यहोवा कस्तो महसुस गर्नुहुन्छ?

 पृथ्वीमा रहेका आफ्ना जनहरूलाई हेर्नुहुँदा यहोवा तिनीहरूमा कस्तो कुरा याद गर्नुहुन्छ? उहाँ तिनीहरूले पाइरहेको सुख र तिनीहरूले भोगिरहेको दुःख याद गर्नुहुन्छ। (भज. ३७:१८) भावनात्मक रूपमा गाह्रो भए पनि हामीले सर्वोत्तम सेवा चढाउने प्रयास गरेको देख्दा उहाँलाई कत्ति खुसी लाग्छ होला! साथै उहाँ हामीलाई साथ र सान्त्वना दिन इच्छुक हुनुहुन्छ।

२. यहोवाले मन भाँचिएकाहरूको कसरी हेरचाह गर्नुहुन्छ र उहाँको मायालु हेरचाह महसुस गर्न हामी के गर्न सक्छौँ?

भजन १४७:३ मा यहोवाले ‘मन भाँचिएकाहरूको घाउमा मलहमपट्टी गरिदिनुहुन्छ’ भनिएको छ। यहाँ यहोवाले भावनात्मक चोट सहिरहेकाहरूको कोमलतासाथ हेरचाह गर्नुहुन्छ भनिएको छ। उहाँको मायालु हेरचाह महसुस गर्न हामीले के गर्नुपर्छ? एउटा उदाहरण विचार गरौँ। एक जना राम्रो डाक्टरले चोट लागेको व्यक्‍तिलाई निको हुन मदत गर्न सक्छन्‌। तर निको हुनको लागि ती व्यक्‍तिले डाक्टरले भनेअनुसारै गर्नुपर्छ। यस लेखमा भावनात्मक चोट सहिरहेकाहरूलाई यहोवाले आफ्नो वचनमा के भन्‍नुभएको छ, त्यसबारे छलफल गर्नेछौँ। साथै उहाँको मायालु सल्लाह कसरी लागू गर्न सक्छौँ, त्यसबारे पनि विचार गर्नेछौँ।

यहोवा तपाईँलाई बहुमूल्य ठान्‍नुहुन्छ

३. कसै-कसैलाई आफू किन कुनै कामको छैन जस्तो लाग्छ?

हामी निर्दयी संसारमा बाँचिरहेका छौँ। थुप्रै मानिसले अरूको रुखो व्यवहारले गर्दा आफू केही कामको छैनँ भन्‍ने महसुस गरेका छन्‌। हेलेन a यसो भन्छिन्‌: “म आमाबुबा सँगै बसे पनि मैले उहाँहरूबाट कहिल्यै माया पाइनँ। बुबा हिंस्रक स्वभावको हुनुहुन्थ्यो अनि हामी छोराछोरी केही कामको छैनौँ भनेर हरेक दिन गाली गरिरहनुहुन्थ्यो।” सायद हेलेनले जस्तै तपाईँले पनि दुर्व्यवहार र बेइज्जती भोग्नुपरेको वा कसैबाट पनि माया नपाएको महसुस गर्नुभएको छ होला। यस्तो तीतो अनुभवले गर्दा अरूले तपाईँको साँच्चै ख्याल राख्छन्‌ भन्‍ने कुरामा विश्‍वास गर्न तपाईँलाई गाह्रो लाग्न सक्छ।

४. भजन ३४:१८ मा यहोवाले कस्तो प्रतिज्ञा गर्नुभएको छ?

अरूले तपाईँलाई दुर्व्यवहार गरेका छन्‌ भने पनि यो कुरा कहिल्यै नबिर्सनुहोस्‌: यहोवा तपाईँलाई प्रेम गर्नुहुन्छ र बहुमूल्य ठान्‍नुहुन्छ। उहाँ “टुटेका हृदय भएकाहरूको नजिक हुनुहुन्छ।” (भजन ३४:१८ पढ्‌नुहोस्‌।) यदि तपाईँ “निराश” हुनुहुन्छ भने यहोवाले तपाईँमा केही असल कुरा देख्नुभयो र तपाईँलाई आफूतर्फ खिच्नुभयो भन्‍ने कुरा कहिल्यै नबिर्सनुहोस्‌। (युह. ६:४४) उहाँ तपाईँलाई मदत गर्न सधैँ तयार हुनुहुन्छ किनभने उहाँ तपाईँलाई अनमोल ठान्‍नुहुन्छ।

५. येसुले मानिसहरूसित गर्नुभएको व्यवहारबाट हामी के सिक्न सक्छौँ?

पृथ्वीमा हुनुहुँदा येसुले बसाल्नुभएको उदाहरणबाट हामी यहोवाबारे सिक्न सक्छौँ। अरूले हेपेका मानिसहरूलाई येसुले याद गर्नुभयो र तिनीहरूसित दयालु व्यवहार गर्नुभयो। (मत्ति ९:९-१२) एकचोटि एउटी स्त्रीले आफ्नो गम्भीर रोग निको हुने आसमा येसुको लुगाको किनारा छोएकी थिइन्‌। ती स्त्रीलाई येसुले सान्त्वना दिनुभयो र तिनले देखाएको विश्‍वासको लागि तिनको प्रशंसा गर्नुभयो। (मर्कु. ५:२५-३४) येसु आफ्नो बुबाको व्यक्‍तित्व हुबहु झल्काउनुहुन्छ। (युह. १४:९) त्यसैले तपाईँ यो कुरामा ढुक्क हुन सक्नुहुन्छ: यहोवा तपाईँलाई बहुमूल्य ठान्‍नुहुन्छ र तपाईँका असल गुणहरू याद गर्नुहुन्छ। जस्तै: तपाईँको बलियो विश्‍वास र उहाँप्रतिको प्रेम।

६. आफू केही कामको छैनँ जस्तो लाग्दा तपाईँ के गर्न सक्नुहुन्छ?

आफू केही कामको छैनँ भन्‍ने भावनाले सताइरहन्छ भने तपाईँ के गर्न सक्नुहुन्छ? यहोवा तपाईँलाई बहुमूल्य ठान्‍नुहुन्छ भन्‍ने कुरामा ढुक्क बनाउने बाइबल पदहरू पढ्‌नुहोस्‌ र मनन गर्नुहोस्‌। b (भज. ९४:१९) आफूलाई अरूसित तुलना नगर्नुहोस्‌ अनि आफूले गर्न नसक्ने कुराहरूमा ध्यान नदिनुहोस्‌। यहोवा तपाईँबाट तपाईँले सक्नेभन्दा धेरै माग कहिल्यै गर्नुहुन्‍न। (भज. १०३:१३, १४) यदि तपाईँले विगतमा शारीरिक, भावनात्मक वा यौन दुर्व्यवहार भोग्नुभएको थियो भने त्यसको दोष आफैलाई नदिनुहोस्‌। त्यसमा तपाईँको कुनै गल्ती छैन। नबिर्सनुहोस्‌, यहोवा दुष्टहरूलाई सजाय दिनुहुन्छ, निर्दोषहरूलाई होइन। (१ पत्रु. ३:१२) सानोमा आमाबुबाले कुटपिट गर्ने गरेकोले सान्ड्रालाई आफू केही कामको छैनँ भन्‍ने भावनाले सताइरहन्थ्यो। त्यस्तो भावनासित लड्‌न तिनी के गर्छिन्‌? तिनी भन्छिन्‌: “यहोवा हामीमा भएका असल गुणहरू हेर्नुहुन्छ। मैले पनि आफूमा असल गुणहरू हेर्न सकूँ भनेर म उहाँलाई प्रार्थना गरिरहन्छु।”

७. विगतको तीतो अनुभव यहोवाको सेवामा कसरी उपयोगी हुन सक्छ?

‘यहोवाले अरूलाई मदत गर्न मलाई प्रयोग गर्नुहोला र’ भनेर कहिल्यै शङ्‌का नगर्नुहोस्‌। उहाँले साक्षीकार्यमा तपाईँलाई आफ्नो सहकर्मी हुने सुअवसर दिनुभएको छ। (१ कोरि. ३:९) तपाईँले जीवनमा तीता अनुभवहरू भोग्नुभएको छ भने त्यसले तपाईँलाई अरूको पीडा बुझ्न मदत गर्न सक्छ। अनि तपाईँ तिनीहरूलाई चाहिएकै मदत दिन सक्नुहुन्छ। अघि उल्लेख गरिएकी हेलेनले यहोवा र भाइबहिनीबाट मदत पाइन्‌। अहिले तिनी अरूलाई मदत गर्न सक्ने भएकी छिन्‌। तिनी भन्छिन्‌: “मलाई आफू केही कामको छैनँ जस्तो लाग्थ्यो। तर मैले यहोवाको माया महसुस गरेकी छु र उहाँले मलाई अरूलाई मदत गर्न प्रयोग गर्नुभएको छ।” अहिले हेलेन नियमित अग्रगामीको रूपमा सेवा गर्दै छिन्‌ र तिनी निकै खुसी छिन्‌।

यहोवा हामीलाई पूर्णतया क्षमा दिनुहुन्छ

८. यसैया १:१८ को फुटनोटमा यहोवाले हामीलाई कुन कुरामा विश्‍वस्त बनाउनुभएको छ?

बप्तिस्माअघि वा बप्तिस्मापछि गरेका पापहरूले गर्दा कसै-कसैलाई दोषी भावनाले सताइरहन्छ। तर नबिर्सनुहोस्‌: हामीलाई गहिरो प्रेम गर्नुहुने भएकोले यहोवाले उपहारस्वरूप फिरौतीको प्रबन्ध गर्नुभएको छ। उहाँ हामीले त्यो उपहार स्विकारेको चाहनुहुन्छ। हामीले यहोवासितको ‘मामिला सुल्झायौँ’ c भने उहाँले हाम्रा पापहरू पूर्णतया क्षमा गर्नुहुन्छ। (यसैया १:१८, फुटनोट पढ्‌नुहोस्‌।) उहाँ हामीले विगतमा गरेका पापहरू कहिल्यै सम्झनुहुन्‍न। साथै उहाँ हामीले गरेका असल कामहरू कहिल्यै बिर्सनुहुन्‍न। (भज. १०३:९, १२; हिब्रू ६:१०) साँच्चै कस्तो मायालु परमेश्‍वर!

९. हामी किन विगतमा गरेका पापहरूमा घोरिएर बस्नु हुँदैन?

तपाईँलाई पनि दोषी भावनाले सताइरहेको छ भने आफूले विगतमा गरेका गल्तीहरूमा होइन, अहिले र भविष्यमा गर्न सक्ने कुराहरूमा ध्यान दिनुहोस्‌। प्रेषित पावलबारे विचार गरौँ। विगतमा ख्रिष्टियनहरूको खेदो गरेकोमा तिनलाई दोषी भावनाले सताइरह्‍यो। तर यहोवाले तिनलाई क्षमा दिनुभएको छ भनेर तिनलाई थाह थियो। (१ तिमो. १:१२-१५) के तिनी आफूले विगतमा गरेका गल्तीहरूमा घोरिएर बसे? अहँ, बसेनन्‌। अनि तिनी आफूले विगतमा हासिल गरेका उपलब्धिहरूबारे र यहुदी धर्ममा पाएको विशेष ओहदाबारे पनि सोचेर बसेका थिएनन्‌। (फिलि. ३:४-८, १३-१५) बरु त्यसको साटो पावल जोसका साथ साक्षीकार्यमा लागे र भविष्यमा आफूले गर्न सक्ने कुरामा ध्यान दिए। पावलजस्तै तपाईँ पनि विगतलाई बदल्न सक्नुहुन्‍न। तर तपाईँ अहिलेको अवस्थामा यहोवाको महिमा गर्न र उहाँले प्रतिज्ञा गर्नुभएको सुन्दर भविष्यको बाटो हेर्न सक्नुहुन्छ।

१०. हाम्रो बोली व्यवहारले गर्दा कसैको चित्त दुखेको थियो भने हामी के गर्न सक्छौँ?

१० तपाईँको बोली-व्यवहारले गर्दा विगतमा कसैको चित्त दुखेको हुन सक्छ। त्यसैले तपाईँलाई दोषी भावनाले सताइरहेको छ होला। त्यस्तो बेला तपाईँ के गर्न सक्नुहुन्छ? ती व्यक्‍तिसित क्षमा माग्नुहोस्‌ र बिग्रिएको सम्बन्ध सुधार्न आफ्नो तर्फबाट सक्दो गर्नुहोस्‌। (२ कोरि. ७:११) ती भाइ वा बहिनीलाई मदत गर्नुहोस्‌ भनेर यहोवालाई प्रार्थना गर्नुहोस्‌। उहाँले तपाईँहरू दुवैलाई सहन अनि शान्ति कायम गर्न मदत गर्न सक्नुहुन्छ।

११. हामी भविष्यवक्‍ता योनाबाट के सिक्न सक्छौँ? (चित्र पनि हेर्नुहोस्‌।)

११ आफ्नो गल्तीबाट पाठ सिक्नुहोस्‌ र यहोवा तपाईँलाई जसरी प्रयोग गर्न चाहनुहुन्छ, त्यसरी नै प्रयोग हुन इच्छुक हुनुहोस्‌। भविष्यवक्‍ता योनाबारे विचार गरौँ। यहोवाले तिनलाई निनवे जान भन्‍नुभएको थियो तर तिनी ठीक उल्टो दिशामा पर्ने तर्सिसतिर भागे। यहोवाले योनालाई सच्याउनुभयो र तिनले आफ्नो गल्तीबाट पाठ सिके। (योना १:१-४, १५-१७; २:७-१०) यहोवाले तिनलाई भविष्यवक्‍ताको रूपमा प्रयोग गर्न छोड्‌नुभएन। उहाँले तिनलाई निनवे जाने अर्को एउटा मौका दिनुभयो। यसपटक भने तिनले उहाँको आज्ञा तुरुन्तै पालन गरे। विगतका गल्तीहरूले गर्दा दोषी भावनाले सताए तापनि तिनी यहोवाले दिनुभएको जिम्मेवारी स्विकार्नदेखि पछि हटेनन्‌।—योना ३:१-३.

भविष्यवक्‍ता योना ठूलो माछाको पेटबाट निस्किएपछि यहोवाले तिनलाई फेरि एक चोटि निनवे जान र उहाँको सन्देश सुनाउन भन्‍नुभयो (अनुच्छेद ११ हेर्नुहोस्‌)


पवित्र शक्‍तिमार्फत सान्त्वना

१२. यहोवा हामीलाई कसरी सान्त्वना दिनुहुन्छ? (फिलिप्पी ४:६, ७)

१२ पीडादायी अवस्थाको सामना गर्दा वा प्रियजनको मृत्यु हुँदा यहोवा हामीलाई पवित्र शक्‍तिमार्फत सान्त्वना दिनुहुन्छ। रन र क्यारोलको अनुभव विचार गरौँ। तिनीहरूको छोराले आत्महत्या गरे। तिनीहरू भन्छन्‌: “हामीले पहिला पनि थुप्रै चुनौतीको सामना गरिसक्यौँ। तर यत्तिको गाह्रो कहिल्यै भएन। हामी थुप्रै रात सुत्न पनि सकेनौँ। त्यतिबेला हामीले यहोवालाई व्यग्र प्रार्थना गऱ्‍यौँ। अनि फिलिप्पी ४:६, ७ मा बताइएको शान्ति पाएको महसुस गऱ्‍यौँ।” (पढ्‌नुहोस्‌।) तपाईँ पनि पीडादायी अवस्थाको सामना गर्दै हुनुहुन्छ भने आफ्नो मनको बह यहोवालाई पोखाउन सक्नुहुन्छ। तपाईँ जत्ति चोटि अनि जत्ति लामो समय पनि प्रार्थना गर्न सक्नुहुन्छ। (भज. ८६:३; ८८:१) यहोवासित बारम्बार उहाँको पवित्र शक्‍ति माग्नुहोस्‌। उहाँले तपाईँलाई पक्कै मदत गर्नुहुनेछ।—लुका ११:९-१३.

१३. पवित्र शक्‍तिले वफादार भई यहोवाको सेवामा लागिरहन कसरी मदत गर्न सक्छ? (एफिसी ३:१६)

१३ एकदमै गाह्रो अवस्थाको सामना गर्नुपरेकोले के तपाईँले कमजोर महसुस गर्नुभएको छ? त्यस्तो बेला पवित्र शक्‍तिले तपाईँलाई वफादार भई यहोवाको सेवामा लागिरहन बल दिन सक्छ। (एफिसी ३:१६ पढ्‌नुहोस्‌।) फ्लोरा बहिनीको अनुभव विचार गरौँ। तिनी र तिनका पति मिसनरीको रूपमा सेवा गर्दै थिए। तिनका पतिले व्यभिचार गरे र तिनीहरूले सम्बन्धविच्छेद गरे। तिनी भन्छिन्‌: “उहाँले धोका दिनुभएकोले मेरो मुटु छियाछिया भयो। मैले यस्तो अवस्था सहन सकूँ भनेर यहोवासित पवित्र शक्‍ति मागेँ। उहाँले मेरो मनको घाउ निको पारिदिनुभयो र सहनै सक्दिनँ जस्तो लागेको परीक्षा सहन बल दिनुभयो।” परमेश्‍वरबाट मदत पाएको महसुस गरेकीले जस्तोसुकै परीक्षा आइपरे पनि उहाँले सम्हाल्नुहुनेछ भन्‍ने कुरामा तिनको भरोसा अझ बलियो भएको छ। तिनी अझै यसो भन्छिन्‌: “भजन ११९:३२ मा मेरै भावना लेखिएको छ जस्तो लाग्छ। त्यहाँ यस्तो लेखिएको छ: ‘तपाईँका आज्ञाहरूको मार्गमा म उत्सुक भई हिँड्‌नेछु किनकि तपाईँले मेरो हृदयमा आफ्ना आज्ञाहरूको लागि ठाउँ बनाइदिनुभएको छ।’”

१४. पवित्र शक्‍ति पाउन हामी के गर्न सक्छौँ?

१४ तपाईँ कसरी पवित्र शक्‍तिको लागि गरेको प्रार्थनाअनुरूपै कदम चाल्न सक्नुहुन्छ? पवित्र शक्‍ति पाइने गतिविधिहरूमा भाग लिनुहोस्‌। जस्तै: सभा जाने र अरूलाई साक्षी दिने। हरेक दिन बाइबल पढेर आफ्नो दिमाग यहोवाको सोचाइले भर्नुहोस्‌। (फिलि. ४:८, ९) पढ्‌दै गर्दा परीक्षाहरू भोगेका बाइबल पात्रहरूबारे याद गर्नुहोस्‌ र यहोवाले तिनीहरूलाई सहन कसरी मदत गर्नुभयो, मनन गर्नुहोस्‌। अघि उल्लेख गरिएकी सान्ड्राले जीवनमा एकपछि अर्को कठिन परीक्षाको सामना गरिन्‌। तिनी भन्छिन्‌: “युसुफको विवरणबाट मैले निकै प्रोत्साहन पाएकी छु। चुनौतीहरू र अन्यायपूर्ण व्यवहार भोग्नुपरे पनि तिनले यहोवासितको आफ्नो सम्बन्धलाई कहिल्यै कमजोर हुन दिएनन्‌।”—उत्प. ३९:२१-२३.

भाइबहिनीमार्फत सान्त्वना

१५. हामीले कसबाट सान्त्वना पाउन सक्छौँ र तिनीहरूले हामीलाई कसरी सान्त्वना दिन सक्छन्‌? (चित्र पनि हेर्नुहोस्‌।)

१५ हामीले कुनै परीक्षा भोग्दा भाइबहिनी हाम्रो लागि “सान्त्वना”-का स्रोत हुन सक्छन्‌। (कल. ४:११) यहोवा भाइबहिनीमार्फत पनि हामीलाई प्रेम देखाउनुहुन्छ। तिनीहरूले हाम्रो कुरा ध्यान दिएर सुनिदिँदा हामी सान्त्वना पाउन सक्छौँ वा तिनीहरूको उपस्थितिले पनि हामीलाई सान्त्वना दिन सक्छ। तिनीहरूले हामीलाई सान्त्वनादायी बाइबल पद बताउन सक्छन्‌ वा हामीसँगै बसेर प्रार्थना गरिदिन सक्छन्‌। d (रोमी १५:४) कहिलेकाहीँ तिनीहरूले कुनै विषयबारे यहोवा कस्तो सोचाइ राख्नुहुन्छ भनेर हामीलाई सम्झाउन सक्छन्‌। अनि त्यसले हामीलाई सहिरहन मदत गर्न सक्छ। तिनीहरूले हामीलाई दुःख पर्दा व्यावहारिक मदत पनि दिन सक्छन्‌। जस्तै: तिनीहरूले हाम्रो लागि खानेकुराको प्रबन्ध गरिदिन सक्छन्‌।

परिपक्व र भरोसायोग्य साथीहरूले हामीलाई धेरै सान्त्वना र मदत दिन सक्छन्‌ (अनुच्छेद १५ हेर्नुहोस्‌)


१६. अरूबाट मदत पाउन हामीले के गर्नुपर्ने हुन सक्छ?

१६ कहिलेकाहीँ हामीले अरूसित मदत माग्नुपर्ने हुन्छ। हाम्रा भाइबहिनी हामीलाई प्रेम गर्छन्‌ र मदत गर्न चाहन्छन्‌। (हितो. १७:१७) तर हामीले कस्तो महसुस गरिरहेका छौँ वा हामीलाई के चाहिएको छ भनेर तिनीहरूलाई थाह नहुन सक्छ। (हितो. १४:१०) यदि तपाईँलाई भावनात्मक रूपमा पीडा भइरहेको छ भने परिपक्व साथीलाई आफ्नो मनको कुरा पोखाउनुहोस्‌। के गर्दा तपाईँलाई मदत मिल्छ भनेर पनि तिनलाई बताउनुहोस्‌। तपाईँ आफूलाई सजिलो लाग्ने एक वा दुई जना एल्डरलाई आफ्नो कुरा बताउन सक्नुहुन्छ। केही बहिनीहरूले परिपक्व दिदीहरूसित कुरा गर्दा सान्त्वना पाएका छन्‌।

१७. प्रोत्साहन पाउनदेखि कस्ता कुराहरूले रोक्न सक्छ र हामी कसरी ती चुनौतीहरूको सामना गर्न सक्छौँ?

१७ एक्लै बस्न मन लागे पनि अरूबाट नटाढिन सक्दो कोसिस गर्नुहोस्‌। एकदमै निराश भएकोले तपाईँलाई कहिलेकाहीँ अरूसित कुरै नगरौँ जस्तो लाग्न सक्छ। अनि कहिलेकाहीँ भाइबहिनीले तपाईँको भावना राम्रोसँग नबुझ्न सक्छन्‌ वा तिनीहरूको शब्द छनौट गलत हुन सक्छ। (याकु. ३:२) तैपनि भाइबहिनीहरूदेखि नटाढिनुहोस्‌ किनभने तपाईँलाई प्रोत्साहन दिन यहोवाले तिनीहरूलाई प्रयोग गर्न सक्नुहुन्छ। डिप्रेसन भएका एक एल्डर गेभिन यसो भन्छन्‌: “प्रायजसो मलाई साथीहरूसित समय बिताउन, तिनीहरूसित कुराकानी गर्न मनै लाग्दैन।” तर तिनी भाइबहिनीसित सरसङ्‌गत गर्न सक्दो कोसिस गर्छन्‌ अनि त्यस्तो सरसङ्‌गतबाट तिनी अक्सर स्फूर्ति पाउँछन्‌। एमी बहिनी यसो भन्छिन्‌: “विगतका तीता अनुभवहरूले गर्दा मलाई मानिसहरूमाथि भरोसा गर्न गाह्रो लाग्छ। तर म यहोवाले जस्तै आफ्ना भाइबहिनीलाई प्रेम गर्न र तिनीहरूलाई भरोसा गर्न सिक्दै छु। यसो गर्दा यहोवा खुसी हुनुहुन्छ भनेर मलाई थाह छ। अनि उहाँलाई खुसी बनाइरहेकी छु भन्‍ने कुरा सोच्दा म आफै पनि खुसी हुन सकेकी छु।”

यहोवाका प्रतिज्ञाहरूबाट सान्त्वना पाउनुहोस्‌

१८. भविष्यमा के हुनेछ र हामी अहिले के गर्न सक्छौँ?

१८ चाँडै यहोवाले हाम्रो सबै दुःखकष्ट अनि सबै पीडादायी अवस्थाको अन्त गरिदिनुहुनेछ। (प्रका. २१:३, ४) अहिले हामीले भोगिरहेका पीडादायी कुराहरू त्यतिबेला “फेरि सम्झनामा आउनेछैनन्‌।” (यसै. ६५:१७) यस लेखमा छलफल गरिएझैँ अहिले पनि यहोवा ‘हाम्रो घाउमा मलहमपट्टी गरिदिनुहुन्छ।’ त्यसैले उहाँले सान्त्वना र मदत दिन गर्नुभएको प्रत्येक मायालु प्रबन्धको पूरापूर सदुपयोग गर्नुहोस्‌। उहाँले तपाईँको “ख्याल राख्नुहुन्छ” भन्‍ने कुरामा कहिल्यै शङ्‌का नगर्नुहोस्‌।—१ पत्रु. ५:७.

गीत ७ यहोवा हाम्रा बल

a नामहरू परिवर्तन गरिएका छन्‌।

b यहोवा तपाईँको मोल गर्नुहुन्छ” भन्‍ने पेटी हेर्नुहोस्‌।

c यहोवासितको ‘मामिला सुल्झाउन’ हामीले पापहरूको लागि उहाँसित क्षमा मागेर अनि पाप नदोहोऱ्‍याउन सक्दो गरेर आफू पश्‍चात्तापी भएको देखाउनुपर्छ। यदि हामीले गम्भीर पाप गऱ्‍यौँ भने मण्डलीका एल्डरहरूसित मदत माग्नुपर्छ।—याकु. ५:१४, १५.

d उदाहरणको लागि, ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू-मा “चिन्ता” र “सान्त्वना”-अन्तर्गत भएका शास्त्रपदहरू हेर्नुहोस्‌।