सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूको प्रश्न

पाठकहरूको प्रश्न

येशूका विरोधीहरूले हात धुने विषयमा विवाद उठाउनुको कारण के थियो?

येशूका शत्रुहरूले उहाँ र उहाँका चेलाहरूको विरुद्धमा लगाएका विभिन्न आरोपहरूमध्ये यो एउटा थियो। मोशाको व्यवस्थामा शुद्धतासम्बन्धी विभिन्न आज्ञा दिइएको थियो। त्यसमा रजस्वला, स्वप्नदोष, कुष्ठरोग अनि मानिसको लास र जनावरको सिनु छुँदा अपनाउनुपर्ने विधि समावेश थियो। अनि अशुद्धता कसरी हटाउने, त्यस विषयमा पनि निर्देशन दिइएको थियो। यस्तो अवस्थामा बलिदान चढाएर, नुहाएर वा पानी छर्केर शुद्धीकरण गर्न सकिन्थ्यो।—लेवी, अध्याय ११-१५; गन्ती, अध्याय १९.

यहूदी धर्मगुरुहरूले त्यस नियममा भएका एक-एक कुरालाई बढाइचढाइ व्याख्या गर्थे। एउटा स्रोतले बताएअनुसार तिनीहरू अशुद्धतासम्बन्धी झिनामसिना कुरा समेत कोट्‌याएर हेर्थे। जस्तै: “के गऱ्यो भने अशुद्ध हुन्छ, कसरी सर्छ, कुन हदसम्म सर्छ, कुन-कुन भाँडो चोख्याउन मिल्छ र कुन-कुन मिल्दैन अनि शुद्ध हुन के-के गर्नुपर्छ” भनेर तिनीहरू खोजीनिती गर्थे।

येशूका विरोधीहरूले उहाँलाई सोधे: “तपाईंका चेलाहरू पुर्खाहरूले बसालेको परम्पराअनुसार नचलेर किन अशुद्ध हातले खाना खान्छन्‌?” (मर्कू. ७:५) ती धर्मगुरुहरूले उहाँलाई हात नधोई खाँदा बिरामी हुन सक्छ भन्न खोजिरहेका थिएनन्‌। बरु तिनीहरूले खाना खानुअघि हात धुने आफ्नै चलनलाई जोड दिन खोजिरहेका थिए। माथि उल्लेख गरिएको स्रोतले अझै यसो भन्छ: “पानी खन्याउन कुनचाहिं भाडा प्रयोग गर्नुपर्छ, हात धुन कस्तो पानी उपयुक्त हुन्छ, कसले खन्याउनुपर्छ र हात कहाँसम्म धुनुपर्छ भनेर विवाद समेत हुन्थ्यो।”

मानिसले बनाएका यी नियमप्रति येशूले कस्तो प्रतिक्रिया देखाउनुभयो? उहाँले प्रथम शताब्दीका यहूदी धर्मगुरुहरूलाई यसो भन्नुभयो: “ए कपटीहरू हो, यशैयाले तिमीहरूबारे ठीकै भविष्यवाणी गरेका थिए: ‘यी मानिसहरू आफ्नो ओठले त मेरो आदर गर्छन्‌ तर तिनीहरूको मन भने मबाट [यहोवाबाट] धेरै टाढा छ। तिनीहरू व्यर्थैमा मेरो उपासना गरिरहन्छन्‌, किनकि तिनीहरू मानिसहरूले बनाएका आज्ञाहरूलाई परमेश्वरको शिक्षाजस्तै गरी सिकाउँछन्‌।’ तिमीहरू मानिसहरूको परम्पराको पछि लागेर परमेश्वरको आज्ञालाई लत्याउँछौ।”—मर्कू. ७:६-८.