सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अरूलाई तालिम दिन सक्नुहुन्छ कि?

अरूलाई तालिम दिन सक्नुहुन्छ कि?

“म तिमीहरूलाई उत्तम शिक्षा दिन्छु।”—हितो. ४:२.

गीत: ९३, ९६

१, २. जिम्मेवारीहरू सम्हाल्नको लागि अरूलाई किन तालिम दिनै पर्छ?

राज्यको सुसमाचार प्रचार गर्नु येशूको सबैभन्दा प्रमुख जिम्मेवारी थियो। तैपनि अरूलाई गोठालो र शिक्षकको रूपमा सेवा गर्नको लागि तालिम दिन उहाँले समय निकाल्नुभयो। (मत्ती १०:५-७) फिलिप पनि प्रचारकको हैसियतमा निकै व्यस्त थिए, तैपनि तिनले आफ्ना चार जना छोरीलाई प्रभावकारी प्रचारक हुन मदत दिए। (प्रेषि. २१:८, ९) त्यसोभए, अहिले अरूलाई तालिम दिनु कत्तिको जरुरी छ त?

विश्वभरि नै सुसमाचार स्वीकार्ने मानिसहरूको सङ्‌ख्या दिनानुदिन बढिरहेको छ। यसरी सुसमाचार स्वीकार्ने अनि बप्तिस्मा नगरिसकेका नयाँ व्यक्तिहरूले व्यक्तिगत बाइबल अध्ययन गर्नुको महत्त्व राम्ररी बुझ्नुपर्छ। तिनीहरूलाई सुसमाचार प्रचार गर्न र सिकाउन पनि मदत गर्नुपर्छ। मण्डलीका भाइहरूलाई चाहिं सहायक सेवक र एल्डरको रूपमा नियुक्त हुन चाहिने योग्यताहरू खेती गर्न कडा प्रयास गर्न प्रोत्साहन दिनुपर्छ। परिपक्व ख्रीष्टियनहरूले नयाँहरूलाई “उत्तम शिक्षा” वा निर्देशन दिएर आध्यात्मिक उन्नति गर्न मदत गर्न सक्छन्‌।—हितो. ४:२.

परमेश्वरको वचनबाट बुद्धि र शक्ति पाउन नयाँहरूलाई मदत गर्नुहोस्

३, ४. (क) व्यक्तिगत बाइबल अध्ययन गर्दा प्रचारकार्य फलदायी हुन्छ भनी पावलले कसरी बुझाए? (ख) बाइबल विद्यार्थीलाई व्यक्तिगत बाइबल अध्ययन गर्न प्रोत्साहन दिन पहिला आफैले के गर्नुपर्छ?

व्यक्तिगत तवरमा बाइबल अध्ययन गर्नु कत्तिको महत्त्वपूर्ण छ? प्रेषित पावलले कलस्सीका ख्रीष्टियनहरूलाई लेखेका शब्दहरूमा हामी यसको जवाफ पाउँछौं। तिनले लेखे: “हामीले तिमीहरूको निम्ति प्रार्थना गर्न छाडेका छैनौं र तिमीहरूले सारा बुद्धि पाउनुका साथै पवित्र शक्तिद्वारा प्राप्त हुने समझ पाओस् अनि तिमीहरू [परमेश्वरको] इच्छाबारे सही ज्ञानले भरिपूर्ण होओस् भनेर हामीले बिन्ती गरिरहेका छौं। अनि यहोवाको सेवक कहलाइन योग्य जीवन बिताएर तिमीहरूले उहाँलाई पूरै प्रसन्न बनाउन सकोस्, साथै हर किसिमको असल कामको फल फलाउँदै तिमीहरू परमेश्वरको सही ज्ञानमा पनि बढ्‌दै जाओस्।” (कल. १:९, १०) यस्तो सही ज्ञान पाएपछि कलस्सीका ख्रीष्टियनहरूले “यहोवाको सेवक कहलाइन योग्य जीवन बिताएर उहाँलाई पूरै प्रसन्न बनाउन” सक्ने थिए। खासगरि प्रचारको सन्दर्भमा “हर किसिमको असल कामको फल फलाउँदै” अघि बढ्‌न मदत गर्नेथिए। त्यसैले हरेक साक्षीले प्रभावकारी तरिकामा यहोवाको सेवा गर्न व्यक्तिगत बाइबल अध्ययन गर्ने राम्रो तालिका बनाउनै पर्छ। अनि यो अकाट्य सत्य हामीले बाइबल विद्यार्थीहरूलाई बुझाउनै पर्छ।

तर त्यसको लागि पहिला हामी आफैले यसको महत्त्व राम्ररी बुझेको हुनुपर्छ। अझ भन्नुपर्दा हामी आफैले नै सुरुमा व्यक्तिगत बाइबल अध्ययन गर्ने बानी बसालेको हुनुपर्छ। त्यसैले आफैलाई सोध्नुहोस्: ‘घरधनीले बाइबलको शिक्षा विपरीत आफ्ना कुनै धारणा बताउँदा वा अलि गाह्रो प्रश्न सोध्दा के म बाइबलबाट जवाफ दिन सक्छु? येशू, पावल र अरूले लगनशील भई प्रचार गरेको विवरण पढ्‌दा र मनन गर्दा यहोवाको सेवामा लगनशील हुने सन्दर्भमा म कस्तो प्रोत्साहन पाउँछु?’ परमेश्वरको वचनको ज्ञान अनि सल्लाह सुझाव हामी सबैलाई चाहिन्छ। व्यक्तिगत अध्ययन गरेर लाभ उठाएका कुराहरू अरूलाई बतायौं भने उनीहरू पनि धर्मशास्त्रको गहन अध्ययन गर्न प्रोत्साहित हुनेछन्‌।

५. नयाँहरूलाई व्यक्तिगत अध्ययन गर्ने बानी बसाल्न कसरी मदत गर्न सकिन्छ? सुझाव दिनुहोस्।

तपाईंको मनमा कहिलेकाहीं यस्तो प्रश्न आउँछ होला: ‘नियमित बाइबल अध्ययन गर्ने बानी बसाल्न बाइबल विद्यार्थीलाई म कसरी मदत गर्न सक्छु?’ एउटा राम्रो तरिका, तिनीसँग बाइबल अध्ययन सुरु गर्दा अध्ययनको लागि कसरी तयारी गर्ने भनेर देखाउनु हो। जस्तै: बाइबलले वास्तवमा के सिकाउँछ? किताबको परिशिष्टमा दिइएको थप जानकारी र त्यहाँ दिइएका शास्त्रपदहरू बाइबल खोलेरै पढ्‌ने सुझाव दिन सक्नुहुन्छ। तिनलाई सभामा टिप्पणी दिने लक्ष्य राखेर तयारी गर्न पनि मदत गर्नुहोस्। प्रहरीधरहरा ब्यूँझनुहोस्! पत्रिकाको हरेक लेख नियमित पढ्‌न प्रोत्साहन दिनुहोस्। यदि तिनकै भाषामा वाचटावर लाइब्रेरी अथवा प्रहरीधरहरा अनलाइन पुस्तकालय उपलब्ध छ भने प्रश्नहरूको जवाफ बाइबलबाट कसरी खोज्ने, सिकाउनुहोस्। यसरी मदत दिनुभयो भने चाँडै तपाईंको बाइबल विद्यार्थी परमेश्वरको वचनको व्यक्तिगत अध्ययन गर्न रमाउनेछन्‌।

६. (क) तपाईं कसरी आफ्ना बाइबल विद्यार्थीहरूको मनमा बाइबलप्रतिको प्रेम विकास गर्न सक्नुहुन्छ? (ख) बाइबल विद्यार्थीले मनैदेखि परमेश्वरको वचनलाई प्रेम गरेमा उनीहरू के गर्न उत्प्रेरित हुनेछन्‌?

हुन त, हामी कसैलाई पनि बाइबल पढ्‌न र अध्ययन गर्न दबाब दिंदैनौ। तर विद्यार्थीहरूको मनमा बाइबलप्रतिको गहिरो प्रेम विकास गर्न यहोवाको सङ्‌गठनले प्रबन्ध गरेका विभिन्न समाग्रीहरू चलाउन सक्छौं। समय बित्दै जाँदा, साँच्चै सिक्ने मन भएका बाइबल विद्यार्थीहरूले भजनरचयिताले जस्तै महसुस गर्नेछन्‌। तिनले यसो भने: “परमेश्वरको नजिक जान मेरो निम्ति असल छ। मैले परमप्रभु परमेश्वरलाई मेरो शरणस्थान बनाएको छु।” (भज. ७३:२८) अनि यस्तो लगनशील र बाइबलको कदर गर्ने व्यक्तिहरूलाई यहोवाको पवित्र शक्तिले मदत गर्नेछ।

प्रचार गर्न र सिकाउन नयाँहरूलाई तालिम दिनुहोस्

७. प्रचार गर्न येशूले चेलाहरूलाई कसरी तालिम दिनुभयो? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)

मत्ती अध्याय १० मा येशूले आफ्ना १२ जना चेलाहरूलाई दिनुभएको निर्देशन पाउँछौं। लामो व्याख्या गर्नुको साटो उहाँले केही खास बुँदाहरूमा जोड दिनुभयो। [१] प्रभावकारी तरिकामा कसरी प्रचार गर्ने भनेर उहाँले सिकाउनुहुँदा चेलाहरूले निकै ध्यान दिएर सुने। त्यसपछि उनीहरू प्रचार गए। येशूको प्रचार गर्ने तरिका ध्यान दिएर हेरेपछि उनीहरू छिट्टै परमेश्वरको वचनको प्रभावकारी अनि दक्ष शिक्षक हुन सके। (मत्ती ११:१) हामीले पनि आफ्ना बाइबल विद्यार्थीहरूलाई प्रभावकारी प्रचारक बन्न तालिम दिन सक्छौं। कसरी? आउनुहोस् दुइटा तरिका विचार गरौं।

८, ९. (क) येशूले व्यक्तिविशेषलाई पनि चासो दिनुहुन्थ्यो भनेर किन भन्न सक्छौं? (ख) येशूको कुराकानी गर्ने शैली अपनाउन नयाँ प्रकाशकहरूलाई कसरी मदत गर्न सक्छौं?

कुराकानी गरेर। येशूले भीडसित मात्र होइन, तर व्यक्तिविशेषसित पनि कुरा गर्नुभयो। जस्तै: सुखार भनिने सहर नजिकै याकूबको इनार छेउमा उहाँले एउटी सामरी स्त्रीसित मित्रैलो तरिकामा कुराकानी गर्नुभयो। (यूह. ४:५-३०) उहाँले मत्ती भनेर चिनिने कर उठाउने लेवीसित पनि कुरा गर्नुभयो। त्यस कुराकानीबारे सुसमाचारको पुस्तकमा एकदमै छोटो विवरण मात्र पाइन्छ, तर जेहोस्, मत्तीले उहाँको चेला हुने निम्तो स्वीकारे। पछि तिनै मत्तीले घरमा खाना खान बोलाउँदा येशूले थुप्रै मानिससित कुरा गर्नुभयो।—मत्ती ९:९; लूका ५:२७-३९.

अर्को विवरण विचार गरौं: नासरतका मानिसहरूप्रति नथनेलले नकारात्मक दृष्टिकोण राखेका थिए तैपनि येशूले तिनीसित मित्रैलो तरिकामा कुराकानी गर्नुभयो। यसले गर्दा नथनेल आफ्नो सोचाइ परिवर्तन गर्न उत्प्रेरित भए। अनि तिनले नासरतको येशूबाट अझ धेरै सिक्ने सङ्‌कल्प गरे। (यूह. १:४६-५१) हामीले पनि नयाँ प्रकाशकहरूलाई अरूसित त्यसरी नै न्यानो र मित्रैलो भई कुराकानी गर्न तालिम दिनुपर्छ। [२] यस्तो तालिम पाएपछि तिनीहरूले मानिसहरूसित व्यक्तिगत चासो देखाएर अनि दयालु भई कुरा गर्न सिक्नेछन्‌। फलस्वरूप, तिनीहरूले सोझा मन भएकाहरूले परमेश्वरको राज्यप्रति सकारात्मक प्रतिक्रिया देखाएको अनुभव बटुल्न सक्नेछन्‌। त्यसपछि तिनीहरू कत्ति खुसी हुनेछन्‌, कल्पना गर्नुहोस् त!

१०-१२. (क) राज्य सन्देशप्रति चासो देखाउनेहरूलाई येशूले कसरी मदत गर्नुभयो? (ख) सिकाउने कला विकास गर्न नयाँ प्रकाशकहरूलाई कसरी मदत गर्न सक्छौं?

१० चासो दिनेहरूलाई मदत गरेर। प्रचारको काम पूरा गर्न येशूसित थोरै समय मात्र थियो। तैपनि सुसमाचारप्रति चासो देखाउने मानिसहरूलाई मदत गर्न उहाँले समय दिनुभयो। उदाहरणको लागि, आफ्नो कुरा सुन्न भीड समुद्र छेउ भेला हुँदा उहाँले तिनीहरूलाई डुङ्‌गामा बसेर सिकाउनुभयो। त्यही दिन उहाँले पत्रुसलाई पनि एउटा महत्त्वपूर्ण पाठ सिकाउनुभयो। चमत्कार गरेर तीन थुप्रो माछा पक्रन मदत गर्दा उहाँले तिनलाई यसो भन्नुभयो: “अबदेखि उसो तिमीहरूले मानिसहरूलाई जिउँदै समात्नेछौ।” येशूको बोली र कामले गर्दा पत्रुसमाथि कस्तो छाप पऱ्यो? पत्रुस अनि तिनका साथीहरूले “डुङ्‌गाहरू पाखामा ल्याए र सबै कुरा छोडेर [येशूको] पछि लागे।”—लूका ५:१-११.

११ यहूदी न्यायपरिषद्‌का सदस्य निकोदेमसले येशूको शिक्षाप्रति चासो देखाए। तिनी येशूबाट धेरै कुरा सिक्न चाहन्थे तर अरूले के भन्लान्‌ भनेर डराउँथे। त्यसैले येशूले उदार हुँदै समय निकाल्नुभयो र रातको समयमा अरूले नदेख्नेगरि तिनलाई भेट्‌नुभयो। (यूह. ३:१, २) यसबाट हामी कस्तो पाठ सिक्न सक्छौं? परमेश्वरको छोराले व्यक्ति विशेषको विश्वास बलियो बनाउन समय निकाल्नुभयो। के हामीले पनि चासो दिने व्यक्तिहरूलाई पुनःभेट गर्न अनि बाइबल अध्ययन गर्न लगनशील भएर समय दिनुपर्दैन र?

१२ यदि हामी नयाँ प्रकाशकहरूसँगै प्रचार गयौं भने उनीहरूले आफ्नो सिकाउने सीप तिखार्न सक्नेछन्‌। हामी उनीहरूलाई अलिकति भए पनि चासो दिने मानिसहरूलाई पुनःभेट गर्न मदत गर्न सक्छौं। अनि आफ्नो पुनःभेट अनि बाइबल अध्ययनहरूमा पनि लान सक्छौं। हामीले यसरी प्रोत्साहन अनि तालिम दिंदा उनीहरू आफै अरूको चासो जाग्ने ढङ्‌गमा कुराकानी गरेर बाइबल अध्ययन गर्न उत्प्रेरित हुनेछन्‌। अनि हरेस नखाई धीरजी भई प्रचारकार्यमा लागिरहनुपर्छ भनेर पनि सिक्नेछन्‌।—गला. ५:२२; “ लत्तो नछाड्‌नुहोस्” भन्ने पेटी हेर्नुहोस्।

अरूको सेवा गर्न नयाँहरूलाई मदत दिनुहोस्

१३, १४. (क) अरूको लागि ठूला-ठूला त्याग गरेका व्यक्तिको बाइबल विवरण पढ्‌दा तपाईंलाई कस्तो लाग्छ? (ख) दाजुभाइ दिदीबहिनीलाई माया गर्न हामी नयाँ प्रकाशकहरू र जवानहरूलाई कसरी सिकाउन सक्छौं?

१३ बाइबलमा “भ्रातृस्नेह” र अरूको सेवा गर्ने मनोवृत्ति देखाउनको लागि जोड दिइएको पाउँछौं। (१ पत्रुस १:२२; लूका २२:२४-२७ पढ्‌नुहोस्) परमेश्वरको छोरा येशूले सबै थोक, आफ्नो जीवनसमेत दिएर अरूको सेवा गर्नुभयो। (मत्ती २०:२८) तबीताले पनि “थुप्रै असल काम र दानपुण्य गर्थिन्‌।” (प्रेषि. ९:३६, ३९) रोममा बस्ने मरियम पनि मण्डलीका दाजुभाइ दिदीबहिनीको खातिर “धेरै मेहनत” गर्थिन्‌। (रोमी १६:६) दाजुभाइ दिदीबहिनीलाई मदत गर्नुको महत्त्वबारे हामी नयाँहरूलाई कसरी सिकाउन सक्छौं?

दाजुभाइ दिदीबहिनीको सेवा गर्न नयाँहरूलाई तालिम दिनुहोस् (अनुच्छेद १३, १४ हेर्नुहोस्)

१४ परिपक्व साक्षीहरूले मण्डलीका वृद्ध वा बिरामीहरूलाई भेट्‌न जाँदा नयाँहरूलाई आफूसँगै लिएर जान सक्छन्‌। मिल्छ भने, यस्तो बेला आमाबाबुहरूले आफ्ना छोराछोरीहरूलाई सँगै लान सक्छन्‌। मण्डलीका वृद्धहरूलाई गाँसबासको प्रबन्ध गरिदिंदा वा उनीहरूको घर मर्मतसम्भार गरिदिंदा एल्डरहरूले अरूसितै मिलेर त्यो काम गर्न सक्छन्‌। यसो गर्दा केटाकेटीहरूले अनि नयाँ व्यक्तिहरूले दयालु भई अरूलाई मदत गर्न सिक्नेछन्‌। प्रचार जाँदा एक जना एल्डर टाढाको इलाकामा बस्ने दाजुभाइ दिदीबहिनीहरूको हालचाल बुझ्न एकछिन भए पनि तिनीहरूलाई भेट्‌न जाने गर्थे। तिनीसँगै अर्को एक जना जवान भाइ पनि जाने गर्थे। त्यस एल्डरको मेहनत देखेर ती जवानले पनि मण्डलीका सबै सदस्यहरूले माया पाएको महसुस गर्नुपर्छ भनेर सिक्न सके।—रोमी १२:१०.

१५. एल्डरहरूले मण्डलीका भाइहरूलाई आध्यात्मिक प्रगति गर्न किन मदत गर्नुपर्छ?

१५ मण्डलीमा सिकाउनको लागि यहोवाले पुरुषहरूलाई चलाउनुहुन्छ। त्यसैले खासगरि भाइहरूले आफ्नो सिकाउने सीप विकास गर्नुपर्छ। एल्डरहरू हो, सहायक सेवकहरूले आफ्नो भाषणको अभ्यास गर्दा सुनिदिन सक्नुहुन्छ कि? तपाईंले दिनुभएको मदतले गर्दा तिनले परमेश्वरको वचनको शिक्षक हुन आफ्नो सीप विकास गर्न सक्नेछन्‌।—नहे. ८:८. [३]

१६, १७. (क) पावलले तिमोथीलाई प्रगति गर्न कसरी मदत गरे? (ख) एल्डरहरूले मण्डलीमा गोठालो गर्न सक्नेहरूलाई कसरी तालिम दिन सक्छन्‌?

१६ मण्डलीमा गोठालोको काम गर्नेहरू धेरै चाहिएको छ अनि यस कामको लागि योग्य बनाउन निरन्तर तालिम दिइरहनुपर्छ। प्रेषित पावलले तिमोथीलाई लेखेको पत्रमा कसरी तालिम दिन सकिन्छ, त्यसबारे केही महत्त्वपूर्ण कुरा बताइएको छ। तिनले भने: “हे मेरो छोरा, ख्रीष्ट येशूसित एकतामा हुँदा पाइने असीम अनुग्रहद्वारा आफूलाई बलियो बनाइराख। अनि तिमीले मबाट जे-जे सुन्यौ अनि जसबारे धेरैले साक्षी पनि दिए, ती कुराहरू विश्वासी पुरुषहरूलाई सुम्पिदेऊ, ताकि तिनीहरू पनि अरूलाई सिकाउन योग्य हुन सकून्‌।” (२ तिमो. २:१, २) तिमोथीले आफूभन्दा पाको उमेरका व्यक्ति पावलसँगै सेवा गरेर थुप्रै कुरा सिके। अनि प्रचार गर्दा र सेवाको अन्य पक्षमा तिमोथीले पावलको तरिका लागू गरे।—२ तिमो. ३:१०-१२.

१७ पावलले तिमोथीलाई तालिम दिन निकै समय दिए; तिनले उनलाई सिकाउन कुनै कसर बाँकी राखेनन्‌। (प्रेषि. १६:१-५) एल्डरहरूले पनि उपयुक्त छ भने सहायक सेवकहरूलाई आफूसँगै गोठालो भेटमा लगेर पावलको अनुकरण गर्न सक्छन्‌। यसो गर्दा उनीहरूले निरीक्षकमा हुनुपर्ने गुणहरू जस्तै: सिकाउने क्षमता, विश्वास, धीरज र प्रेम आफ्नै आँखाले देख्न सक्नेछन्‌। यसरी तालिम दिंदा भविष्यमा “परमेश्वरको बगाललाई” ख्याल राख्न सक्ने गोठालोहरूले राम्रो प्रशिक्षण पाउन सक्नेछन्‌।—१ पत्रु. ५:२.

अरूलाई तालिम दिनु अत्यन्त जरुरी छ

१८. यहोवाको सेवा गर्न अरूलाई तालिम दिने कुरालाई हामीले किन महत्त्वपूर्ण ठान्नुपर्छ?

१८ यहोवाको सेवा गर्नेहरूको सङ्‌ख्या बढ्‌दै गएकोले तालिम दिनुपर्ने आवश्यकता पनि बढ्‌दै गएको छ। प्रशिक्षण दिने सन्दर्भमा प्रभु येशू र पावलले राम्रो उदाहरण बसाल्नुभयो। वर्तमान समयका आफ्ना सेवकहरूले सेवाको काम पूरा गर्न राम्रो तालिम पाओस् भन्ने यहोवा चाहनुहुन्छ। मण्डलीको कामकुरा राम्रोसँग गर्न नयाँ व्यक्तिहरूलाई तालिम दिने सुअवसर यहोवाले हामीलाई दिनुभएको छ। संसारको परिस्थिति खस्किंदै गएकोले अनि प्रचार गर्ने मौकाहरू पनि बढ्‌दै गएकोले नयाँ व्यक्तिहरूलाई तालिम दिनु झनै महत्त्वपूर्ण अनि जरुरी भएको छ।

१९. यहोवाको सेवा गर्न अरूलाई तालिम दिंदा सफल हुनुहुनेछ भनेर किन विश्वस्त हुन सक्नुहुन्छ?

१९ हो, अरूलाई तालिम दिन समय र प्रयास दुवै चाहिन्छ। तर यहोवा र उहाँको प्यारो छोराले हामीलाई यस्तो तालिम दिनको लागि चाहिने बुद्धि दिनुहुनेछ। हामीले मदत गरेका व्यक्तिहरूले पछि “कडा परिश्रम अनि सङ्‌घर्ष” गर्दै अघि बढिरहेको देख्दा हामी निश्चय रमाउनेछौं। (१ तिमो. ४:१०) अनि हामी आफै पनि निरन्तर आध्यात्मिक प्रगति गर्दै यहोवालाई पवित्र सेवा चढाइरहौं।

^ [१] (अनुच्छेद ७) येशूले बताउनुभएका बुँदाहरूमध्ये केही यसप्रकार छन्‌: (१) सही सन्देश सुनाउने (२) परमेश्वरले गर्नुभएको प्रबन्धमा सन्तुष्ट हुने (३) घरधनीहरूसित विवाद नगर्ने (४) विरोधको सामना गर्नुपर्दा परमेश्वरमा भरोसा गर्ने (५) साहसी हुने।

^ [२] (अनुच्छेद ९) ईश्वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस् भन्ने किताबको पृष्ठ ६२-६४ मा प्रचारमा भेटिने मानिसहरूसित कसरी कुरा गर्ने भन्ने विषयमा राम्रा सुझावहरू दिइएका छन्‌।

^ [३] (अनुच्छेद १५) ईश्वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस् भन्ने किताबको पृष्ठ ५२-६१ मा प्रभावकारी जन वक्ता हुन चाहिने गुणहरूबारे व्याख्या गरिएको छ।