सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विवाह​—⁠यसको सुरुवात अनि उद्देश्य

विवाह​—⁠यसको सुरुवात अनि उद्देश्य

“परमप्रभु परमेश्वरले भन्नुभयो: ‘मानिस एक्लो रहन असल छैन। म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउनेछु।’”—उत्प. २:१८.

गीत: ३६, ११

१, २. (क) सबैभन्दा पहिलो विवाहबारे बताउनुहोस्। (ख) विवाहबारे सुरुको दम्पतीलाई कुन कुरा थाह भएको हुनुपर्छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)

विवाह जीवनको अभिन्न भाग हो। हामीले यसको सुरुवात र उद्देश्यलाई विचार गऱ्यौं भने यसप्रति सही दृष्टिकोण राख्न सक्नेछौं; अनि यसबाट प्राप्त हुने आशिष्‌बाट पूरापूर लाभ उठाउन सक्नेछौं। परमेश्वरले पहिलो मानिस आदमलाई सृष्टि गरेपछि तिनीकहाँ थुप्रै जनावरहरू ल्याउनुभयो र नाम राख्न लगाउनुभयो। तर “मानिसको निम्ति . . . सुहाउँदो कोही सहयोगी” थिएन। त्यसैले परमेश्वरले आदमलाई मस्त निद्रामा पार्नुभयो र तिनको एउटा करङ झिकेर त्यसबाट एउटी स्त्री बनाउनुभयो अनि उनलाई आदमकहाँ ल्याउनुभयो। (उत्पत्ति २:२०-२४ पढ्‌नुहोस्) त्यसैले हामी भन्न सक्छौं, विवाहको सुरुवातकर्ता परमेश्वर स्वयम् हुनुहुन्छ।

यहोवा परमेश्वरले पति-पत्नीको सम्बन्धबारे यसो भन्नुभयो: “पुरुषले आफ्ना बुबा र आमालाई छोड्‌नेछ अनि आफ्नी पत्नीसित बस्नेछ र ती दुई एउटै शरीर हुनेछन्‌।” (मत्ती १९:४, ५) परमेश्वरले साँच्चै त्यसो भन्नुभएको थियो भनेर हामी किन भन्न सक्छौं? किनभने पछि येशू ख्रीष्टले पनि परमेश्वरले भन्नुभएको त्यही कुरा उद्धरण गर्नुभयो। हो, पति-पत्नीको सम्बन्ध एकदमै घनिष्ठ हुन्छ। परमेश्वरले आदमको करङ प्रयोग गरेर पहिलो स्त्री बनाउनुभएको कुराले यो तथ्यलाई पुष्टि गर्छ। अनि सुरुको विवाहलाई विचार गर्ने हो भने हामी सम्बन्धविच्छेद वा बहुविवाहको छनकसमेत पाउँदैनौं।

वैवाहिक सम्बन्धले कसरी यहोवाको उद्देश्य पूरा गर्छ

३. वैवाहिक सम्बन्धको सबैभन्दा ठूलो उद्देश्य के थियो?

मायालु पत्नी पाएकोमा आदम निकै दङ्‌ग थिए। तिनले उनको नाम हव्वा राखे। आदमको “सुहाउँदो” जोडी भएकोले उनी तिनको “सहयोगी” हुनुपर्थ्यो। तिनीहरू दुवैले तनमनले पति-पत्नीको भूमिका पूरा गरेर आफ्नो वैवाहिक जीवनमा खुसीको बहार ल्याउनुपर्थ्यो। (उत्प. २:१८) वैवाहिक सम्बन्धको सबैभन्दा ठूलो उद्देश्य भनेको यो पृथ्वी सन्तान दरसन्तानले भर्नु थियो। (उत्प. १:२८) आफ्नो आमाबाबुलाई माया गर्ने भए तापनि छोराछोरीले विवाह गरिसकेपछि आफ्नो छुट्टै घरबार बसाल्नेथिए। अनि सम्पूर्ण मानिसजातिले सरसन्तान जन्माएर यो पृथ्वीलाई ठिक्क मात्रामा भर्ने थिए र पूरै इलाकालाई सुन्दर बगैंचामा परिणत गर्ने थिए।

४. पहिलो विवाहमा कस्तो दुःख आइलाग्यो?

तर दुःखको कुरा, पहिलो विवाहमाथि वैरीको आँखा लाग्यो। आदम र हव्वा दुवैले परमेश्वरको आज्ञा नमान्ने छनौट गरे र आफ्नो स्वतन्त्र इच्छाको दुरुपयोग गरे। दियाबल अनि सैतान भनिने “पुरानो सर्प”-ले हव्वालाई बहकायो; त्यसले “असल र खराबको ज्ञान दिने रूख”-को फल खायो भने ‘विशेष ज्ञान पाइन्छ अनि सही-गलत आफै छुट्टयाउन सकिन्छ’ भनेर हव्वालाई विश्वास दिलायो। उनले यस विषयमा आफ्नो पतिलाई ‘एक वचन’ सोधेको भए हुन्थ्यो। तर उनले त्यसो गरिनन्‌; आफै जान्ने-सुन्ने भएर उनले शिरत्वको प्रबन्धको सरासर अनादर गरिन्‌। पछि आदमले पनि परमेश्वरको कुरा सुन्नुको साटो हव्वाले दिएको फल खाए।—प्रका. १२:९; उत्प. २:९, १६, १७; ३:१-६.

५. आदम र हव्वाले यहोवालाई दिएको जवाफबाट हामी के सिक्न सक्छौं?

पछि परमेश्वरले सोधखोज गर्दा आदमले आफ्नी पत्नीमाथि औंलो तेर्साए। तिनले भने: “जुन स्त्री तपाईंले मलाई मसँगै रहन भनी दिनुभएको थियो, त्यसैले मलाई त्यो रूखको फल दिई र मैले खाएँ।” अनि हव्वाले पनि भएभरको दोष सर्पमाथि थोपरे। (उत्प. ३:१२, १३) कस्तो बहानाबाजी! तर तिनीहरूको केही सीप लागेन। यहोवाको आज्ञा नमानेको कारण त्यो जोडी उहाँको विद्रोही भए। हाम्रो लागि कत्ति सशक्त पाठ नि, हैन र? त्यसैले वैवाहिक जीवन सफल बनाउने हो भने प्रत्येक जोडीले आफ्नो निज भार आफै उठाउनुपर्छ अनि यहोवाको आज्ञा मान्नै पर्छ।

६. उत्पत्ति ३:१५ बारे व्याख्या गर्नुहोस्।

अदनको बगैंचामा सैतानले जे गऱ्यो, त्यसको बाबजुद यहोवाले मानिसजातिलाई एउटा उज्ज्वल आशा दिनुभयो। बाइबलको पहिलो भविष्यवाणीमा हामी यो कुराको छनक पाउँछौं। (उत्पत्ति ३:१५ पढ्‌नुहोस्) त्यसमा लेखिएअनुसार “स्त्रीको सन्तान”-ले पर्दापछाडिको असली विद्रोही अर्थात्‌ दुष्ट स्वर्गदूतको शिर कुच्याउनेथियो। यो भविष्यवाणीमा चलाएको शब्दबाट यहोवा र स्वर्गका अनगिन्ती वफादार अदृश्य प्राणीबीच विशेष सम्बन्ध छ भन्ने कुरा स्पष्ट हुन्छ। हो, तिनीहरूको समूहलाई परमेश्वरको पत्नीसित तुलना गरिएको छ। त्यही पत्नीरूपी सङ्‌गठनमार्फत उहाँले दियाबलको शिर “कुच्याउने” एक जना सन्तान पठाउनुहुनेछ र आज्ञाकारी मानिसहरूलाई पहिलो मानव जोडीले गुमाएको आशा फिर्ता गर्नुहुनेछ भन्ने कुरा पछि धर्मशास्त्रीय विवरणबाट अझ छर्लङ्‌ग भयो। हो, यहोवा आफूले सुरुमा राखेको उद्देश्य फेरि पूरा होस् भन्ने चाहनुहुन्छ; सम्पूर्ण मानिसजाति यसै पृथ्वीमा सधैंभरि बाँचेको उहाँ आशा गर्नुहुन्छ।—यूह. ३:१६.

७. (क) आदम र हव्वाले विद्रोह गरेपछि वैवाहिक जीवनले कस्तो मोड लियो? (ख) बाइबलको शिक्षाअनुसार पति-पत्नीको भूमिका के हो?

आदम र हव्वाले विद्रोह गरेको कारण तिनीहरूको अनि त्यसपछिको सबै वैवाहिक जीवनमा नराम्रो असर पऱ्यो। जस्तै: हव्वा लगायत सम्पूर्ण स्त्रीजातिले गर्भवती हुँदा वा सन्तान जन्माउँदा असह्य पीडा भोग्नुपर्ने भयो। पतिहरूले जति नै दमन वा दुर्व्यवहार गरे पनि पत्नीहरूको इच्छा पतितर्फ नै हुनेथियो। नभन्दै अहिले हामी त्यस्तै देख्दै छौं नि, हैन र? (उत्प. ३:१६) बाइबलको शिक्षाअनुसार पति पत्नीको शिर हो; तिनले मायालु तरिकामा आफ्नो भूमिका निभाउनुपर्छ। अनि पत्नी पनि आफ्नो पतिको अधीनमा बस्नुपर्छ। (एफि. ५:३३) पति-पत्नी दुवैले परमेश्वरको भय मान्छन्‌ र ‘एकै रथका दुई पाङ्‌ग्रा’ जस्तैगरि अघि बढ्‌छन्‌ भने वैवाहिक जीवनमा उत्पन्न हुने दरार कम हुन्छ वा भनौं समसयै निम्तिदैन।

वैवाहिक जीवन—आदमको समयदेखि जलप्रलयसम्म

८. आदमदेखि जलप्रलयसम्मको वैवाहिक जीवनबारे बताउनुहोस्।

पाप गरिसकेपछि आदम र हव्वा त्रुटिपूर्ण भए र बिस्तारै मृत्युको मुखतिर धकेलिए। तर मर्नुभन्दाअघि तिनीहरूले छोराछोरी जन्माए। (उत्प. ५:४) तिनीहरूका जेठा छोरा कयिनले आफन्तहरूमध्येकै एउटी केटी विवाह गरे। बाइबल विवरणअनुसार दुइटा श्रीमती भित्र्याउने पहिलो व्यक्ति लेमेक थिए। (उत्प. ४:१७, १९) आदमदेखि जलप्रलयसम्मको अवधिलाई विचार गर्ने हो भने त्यतिबेला यहोवाको सेवा गर्नेहरू कमै मात्र थिए। जसमध्ये हाबिल, हनोक अनि नूह र नूहको परिवार पर्छन्‌। नूहको दिनमा “परमेश्वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखे” भनेर बाइबलमा बताइएको छ। त्यसैले तिनीहरूले “आफ्नो-आफ्नो रुचिका पत्नीहरू ल्याए।” मानव रूप धारण गरेका ती स्वर्गदूतहरू अनि पृथ्वीका स्त्रीहरूको सम्बन्धबाट अजङ्‌गका सन्तान जन्मिए, जसलाई नपील भनियो। त्यसपछि ‘मानिसहरूको दुष्टता बढी भयो’ अनि ‘मानिसहरूको हृदयको विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भयो।’—उत्प. ६:१-५.

९. नूहको पालाको दुष्टता हटाउन यहोवाले के गर्नुभयो? त्यतिबेलाको घटनाबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

यहोवाले नूहको समयमा व्याप्त भएको दुष्टतालाई हटाउन जलप्रलय ल्याउनुभयो। त्यतिबेला सबै मानिसहरू बिहाबारी अनि अरू दिनचर्यामै व्यस्त थिए; ‘परमेश्वरको न्यायोचित स्तरबारे प्रचार गर्ने नूहले’ आउँदै गरेको विनाशबारे बताउँदा तिनीहरूले फिटिक्कै कान थापेनन्‌। (२ पत्रु. २:५) येशूले त्यतिबेलाको अवस्थालाई अहिले हाम्रो अवस्थासित तुलना गर्नुभयो। (मत्ती २४:३७-३९ पढ्‌नुहोस्) अन्त आउनुअघि अहिले सबै जातिलाई साक्षी दिनका लागि राज्यको सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिंदै छ, तर प्रायजसो मानिसहरू त्यो सुसमाचार सुन्नै मान्दैनन्‌। कतै हामी पनि विवाह गर्ने अनि छोराछोरी जन्माउने जस्ता पारिवारिक जिम्मेवारीमै अलमलिरहेका पो छौं कि? त्यसो हो भने, नबिर्सनुहोस्, यस्ता कुराहरूमा चुर्लुम्मै डुब्दा यहोवाको दिन नजिकै छ भन्ने कुरा भुल्न सक्छौं। अनि हामी त्यसो भएको पटक्कै चाहँदैनौं नि, होइन र?

वैवाहिक जीवन—जलप्रलयको समयदेखि येशूको दिनसम्म

१०. (क) विभिन्न संस्कृतिमा यौन अनैतिकतालाई कसरी हेरिन्छ? (ख) अब्राहाम र साराले विवाहको सन्दर्भमा कस्तो उदाहरण बसाले?

१० हुन त, नूह र तिनका तीन छोराले एक-एक जनासित मात्र विवाह गरेका थिए, तर कुलपिताहरूको समयलाई विचार गर्ने हो भने, त्यतिबेला बहुविवाह गर्ने चलन विद्यमान थियो। अहिले धेरैजसो संस्कृतिमा यौन अनैतिकतालाई सामान्य रूपमा लिइन्छ; कुनै-कुनै संस्कृतिमा त यसलाई धार्मिक प्रथाको रूपमा समेत लिइन्छ। अब हामी एकछिन, अब्राम (अब्राहाम) र साराईको (सारा) समयमा फर्कौं। यहोवाले तिनीहरूलाई कनानमा जाने आज्ञा दिनुभएको थियो। तिनीहरूले यहोवा परमेश्वरले भनेअनुसारै गरे। तर कनान देश गतिलो देश थिएन। त्यहाँका मानिसहरू विवाहलाई ख्यालठट्टाको रूपमा लिन्थे। सदोम र गमोराका मानिसहरू घोर यौन अनैतिकतामा लिप्त भएको कारण यहोवाले तिनीहरूलाई तहसनहस गर्ने घोषणा गर्नुभयो। तर अब्राहाम र साराको कुरा भने फरक थियो। अब्राहामले एकदमै राम्रो तरिकामा परिवारको नेतृत्व लिएका थिए भने साराले पनि पतिको अधीनमा बसेर राम्रो उदाहरण बसालेकी थिइन्‌। (१ पत्रुस ३:३-६ पढ्‌नुहोस्) अब्राहामले आफ्नो छोरा इसहाकले यहोवाकै उपासकसित विवाह गरोस् भनेर निकै प्रयास गरे। इसहाकका छोरा याकूबले पनि यहोवाकै उपासकसित विवाह गर्न सकियोस् भनेर आवश्यक कदम चाले। फलस्वरूप तिनका १२ जना छोराबाट इस्राएलको १२ कुल खडा भयो।

११. मोशाको व्यवस्थाले इस्राएलीहरूलाई कसरी जोगायो?

११ पछि यहोवाले याकूबका (इस्राएल) सन्तानसित एउटा करार गर्नुभयो। उहाँले तिनीहरूलाई मोशाको व्यवस्था दिनुभयो। यो व्यवस्थाले गर्दा कुलपिताहरूको समयमा सामान्य चलनको रूपमा रहेको बहुविवाह प्रथा उन्मूलन हुने थियो; यस व्यवस्थाअनुसार परमेश्वरको उपासना नगर्नेहरूसित विवाह गर्न नपाइने भएकोले इस्राएलीहरूको आध्यात्मिक सुरक्षा हुनेथियो। (व्यवस्था ७:३, ४ पढ्‌नुहोस्) विवाहमा गम्भीर समस्या देखियो भने बूढा-प्रधानहरूको मदत लिन सकिन्थ्यो। विश्वासघात, डाह अनि शङ्‌काको विषय हो भने विभिन्न तरिका अपनाएर समाधान गरिन्थ्यो। त्यस व्यवस्थामा सम्बन्धविच्छेद गर्ने अनुमति दिइएको थियो, तर त्यसको लागि पनि विशेष नियम थियो। कुनै पतिले आफ्नी पत्नीमा केही “खोट” पायो भने मात्र सम्बन्धविच्छेद गर्न पाइन्थ्यो। (व्यव. २४:१) हुन त त्यो “खोट” कस्तो किसिमको हो, व्याख्या गरिएको त थिएन, तैपनि हामी त्यो सानोतिनो मामिला होइन भन्ने निष्कर्षमा चाहिं पुग्न सक्छौं।—लेवी १९:१८.

आफ्नो जोडीलाई धोका नदिनुहोस्

१२, १३. (क) मलाकीको समयमा केही पुरुषले आफ्नी पत्नीसित कस्तो व्यवहार गरिरहेका थिए? (ख) बप्तिस्मा गरिसकेका पुरुषले अर्काकी श्रीमतीलाई भगाउँछ वा बप्तिस्मा गरिसकेकी स्त्री अर्काको श्रीमान्‌सित भाग्छे भने नतिजा के हुन्छ?

१२ भविष्यवक्ता मलाकीको समयमा यहूदीहरूमाझ एउटा नराम्रो प्रथा सुरु भएको थियो। त्यतिबेला धेरैजसो पतिले नानाथरीका बहाना बनाएर आफ्नी पत्नीसित सम्बन्धविच्छेद गरिरहेका थिए। तरुणीसित विवाह गर्न तिनीहरूले आफ्नो जवानीपनकी पत्नीलाई धोका दिइरहेका थिए; यहाँसम्म कि झूटो धर्म मान्ने केटीहरूसित विवाह गर्न समेत तिनीहरू पछि हटेनन्‌। येशूको समयमा पनि कुरा त्यस्तै थियो। उहाँको समयमा पनि यहूदी पुरुषहरूले “जुनसुकै कारण देखाएर” आफ्नी पत्नीसित सम्बन्धविच्छेद गरिरहेका थिए। (मत्ती १९:३) यस्तो तरिकामा सम्बन्धविच्छेद गरेको यहोवालाई फिटिक्कै मन पर्दैन।मलाकी २:१३-१६ पढ्‌नुहोस्।

१३ अहिले पनि यहोवाका सेवकहरू पति-पत्नीलाई धोका दिने विषयलाई गम्भीरतापूर्वक लिन्छन्‌। एउटा अवस्था विचार गर्नुहोस्: यदि बप्तिस्मा गरिसकेको कुनै पुरुषले अर्काकी श्रीमतीलाई सुटुक्क लैजान्छ वा बप्तिस्मा गरिसकेकी कुनै स्त्री अर्काको श्रीमान्‌सित सुटुक्क जान्छे र तिनीहरूले पहिलाको जोडीसित सम्बन्धविच्छेद गरेर विवाह गर्छ भने तिनीहरूलाई के गरिन्छ? यदि यस्तो कदम चाल्ने व्यक्ति पश्‍चात्तापी छैन भने मण्डलीको आध्यात्मिक शुद्धतालाई कायम राख्न तिनीहरूलाई मण्डलीबाट बहिष्कार गरिन्छ। (१ कोरि. ५:११-१३) मण्डलीमा फर्कने हो भने तिनीहरूले ‘पश्‍चात्ताप लायकको फल फलाउनुपर्छ।’ (लूका ३:८; २ कोरि. २:५-१०) हुन त, यहोवाका सेवकहरूमाझ यस्तो अवस्था विरलै मात्र देखिन्छ, तैपनि यस्तो तरिकामा आफ्नो श्रीमान्‌ वा श्रीमतीलाई त्यसरी धोका दिनु गम्भीर कुरा हो। त्यस्तो काम गर्ने व्यक्तिलाई कहिले पुनर्बहाली गर्नुपर्छ भन्ने विषयमा ठ्‌याक्कै समय तोकिएको त छैन, तैपनि उसले साँचो पश्‍चात्ताप गरेको हो कि होइन भनेर थाह पाउन केही समय लाग्न सक्छ; भनौं, एक वर्ष वा त्योभन्दा धेरै समय लाग्न सक्छ। उक्त व्यक्ति पुनर्बहाली भयो भने पनि उसले ‘परमेश्वरलाई लेखा दिनुपर्नेछ।’—रोमी १४:१०-१२; प्रहरीधरहरा (अङ्‌ग्रेजी), १९७९, नोभेम्बर १५ को पृष्ठ ३१-३२ हेर्नुहोस्।

ख्रीष्टियनहरूमाझ हुने विवाह

१४. मोशाको व्यवस्थाले कस्तो काम गऱ्यो?

१४ इस्राएलीहरूमाझ मोशाको व्यवस्था १,५०० वर्षसम्म लागू भयो। त्यो व्यवस्थाले इस्राएलीहरूलाई पारिवारिक अनि अरू मामिला सुल्झाउन सही मार्गनिर्देशन दियो। यसरी त्यो व्यवस्था ख्रीष्टसम्म पुऱ्याउने अभिभावक साबित भयो। (गला. ३:२३, २४) येशूको मृत्युद्धारा त्यो व्यवस्था खारेज भएपछि परमेश्वरले नयाँ प्रबन्ध मिलाउनुभयो। (हिब्रू ८:६) नयाँ व्यवस्था आएपछि पुरानो व्यवस्थामा भएका केही नियमहरू पनि अमान्य भए।

१५. (क) ख्रीष्टियन मण्डलीमा वैवाहिक स्तर कस्तो हुनुपर्छ? (ख) सम्बन्धविच्छेद गर्ने सोचाइ आउँदा ख्रीष्टियनले कुन कुरा विचार गर्नुपर्छ?

१५ केही फरिसीले ‘मोशाले किन सम्बन्धविच्छेद गर्ने आज्ञा दिए त’ भनेर प्रश्न उठाउँदा येशूले “सुरुदेखि त यस्तो थिएन” भन्ने जवाफ दिनुभएको थियो। (मत्ती १९:६-८) यसबाट स्पष्ट हुन्छ, परमेश्वरले अदनको बगैंचामा वैवाहिक सम्बन्धबारे जुन स्तर तोक्नुभएको थियो, ख्रीष्टियन मण्डलीमा त्यो स्तर लागू भएको येशू चाहनुहुन्थ्यो। (१ तिमो. ३:२, १२) विवाह गरिसकेपछि पति-पत्नी “एउटै शरीर” हुने भएकोले तिनीहरूको बन्धन अटुट हुनुपर्छ; वैवाहिक सम्बन्धलाई अझ गाढा बनाउन तिनीहरूले परमेश्वरलाई र एकअर्कालाई प्रेम गर्नुपर्छ। अवैध यौनसम्बन्धबाहेक अन्य कारणले कानुनी रूपमा सम्बन्धविच्छेद गरेको हो भने उसले पुनःविवाह गर्न पाउँदैन। (मत्ती १९:९) कोही अवैध सम्बन्धमा मुछिएकै हो भने पनि उसले पश्‍चात्ताप गर्दा उसको जोडीले क्षमा दिने निर्णय गर्न सक्छ। किनभने भविष्यवक्ता होशेले पनि आफ्नो चरित्रहीन पत्नी गोमेरलाई क्षमा दिएका थिए र यहोवाले पनि आध्यात्मिक रूपमा बिटुलो भएका इस्राएल राष्ट्रले पश्‍चात्ताप गर्दा कृपा देखाउनुभएको थियो। (होशे ३:१-५) यदि कुनै व्यक्तिलाई आफ्नो जोडीले अरूसित अवैध सम्बन्ध गाँसेको छ भन्ने कुरा थाह भए पनि ऊसित यौन सम्बन्ध राख्छ भने एक अर्थमा उसले गल्ती गर्ने व्यक्तिलाई क्षमा दिएको ठहरिन्छ। यसरी क्षमा दिइसकेपछि धर्मशास्त्रमा तोकिएको सम्बन्धविच्छेद गर्ने छुट खारेज हुन्छ।

१६. अविवाहित रहने सन्दर्भमा येशूले के भन्नुभयो?

१६ अवैध यौनसम्बन्धको कारणबाहेक अरू कुनै पनि कारणले आफ्नो जोडीसित सम्बन्धविच्छेद गर्नुहुँदैन भन्ने कुरा बताइसकेपछि येशूले अविवाहित रहने “वरदान पाएका”-हरूबारे कुरा गर्नुभयो। उहाँले थप यसो भन्नुभयो: “जो अविवाहित रहन सक्छ, त्यो अविवाहित नै रहोस्।” (मत्ती १९:१०-१२) एकचित्तको भएर यहोवाको सेवा गर्न कसै-कसैले विवाह नगर्ने निर्णय गर्छन्‌। हामीले त्यस्ता व्यक्तिको कदर अनि प्रशंसा गर्नुपर्छ।

१७. विवाह गर्ने कि नगर्ने भनेर निर्णय गर्न ख्रीष्टियनहरूलाई कुन कुराले मदत गर्न सक्छ?

१७ विवाह गर्ने-नगर्ने भनेको त आ-आफ्नो निर्णय हो। प्रेषित पावलले अविवाहित रहने प्रोत्साहन दिए पनि यसो भने: “अवैध यौनसम्बन्ध व्याप्त भएकोले हरेक पुरुषको आफ्नै पत्नी अनि हरेक स्त्रीको आफ्नै पति होस्।” तिनले अझै यसो भने: “यदि तिनीहरूसित आत्मसंयम छैन भने विवाह गरून्‌, किनकि कामवासनाले जल्नुभन्दा विवाह गर्नु नै बेस हो।” विवाह गर्दा कामवासनाले जलेर हस्तमैथुन गर्ने वा अवैध यौनसम्बन्धमा मुछिने खतरा टर्न सक्छ। साथै यस्तो बेला उमेरलाई पनि ध्यान दिनुपर्छ। किनभने प्रेषित पावलले यसो भने: “यदि कसैलाई आफ्नो यौनइच्छालाई काबूमा राख्न सक्दिनँ भन्ने लाग्छ र यस्तो अवस्थामा विवाह गर्नु नै उचित हो भनी ठान्छ भने बैंस पार गरिसकेको भए उसले विवाह गरोस्; उसले पाप गरेको हुँदैन। यस्ता मानिसहरूले विवाह गरून्‌।” (१ कोरि. ७:२, ९, ३६; १ तिमो. ४:१-३) तर उमेरको आवेशमा आएर हतारपतार विवाह गर्ने निर्णय गर्नु चाहिं बुद्धिमानी होइन। किनभने यतिबेला वैवाहिक जीवनसँगसँगै आइपर्ने दायित्व पूरा गर्ने अनुभव भइसकेको हुँदैन।

१८, १९. (क) ख्रीष्टियनहरूले कस्तो व्यक्तिसित विवाह गर्नुपर्छ? (ख) अर्को लेखमा के छलफल गर्नेछौं?

१८ ख्रीष्टियनहरूले यहोवाप्रति समर्पित अनि उहाँलाई तनमनले माया गर्ने व्यक्तिलाई मात्र आफ्नो जीवनसाथीको रूपमा छान्नुपर्छ। अनि तिनीहरूले एकअर्कालाई मनैदेखि माया गर्नुपर्छ र आजीवनसँगै सुख-दुःख बाँड्‌न तयार हुनुपर्छ। तिनीहरूले ‘प्रभुको चेलासित मात्र विवाह गर’ भन्ने बाइबलको सल्लाह पालन गर्दा पक्कै आशिष्‌ पाउनेछन्‌। (१ कोरि. ७:३९) विवाह गरिसकेपछि तिनीहरूले वैवाहिक सम्बन्ध राम्रो बनाउने सबैभन्दा उत्तम सल्लाह बाइबलमा मात्र पाइन्छ भनेर अझ पक्का हुन सक्नेछन्‌।

१९ अहिले हामी “अन्तको दिनमा” बाँचिरहेकोले वैवाहिक जीवन सफल बनाउन धौ-धौ नै छ। पति-पत्नीमा हुने थुप्रै नराम्रा गुणहरूले गर्दा वैवाहिक जीवन धरापमा परेको छ। तर अर्को लेखमा हामी वैवाहिक जीवनमा देखा पर्ने समस्यालाई कसरी समाधान गर्न सक्छौं भन्ने विषयमा धर्मशास्त्रीय सल्लाहहरू केलाउनेछौं। (२ तिमो. ३:१-५) यहोवाले आफ्नो वचन बाइबलमा सफल अनि सुखी वैवाहिक जीवनको लागि चाहिने थुप्रै सल्लाहहरू दिनुभएको छ। ती सल्लाहहरू लागू गर्दै हामी हाँसीखुसी अनन्त जीवनको मार्गतर्फ अघि बढिरहौं।—मत्ती ७:१३, १४.